काठमाडौं । अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीबारीमा ४ जनाको मृत्यु भएको छ । जसमध्ये तीन बालबालिका र एक शिक्षक रहेका छन् ।
घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
बिहीबार ओरेगनको बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा १६ वर्षीय किशोरले अन्धाधुन्ध गोली चलाएका हुन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार मृत्यु हुने बालबालिका पाँच, आठ र ११ वर्षका छन् । गोलीबारीमा घाइते सात वर्षीय बालक र ५४ वर्षीय शिक्षकलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।
प्रहरीका अनुसार आक्रमणकारीले विद्यालयको बन्द ढोकामा गोली चलाएर भित्र प्रवेश गरेका थिए । घटनापछि आक्रमणकारीलाई पछ्याउँदै विद्यालयभित्र पुगेका एक स्थानीय व्यक्तिले गोली हानी उनको हत्या गरेका थिए ।
गोलीबारीको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घटनापछि विद्यालयका विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ ।
ओरेगनकी गभर्नर टिना कोटेकले घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । आक्रमणको उद्देश्य र विद्यालयसँग आक्रमणकारीको सम्बन्धबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।