‘प्रधानमन्त्री अम्बानी’ भन्दै मस्कले गरे कटाक्ष, रिलायन्सले दियो यस्तो जवाफ

काठमाडौं । अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले आफ्नो कम्पनी स्टारलिंकलाई भारतमा प्रवेश गर्नबाट रोक्ने प्रयास भइरहेको आरोप लगाएपछि रिलायन्स इन्डस्ट्रिजले त्यसको जवाफ दिएको छ ।

मस्कले भारतीय अर्बपति मुकेश अम्बानीप्रति व्यंग्य गर्दै उनलाई ‘प्रधानमन्त्री अम्बानी’ समेत भनेका थिए । उनले अम्बानीलाई स्टारलिंकले भारतमा निष्पक्ष रूपमा प्रतिस्पर्धा गर्न पाउँछ कि पाउँदैन भनेर प्रश्न गरेका थिए ।

मस्कको उक्त टिप्पणीपछि रिलायन्स इन्डस्ट्रिजले शुक्रबार आधिकारिक विज्ञप्ति जारी गर्दै आफू प्रतिस्पर्धासँग कहिल्यै नडराएको स्पष्ट पारेको हो ।

रिलायन्सले भनेको छ, ‘अन्य भारतीय कम्पनीहरूजस्तै रिलायन्स पनि स्वदेशी तथा विदेशी लगानी र नयाँ विचारलाई स्वागत गर्ने देशमा विकसित भएको हो । विशेषगरी मानिसहरूको जीवनस्तर सुधार गर्ने प्रयासलाई भारतले सधैं प्रोत्साहन गर्दै आएको छ ।’

कम्पनीले यस्तो स्वतन्त्रता कानुनी शासनमा आधारित रहेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारले स्वदेशी वा विदेशी जुनसुकै कम्पनीले आवेदन दिए पनि सबैका लागि समान प्रक्रिया अपनाइने स्पष्ट पारेको छ । जियोको आफ्नै स्याटेलाइट सेवाले समेत अहिलेसम्म स्वीकृति पाउन सकेको छैन ।’

रिलायन्सले आफूले प्रतिस्पर्धालाई ग्राहकलाई उत्कृष्ट सेवा कसले दिन सक्छ भन्ने कुराको सबैभन्दा ठूलो परीक्षाका रूपमा लिने गरेको जनाएको छ ।

‘रिलायन्स प्रतिस्पर्धासँग कहिल्यै डराएको छैन । ग्राहकलाई सबैभन्दा राम्रो सेवा कसले दिन सक्छ भन्ने कुराको वास्तविक परीक्षा नै प्रतिस्पर्धा हो,’ कम्पनीले भनेको छ ।

रिलायन्सका अनुसार सन् २०१६ मा जियोले भारतीय दूरसञ्चार बजारमा प्रवेश गर्दा त्यहाँ पहिल्यै धेरै कम्पनीहरू सञ्चालनमा थिए । त्यतिबेला जियोसँग एक जना पनि ग्राहक थिएनन् ।

तर, पछिल्लो १० वर्षमा जियोले ५३ करोडभन्दा बढी ग्राहकको विश्वास जितेको कम्पनीको दाबी छ । 

यस अवधिमा जियोले भारतीय नागरिकलाई विश्वकै उत्कृष्ट डिजिटल पूर्वाधारमध्ये एक उपलब्ध गराउनुका साथै सबैभन्दा सस्तो डेटा सेवा प्रदान गरेको रिलायन्सले जनाएको छ ।

रिलायन्सले स्टारलिंकसहित स्याटेलाइट सञ्चार क्षेत्रमा प्रवेश गर्न चाहने सबै कम्पनीसँग प्रतिस्पर्धा गर्न आफू तयार रहेको स्पष्ट पारेको छ ।
कम्पनीले भनेको छ, ‘हामी स्टारलिंकसहित स्याटेलाइट सञ्चार क्षेत्रमा हुने प्रतिस्पर्धालाई स्वागत गर्छौं ।’

विज्ञप्तिमा जियोसहित सबै कम्पनीले भारतका नागरिकलाई सेवा उपलब्ध गराउँदा देशको कानुन र नीतिको पालना गर्नुपर्नेमा समेत जोड दिइएको छ ।

Share News