विकासन्युज

नारायणी नदीले बगाएको क्रुज पुलमा अड्कियो, सवारी सञ्चालनमा रोक

काठमाडौं । नवलपरासी-बर्दघाट सुस्ता पूर्वस्थित नारायणी नदीमा सञ्चालन भएको क्रुज (पानी जहाज) बाढीले बगाएको छ । गैंडाकोट नगरपालिका २ बोटे टोलको होटल रिभर क्राउनको क्रुज आइतबार साँझ साढे ५ बजेतिर बगाएको नवलपरासीपूर्व प्रहरीले जानकारी दिएको छ । क्रुज चितवन र नवलपरासी जोड्ने नारायणी पुलमा अड्किएको छ । क्रुज अड्किएपछि पुलमा जोखिम भएको छ । अहिले दुवैतर्फी यातायात सञ्चालनमा रोक लगाइएको छ ।

कालीगण्डकी करिडोरका ४६ ठाउँमा पहिरो, पन्छाउने काम जारी

काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अन्तर्गत मालढुंगा-बेनी-जोमसोम-कोरला सडकका विभिन्न ४६ स्थानमा पहिरो, डुबान र सडक कटान भई यातायात पूर्ण रूपमा प्रभावित भएको छ ।  सडक विभागका अनुसार मालढुंगालाई सुरु विन्दु मानी कायम गरिएको चेनेज अनुसार विभिन्न खण्डमा बाटो अवरुद्ध भएको हो । सडकका अधिकांश स्थानमा लेदोसहितको पहिरो खसेको छ । लाटीखोला, फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगंगा पुल, बैसरी (१, २ र ३ सिरुबारी), जलथले, सुकेबगर, दाना, लाटोखोला, लेतेखोला, पाण्डाखोला, एकलेभट्टी, कागबेनी, तिरीगाउँ वारी, ब्रीन ताङ्बे, ताङ्बे खोल्सा (पहिलो र दोस्रो), छुसाङ खोल्सा, स्याङ्बोचे, घमी, चराङ, छोसेर र नेचुङ भन्सार घुम्तीमा लेदोसहितको पहिरोका कारण आवागमन ठप्प छ । खोला तथा नदीको उच्च बहावले लामाखेत र बेगखोलामा सडक डुबानमा परेको छ भने भिरकाटे, तातोपानी कुण्ड, नाच्याङ, खान्भिस्ता, घ्याकर खोला, समर खोला र झोखोलामा सडक कटान भएको छ । चैलेमा भारी वर्षाले सडक काटेको छ भने पोखरेबगरमा पुल बगेको छ । यसैगरी, नौनीबगरमा ढुङ्गासहितको पहिरो र महभीरमा चट्टानसहितको पहिरो खसेको छ ।  रुप्से, काभ्रेभीर, खरेखोला, घासा र कैकुखोलामा ठूला ढुङ्गा खसेर बाटो बन्द छ भने मार्फामा कलभर्ट बन्द भई पानी सडकमाथि बगिरहेको छ । सडकमा पहिरो र कटानको जोखिम कायम रहेकाले यात्रा गर्नुअघि पछिल्लो अवस्था बुझ्न अनुरोध गरिएको छ । हाल उपलब्ध उपकरण र जनशक्ति परिचालन गरी अवरोध हटाउने कार्य भइरहेको छ ।

पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको बताएका छन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँगको निरन्तर सहकार्य आवश्यक रहेको बताए । पर्यटनमन्त्री पौडेलले पर्यटन विकासलाई एउटै मन्त्रालयको प्रयासबाट मात्र अघि बढाउन नसकिने भएकाले सरकारका विभिन्न निकायबीच प्रभावकारी समन्वयमा आफूले निरन्तर जोड दिँदै आएको उल्लेख गरे ।  उनले पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने सरकारको योजना रहेको भन्दै बदलिँदो पर्यटन परिवेशअनुसार संस्थागत क्षमता र सेवा प्रवाहलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । मन्त्री पौडेलले नेपालको मौलिक संस्कृति, परम्परा र समुदायमा आधारित जात्रा तथा पर्वहरू पर्यटनका महत्वपूर्ण आधार भएका बताए । पुस्तौँदेखि चलिआएका जीवन्त सामुदायिक जात्रा तथा सांस्कृतिक गतिविधिको संरक्षण र प्रवद्र्धनलाई पर्यटन विकाससँग जोड्नुपर्ने उनको भनाइ छ । उनले हिमालयलाई नेपालको मात्र नभई यस क्षेत्रकै पवित्र प्राकृतिक सम्पदाका रूपमा लिँदै हिमालबाट उत्पन्न नदीले यस क्षेत्रका करोडौं मानिसको जीवनयापनमा योगदान पुर्‍याइरहेको उल्लेख गरे । हिमाली सम्पदाको संरक्षणसँगै त्यसको दिगो पर्यटन उपयोगमा पनि ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।  मन्त्री पौडेलले विद्यमान कानुन तथा नियमावलीमा देखिएका कमी-कमजोरी सुधार गर्न निजी क्षेत्रबाट प्राप्त सुझाव र प्रतिक्रिया सरकारका लागि महत्वपूर्ण हुने बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष पन्तले भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रले पाएको गम्भीर पाठलाई डिजिटल प्रविधिको प्रयोगसँग जोड्नुपर्ने बताए । उनले हालैको भोटेकोशी बाढीका कारण लाङटाङ जाने नियमित पहुँचमार्ग तथा आवास सुविधामा क्षति पुग्दा पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको भन्दै सुरक्षित पूर्वाधार, समयमै सूचना, वैकल्पिक पहुँचमार्ग र प्रभावकारी विपद् तयारी अब विकल्प नभई अनिवार्य आवश्यकता बनेको बताए । कार्यक्रममा पाटा फाउण्डेसनका अध्यक्ष एन्ड्रयू जोन्सले भोटेकोशी बाढीपछि नेपालको पर्यटन पुनरुत्थानका लागि पाटा फाउन्डेसनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले प्रकृतिमा आधारित पर्यटनलाई सहयोग पुर्‍याउन एआई र डिजिटल मिडियाको भूमिका थप महत्वपूर्ण बन्दै गएको बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा सञ्जय आचार्य, प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदास, सोही समितिकी सदस्य अनुष्का श्रेष्ठ, प्रतिनिधीसभा सदस्यद्धय डा अर्जुनकुमार कार्की, मिङ्मा ग्याबु शेर्पालगायतले पर्यटन क्षेत्रमा प्रविधिको प्रयोग, रोजगारी संरक्षण, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सुदृढीकरण तथा पर्यटकलाई प्रमाणित र विश्वसनीय सूचना उपलब्ध गराउने विषयमा आआफ्नो धारणा राखे ।  कार्यक्रममा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले तीनवटा गाउँलाई ‘वर्ष गन्तव्य गाउँ’ घोषणा गरेको थियो । घोषित गाउँका प्रतिनिधिलाई मन्त्री पौडेलले प्रमाणपत्र प्रदान गरेका थिए । ग्रामीण पर्यटन, स्थानीय संस्कृति र समुदायलाई पर्यटनको मूल प्रवाहसँग जोड्ने उद्देश्यले यस्तो पहल गरिएको बोर्डले जनाएको छ ।

‘नेपाल कलिङ’ नारासहित नाट्टा सम्पदा दौड सम्पन्न

काठमाडौं । ‘नेपाल कलिङ’ मुख्य नारासहित नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आयोजना गरेको 'नाट्टा सम्पदा दौड २०८३'सम्पन्न भएको छ । आइतबार ४७औँ विश्व पर्यटन दिवसका अवसरमा दौडले पर्यटन, स्वास्थ्य, सम्पदा संरक्षण तथा सामुदायिक सहभागितालाई जोड्दै सम्पन्न भएको हो ।   काठमाडौं र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई पर्यटन गतिविधिसँग जोड्ने सन्देश दिएको आयोजकले जनाएको छ । नाट्टा अध्यक्ष भरतजंग पाण्डेको नेतृत्वमा आयोजित कार्यक्रम नाट्टा कार्यसमिति सदस्य नबिन गुरुङको संयोजकत्वमा सम्पन्न भएको हो ।  ६ किलोमिटर लामो दौड काठमाडौं दरबार स्क्वायरबाट सुरु भई रत्नपार्क, शहीदगेट, रंगशाला, थापाथली, साझा पेट्रोल पम्प तथा लबिम मल हुँदै पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो । काठमाडौं र ललितपुरका महत्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रलाई एउटै दौडमार्फत जोडिएको यस कार्यक्रमले सहभागीलाई सम्पदासँग प्रत्यक्ष जोडिँदै पर्यटन अनुभव गर्ने अवसर प्रदान गरेको अध्यक्ष भरतजंग पाण्डेले बताए । पर्यटन व्यवसायी, युवा, विभिन्न संघसंस्था, नाट्टा परिवार तथा सर्वसाधारणको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो । नाट्टा सम्पदा दौड २०८३ को पुरुषतर्फ रविन्द्र रावत प्रथम भएका छन् । सलमान शेख द्वितीय र शेरबहादुर शाही तृतीय भएका छन् । महिलातर्फ सुजिना रामदाम प्रथम, सुमित्रा तामाङ द्वितीय र संग्रिला श्रेष्ठ तृतीय भएकी छन् । आयोजक नाट्टाले प्रायोजकको सहयोगले कार्यक्रमलाई थप ऊर्जाशील र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुगेको जनाएको छ । त्यस्तै, कार्यक्रमको समापन तथा पाटनतर्फको आतिथ्य व्यवस्थापनमा पाटन पर्यटन विकास संगठनका अध्यक्ष कृष्णलाल महर्जनसहितको टोलीले सहयोग गरेको थियो ।  सहभागीका लागि आवश्यक आतिथ्य तथा अन्य व्यवस्थापनमा संगठनले महत्वपूर्ण भूमिका निर्वाह गरेको नाट्टाले जनाएको छ ।  कार्यक्रममा फ्रन्टलाइन अस्पतालले स्वास्थ्य साझेदारका रूपमा सहयोग गरेको थियो । नाट्टाका अनुसार नाट्टा सम्पदा दौड केवल दौड प्रतियोगितामा सीमित नभई स्वास्थ्य, पर्यटन, सम्पदा संरक्षण, सामुदायिक सहभागिता र एकताको साझा उत्सवका रूपमा सम्पन्न भएको हो ।  काठमाडौं दरबार स्क्वायरदेखि पाटन दरबार स्क्वायरसम्मको दौडले काठमाडौं उपत्यकाका दुई महत्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रलाई पर्यटन गतिविधिमार्फत जोड्ने प्रयास गरेको छ ।

