विकासन्युज

खोजतलास गर्दा समेत नभेटिएपछि ९ जना प्रहरीलाई ७ दिने अल्टिमेटम

काठमाडौं । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर रहेका ९ जना प्रहरी कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन ताकेता गरेको छ । प्रहरी प्रधान कार्यालयले खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत कार्यालयको सम्पर्कमा नआएका प्रहरी कर्मचारीलाई हाजिर हुन ताकेता गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार गैरहाजिर रहेका प्रहरी कर्मचारीमा प्राविधिक प्रहरी नायब निरीक्षक शुक्रबहादुर नेपाल, प्रहरी सहायक निरीक्षक खर्गबहादुर गुरुङ, प्राविधिक प्रहरी सहायक हवल्दार रोशन राई, प्रहरी सहायक हवल्दार सुरेश नेपाली, प्राविधिक प्रहरी जवान मोहन भण्डारी तथा प्रहरी जवानहरू कल्पना रानामगर, राजेन्द्र विश्वकर्मा, सुमन चौधरी र टोपलाल चौधरी रहेका छन् । प्रहरी प्रधान कार्यालयले तोकिएको अवधिभित्र हाजिर भई गैरहाजिर रहनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण पेस नगरे प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही अघि बढाइने जनाएको छ । तोकिएको अवधिभित्र हाजिर नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) बमोजिमको कसुरमा नियम १०९ को देहाय (ख) को उपखण्ड (१) बमोजिम सेवाबाट हटाउने कारबाही गरिने सूचनामा उल्लेख छ । साथै प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ को प्रयोजनका लागि सम्बन्धित प्रहरी कर्मचारीलाई सफाइको मौका प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो । आइतबार मात्रै नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । शनिबार एक जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । त्यस्तै, निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका-३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । सोही स्थानमा पहिरोले आठ घर बगाएको छ । तमानखोला गाउँपालिका-४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता भएकी छन् । निसीखोला गाउँपालिका-३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक रहेका छन् । यस्तै, निसीखोला गाउँपालिका-६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ । शनिबार ताराखोला गाउँपालिका-५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे प्रतिनिधिसभाको र १ः१५ बजे राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने छिन् । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । यस्तै, मन्त्री मेहताले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । त्यसैगरी, राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

चामेका बाढीपीडित सेनाको ब्यारेकमा सुरक्षित, उपल्लो मनाङमा उद्धार टोली खटाइयो

काठमाडौं । मनाङः मनाङको सदरमुकाम चामेमा बाढीबाट प्रभावित बनेका सबै नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।  बाढीपीडितहरूका लागि नेपाली सेनाको ब्यारेकभित्र रहेको फुटबल मैदानमा टेन्ट निर्माण गरी सामूहिक रूपमा सुरक्षित राखिएको हो ।  लगातारको बाढी र प्रतिकूल मौसमका बीच स्थानीय प्रशासन तथा सुरक्षा निकायले उद्धार कार्यलाई तीव्र बनाएका छन् । यसैबीच, उपल्लो मनाङ क्षेत्रमा हिमपहिरोमा फसेका व्यक्तिहरूको उद्धारका लागि तालिमप्राप्त विशेष टोली परिचालन गरिएको छ ।  खराब मौसमका कारण उद्धारका लागि पठाइएको हेलिकप्टर चामेमा अवतरण गर्न नसकी फर्कनुपरे तापनि, सोही हेलिकप्टर प्रयोग गरी उद्धार टोलीलाई भने प्रभावित उपल्लो क्षेत्रतर्फ खटाइएको छ । मौसममा सुधार आउनेबित्तिकै थप राहत सामग्री पठाउने र उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने तयारी भइरहेको सुरक्षा निकायले जनाएको छ ।

कालीगण्डकी र डुम्रे-चामे खण्डसहितका पूर्वाधार ध्वस्त, मन्त्री लम्सालले भने- 'यसै महिनाभित्र काम थाल्छौँ'

