विकासन्युज

७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ८ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५ अंकले बढेर २८०२ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २५१ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३४६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । एसवाई प्यानलको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिलाइन्स स्पिीनिङको ४२ करोड, शिवम् सिमेन्टको ४२ करोड, शिवम् सिमेन्टको ३७ करोड र एनआरएनको ३० करोड रुपैयाँ बराबरको कारोबारको भएको छ । बुधबारको कारोबारमा ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । रिलाइन्स स्पिीनिङ, श्रीनगर एगरिटेक, सोलु हाइड्रो, होटल फोरेस्ट र सुपर खुदि हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेका सकारात्मक सर्किट लागेको छ ।     

कुटनीतिक आचारसंहिताबारे मन्त्रीहरूलाई ब्रिफिङ

काठमाडौं । मन्त्रीहरूको कुटनीतिक अभिव्यक्तिलाई नियन्त्रणमा ल्याउन सरकार आकस्मिक रूपमा सक्रिय बनेको छ ।  परराष्ट्र मन्त्रालयले मन्त्रीहरूलाई कडा चेतावनीसहित कुटनीतिक आचारसंहिताबारे ब्रिफिङ दिएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रस्तुतीकरणमा बालेन्द्र शाह नेतृत्वको सरकारका सबै मन्त्रीलाई अब मनलाग्दी बोल्न नपाइने सन्देश स्पष्ट रूपमा दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले पठाएको प्रेस नोटअनुसार, परराष्ट्र सचिव अमृतबहादुर राईले अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हित र कूटनीतिक मर्यादाबारे कडाइका साथ पालना गर्नुपर्ने सीमाहरू प्रस्तुत गरेका थिए । परराष्ट्र मन्त्रालयका सचिवले दिएको प्रशिक्षणमा विदेशी राष्ट्रसँग सम्बन्धमा व्यक्तिगत धारणा नचल्ने सल्लाह दिईएको थियो ।  प्रधानमन्त्री साहका प्रेष विज्ञ दाहालका अनुसार राष्ट्रिय हितविरुद्ध जाने अभिव्यक्तिमा कडा निगरानी राख्ने कूटनीतिक शिष्टाचार उल्लंघन नगर्ने र विदेशी पदाधिकारीसँगको भेटमा अनिवार्य प्रोटोकल पालना गर्ने विषयमा प्रशिक्षण दिइएको थियो । कुटनीतिक वृत्तमा यसलाई स्पष्ट वार्निङ सिग्नलका रूपमा लिइएको छ । अब मन्त्रीहरूका हरेक अन्तर्राष्ट्रिय टिप्पणी र भेटवार्ता सरकारकै आधिकारिक लाइनभित्र सीमित हुने संकेत गरिएको छ ।

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई अहिले पश्चिम नेपालबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लागेको छ भने बाँकी भूभागमा साधारणतया बादल लागेको छ । अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ । विभागका मौसमविद् रोजन लामिछानेले वर्षा दिउँसो बढ्ने र कुनैकुनै ठाउँमा भारीसम्म वर्षा र हिमपात हुने जानकारी दिनुभयो । अहिले बिहान १०ः०० बजे विभागमा प्राप्त वर्षा मापनअनुसार पछिल्लो तीन घण्टामा चितवनदेखि पश्चिम ६० भन्दा बढी केन्द्रहरूमा वर्षा भएको छ । विभागका अनुसार अछाममा ८.६, सुर्खेतमा ७.६, डडेलधुरामा ५.२, रोल्पामा ८.२, प्युठानमा ५.२, चितवनमा ४.२ मिलीमिटर वर्षा भइसकेको छ । यस्तै कालीकोट, डोटी, रुकुम, रोल्पा, म्याग्दी बाग्लुङ, दाङ, अर्घाखाँचीलगायतका जिल्लामा पनि हल्का वर्षा भएको छ । वर्षा पूर्वतर्फ सर्ने क्रममा रहेको जनाइएको छ । विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भूभागमा साधारणतया बादल लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानमा, मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । रासस     

