विकासन्युज

पुरुषको शरीरमा गर्भाशय भेटिएपछि चिकित्सक नै चकित

काठमाडौं । भारतको राजधानी दिल्लीका २६ वर्षीय एक पुरुषले विवाह भएको दुई वर्षसम्म पनि सन्तान नभएपछि चिकित्सकसँग परामर्श लिए । परीक्षणका क्रममा चिकित्सकहरूले उनको शरीरभित्र गर्भाशय र फलोपियन ट्युब रहेको पत्ता लगाए । यद्यपि उपचारमा संलग्न चिकित्सकका अनुसार बाहिरबाट हेर्दा उनको शरीर सामान्य पुरुषको जस्तै थियो र पुरुषमा देखिने सबै शारीरिक विशेषता विकसित भएका थिए । यसबाहेक यस्तो अवस्थाको संकेत गर्ने कुनै स्पष्ट लक्षण पनि थिएन । दिल्लीको एक निजी अस्पतालमा ती पुरुषको उपचार गरेका प्रमुख युरोलोजिस्ट डा. सुशील खरबन्दाका अनुसार बाँझोपनको परीक्षणका क्रममा गरिएको जाँचमा उनको शरीरभित्र गर्भाशय र फलोपियन ट्युब रहेको पत्ता लागेको हो । चिकित्सकहरूका अनुसार यो ‘पर्सिस्टेन्ट म्युलरियन डक्ट सिन्ड्रोम’ (पीएमडीएस) नामक अत्यन्त दुर्लभ जन्मजात अवस्था हो । अहिलेसम्म विश्वभर यसका ३०० भन्दा कम घटना अभिलेख गरिएको बताइन्छ । ‘नेचर रिभ्यु युरोलोजी’मा प्रकाशित एक रिपोर्टअनुसार पीएमडीएस भएका व्यक्तिमा ४६ एक्सवाई क्रोमोजोम हुन्छन् र शरीर सामान्य रूपमा पुरुषकै रूपमा विकसित हुन्छ। तर म्युलरियन डक्टबाट बन्ने गर्भाशय र फलोपियन ट्युबजस्ता अंग भने शरीरभित्र रहन्छन् । जनवरी २०२६ मा ‘ग्लोबल जर्नल अफ सर्जरी एन्ड केस रिपोट्र्स’मा प्रकाशित एक रिपोर्टमा ४८ वर्षीय पुरुषमा बारम्बार पिसाब लाग्ने र वीर्यमा रगत देखिने समस्याको जाँच गर्दा सीटी स्क्यानमा गर्भाशयजस्तो संरचना भेटिएको उल्लेख छ । शल्यक्रियाका क्रममा प्रोस्टेटसँग जोडिएको उक्त दुई भाग भएको संरचना हटाइएको थियो । हिस्टोप्याथोलोजिकल परीक्षणमा उक्त संरचना गर्भाशयको तन्तु भएको पुष्टि भएको थियो । ती पुरुषको शारीरिक विकास भने सामान्य पुरुषकै जस्तो थियो । त्यस्तै, सन् २०१९ को एक रिपोर्टमा डेढ वर्षका एक बालकको शरीरमा गर्भाशय, फलोपियन ट्युब र अण्डाशयजस्ता संरचना भेटिएको उल्लेख छ ।आखिर पुरुषजस्तो शारीरिक विशेषता भएको व्यक्तिको शरीरभित्र गर्भाशय र फलोपियन ट्युब कसरी रहन सक्छ ? यो अवस्था किन हुन्छ र यसको पहिचान कसरी गरिन्छ ? यी प्रश्नको जवाफ जान्न उक्त बिरामीको उपचार गरेका डा. सुशील खरबन्दासँग गरिएको कुराकानीको सम्पादित अंश : यस घटनामा के पाइएको थियो र चिकित्सकीय भाषामा यसलाई हामीले कसरी बुझ्ने ? २६ वर्षीय ती पुरुषको दुई वर्षअघि विवाह भएको थियो । उनी पूर्ण रूपमा सक्रिय थिए र पुरुषमा विकसित हुने सबै दोस्रो चरणका यौन विशेषता उनीमा थिए । बाँझोपनको समस्या जाँच गर्ने क्रममा उनका दुवै अण्डकोष आफ्नो सामान्य स्थानमा नरहेको पाइयो । हर्मोन परीक्षणमा टेस्टोस्टेरोन, एफएसएच (फोलिकल स्टिमुलेटिङ हर्मोन) र एलएच (लुटिनाइजिङ हर्मोन) पनि सामान्य पाइएको थियो । यस्ता नतिजा क्रिप्टोर्किडिज्म अर्थात् अण्डकोष आफ्नो स्थानमा नझरेको अवस्था भएका बिरामीमा देखिन सक्छ । तर एमआरआई गर्दा निकै असामान्य अवस्था देखियो । परीक्षणमा गर्भाशय र फलोपियन ट्युब देखिए, जुन अण्डकोषसँग जोडिएका थिए । यी अंगहरू भित्रबाट पूर्ण रूपमा विकसित थिए र सामान्यतया महिलाको शरीरमा हुने अंगजस्तै देखिन्थे । पुरुषको