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनील लम्सालले लगातारको वर्षाका कारण क्षति पुगेका क्षेत्रका जनप्रतिनिधिहरुसँग आइतबार छलफल गरेका छन् । बाढी र पहिरोका कारण देशभर जनजीवन प्रभावित भएपछि मन्त्री लम्सालले प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकाल सहित प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग नागरिकको पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका विषयमा छलफल गरेका हुन् ।  छलफलमा बाढीका कारण विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्य तत्काल अघि बढाउने विषयमा छलफल भएको छ ।  मन्त्री लम्सालले पछिल्लो तीन दिनको बाढी र वर्षाका कारण क्षति पुगेका पुल, सडक, झोलुङ्गे पुल, खानेपानीलगायतका आयोजनाको क्षति मूल्याङ्कन गरी तत्काल बजेट व्यवस्थापन गरेर टेन्डर प्रक्रियामार्फत पुनर्निर्माणको काम अघि बढाउने बताएका छन् ।  उनले यसै महिनाभित्र पुनर्निर्माणको काम सुरु गर्ने प्रतिबद्धता छलफलका क्रममा व्यक्त गरे । लगातारको वर्षा र बाढीका कारण कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको पोखरेबगर, बागलुङको मालढुंगा तथा तनहुँ नवलपरासीको देदगाउँस्थित पुलका एप्रोच सडक बगाएको छ ।  कालिगण्डकीको पक्की पुल बगाएको छ । कालीगण्डकी करिडोरका विभिन्न सडकखण्डका साथै डुम्रे बेँसीसहर चामे सडकखण्डमा ठूलो क्षति पुगेको छ ।  डुम्रे बेंसीसहर चामे सडक खण्ड अन्तर्गत रामबजार स्याङगे लमजुङमा मस्र्याङ्दी नदीको कटानका कारण करिब ४० मिटर सडक पूर्ण रुपमा भासिएको छ । नासो, खोत्रो मनाङमा ढुङ्गा सहितको पहिरोका कारण सडक अबरुद्ध छ । नासो, बगरछाप मनाङमा मस्र्याङ्दी नदीको कटानका कारण करिब ५० मिटर सडक पूर्ण रुपमा भासिएको छ । चामे, मनाङमा बाढीका कारण तीन अस्थायी काठे पुल बगेका छन् ।  बाढी र पहिरोका कारण काठमाडौं उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडकहरूमा क्षति पुगेको छ । बाढी तथा पहिरोका कारण रुकुम पूर्वको नाथीगाड झोलुङ्गे पुल, बागलुङ-पर्वत जलजला फोर्से झोलुङ्गे पुलमा पूर्ण रुपमा क्षति पुगेको छ ।  तनहुँको घिरिङ करुवाटार-नवलपुरको बुलिङटार मचेडी जोड्ने झोलुङ्गे पुल, स्याङ्जाको गल्याङ बेल्चौर–पाल्पाको रम्भा नौगाउँ-साठी बजार जोड्ने झोलुङ्गे पुल, पाल्पाको कासिबन-तनहुँको अत्रौली जोड्ने झोलुङ्गे पुल, पर्वत-स्याङ्जा जोड्ने सेतीबेणी झोलुङ्गे पुल तथा म्याग्दीको बेनी-पर्वतको जलजला जोड्ने झोलुङ्गे पुलमा आंशिक  क्षति पुगेको छ । बाढी र पहिरोले ३१ वटा खानेपानी आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ ।

