चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने व्यवसायीको घोषणा
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ । सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेसम्म हाल कायम भाडादरमै यात्रुलाई सेवा प्रदान गर्ने स्पष्ट पारेका हुन् । बैठकमा बोल्दै अध्यक्ष सिटौलाले चाडपर्वमा अग्रिम टिकट बुकिङ मात्र ठूलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु मुख्य चुनौती रहेको बताए । सडकको दयनीय अवस्था र ठाउँठाउँमा भइरहेको अवरोधका कारण यातायात सञ्चालनमा कठिनाइ भए पनि सरकारसँगको समन्वयमा सेवालाई निरन्तरता दिने उनले जानकारी दिए । यातायात क्षेत्रमा बिचौलियाको बिगबिगी र जथाभाबी टिकट काट्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए। साथै, सवारीसाधनको प्रकार (नर्मल, डिलक्स र सुपर डिलक्स) अनुसार सरकारले तोकेको भाडादर कार्यान्वयन गर्न व्यवसायी प्रतिबद्ध रहेको उनले बताए । चाडपर्वका समयमा हुने एकतर्फी यात्रुको चाप व्यवस्थापनमा जोड दिँदै सिटौलाले मालवाहक सवारीसाधनलाई निश्चित समय रोक्न र सडक मर्मतमा तीव्रता दिन सरकारसँग आग्रह गरे । सिटौलाले भने, ‘तोकिएको बसपार्क र काउन्टरबाट मात्र टिकट काट्ने व्यवस्था मिलाउन सके यात्रु ठगीको समस्या हटेर जान्छ। दसैँको समयमा यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिनुपर्छ । बाटोका खाल्डाखुल्डी पुर्न र सडक सुरक्षाका लागि १५–२० दिन विशेष ध्यान दिनुपर्छ ।’ अध्यक्ष सिटौलाले चाडपर्वका लागि अग्रिम बुकिङ गरिएका गाडीलाई अन्य प्रयोजनमा (रिजर्भ) नपठाउन पनि व्यवसायीलाई निर्देशन दिइएको बताए । साथै, लामो दूरीका सवारीसाधनमा दुईजना चालक राख्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि सरकारले नागरिकको हितलाई ध्यानमा राखेर घाटा सहेरै भए पनि मूल्य स्थिर राख्नुपर्ने सिटौलाको तर्क छ । पेट्रोलियम पदार्थको मूल्य नबढेमा सार्वजनिक यातायातको भाडा पनि नबढाउने उनले प्रतिबद्धता जनाए ।
पूर्वाधारमा लगानी बढाउन एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको आग्रह
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) की अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ । एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतारको दोहा पुगेका अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउसँग भेटवार्ता गरेका हुन् । भेटमा अर्थमन्त्री वाग्लेले नेपालमा एआईआईबीको लगानी बढाउन, प्राकृतिक विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्न तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न आग्रह गरे । अध्यक्ष जोउले भोटेकोशी नदीमा आएको बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको पुनर्निर्माणमा बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले परियोजना तयारीका लागि एआईआईबीले विशेष कोषमार्फत अनुदान सहायता उपलब्ध गराउने जानकारी दिइन् । उक्त कोषअन्तर्गतको अनुदान प्रयोग गरेर नेपाललाई दिने ऋणलाई थप सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध गराउन सकिने उनको भनाइ थियो । भेटमा अर्थमन्त्री वाग्लेले एआईआईबीको लगानीमा सञ्चालन भइरहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन शीघ्र सम्पन्न गर्न आग्रह गरे । उनले एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्याएको क्षतिप्रति पनि दुःख व्यक्त गरे । अर्थमन्त्री वाग्लेले मध्यमकालीन र दीर्घकालीन सहयोगअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधारमा लगानी बढाउन आग्रह गरे । उनले एआईआईबीसँगै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गर्न अनुरोध गरे । भेटका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबी अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन् ।
युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा बिन्जु दाहाल नियुक्त
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त भएकी छन् । कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको ८९औँ बैठकले दाहाललाई सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व हुने गरी महिला सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । बीमा ऐन, २०७९ को दफा ४७ बमोजिम उनलाई महिला सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ ।
बाढीका कारण सयपत्री हाइड्रोपावरको विद्युत उत्पादन अवरुद्ध