शरीरमा गर्भाशय र फलोपियन ट्युब कसरी रहन सक्छन् ? के यो जन्मजात अवस्था हो ? बच्चा आमाको गर्भमा हुँदा उसको लिङ्गको विकास क्रोमोजोम र हर्मोनको प्रभावबाट हुन्छ । सामान्यतया पुरुषमा ४६ एक्सवाई र महिलामा ४६ एक्सएक्स क्रोमोजोम हुन्छन् । यस क्रममा शरीरले एन्टिम्युलरियन हर्मोन (एएमएच) उत्पादन गर्छ । यो हर्मोनले सामान्यतया पुरुष शरीरमा विकास नहुने आन्तरिक प्रजनन अंगको विकास रोक्छ । ४६ एक्सवाई क्रोमोजोम भएका व्यक्तिको विकास पुरुषका रूपमा हुन्छ र उनको शरीरमा एएमएच उत्पादन हुन्छ । एएमएचले गर्भाशय र फलोपियन ट्युबजस्ता अंगको विकास रोक्छ । तर पीएमडीएसमा या त यो हर्मोन हुँदैन वा यसको रिसेप्टरमा समस्या हुन्छ । त्यसैले गर्भाशय र फलोपियन ट्युबजस्ता संरचना शरीरभित्र रहिरहन्छन् । यसका कारण आन्तरिक अंगको संरचना फरक हुन्छ । यद्यपि बाहिरी शारीरिक संरचना भने पुरुषकै जस्तो हुन्छ । लिङ्ग र पुरुषका अन्य शारीरिक विशेषता सामान्य रूपमा विकसित हुन्छन् । के ती पुरुषमा अण्डकोषसँगै अण्डाशय पनि थिए ? ती पुरुषको शरीरमा दुवैतर्फ गर्भाशय र फलोपियन ट्युब थिए, तर अण्डाशय थिएनन् । अण्डाशय हुने स्थानमा उनका अण्डकोष थिए । गोनाड्स भनिने यी अंग पुरुष र महिलामा फरक हुन्छन् । ती बिरामीका दुवै गोनाड्स अण्डकोष नै थिए, अण्डाशय थिएनन् । यसअघि गरिएको स्क्यान वा मेडिकल परीक्षणबाट यो अवस्था पत्ता लाग्न सक्दैनथ्यो ? बिरामी हामीकहाँ आउँदा उनका दुवै अण्डकोष आफ्नो सामान्य स्थानमा थिएनन् । त्यसैले हर्मोन परीक्षणसँगै वीर्यको पनि परीक्षण गरियो । वीर्यमा एजुस्पर्मिया अर्थात् शुक्रकीटको संख्या शून्य पाइएको थियो । त्यसपछि एमआरआई गरियो । त्यसमा गर्भाशय, फलोपियन ट्युब र ती अंगसँग जोडिएका अण्डकोष देखिए । त्यसपछि क्रोमोजोम परीक्षण गरियो, जसमा ४६ एक्सवाई क्रोमोजोम पाइएको थियो । एमआरआई र क्रोमोजोम परीक्षण नै यो अवस्थाको पुष्टि गर्ने मुख्य परीक्षण थिए । यस्तो अवस्था सामान्यतया २६ वर्षको उमेरसम्म पनि थाहा नहुने होइन । समयमै स्क्यान गरिएको भए यसबारे पहिले नै थाहा पाउन सकिन्थ्यो । ती बिरामीले सुरुमा आफ्ना दुवै अण्डकोष सामान्य स्थानमा नरहेको कुरालाई ध्यान दिएका थिएनन् । यो अवस्थाका कुनै विशेष लक्षण हुन्छन् ? सामान्यतया यस अवस्थामा दुखाइ, बान्ता वा ज्वरोजस्ता विशेष लक्षण हुँदैनन् । अण्डकोष आफ्नो सामान्य स्थानमा नरहनु भने यसको एउटा संकेत हुन सक्छ । बिरामीले कस्ता मनोवैज्ञानिक चुनौती वा जीवनमा कस्ता परिवर्तन सामना गर्नुपर्‍यो ? २६ वर्षीय ती पुरुषले आफ्नो शरीरभित्र महिला प्रजनन अंगसँग सम्बन्धित संरचना रहेको थाहा पाएपछि स्वाभाविक रूपमा चिन्ता र तनाव महसुस गरेका थिए । उनी आफ्नो भविष्यलाई लिएर पनि चिन्तित थिए । हामीले लामो समयसम्म उनको परामर्श गर्‍यौं र यो दुर्लभ चिकित्सकीय अवस्था भएको बुझायौं । यो दुर्लभ अवस्था भए पनि यसकै कारण उनको जीवनमा ठूलो परिवर्तन आउनुपर्छ भन्ने होइन । यी अंग हटाउनु आवश्यक थियो, किनकि यसमा क्यान्सरको जोखिम हुन सक्छ । अहिले ती अंग हटाइसकेपछि उनी सामान्य रूपमा जीवन बिताउन सक्छन् । यस्ता अवस्थामा शल्यक्रिया वा उपचार सधैँ आवश्यक हुन्छ ? यस बिरामीको हकमा शल्यक्रिया आवश्यक थियो । गर्भाशय र फलोपियन ट्युब अविकसित थिए र शरीरमा तिनको कुनै उपयोग थिएन ।  