बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

फाइल फोटो

काठमाडौं । बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो । आइतबार मात्रै नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । शनिबार एक जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । त्यस्तै, निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ ।

तमानखोला गाउँपालिका-३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । सोही स्थानमा पहिरोले आठ घर बगाएको छ ।

तमानखोला गाउँपालिका-४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता भएकी छन् ।

निसीखोला गाउँपालिका-३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक रहेका छन् ।

यस्तै, निसीखोला गाउँपालिका-६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ । शनिबार ताराखोला गाउँपालिका-५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।

Share News