यूएईले बाढी प्रभावितलाई थप ३ अर्ब ८३ करोड दिने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औं महासभाका क्रममा शनिबार न्युयोर्कस्थित यूएईको संयुक्त राष्ट्रसंघीय स्थायी नियोगमा दुईबीच भेटवार्ता भएको हो । भेटमा मन्त्री खनालले नेपालमा जलवायुजन्य विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति यूएई सरकार र जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा सहानुभूतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।  बाढी प्रभावित समुदायका लागि यूएईले उपलब्ध गराएको मानवीय सहयोगका लागि पनि परराष्ट्रमन्त्री खनालले धन्यवाद दिएका छन् । साथै उनले यूएईले हालै बाढी प्रभावितका लागि थप २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ८३ करोड रुपैयाँ) आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएकोमा पनि आभार व्यक्त गरेका छन् ।  भेटमा नेपाल–यूएई द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । दुई मन्त्रीबीच श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, कनेक्टिभिटी तथा संयुक्त राष्ट्रसंघअन्तर्गत बहुपक्षीय सहकार्यलगायत विषयमा विचारविमर्श भएको बताइएको छ ।   

दशैंमा माइडियाको विशेष योजना, ३७ हजार ७ सयसम्म क्यासब्याक

काठमाडौं । दशैंलाई लक्षित गर्दै होम एप्लायन्सेस ब्रान्ड माइडियाले विशेष उत्सव योजना सार्वजनिक गरेको छ । ‘दिस दशैं, ब्रिङ होम द सेलिब्रेसन’ भन्ने सन्देशसहित ल्याइएको योजनामा माइडियाका विभिन्न घरायसी उपकरण खरिद गर्ने ग्राहकले क्यासब्याक, सुनिश्चित उपहार र अन्य सुविधा पाउनेछन् । योजनाअन्तर्गत ग्राहकले ३७ हजार ७ सय रुपैयाँसम्मको सुनिश्चित क्यासब्याक पाउनेछन् । साथै विभिन्न उपकरणको खरिदमा आकर्षक उपहारसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ । साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटर खरिदमा इन्डक्सन कुकटप, फ्रन्ट लोड वासिङ मेसिनमा ६ किलो सर्फ एक्सेल, टप लोड वासिङ मेसिनमा ४ किलो सर्फ एक्सेल र सेमी अटोमेटिक वासिङ मेसिनमा २ किलो सर्फ एक्सेल निःशुल्क दिइनेछ । त्यस्तै, डिसवासर खरिदमा २ वटा वासिङ ट्याब्लेट उपहारस्वरूप पाइनेछ । योजनामा सहभागी ग्राहकले हरेक महिना हुने लक्की ड्रमार्फत माइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने अवसर पनि पाउनेछन् । लक्की ड्रमा सहभागी हुन ग्राहकले उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ । माइडियाले ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा समेत उपलब्ध गराएको छ । छनोट गरिएका उत्पादनमा १० वर्षसम्मको वारेन्टी सुविधा पनि रहेको कम्पनीले जनाएको छ । यो विशेष योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको हो । दशैंमा परिवारसँग बिताइने खुसीका पललाई अझ सहज र विशेष बनाउने उद्देश्यले आधुनिक प्रविधि, उपयोगी सुविधा र आकर्षक उपहारसहित योजना ल्याइएको माइडियाले जनाएको छ । चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा माइडियाका उत्पादन बिक्री गर्दै आएको छ । माइडियाका उत्पादन नेपालभरिका आधिकारिक डिलर, २२ वटा सीजी डिजिटल शोरुम तथा अनमष्नष्तब।िअयm।लउ मार्फत उपलब्ध छन् । नेपालमा माइडियाका रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, डिसवासर, माइक्रोवेभ ओभन, चिम्नी तथा विभिन्न साना घरायसी उपकरण उपलब्ध छन् ।  ग्राहकले आफ्नो परिवारको आवश्यकता, घरको आकार र जीवनशैलीअनुसार विभिन्न मोडल छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