शल्यक्रियापछि गरिएको बायोप्सीमा एउटा अण्डकोषमा क्यान्सर हुनुअघिको अवस्था पनि देखियो । त्यसैले ती अंग हटाउनु आवश्यक थियो र शल्यक्रिया उपचारकै एउटा हिस्सा बन्यो । शल्यक्रियापछि बिरामीको स्वास्थ्यमा कस्तो असर परेको छ र आगामी दिनमा के असर पर्छ ? बिरामी शल्यक्रिया गरेको सात दिनपछि नै काममा फर्किए । अण्डकोषले टेस्टोस्टेरोन उत्पादन गर्ने भएकाले ती हटाएपछि उनको शरीरमा टेस्टोस्टेरोन उत्पादन हुँदैन । त्यसैले अब उनले प्रत्येक तीन महिनामा टेस्टोस्टेरोनको इन्जेक्सन लगाउनुपर्नेछ । यसका अतिरिक्त उनको यौन वा सामाजिक जीवनमा ठूलो परिवर्तन आवश्यक पर्दैन । हामीले शल्यक्रिया ल्याप्रोस्कोपिक प्रविधिबाट गरेका थियौं । अर्थात् टेलिस्कोपको सहयोगमा शल्यक्रिया गरिएको थियो । यसबाट ठूलो चिरा लगाउनुपरेन र उनी छिट्टै काममा फर्कन सके । यस्ता अवस्थाबारे मानिसमा कस्ता गलत धारणा छन् ? यो घटना सार्वजनिक भएपछि बिरामी गर्भवती हुन सक्थे कि सक्दैनथे, उनलाई महिनावारी हुन्थ्यो कि हुँदैनथ्यो वा बाहिरबाट महिला जस्तो देखिन्थे कि भन्ने प्रश्न पनि उठेका छन् । यीमध्ये कुनै पनि कुरा सही होइनन् । उनको शरीरमा गर्भाशय र फलोपियन ट्युब थिए, तर ती अविकसित थिए र गर्भधारण सम्भव थिएन । उनको शरीरमा महिलामा हुनेजस्तो हर्मोनल अवस्था पनि थिएन । यस घटनाबाट चिकित्सकीय क्षेत्रले सिक्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ? शरीरमा देखिने कुनै पनि असामान्य अवस्थालाई बेवास्ता गर्नु हुँदैन र त्यसलाई लिएर लज्जित पनि हुनु हुँदैन । यस्तो अवस्था देखिएमा समयमै योग्य चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । नवजात शिशुमा कुनै असामान्य संरचना वा कुनै अंगको कमी देखिएमा तत्काल चिकित्सकीय परामर्श लिनुपर्छ । समयमै पहिचान गर्न सकेमा यस्तो अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न मद्दत पुग्छ ।  (बीबीसीबाट अनुदित तथा सम्पादित)

दक्षिण अफ्रिकामा बार र मनोरञ्जन केन्द्रमा सामूहिक गोलीबारी, २७ जनाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीबारीका घटनामा २७ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् ।  पछिल्लो घटनाले देशमा बढ्दो बन्दुक हिंसालाई पुनः उजागर गरेको छ । पहिलो घटना शनिबार राति जोहान्सबर्गनजिकैको एउटा बारमा भएको थियो । प्रहरीका अनुसार आठ जना हतियारधारी आक्रमणकारीले बारमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए । उक्त घटनामा १७ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । दोस्रो घटना आइतबार बिहान केप टाउननजिकैको एउटा टाउनसिपमा रहेको मनोरञ्जन केन्द्रबाहिर भएको थियो । त्यहाँ भएको गोलीबारीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दोस्रो घटनामा मृत्यु भएका १० जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य पाँच जनाले अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका थिए । जोहान्सबर्गनजिकै भएको घटनामा आक्रमणकारीहरूले सुरुमा बारबाहिर रहेका मानिसमाथि गोली चलाएका थिए। त्यसपछि उनीहरू बारभित्र