नगर विकास कोषले माग्यो ईडी, कति चाहिन्छ योग्यता ?

काठमाडौं । नगर विकास कोषले रिक्त कार्यकारी निर्देशक (ईडी) पदका लागि आवेदन माग गरेको छ । नगर विकास कोष ऐन, २०५३, नियमावली, २०५४ तथा नगर विकास कोष कर्मचारी सेवा शर्त (संशोधित) विनियमावली, २०६८ बमोजिम रिक्त पदमा नियुक्तिका लागि आवेदन माग गरिएको हो ।

इच्छुक योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।

कार्यकारी निर्देशक पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, व्यवस्थापन, चार्टर्ड एकाउन्टेन्सी वा इन्जिनियरिङमध्ये कुनै एक विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्नेछ । त्यस्तै, उल्लिखित विषयमध्ये कुनै एकमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएकाले पनि आवेदन दिन सक्नेछन् ।

चार्टर्ड एकाउन्टेन्सीलाई मात्र शैक्षिक योग्यताको आधार बनाएका उम्मेदवारले कानुनले तोकेको निकायबाट समकक्षताको प्रमाणपत्र लिएको हुनुपर्नेछ । दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ३५ वर्ष पूरा भएको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ ।

आवेदनका साथ नेपाली नागरिकता, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ । साथै, नगर विकास कोष कर्मचारी सेवा शर्त (संशोधित) विनियमावली, २०६८ को अनुसूची १० बमोजिमको दरखास्त फाराम पेस गर्नुपर्नेछ ।

त्यस्तै, विनियमावलीको विनियम १३८ बमोजिम अयोग्य नरहेको स्वघोषणा तथा कार्यकारी निर्देशक सिफारिस समितिले उपलब्ध गराएको ढाँचामा तयार गरिएको व्यावसायिक योजनासहितको कार्यपत्र दुई प्रति पेस गर्नुपर्नेछ । कार्यपत्र नेपाली भाषामा ५ हजार शब्दमा नबढ्ने गरी तयार गर्नुपर्नेछ ।

कार्यकारी निर्देशकको पारिश्रमिक तथा सुविधा नगर विकास कोष नियमावली, २०५४ मा तोकिएबमोजिम हुने जनाइएको छ ।

कोषका अनुसार सम्बन्धित कानुन, दरखास्त फाराम, व्यावसायिक योजनाको ढाँचा र स्वघोषणाको ढाँचा नगर विकास कोषको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ । रीतपूर्वक प्राप्त नभएका दरखास्त फाराम सिफारिस समितिले रद्द गर्न सक्नेछ । 

Share News