शिवम सिमेन्टले अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीहरूलाई बाँड्यो न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता भएका विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल व्याग सहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ ।  एक कार्यक्रममार्फत केन्द्रमा रहेका विद्यार्थीहरूको अध्ययन तथा दैनिक जीवनलाई थप सहज बनाउने उद्देश्यका साथ आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो । करिब ६ महिनाअघि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा रोल्पा नगरपालिका–१०, धाङ्सी निवासी विशेष क्षमता भएका बालक सन्देश बुढा मगरको प्रेरणादायी संघर्षको कथा सार्वजनिक भएको थियो ।  जन्मजात दुबै हात नचल्ने अवस्थाका बाबजुद खुट्टाको सहारामा लेख्दै अध्ययनलाई निरन्तरता दिइरहेको समाचार सार्वजनिक भएपछि शिवम् सिमेन्ट्स लिमिटेडले उनको शिक्षालाई निरन्तरता दिन पहल गरेको थियो । यसअघि शिवम् सिमेन्ट्स लिमिटेडले सन्देश बुढा मगरको शैक्षिक भविष्य सुनिश्चित गर्ने उद्देश्यले काठमाडौंस्थित अपाङ्ग नवजीवन केन्द्र तथा खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरी उनको माध्यमिक तहसम्मको अध्ययनका लागि आवश्यक सहयोग गर्ने व्यवस्था मिलाएको थियो ।  उक्त सहकार्य अन्तर्गत अपाङ्ग नवजीवन केन्द्रले आवास, हेरचाह तथा अध्ययन समन्वयको जिम्मेवारी लिएको छ भने विद्यालयले विशेष शिक्षा अन्तर्गत अध्ययनको अवसर उपलब्ध गराइरहेको छ । सन्देशको अध्ययन तथा आवश्यक व्यवस्थापनका लागि लाग्ने खर्चमा शिवम् सिमेन्टले नियमित सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले शिक्षा हरेक बालबालिकाको मौलिक अधिकार भएको उल्लेख गर्दै विशेष आवश्यकता भएका बालबालिकाहरूले पनि समान अवसरसहित गुणस्तरीय शिक्षा प्राप्त गर्नुपर्नेमा जोड दिएका थिए ।  साथै समाजका आवश्यकता भएका वर्गहरूको जीवनस्तर सुधार तथा सशक्तीकरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरेका थिए । अपाङ्ग नवजीवन केन्द्रका पदाधिकारीहरूले शिवम् सिमेन्टले सन्देश बुढा मगरको शिक्षाका लागि गरेको सहयोग तथा केन्द्रका अन्य विद्यार्थीहरूलाई उपलब्ध गराएको सामग्रीले विद्यार्थीहरूको मनोबल वृद्धि हुनुका साथै अध्ययनमा सकारात्मक प्रभाव पार्ने बताएका छन्  ।

बाढी प्रभावितलाई कामना सेवा बैंकका महिला कर्मचारीले दिए सरसफाइ सामग्री सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका नागरिकलाई सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री सहयोग गरेका छन् । बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकका तर्फबाट प्रभावितहरूलाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन्  प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारको तत्कालीन स्वास्थ्य, सरसफाइ र व्यक्तिगत स्वच्छताको आवश्यकतालाई ध्यानमा राख्दै बैंकका महिला कर्मचारीहरूको सहभागितामा आवश्यक सामग्री संकलन गरी सहयोग गरिएको बैंकले जनाएको छ । विपद्का बेला खाद्यान्न, आवास तथा अन्य राहत सामग्रीसँगै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइका आधारभूत सामग्रीको आवश्यकता पनि महत्त्वपूर्ण हुने भएकाले प्रभावित नागरिकको दैनिक जीवन सहज बनाउन सहयोग गरिएको बैंकको भनाइ छ । यसअघि पनि कामना सेवा विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको थियो ।  बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ । बैंकले संस्थागत सहयोगसँगै कर्मचारीस्तरबाट गरिएको मानवीय सहयोगले विपद्का बेला सामाजिक उत्तरदायित्व र सहकार्यको भावनालाई थप बलियो बनाएको जनाएको छ ।  बैंकले विपद् व्यवस्थापन, मानवीय सहायता, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक हितका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र आवश्यकता तथा परिस्थितिअनुसार प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।