गाडी भाडा बढ्यो

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सरकारले नयाँ भाडादर निर्धारण गरेको हो । यातायात व्यवस्था विभागले मन्त्रालयको सहमतिसँगै नयाँ भाडादर कायम गरेको जनाएको छ । वैज्ञानिक प्रणाली अनुसार भाडा बढाइएको जनाइएको छ । यात्रुवाहक सवारीसाधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ ।  त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको हो ।

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्न माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद गीता देवकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनताको दैनिकी प्रभावित भएकाले कृषिमा लगानी बढाई आत्मर्भिरताका लागि दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद धर्मेन्द्र पासवानले सप्तरीमा गत फागुन ३० गते एक महिलामाथि भएको बलात्कार र हिंसा प्रकरण सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै न्यायका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद मीनासिंह रखालले कर्णाली क्षेत्रमा प्राकृतिक स्रोतको प्रचुर सम्भावना हुँदा पनि समृद्धिमा पछाडि परेकाले आवश्यक लगानीका लागि आगामी बजेटमा व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद रेखाकुमारी झाले कृषि खेतीबालीका लागि समयमै मल, बीउ र अन्य आवश्यक सामग्रीको व्यवस्था गर्न र कृषिमा हानि पुर्याउने वन्यजन्तुको व्यवस्थापन गर्न सरकारसँग माग गरे । सांसद ललितजङ्ग शाहीले भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न र मुलुकमा सुशासनका लागि प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद सोमनाथ पोर्तेलले दलित समुदाय आर्थिक, सामाजिकलगायत क्षेत्रमा पछि परेको उल्लेख गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गरी विशेष कार्यक्रम घोषणा गर्न माग गरे ।

योजना आयोगका नवनियुक्त उपाध्यक्ष भट्टले गरे पदबहाली

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. गुणाकर भट्टले बुधबार (आज) पदबहाली गरेका छन् । सचिव तथा आयोगको टोलीले उनलाई कार्यालयमा स्वागत गरेको थियो । मंगलबार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । डोटीका भट्टले अर्थशास्त्रमा पीएचडी गरेका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदा उनले गभर्नर हुने चर्चाबीच पदबाट राजीनामा दिएका थिए । तर अन्तमा विश्व पौडेल गभर्नरमा नियुक्त भएका थिए ।  भट्ट तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतका सल्लाहकार पनि हुन् । उनी नीति अनुसन्धानमा काबिल अर्थशास्त्रीका रूपमा परिचित छन् । 

पुरानो गाडी एक्सचेन्ज गर्नुहोस्, टाटा नयाँ गाडी र आइपीएल यात्रा जित्नुहोस्

काठमाडौं । टाटा मोटर्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८३ को अवसरमा 'नयाँ वर्ष शुभएक्सचेन्ज' योजना सार्वजनिक गरेको छ । चैत्र २७ देखि चैत्र ३० सम्म सञ्चालन हुने यस क्याम्प अन्तर्गत, ग्राहकहरूले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर टाटा कार खरिद गर्न सक्नेछन् । यससँगै लक्की ड्र मार्फत भारतमा टाटा आइपीएल प्रत्यक्ष हेर्न जाने मौका पनि प्रदान गरिनेछ । कम्पनीका अनुसार ग्राहकहरूलाई आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर, लाइफटाइम डीसी फास्ट चार्जिङ र होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष सुविधा पनि दिइनेछ । टाटा मोटर्सले नयाँ वर्षलाई अझ उत्साहपूर्ण बनाउँदै ग्राहकहरूलाई आधुनिक, सुरक्षित र विश्वसनीय सवारीसाधनसँगै अविस्मरणीय अनुभव दिने लक्ष्य राखेको छ । इच्छुक ग्राहकहरूले योजना सम्बन्धी विस्तृत जानकारी नेपालभर रहेका टाटा सोरुमहरूमा गएर प्राप्त गर्न सक्नेछन् ।   

हङकङमा रहेका देउवा दम्पतीलाई प्रहरीले कसरी ल्याउँछ नेपाल ?