प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए । घटनापछि आक्रमणकारीहरूले दुईवटा सवारीसाधनमा आगजनी गरेर फरार भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १३ पुरुष र चार महिला रहेको बताइएको छ । यद्यपि, दुवै घटनाको उद्देश्यबारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । आइतबार बिहानसम्म प्रहरीले कुनै पनि घटनामा संलग्न भएको आरोपमा कसैलाई पक्राउ गरेको पुष्टि गरेको थिएन । यी घटनाभन्दा केही दिनअघि पनि डरबन सहरको क्वामाखुथा टाउनसिपमा एउटा घरमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको थियो । 

मनकामना जाने बाटोमा पहिरो, केबलकार सेवा भने नियमित

काठमाडौं । पहिरोका कारण मनकामना केबलकार पुग्ने पहुँचमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।मनकामना केबलकारले पहुँच मार्गको दोस्रो घुम्तीमुनि पहिरो गएको जनाएको छ ।  पहिरोका कारण सवारी साधनहरू साविकको पार्किङ स्थलसम्म पुग्न नसक्ने भएकाले यात्रुले केही दूरी पैदलमार्ग प्रयोग गर्नुपर्ने भएको छ । पूर्वतर्फबाट आउने यात्रुका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको केबलकारले जनाएको छ । मौसम अनुकूल हुनासाथ सडक मर्मतको कामलाई तीव्रता दिइने पनि केबलकार व्यवस्थापनले जनाएको छ । यसैबीच, मनकामना केबलकार सेवा भने पूर्ण रूपमा सुरक्षित र नियमित सञ्चालनमा रहेको जनाइएको छ ।  राजमार्ग खुलेपछि वा यात्रुहरू आउने क्रम सुरु भएसँगै केबलकार सेवा निरन्तर सञ्चालनमा रहनेसमेत कम्पनीले स्पष्ट पारेको छ ।

विद्युत् आपूर्ति सुचारु राख्न प्राधिकरणको उच्च सतर्कता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति नियमित राख्न तथा प्रभावित क्षेत्रमा अवरुद्ध सेवा यथाशीघ्र पुनःस्थापना गर्न आवश्यक तयारी र समन्वयलाई तीव्र बनाएको छ ।  हाल देशभरको विद्युत् आपूर्तिको अवस्था, प्रसारण तथा वितरण संरचनाको स्थिति र प्रभावित क्षेत्रबारे निरन्तर जानकारी लिने तथा अनुगमन गर्ने कार्य भइरहेको छ ।  सम्भावित क्षति तथा विद्युत् आपूर्ति अवरोधलाई तत्काल सुचारु गर्न आवश्यक जनशक्ति, उपकरण तथा सामग्री तयारी अवस्थामा राखी सोही बमोजिम कार्य सुरु गरिएको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आइतबार वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, ग्रिड सञ्चालन विभागका प्रमुखको सहभागितामा सातै प्रदेशका प्रादेशिक कार्यालय प्रमुख र दुईवटा डिभिजन कार्यालयका प्रमुखहरूसँग जुम विधिमार्फत विद्युतीय संरचनामा पुगेको क्षति र विद्युत आपूर्तिका अवस्थामा छलफल गरी जानकारी लिएका छन् । छलफलका क्रममा विभिन्न प्रदेश तथा क्षेत्रमा भइरहेको वर्षा, बाढीपहिरोबाट विद्युत् संरचनामा परेको प्रभाव, विद्युत् आपूर्तिको वर्तमान अवस्था तथा सम्भावित जोखिमबारे श्रेष्ठले जानकारी लिएका हुन् ।  प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत् सेवा सुचारु गर्न आवश्यक जनशक्ति, उपकरण र सामग्रीको तयारी तथा परिचालन गर्न कार्यकारी निर्देशक श्रेष्ठले कार्यालय प्रमुखहरूलाई निर्देशन दिए । साथै उनले विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक लाइन तथा फिडरमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था र क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी सुरक्षित रूपमा मर्मत तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन निर्देशन दिए ।  