काठमाडौं । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर रहेका ९ जना प्रहरी कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन ताकेता गरेको छ ।
प्रहरी प्रधान कार्यालयले खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत कार्यालयको सम्पर्कमा नआएका प्रहरी कर्मचारीलाई हाजिर हुन ताकेता गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार गैरहाजिर रहेका प्रहरी कर्मचारीमा प्राविधिक प्रहरी नायब निरीक्षक शुक्रबहादुर नेपाल, प्रहरी सहायक निरीक्षक खर्गबहादुर गुरुङ, प्राविधिक प्रहरी सहायक हवल्दार रोशन राई, प्रहरी सहायक हवल्दार सुरेश नेपाली, प्राविधिक प्रहरी जवान मोहन भण्डारी तथा प्रहरी जवानहरू कल्पना रानामगर, राजेन्द्र विश्वकर्मा, सुमन चौधरी र टोपलाल चौधरी रहेका छन् ।
प्रहरी प्रधान कार्यालयले तोकिएको अवधिभित्र हाजिर भई गैरहाजिर रहनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण पेस नगरे प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही अघि बढाइने जनाएको छ ।
तोकिएको अवधिभित्र हाजिर नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) बमोजिमको कसुरमा नियम १०९ को देहाय (ख) को उपखण्ड (१) बमोजिम सेवाबाट हटाउने कारबाही गरिने सूचनामा उल्लेख छ ।
साथै प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ को प्रयोजनका लागि सम्बन्धित प्रहरी कर्मचारीलाई सफाइको मौका प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