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले बागलुङको ताराखोला गाउँपालिकामा निर्माण गरेको २.५ मेगावाट क्षमताको दरमखोला ए जलविद्युत आयोजनाको विद्युत उत्पादन तथा प्रसारण बन्द भएको छ । आयोजनाको स्रोत नदी दरम खोलामा २०८३ साल असोज ९ गते शुक्रबार आएको बाढीका कारण प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत उत्पादन तथा प्रसारण कार्य अवरुद्ध भएको कम्पनीले जनाएको छ । बाढीले आयोजनाको स्वीचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेशनसम्मको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुर्याएको हो । कम्पनीका अनुसार असोज ९ गते राति ११ बजेदेखि आयोजनाबाट विद्युत उत्पादन तथा प्रसारण बन्द रहेको छ ।
सचिवको दौडमा दुई महिला सहसचिव, आभा पहिलो नम्बरमा
काठमाडौं । निजामती सेवाको उच्च नेतृत्व तहमा पुग्ने प्रतिस्पर्धामा दुई अनुभवी महिला सहसचिव अगाडि देखिएका छन् । सहसचिव आभा श्रेष्ठ कर्ण सचिव बढुवाको सिफारिसमा पहिलो नम्बरमा परेकी छन् । अर्की सहसचिव नीता पोखरेल अर्याल पनि निकट भविष्यमै सचिव बन्न सक्ने सम्भावित अधिकारीका रूपमा रहेकी छन् । आफ्नो पूर्ण कार्यकाल सचिवका रूपमा जिम्मेवारी सम्हालेर गत असार २४ गते अनिवार्य अवकाशमा गएका कृष्णहरि पुष्कर कर्णको अवकाशपछि आभाको सचिव बन्ने बाटो खुलेको हो । आभा पुष्करकी श्रीमती हुन् । सरकारले गरेको पछिल्लो सिफारिसमा उनी पहिलो नम्बरमा परेकी छन् । सिफारिसमा आभापछि सहसचिव चक्रबहादुर बुढा दोस्रो र अर्का सहसचिव जयनारायण आचार्य तेस्रो नम्बरमा परेका छन् । सिफारिसमा परेका तीन जनामध्येबाट एक जनालाई सचिवमा बढुवा गर्ने प्रचलनअनुसार पहिलो वरीयतामा रहेकी आभा निकट भविष्यमै सचिव बन्ने सम्भावना छ । आभा अहिले प्रदेशमा कार्यरत छिन् । उपसचिवबाट सरकारी सेवामा प्रवेश गरेर सहसचिव बनेकी उनले प्रशासनका विभिन्न जिम्मेवारी सम्हाल्दै सचिव बढुवाको सिफारिसमा पहिलो नम्बरमा स्थान बनाएकी हुन् । प्रशासनिक करिअरमा आभाको अर्को उचाइ आभाको सचिव पदसम्मको सम्भावित यात्रा उनको आफ्नै प्रशासनिक करिअरसँग जोडिएको छ । उनले उपसचिव र सहसचिव दुवै तहमा आरक्षण व्यवस्थाबाट अवसर प्राप्त गरेकी हुन् । सहसचिवका रूपमा प्रदेश तथा केन्द्रसँग सम्बन्धित प्रशासनिक जिम्मेवारी सम्हाल्दै उनी अहिले सचिव बढुवाको सिफारिसमा पहिलो नम्बरमा पुगेकी छन् । पूर्वसचिव कृष्णहरि पुष्कर कर्णकी श्रीमती हुनु उनको व्यक्तिगत पृष्ठभूमिको एउटा पक्ष भए पनि सचिव बढुवाको वर्तमान प्रक्रिया भने उनको पद, वरीष्ठता र बढुवा सिफारिसमा आधारित छ । नीता पनि सचिव बन्ने लाइनमा पूर्वसचिव लक्ष्मण अर्यालकी श्रीमती नीता पोखरेल अर्याल पनि सचिव बन्न सक्ने सम्भावित अधिकारीको सूचीमा छिन् । अर्यालले २०७९ साउन १९ गते पाँच वर्ष सचिवका रूपमा सेवा गरेपछि अनिवार्य अवकाश लिएका थिए । नीता हाल प्रदेशमा कार्यरत छिन् । संघीय निजामती सेवासम्बन्धी प्रस्तावित नयाँ व्यवस्थाबाट उच्च तहमा थप पद रिक्त हुने अवस्था बनेमा उनको सचिव बन्ने सम्भावना रहन सक्छ । नीताको प्रशासनिक यात्रामा वैदेशिक सेवाको पनि महत्त्वपूर्ण अनुभव छ । उनी नयाँदिल्लीस्थित नेपाली दूतावासमा इकोनोमिक मिनिस्टरका रूपमा काम गरेर फर्किएकी सहसचिव हुन् । सहसचिवका रूपमा उनले आरक्षण व्यवस्थाबाट अवसर प्राप्त गरेकी हुन् । ५५–३० को व्यवस्थाले खोल्न सक्छ नयाँ अवसर संघीय निजामती सेवा विधेयकमा प्रस्तावित अनिवार्य अवकाशसम्बन्धी व्यवस्थाले सचिव बन्ने दौडमा रहेका सहसचिवहरूको करिअरलाई पनि प्रभाव पार्न सक्छ । प्रस्तावित ५५–३० व्यवस्थाअनुसार ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाश हुने व्यवस्था कार्यान्वयन भए उच्च तहमा पद रिक्त हुने क्रम बढ्न सक्छ । त्यसले सचिवका सम्भावित उम्मेदवारका लागि बढुवाका थप अवसर सिर्जना गर्न सक्छ । तर विधेयकको अन्तिम व्यवस्था, कार्यान्वयनको समय र त्यसबाट सिर्जना हुने पद संरचनाका आधारमा मात्र नितालगायत सहसचिवहरूको सचिव बन्ने अवसर निश्चित हुने निजामती किताबखानाका एक अधिकारीले जानकारी दिए। महिला नेतृत्वको बढ्दो उपस्थिति आभा र नीताको सम्भावित सचिव यात्रा निजामती सेवाको उच्च तहमा महिला अधिकारीहरूको बढ्दो उपस्थितिसँग पनि जोडिएको ती अधिकारीले बताए । आरक्षण व्यवस्थाबाट प्रशासनको उच्च तहमा पुगेका महिला अधिकारीहरू अब सचिव पदको प्रतिस्पर्धामा समेत अगाडि आउन थालेका छन् । आभा सचिव बढुवाको सिफारिसमा पहिलो नम्बरमा पुगिसकेकी छन् । नीता पनि आगामी पद रिक्तता र बढुवा प्रक्रियासँगै सचिव बन्न सक्ने सम्भावित अधिकारीको सूचीमा छिन् । अब आभाको हकमा सरकारको निर्णय र संघीय निजामती सेवासम्बन्धी कानुनी प्रक्रियाले नियुक्तिको समय निर्धारण गर्नेछ । नीताको हकमा भने आगामी पद रिक्तता, वरिष्ठता र बढुवा प्रक्रियाले उनको सम्भावित सचिव यात्राको टुंगो लगाउनेछ ।
ललितपुरमा ढलेको साढे दुई तले घरका घरधनी को हुन् ?