प्रभावित क्षेत्रको अवस्था निरन्तर अनुगमन गर्दै आवश्यकताअनुसार थप जनशक्ति, उपकरण तथा प्राविधिक सामग्री परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।  विद्युत् आपूर्ति अवरुद्ध भएको अवस्थामा सम्भव भएसम्म वैकल्पिक व्यवस्थाबाट आपूर्ति सञ्चालन गर्ने र अवरुद्ध सेवा यथाशीघ्र पुनःस्थापना गर्ने गरी प्राधिकरणले आफ्ना सबै सम्बन्धित कार्यालय तथा प्राविधिक टोलीलाई परिचालन गरिएको छ ।  प्राकृतिक विपद्का कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले कर्मचारी तथा प्राविधिक जनशक्तिको सुरक्षालाई प्राथमिकतामा राखेर मात्र मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको छ ।  प्राधिकरणबाट विद्युत् आपूर्ति प्रणालीको अवस्था केन्द्रीय तहबाट निरन्तर अनुगमन तथा समन्वय गरिरहेको र उपभोक्तालाई सम्भव भएसम्म नियमित विद्युत् सेवा उपलब्ध गराउन तथा अवरुद्ध सेवा छिटोभन्दा छिटो पुनःस्थापना गर्न आवश्यक सबै उपाय अवलम्बन गरिएको छ । 

बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । लगातारको अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको हो । असोज ८ गतेदेखि हालसम्म बाढी, पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।  उनका अनुसार ७ जना सम्पर्कविहीन रहेका छन् । पाल्पामा एक जना तथा पछिल्लो २४ घण्टामा वागलुङमा चार र म्याग्दीमा दुई जना गरी बेपत्ता हुनेको संख्या ७ पुगेको उनले बताइन् । सम्पर्कविहीनहरुको खोजी कार्य जारी रहेको उनले जानकारी दिइन् । मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा सम्भावित जोखिमबारे पूर्वानुमान गरेपछि प्राधिकरणले सोही आधारमा तयारी गरेको उनको भनाइ छ ।  जोखिमका आधारमा रेड, एम्बर र येलो अलर्ट भएका क्षेत्र पहिचान गरी स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई पूर्वतयारी र उद्धारका लागि टोली परिचालन गरिएको उहाँले जानकारी दिए ।  विशेषगरी हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना देखिएपछि पर्यटक तथा ट्रेकर्सलाई लक्षित गरी छुट्टै सूचना जारी गरिएको प्रवक्ता महतको भनाइ छ ।  हालसम्म ९ हजारभन्दा बढी पर्यटकलाई सुरक्षित स्थानमा झारिएको उनले बताइन् ।  प्राधिकरणले अंग्रेजी भाषामा समेत एडभाइजरी जारी गरी विदेशी पर्यटक तथा यात्रुलाई मौसम र जोखिमबारे जानकारी गराएको थियो । उनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा विपद् प्रतिकार्यमा खटिने अन्य निकायसँग निरन्तर सूचना आदान–प्रदान भइरहेको बताइन् ।  प्राधिकरणले ह्वाट्सएप, भाइबरलगायत डिजिटल माध्यमबाट नदी बेसिन, वर्षाको अवस्था र प्रभावित क्षेत्रबारे नियमित जानकारी संकलन तथा सम्प्रेषण गरिरहेको छ ।  उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशलाई जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको थियो । कालीगण्डकी र नारायणी नदी बेसिनमा कतिपय स्थानमा अति भारी वर्षा भएपछि नदीको बहाव बढेको र कटानसमेत भएको उनले बताइन् । नवलपरासी १ हजार बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण प्राधिकरणका अनुसार नवलपुर, चितवन, पाल्पा, पर्वतलगायत जिल्लामा बाढी, कटान र पहिरोको जोखिम देखिएको छ ।  