इरानमा परमाणु हतियार प्रयोग नगर्ने ट्रम्पको स्पष्टीकरण

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प । फाइल तस्बिर ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध परमाणु हतियार प्रयोग नगर्ने बताएका छन् । 

इरानमाथि सम्भावित थप सैन्य आक्रमणका लागि अमेरिकाले शक्तिशाली बम प्रयोग गर्ने तयारी गरिरहेको खबर सार्वजनिक भइरहेका बेला ट्रम्पले परमाणु हतियार आवश्यक नरहेको स्पष्ट पारेका हुन् ।

समाचार संस्था अनादोलुका अनुसार ट्रम्पले बिहीबार न्युजम्याक्ससँगको अन्तर्वार्तामा इरानविरुद्ध परमाणु हतियार प्रयोग गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा त्यसलाई अस्वीकार गरेका थिए ।

‘होइन, म परमाणु हतियार प्रयोग गर्दिनँ । हामीलाई त्यसको आवश्यकता छैन,’ ट्रम्पले भनेका थिए ।

अमेरिकी सेनाले प्रयोग गर्ने सम्भावित शक्तिशाली बमबारे चर्चा गर्दै उनले ‘मदर अफ अल बम्ब्स’ परमाणु बम नभएको बताए । ‘यो अत्यन्त ठूलो बम मात्र हो,’ उनले भने ।

यसअघि सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इरानमाथि सम्भावित थप आक्रमणका क्रममा अमेरिकाले जीबीयू–४३रबी म्यासिभ अर्डनेन्स एयर ब्लास्ट (एमओएबी) बम प्रयोग गर्ने विकल्पमाथि विचार गरिरहेको समाचार सार्वजनिक गरेको थियो । उक्त बमलाई ‘मदर अफ अल बम्ब्स’ पनि भनिन्छ ।

यो अमेरिकी सेनाको सबैभन्दा शक्तिशाली गैरपरमाणु बममध्ये एक हो । यसको प्रयोगबारे ट्रम्पले अन्तर्वार्तामा प्रत्यक्ष पुष्टि वा खण्डन नगरे पनि परमाणु हतियार प्रयोग नगर्ने बताएका हुन् ।

ट्रम्पले इरानमा अमेरिकी स्थल सेना पठाउने तत्काल कुनै योजना नरहेको पनि बताएका छन् ।

इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिका र इरानबीच लामो समयदेखि तनाव रहँदै आएको छ । 

इरानले आणविक हतियार विकास गर्न खोजेको आरोप अमेरिकाले लगाउँदै आएको छ भने तेहरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ ।

Share News