विपद्का घटनामा २१ जनाको मृत्यु, ५ जना बेपत्ता

काठमाडौं । पछिल्लो समय देशका विभिन्न भागमा आएको बाढी, पहिरो, चट्याङ र अविरल वर्षाका कारण २१ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।  प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत असोज ८ गतेदेखि हालसम्म भएका मनसुनजन्य विपद्का घटनामा ठूलो मानवीय तथा भौतिक क्षति भएको जानकारी दिएका हुन् ।  प्रधानमन्त्री शाहका अनुसार म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बाग्लुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेत लगायतका जिल्लामा गरी २१ जनाको ज्यान गएको छ ।  उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको र बेपत्ताहरूको खोजी जारी रहेको बताएका छन् ।  देशभर ४३९ वटा मनसुनजन्य घटना दर्ता भएका छन् । विपद्का कारण गाउँ तथा सहरहरू डुबानमा परेका छन् भने सडक, पुल, खानेपानी र जलविद्युत् आयोजना जस्ता पूर्वाधारमा गम्भीर क्षति पुगेको छ । बाढीका कारण नारायणी नदीमा क्रुजसिप बगेर पुलमा अड्किएपछि पूर्व-पश्चिम राजमार्ग बन्द गरिएको छ ।पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकमार्ग लगायत काठमाडौं उपत्यका जोड्ने मुख्य सडकहरू प्रभावित भएका छन् ।  कालीगण्डकीको पक्की पुल बगेको छ भने मर्मत गरिएका भोटेकोशी-त्रिशूली नदी तटीय सडकमा पुनः क्षति पुगेको छ । महाकाली नदीमा जलसतह बढेकाले कञ्चनपुरको गड्डाचौकी सीमाबाट हुने आवागमन रोकिएको छ । बाढी-पहिरोका कारण राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति ठप्प भएको छ । प्रसारण टावर ढलेका कारण ३१८ मेगावाटका आयोजना बन्द भएका छन् भने सम्भावित जोखिम टार्न ६९५.२ मेगावाटका आयोजना स्वयं बन्द गराइएको छ । हावाहुरी र वर्षाले किसानको धान तथा तरकारी बालीमा ठूलो क्षति पुर्‍याएको छ । प्रधानमन्त्री शाहले विपद्को समयमा नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएको दोहोर्‍याउँदै प्रभावितहरूका लागि अस्थायी बसोबास र उद्धारको काम निरन्तर भइरहेको बताए । जोखिम अझै कायम रहेकाले तटीय तथा पहाडी क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न उनले आग्रह गरेका छन् ।  कुनै पनि संकट परेमा निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गर्दै प्रधानमन्त्रीले संकटको बेला भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने वा कालोबजारी गर्नेहरूमाथि सरकारले कडा निगरानी राखिरहेको चेतावनीसमेत दिएका छन् । 

होटल तथा रेस्टुरेन्ट क्षेत्र अब प्रविधिमैत्री बन्दै, महासंघले थाल्यो देशव्यापी डिजिटल साक्षरता अभियान