पर्वतमा केही घर बाढीले बगाएको छ । तर स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्राधिकरणकी प्रवक्ता महतले बताइन् ।  उनका अनुसार नवलपरासी क्षेत्रमा पनि १ हजार १ सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको उनले बताइन् ।  त्यस्तै, म्याग्दीमा उद्धारका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ । उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि खाना तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँगको समन्वयमा भइरहेको छ ।  स्थानीय तथा प्रदेशस्तरका गोदाममा रहेका सामग्रीसँगै प्राधिकरणको केन्द्रिय गोदाम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदामबाट समेत आवश्यकताअनुसार राहत सामग्री पठाइरहेको प्राधिकरणले जनाएको छ ।  महतका अनुसार तत्कालको जोखिम भने अझै टरेको छैन । आईतवार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्ने र बाढी पहिरो आउने खतरा रहेको उनले बताइन् । –न्युज एजेन्सी नेपाल  

धनुषामा घर भत्किँदा एक महिलाको मृत्यु

काठमाडौं । धनुषामा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।  मिथिला नगरपालिका –११ बर्दिबासस्थित सिन्धुली सडकखण्ड नजिक रहेको आँपगाछी चोकमा घर भत्किएर स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो ।  टिनको छानो भएको काठको घर अविरल वर्षाको कारण पहिरो गई आज बिहान ९ः५० बजे पुरिएको थियो । घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश नक्टाझिज धनुषा, सुरक्षा बेश गौरीडाँडा महोत्तरी, नेपाल प्रहरी र  नेपाली सेनाको संयुक्त उद्दार टोलले जेसिबिको सहयोगमा शव निकालेर पोस्टमार्टमको लागि बर्दिवास अस्पताल महोत्तरीमा पठाएको छ  ।

विद्युत् आपूर्ति सुचारु राख्न प्राधिकरणको उच्च सतर्कता, प्रभावित क्षेत्रमा तत्काल पुनःस्थापना गरिने

काठमाडौं । अविरल वर्षा, बाढीपहिरो, हावाहुरी तथा चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति नियमित राख्न तथा प्रभावित क्षेत्रमा अवरुद्ध सेवा यथाशीघ्र पुनःस्थापना गर्न आवश्यक तयारी र समन्वयलाई तीव्र बनाएको छ ।  हाल देशभरको विद्युत् आपूर्तिको अवस्था, प्रसारण तथा वितरण संरचनाको स्थिति र प्रभावित क्षेत्रबारे निरन्तर जानकारी लिने तथा अनुगमन गर्ने कार्य भइरहेको छ । सम्भावित क्षति तथा विद्युत् आपूर्ति अवरोधलाई तत्काल सुचारु गर्न आवश्यक जनशक्ति, उपकरण तथा सामग्री तयारी अवस्थामा राखी सोही बमोजिम कार्य सुरु गरिएको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आइतबार वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, ग्रिड सञ्चालन विभागका प्रमुखको सहभागितामा सातै प्रदेशका प्रादेशिक कार्यालय प्रमुख र दुईवटा डिभिजन कार्यालयका प्रमुखहरूसँग जुम विधिमार्फत विद्युतीय संरचनामा पुगेको क्षति र विद्युत आपूर्तिका अवस्थामा छलफल गरी जानकारी लिएका छन् । छलफलका क्रममा विभिन्न प्रदेश तथा क्षेत्रमा भइरहेको वर्षा, बाढीपहिरोबाट विद्युत् संरचनामा परेको प्रभाव, विद्युत् आपूर्तिको वर्तमान अवस्था तथा सम्भावित जोखिमबारे जानकारी लिइएको थियो ।   