ललितपुर । लगातारको वर्षापछि जमिन कमजोर हुँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा साढे दुई तले घर भत्किएको छ । सोमबार बिहान करिब ६ः३५ बजे घर भत्किएर ढलेको हो । ललितपुर प्रहरीका प्रवक्ता गौतम मिश्रका अनुसार जोखिम देखिएपछि घरमा बस्दै आएका परिवारलाई अघिल्लो दिन नै सुरक्षित स्थानमा सर्न भनिएको थियो । त्यसैले घर भत्किँदा मानवीय क्षति हुन पाएन । सो घरका घरधनी सोवितकुमार थापा भएको बुझिएको छ । उक्त घरमा थापासहित तीन जनाको परिवार बस्दै आएको थियो । प्रहरीका अनुसार केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण घर रहेको भिरालो स्थानको जमिन कमजोर बनेको थियो । जमिन गलेपछि घरको संरचना धान्न नसक्दा भत्किएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । घर भत्किएपछि त्यसको तलतिर रहेको खोल्सोसमेत थुनिएको प्रहरीले जनाएको छ । घटनास्थलमा थप जोखिमको अवस्था रहे–नरहेकोबारे आवश्यक सुरक्षा तथा व्यवस्थापनको काम भइरहेको प्रहरीले जनाएको छ ।
इसेवाको सीईओमा निरज शर्मा नियुक्त
काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । कम्पनीले निरज शर्मालाई असोज १२ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरेको हो । इसेवाको सञ्चालक समितिले भदौ ३० गते बसेको बैठकबाट शर्मालाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको जनाएको छ । कम्पनीका अनुसार शर्मासँग बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ । उनले ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण र रिटेल बैंकिङ क्षेत्रमा काम गरेका छन् । इसेवाले उनको नेतृत्वमा कम्पनीको डिजिटल सेवा र ग्राहक अनुभव अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ । जगदीश खड्काको कार्यकाल सकियो इसेवाका निवर्तमान सीईओ जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ । उनी २०७९ असोज १२ गते सीईओ बनेका थिए । कम्पनीका अनुसार खड्काको नेतृत्वमा इसेवाले डिजिटल भुक्तानी सेवाको दायरा उल्लेखनीय रूपमा विस्तार गरेको छ । उनको कार्यकालमा इसेवाका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख र मर्चेन्टको संख्या ६ लाखभन्दा बढी पुगेको छ । यस अवधिमा इसेवाले डिजिटल कर्जा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस एप, इन्टेन्ट पे, बीमा सेवा लगायत नयाँ डिजिटल सेवा थप गरेको कम्पनीले जनाएको छ । दृष्टिविहीन प्रयोगकर्ताका लागि ‘टकब्याक’ फिचर र नेपाली भाषामा एप सञ्चालन पनि यही अवधिमा सुरु गरिएको थियो । कम्पनीले खड्काले इसेवाको डिजिटल विस्तार र समावेशी वित्तीय सेवामा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनको आगामी यात्राको सफलताको शुभकामना दिएको छ ।
लिवर्टी इनर्जीका सञ्चालक रामबहादुर पाण्डेले दिए राजीनामा
काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडका सञ्चालक रामबहादुर पाण्डेको राजीनामा स्वीकृत भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाउँदै सञ्चालक समितिले पाण्डेको राजीनामा स्वीकृत गरेको जानकारी दिएको हो । कम्पनीका अनुसार असोज ११ गते बिहान ११ बजे बसेको सञ्चालक समिति बैठकले पाण्डेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । यस निर्णयबारे नियामक निकायहरूलाई औपचारिक रूपमा जानकारी गराइएको कम्पनी सचिव ध्रुवकुमार श्रेष्ठले जनाएका छन् ।