काठमाडौं । ४७औँ विश्व पर्यटन दिवसको अवसरमा होटल व्यवसायी महासंघ नेपाल (ज्एँल्) ले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियानको शुभारम्भ गरेको छ । आइतबार नेपाल सरकार, बागमती प्रदेशका पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिव  दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा उक्त अभियानको शुभारम्भ भएको हो । कार्यक्रममा सचिव सुवेदीले नेपालको आतिथ्यता क्षेत्रको समग्र रूपान्तरणका लागि साना तथा मझौला होटल व्यवसायीको क्षमता अभिवृद्धि र व्यावसायिक सशक्तीकरण अपरिहार्य रहेको बताए । उनले साना तथा मझौला व्यवसायीको क्षमता अभिवृद्धिमा मन्त्रालयको साथ रहने प्रतिबद्धता जनाए । उनले साना तथा मझौला व्यवसायीको क्षमता विकास र प्रविधिको व्यावहारिक प्रयोग विस्तार नभएसम्म नेपालको आतिथ्यता क्षेत्रलाई समयानुकूल र प्रतिस्पर्धी बनाउन चुनौती रहने उल्लेख गरे । साथै सचिव सुवेदीले महासंघले सुरु गरेको राष्ट्रिय डिजिटल साक्षरता अभियानलाई महत्वपूर्ण पहलका रूपमा लिए । अभियानले व्यवसायीलाई डिजिटल प्रविधिसँग जोड्दै उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यसलाई सफल बनाउन मन्त्रालयको पूर्ण साथ, सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले होटल व्यवसायी महासंघले अघि सारेको डिजिटल साक्षरता अभियानलाई देशव्यापी रूपमा विस्तार गर्न सहकार्य गर्न तयार रहेको बताए । उनले प्रदेश तथा जिल्ला तहसम्मका व्यवसायीलाई समेटेर तालिम, क्षमता अभिवृद्धि र व्यावसायिक सहकार्यका कार्यक्रम अघि बढाउन दुवै महासंघबीच समन्वय आवश्यक रहेको उल्लेख गरे । निजी क्षेत्रका व्यवसायीलाई प्रविधि र नयाँ व्यावसायिक अवसरसँग जोड्ने यस अभियानमा नेपाल उद्योग वाणिज्य महासंघले आवश्यक सहयोग र सहकार्य गर्ने धारणा राखे । त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद पन्तले पनि निजी क्षेत्रको संस्थागत सहकार्य र व्यवसायीको क्षमता विकासमार्फत पर्यटन तथा आतिथ्यता क्षेत्रको व्यावसायिक विकासमा जोड दिए ।नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले पर्यटन बोर्डले विगतदेखि नै पर्यटन क्षेत्रको प्रवद्र्धन, व्यावसायिक क्षमता अभिवृद्धि तथा विभिन्न पर्यटनसम्बन्धी कार्यक्रमलाई सहयोग गर्दै आएको उल्लेख गरे ।  उनले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि महासंघले अघि सारेको अभियान महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा होटल व्यवसायी महासंघसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्न नेपाल पर्यटन बोर्ड तयार रहेको धारणा व्यक्त गरे । विश्व पर्यटन दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी पर्यटन व्यवसायमा प्रत्यक्ष परिवर्तन ल्याउने उद्देश्यले महासंघले एकवर्षे राष्ट्रिय अभियान अघि बढाएको हो । यस वर्षको विश्व पर्यटन दिवसको डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्तासम्बन्धी अन्तर्राष्ट्रिय एजेन्डालाई आत्मसात् गर्दै सुरु गरिएको