काठमाडौं । दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीबारीका घटनामा २७ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् ।
पछिल्लो घटनाले देशमा बढ्दो बन्दुक हिंसालाई पुनः उजागर गरेको छ ।
पहिलो घटना शनिबार राति जोहान्सबर्गनजिकैको एउटा बारमा भएको थियो ।
प्रहरीका अनुसार आठ जना हतियारधारी आक्रमणकारीले बारमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए । उक्त घटनामा १७ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
दोस्रो घटना आइतबार बिहान केप टाउननजिकैको एउटा टाउनसिपमा रहेको मनोरञ्जन केन्द्रबाहिर भएको थियो । त्यहाँ भएको गोलीबारीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
दोस्रो घटनामा मृत्यु भएका १० जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य पाँच जनाले अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका थिए ।
जोहान्सबर्गनजिकै भएको घटनामा आक्रमणकारीहरूले सुरुमा बारबाहिर रहेका मानिसमाथि गोली चलाएका थिए। त्यसपछि उनीहरू बारभित्र प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए ।
घटनापछि आक्रमणकारीहरूले दुईवटा सवारीसाधनमा आगजनी गरेर फरार भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १३ पुरुष र चार महिला रहेको बताइएको छ ।
यद्यपि, दुवै घटनाको उद्देश्यबारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । आइतबार बिहानसम्म प्रहरीले कुनै पनि घटनामा संलग्न भएको आरोपमा कसैलाई पक्राउ गरेको पुष्टि गरेको थिएन ।
यी घटनाभन्दा केही दिनअघि पनि डरबन सहरको क्वामाखुथा टाउनसिपमा एउटा घरमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको थियो ।