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा र उनकी पत्नी राणाविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।  हाल देउवा दम्पती देशबाहिर छन् । उनीहरू उपचारका लागि भन्दै सिंगापुर गएका थिए । अहिले सिंगापुरबाट हङकङमा रहेको बुझिएको छ ।  जेनजी आन्दोलनमा बुढानीकलण्ठस्थित घरमा आगजनी हुँदा ठूलो परिमाणमा पैसा भेटिएको भिडियोहरू बाहिरिएका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अहिले त्यही पैसा र सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ । अदालतले पक्राउ पूर्जी जारी गरे पनि उनीहरू हङकङमा रहेकोले सहजै पक्राउ गर्न सकिने अवस्था प्रहरीलाई छैन । नेपाल प्रहरीको उच्च स्रोतका अनुसार अब प्रहरी म्याद तामेली निर्देशिका, २०७५ अनुसार प्रक्रिया अगाडि बढाउँछ । निर्देशिकका दफा १३ अनुसार पक्राउ पूर्जी जारी भएको व्यक्ति सात दिनभित्र फेला नपरेमा सम्बन्धित प्रहरी कार्यालय वा कर्मचारीले निजको खोजी गर्दै रही त्यस्तो व्यक्ति रहे बसेको घर ठेगानामा गई निजको नाउँमा जारी भएको पैंतीस दिने पक्राउ पूर्जीको एकप्रति निजको एकाघरको अठार वर्ष उमेर पुगेको व्यक्तिलाई बुझाई तामेल गर्नु पर्ने व्यवस्था छ ।  सोही दफाको उपदफा २ मा पक्राउ पूर्जी जारी भएको व्यक्तिको एकाघरको व्यक्ति फेला नपरेमा वा निजले त्यस्तो पक्राउ पूर्जी बुझी नलिएमा एकप्रति पक्राउ पूर्जी निजको घर दैलोमा टाँस गरी तामेल गर्नु पर्ने व्यवस्था छ भने दफा १६ को उपदफा ३ मा पक्राउ पूर्जी तामेल गर्दा स्थानीय तहको सम्बन्धित वडा समितिका सदस्य उपलब्ध भए निज र निज उपलब्ध नभए कम्तीमा दुई जना स्थानीय व्यक्ति रोहवरमा राखी सहिछाप गराउनु पर्ने व्यवस्था छ ।  पक्राउ पूर्जी बुझाएकोमा स्थानीय तहको सम्बन्धित कार्यालयले त्यस्तो पक्राउ पूर्जी प्राप्त भएपछि सम्बन्धित व्यक्तिलाई त्यसको जानकारी गराई आफ्नो सूचना पाटीमा समेत टाँस गर्नु पर्नेछ व्यवस्था पनि छ । तामेल गरेको पक्राउ पूर्जीको एक प्रति र स्थानीय तहको सम्बन्धित वडा कार्यालयको सूचना पाटीमा टाँस गर्ने गरी पक्राउ पूर्जी बुझाएको भर्पाई मिसिल सामेल राख्नु पर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।  तर, पक्राउ पुजी जारी भएका व्यक्ति देश बाहिर रहेको अवस्थामा प्रहरी प्रधान कार्यालय मार्फत इन्टरपोलमा ‘रेड नोटिस’ जारी गरिन्छ । यदि नेपालसँग सुपुर्दगी सन्धि भएको देशमा सो व्यक्ति भएमा उक्त देशको कानुन बमोजिम पक्राउ गरी नेपाललाई बुझाउन अनुरोध गरिन्छ । अब देउवा दम्पतीको हकमा पनि यही लागू हुनेछ ।  सन्धि नभएको देशमा भए पनि आपसी कानुनी सहायता मार्फत अभियुक्तलाई फिर्ता ल्याउन पत्राचार गरिने व्यवस्था छ । यदि अभियुक्तले भिसा सम्बन्धी कसुर गरेको छ वा निजको पासपोर्ट अवैध छ भने सम्बन्धित देशले सोही आधारमा डिपोर्ट (निष्कासन) गरेर पनि नेपाल पठाउन सक्छ ।  आवश्यक परेमा नेपाली प्रहरीको विशेष टोली सम्बन्धित देशमा पठाएर पनि अभियुक्तलाई नेपाल ल्याइने व्यवस्था छ । अब देउवा दम्पती आफै अदालत हाजिर हुन्छ वा सरकारले कसरी ल्याउँछ भन्ने विषय भने हेर्न बाँकी छ ।