अभियानले नेपालको परम्परागत आत्मीय आतिथ्यतालाई आधुनिक प्रविधिसँग जोड्ने लक्ष्य राखेको छ । महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’को नेतृत्वमा अघि बढाइएको यस अभियानले विशेषगरी साना तथा मझौला होटल र रेस्टुरेन्ट व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि गर्दै ठूला व्यवसायलाई समेत प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको छ । अभियानको मूल उद्देश्य डिजिटल प्रविधिको पहुँचबाट पछाडि रहेका व्यवसायीलाई आवश्यक ज्ञान, सीप र प्राविधिक सहयोग उपलब्ध गराउँदै उनीहरूको दैनिक व्यवसाय सञ्चालन, बजार पहुँच र सेवा प्रवाहमा सुधार ल्याउनु हो ।  महासंघले आफ्नो सातवटै प्रदेश, जिल्ला तथा आबद्ध संघ-संस्थाको संगठनात्मक सञ्जाल परिचालन गरी अभियानलाई देशभर विस्तार गर्ने जनाएको छ । अभियानअन्तर्गत न्ययनभि द्यगकष्लभकक एचयाष्भि तथा न्ययनभि ःबउक मा व्यावसायिक विवरण र लोकेसन व्यवस्थापन, तथा अनलाइन बुकिङ प्रणाली, होटल व्यवस्थापन प्रणाली, डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको व्यावसायिक प्रयोग, ग्राहक समीक्षा व्यवस्थापन तथा डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक तालिम सञ्चालन गरिनेछ । विशेषगरी ग्रामीण क्षेत्र, राजमार्ग तथा नयाँ पर्यटकीय गन्तव्यमा सञ्चालित व्यवसायलाई डिजिटल बजारसँग जोड्दै अनलाइन माध्यमबाट ग्राहक पहुँच र व्यावसायिक अवसर विस्तारमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ ।व्यवसायको आकार, स्थान र आवश्यकताअनुसार उपयुक्त प्रविधि छनोट तथा प्रयोग गर्न सक्ने क्षमता विकास गर्नु अभियानको प्रमुख उद्देश्य हुनेछ । यसका लागि व्यवसायीको डिजिटल अवस्थाको पहिचान, आवश्यकताअनुसार प्रशिक्षण र प्राविधिक सहयोगलाई प्राथमिकता दिइनेछ । होटल तथा रेस्टुरेन्ट क्षेत्र पर्यटन, रोजगारी सिर्जना र उद्यमशीलताको महत्वपूर्ण आधार हो । बदलिँदो पर्यटन बजारमा अनलाइन उपस्थिति, डिजिटल बुकिङ, ग्राहक समीक्षा र प्रविधिमैत्री सेवा व्यवसाय सञ्चालनका महत्वपूर्ण पक्ष बन्दै गएका छन् । यस्तो अवस्थामा सुरु गरिएको राष्ट्रिय डिजिटल साक्षरता अभियानले साना, मझौला तथा ठूला व्यवसायबीच प्रविधि र अवसरको पहुँचमा रहेको दूरी घटाउन, व्यवसायीको क्षमता अभिवृद्धि गर्न र नेपाली आतिथ्यता क्षेत्रलाई समयानुकूल बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । महासंघले आजदेखि सुरु भएको अभियानलाई आगामी एक वर्ष पहिलो कार्यचक्रका रूपमा देशभर सञ्चालन गर्दै संस्थागत निरन्तरता दिने जनाएको छ । सरकारी निकाय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड तथा निजी क्षेत्रबाट व्यक्त भएको सहकार्यको प्रतिबद्धताले अभियानलाई राष्ट्रिय स्तरमा विस्तार गर्न थप आधार तयार गरेको महासंघको विश्वास छ । विश्व पर्यटन दिवसको अवसरमा सुरु भएको यस अभियानले डिजिटल प्रविधिको पहुँचलाई व्यवसायीको वास्तविक सशक्तीकरणसँग जोड्दै नेपालको होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ ।

कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया

काठमाडौं । कलेजो रोग तथा कलेजो प्रत्यारोपणका क्षेत्रमा विकसित हुँदै आएका नयाँ उपचार विधि, शल्यक्रिया प्रविधि तथा चिकित्सकीय अनुभव आदान-प्रदान गर्ने उद्देश्यले काठमाडौंमा कलेजो प्रत्यारोपणसम्बन्धी विशेष चिकित्सकीय सम्मेलन सम्पन्न भएको छ । म्याक्स हेल्थकेयरको आयोजनामा दरबारमार्गस्थित होटल याक एन्ड यतिमा सम्पन्न सम्मेलनमा नेपालका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत वरिष्ठ चिकित्सकहरूको सहभागिता रहेको थियो ।  सम्मेलनमा भारतको नयाँ दिल्लीस्थित बीएलके-म्याक्स सुपर स्पेसियलिटी अस्पतालका कलेजो तथा कलेजो प्रत्यारोपण विभागका अध्यक्ष तथा प्रमुख डा. अभिदीप चौधरी प्रमुख वक्ताका रूपमा सहभागी भएको थिए । सम्मेलनमा डा. चौधरीले कलेजो प्रत्यारोपणका क्रममा गरिने जटिल शल्यक्रिया तथा कलेजोसम्बन्धी रोगको आधुनिक उपचार पद्धतिबारे चिकित्सकहरूसँग आफ्नो लामो अनुभव र विशेषज्ञता साझा गरे । उनले कलेजो प्रत्यारोपणका लागि बिरामी छनोट, शल्यक्रियाअघि गरिने तयारी, प्रत्यारोपणका क्रममा अपनाइने आधुनिक प्रविधि, जटिल अवस्थाको व्यवस्थापन तथा प्रत्यारोपणपछि बिरामीको हेरचाहलगायत विषयमा विस्तृत प्रस्तुति दिए ।  उनले कलेजोसम्बन्धी रोगको समयमै पहिचान, सही उपचार योजना तथा विभिन्न विधाका विशेषज्ञ चिकित्सकबीचको समन्वय उपचारको महत्वपूर्ण पक्ष रहेको बताए । डा. अभिदीप चौधरीसँग १८ वर्षभन्दा बढीको चिकित्सकीय अनुभव रहेको छ ।  उनले हालसम्म २ हजारभन्दा बढी कलेजो तथा कलेजोसम्बन्धी जटिल शल्यक्रिया र कलेजो प्रत्यारोपण गरिसकेका थिए ।  उनी हाल नयाँ दिल्लीस्थित बीएलके-म्याक्स सुपर स्पेसियलिटी अस्पतालमा कलेजो तथा कलेजो प्रत्यारोपण विभागका अध्यक्ष तथा प्रमुखका रूपमा कार्यरत छन् । डा. चौधरीले संयुक्त राज्य अमेरिकाको पिट्सबर्गस्थित थोमस स्टार्जल प्रत्यारोपण संस्थान तथा पिट्सबर्ग विश्वविद्यालय चिकित्सा केन्द्रमा प्रत्यारोपण शल्यक्रियासम्बन्धी विशेष प्रशिक्षण तथा व्यावसायिक अनुभवसमेत हासिल गरेसकेका छन् ।  सम्मेलनमा सहभागी चिकित्सकहरूले कलेजो प्रत्यारोपण तथा कलेजोसम्बन्धी जटिल रोगको उपचारमा विकसित भइरहेका नयाँ प्रविधि र उपचार विधिबारे डा. चौधरीसँग प्रत्यक्ष छलफल गरेका थिए ।  कार्यक्रममा चिकित्सकहरूले आफ्ना अनुभव तथा जटिल उपचारका क्रममा देखिने चुनौतीहरूबारे समेत विचार आदान-प्रदान गरेका थिए । सम्मेलनले नेपाल र भारतका चिकित्सकबीचको चिकित्सकीय सहकार्य तथा विशेषज्ञ ज्ञान आदान-प्रदानलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । नेपालमा कलेजोसम्बन्धी जटिल रोगको उपचार तथा कलेजो प्रत्यारोपणका क्षेत्रमा कार्यरत चिकित्सकलाई अन्तर्राष्ट्रिय स्तरमा विकसित उपचार विधि र विशेषज्ञ अनुभवसँग जोड्ने अवसरका रूपमा सम्मेलनलाई लिइएको थियो । म्याक्स हेल्थकेयरले नेपालमा यस्ता चिकित्सकीय तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली चिकित्सकसँग सहकार्य विस्तार गर्ने, विशेषज्ञ ज्ञान आदान-प्रदान गर्ने तथा जटिल रोगको उपचारमा नयाँ प्रविधि र उपचार पद्धतिबारे जानकारी उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ । कार्यक्रममा बोल्दै म्याक्स हेल्थकेयरका नेपालका लागि वरिष्ठ प्रबन्धक सबिन कार्कीले नेपालप्रति संस्थाको दीर्घकालीन प्रतिबद्धता दोहोर्याए । उनले भविष्यमा पनि यस्ता शैक्षिक तथा चिकित्सकीय कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली चिकित्सकसँग सहकार्य विस्तार गर्ने, कलेजो तथा प्रत्यारोपणसम्बन्धी विशेषज्ञ ज्ञान आदान-प्रदानलाई थप सुदृढ बनाउने र जटिल रोगका बिरामीलाई आवश्यक विशेषज्ञ सेवा तथा उपचारको पहुँच सहज बनाउने उद्देश्य रहेको बताए । यस्ता कार्यक्रमले नेपाली चिकित्सकलाई अनुभवी विशेषज्ञसँग प्रत्यक्ष ज्ञान तथा अनुभव आदान-प्रदान गर्ने अवसर प्रदान गर्नुका साथै बिरामीको उपचारमा आधुनिक तथा प्रभावकारी उपचार विधिबारे जानकारी विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । सम्मेलनको समापन चिकित्सकहरूबीच आपसी परिचय, अनुभव आदान-प्रदान तथा आगामी दिनमा चिकित्सकीय सहकार्य विस्तारका सम्भावनाबारे छलफलसहित गरिएको थियो ।