काठमाडौं । पहिरोका कारण मनकामना केबलकार पुग्ने पहुँचमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।मनकामना केबलकारले पहुँच मार्गको दोस्रो घुम्तीमुनि पहिरो गएको जनाएको छ ।
पहिरोका कारण सवारी साधनहरू साविकको पार्किङ स्थलसम्म पुग्न नसक्ने भएकाले यात्रुले केही दूरी पैदलमार्ग प्रयोग गर्नुपर्ने भएको छ ।
पूर्वतर्फबाट आउने यात्रुका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको केबलकारले जनाएको छ ।
मौसम अनुकूल हुनासाथ सडक मर्मतको कामलाई तीव्रता दिइने पनि केबलकार व्यवस्थापनले जनाएको छ ।
यसैबीच, मनकामना केबलकार सेवा भने पूर्ण रूपमा सुरक्षित र नियमित सञ्चालनमा रहेको जनाइएको छ ।
राजमार्ग खुलेपछि वा यात्रुहरू आउने क्रम सुरु भएसँगै केबलकार सेवा निरन्तर सञ्चालनमा रहनेसमेत कम्पनीले स्पष्ट पारेको छ ।