मक्काको मस्जिदमा ‘अश्लील गतिविधि’ गरेको आरोपमा दुई बंगलादेशीलाई मृत्युदण्ड

काठमाडौं । साउदी अरबले पवित्र सहर मक्काको एक मस्जिदभित्र अश्लील गतिविधि गरेको आरोपमा एक बंगलादेशी पुरुष र महिलालाई मृत्युदण्ड दिएको छ । तर, उनीहरूले मस्जिदभित्र वास्तवमा के गरेका थिए भन्नेबारे साउदी सरकारले स्पष्ट पारेको छैन ।

साउदी अरबको गृह मन्त्रालयका अनुसार मृत्युदण्ड पाउनेमा बंगलादेशी नागरिक नजरुल इस्लाम अब्दुल बासिर र सिटी अख्तर छन् । दुवैलाई बुधबार (१४ अक्टोबर) मक्का क्षेत्रमा मृत्युदण्ड दिइएको हो । 

साउदी अधिकारीहरूले दुवैलाई पक्राउ गरी अनुसन्धानपछि अदालतमा मुद्दा चलाएका थिए । अदालतले उनीहरूलाई दोषी ठहर गर्दै इस्लामिक कानुनको ‘ताजिर’ प्रावधानअन्तर्गत मृत्युदण्ड सुनाएको थियो ।

ताजिर यस्तो कानुनी व्यवस्था हो, जसअन्तर्गत अपराधको प्रकृति र गम्भीरताका आधारमा सजाय निर्धारण गरिन्छ ।

अदालतले अपराधको गम्भीरता तथा धार्मिक स्थलको पवित्रता उल्लंघन भएको आधारमा मृत्युदण्ड सुनाएको मन्त्रालयले जनाएको छ । सम्बन्धित न्यायिक निकायबाट फैसला सदर भएपछि मृत्युदण्ड कार्यान्वयनका लागि शाही आदेश जारी गरिएको थियो । 

यद्यपि, साउदी सरकारले कथित अश्लील गतिविधिको प्रकृति, घटना भएको मस्जिदको नाम र पक्राउ परेको मिति सार्वजनिक गरेको छैन ।

यसैबीच, जेद्दास्थित बंगलादेशी महावाणिज्य दूतावासले आफ्ना नागरिकलाई मृत्युदण्ड दिनुअघि कुनै जानकारी नगराइएको जनाएको छ ।

दूतावासले घटनाबारे औपचारिक जानकारी माग्दै साउदी विदेश मन्त्रालयलाई कूटनीतिक पत्र पठाएको छ ।

साउदी गृह मन्त्रालयले भने मस्जिदको पवित्रता उल्लंघन गर्ने जोकोहीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

Share News