प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत् सेवा सुचारु गर्न आवश्यक जनशक्ति, उपकरण र सामग्रीको तयारी तथा परिचालन गर्न कार्यकारी निर्देशक श्रेष्ठबाट कार्यालय प्रमुखहरूलाई आवश्यक निर्देशन दिइएको छ । साथै, कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक लाइन तथा फिडरमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था र क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी सुरक्षित रूपमा मर्मत तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन निर्देशन दिए । प्रभावित क्षेत्रको अवस्था निरन्तर अनुगमन गर्दै आवश्यकताअनुसार थप जनशक्ति, उपकरण तथा प्राविधिक सामग्री परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।  विद्युत् आपूर्ति अवरुद्ध भएको अवस्थामा सम्भव भएसम्म वैकल्पिक व्यवस्थाबाट आपूर्ति सञ्चालन गर्ने र अवरुद्ध सेवा यथाशीघ्र पुनःस्थापना गर्ने गरी प्राधिकरणले आफ्ना सबै सम्बन्धित कार्यालय तथा प्राविधिक टोलीलाई परिचालन गरिएको छ । प्राकृतिक विपद्का कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले कर्मचारी तथा प्राविधिक जनशक्तिको सुरक्षालाई प्राथमिकतामा राखेर मात्र मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको छ ।  प्राधिकरणबाट विद्युत् आपूर्ति प्रणालीको अवस्था केन्द्रीय तहबाट निरन्तर अनुगमन तथा समन्वय गरिरहेको र उपभोक्तालाई सम्भव भएसम्म नियमित विद्युत् सेवा उपलब्ध गराउन तथा अवरुद्ध सेवा छिटोभन्दा छिटो पुनःस्थापना गर्न आवश्यक सबै उपाय अवलम्बन गरिएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाइने

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले  कलेजलाई स्टाफ कलेजलाई ‘सेन्टर अफ एक्सिलेन्स’ का रुपमा विकास गरिने बताएका छन् ।  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को ४४ औं स्थापना दिवसमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कलेजलाई नेतृत्व विकास केन्द्रका रूपमा स्थापित गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताए ।  सचिव भुजेलले प्रतिष्ठानले निजामती सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै स्टाफ कलेजलाई भौतिक पूर्वाधारमा सुदृढ तुल्याउन र काभ्रेमा जग्गा प्राप्तिसहितका विस्तारका कामहरूमा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए ।  प्रतिष्ठानले हालै प्राप्त गरेको आईएसओ प्रमाणपत्रले संस्थाको गुणस्तर र व्यावसायिकतालाई प्रमाणित गरेको उल्लेख गर्दै उनले यसलाई थप आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।  हालै खारेज गरिएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानबाट हुँदै आएको शाखा अधिकृत स्तरको तालिम अब स्टाफ कलेज मातहत ल्याउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।  सचिव भुजेलले प्रदेश स्तरमा छुट्टै प्रशिक्षण केन्द्रहरू स्थापना भइसकेको सन्दर्भमा केन्द्रमा दोहोरो प्रकृतिको संस्था आवश्यक नपर्ने तर्क गर्दै यसको व्यवस्थापन स्टाफ कलेजबाटै हुनुपर्ने पनि बताए ।