स्थानीय उत्पादनको बजारीकरणमा बागमती सरकारको जोड
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवर्द्धन, औद्योगिक सुरक्षा र नयाँ उद्यमी उत्पादनका लागि नीतिगत सुधार गर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको माइतीघरस्थित सचिवालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री मगरले नेपालमा करिब सात लाख साना तथा मझौला उद्योग सञ्चालनमा रहेको उल्लेख गर्दै स्थानीय कच्चा पदार्थको उपयोग, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र युवा पलायन रोक्न यस्ता उद्योगको महत्वपूर्ण भूमिका रहेको बताए । उनले स्थानीय उत्पादनको बजारीकरणका लागि हेटौँडामा ‘कोसेली घर’ निर्माण भइसकेको र अन्य जिल्लामा पनि जग्गा उपलब्ध भएपछि विस्तार गरिने जानकारी दिए । महिला उद्यमीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र जिल्लास्तरीय औद्योगिक प्रदर्शनीका लागि बजेट व्यवस्था गरिएको पनि उनले बताए । मुख्यमन्त्री मगरले उद्योग स्थापना भएपछि वरपर बस्ती विकास हुँदा स्थानीय विरोधका कारण उद्योग सार्नुपर्ने समस्या समाधान गर्न प्रदेश सरकारले छुट्टै कानुनी व्यवस्था गरेको बताए । आवश्यक प्रक्रिया पूरा गरेर स्थापना भएका उद्योगलाई अनावश्यक रूपमा स्थानान्तरण गर्न नदिई सुरक्षा प्रदान गरिने उनको भनाइ थियो । उद्योग सञ्चालनका लागि स्थिर ब्याजदर आवश्यक रहेको उल्लेख गर्दै उनले बैंकको ब्याजदर उद्योगीलाई सहज हुने गरी निश्चित र स्थिर हुनुपर्ने बताए । व्यवसायीलाई अप्ठ्यारो पार्ने ऐन, नियमावली र कार्यविधि संशोधन गर्न प्रदेश सरकार तयार रहेको पनि उनले बताए । कार्यक्रममा महासंघकी अध्यक्ष शोभा गुरुङले उद्योग दर्ता र नवीकरण प्रक्रिया सरल बनाउन, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न, महिला तथा युवा उद्यमशीलतालाई प्राथमिकता दिन र सरकारी खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादन अनिवार्य गर्ने व्यवस्था गर्न माग गरिन् । महासंघकी केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष रिता अवालले घरेलु तथा साना उद्योग पूँजीको अभाव, उच्च ब्याजदर, बजार, प्रविधि, कच्चा पदार्थ र आयातित वस्तुसँगको प्रतिस्पर्धाका कारण समस्यामा परेको बताइन् । उनले घरेलु तथा साना उद्योग विकास कोष स्थापना, सहुलियतपूर्ण कर्जा, महिला उद्यमीका लागि विशेष बजेट र स्थानीय उत्पादनको बजारीकरणमा जोड दिइन् ।
विद्यालयको सिकाइ वातावरण सुधार गर्न महालक्ष्मी विकास बैंक र रोटरीबीच साझेदारी
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । असोज ९ गते भएको सम्झौताअनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा सञ्चालन हुने विभिन्न शैक्षिक र पूर्वाधार विकास परियोजनामा आर्थिक सहयोग गर्नेछ । बैंकका अनुसार रोटरी क्लबमार्फत विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालन, कम्प्युटर ल्याब स्थापना तथा विद्यालयको शैक्षिक वातावरण सुधारका परियोजनामा सहकार्य गरिनेछ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, वातावरण र सामाजिक विकासका क्षेत्रमा नियमित रूपमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यो सहकार्यले सामुदायिक तथा सार्वजनिक विद्यालयका विद्यार्थीको सिकाइ वातावरण, स्वच्छता र डिजिटल पहुँच सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पनि आर्थिक सहयोग गरेको जनाएको छ ।
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउमा विपक्षीले उठाए संसदमा प्रश्न, रास्वपा मौन
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा निवासबाट नियन्त्रणमा लिएर करिब १० घण्टापछि परिवारको जिम्मा लगाइएको घटनाले प्रतिनिधिसभामा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको छ । जबरालाई नियन्त्रणमा लिनुको स्पष्ट कानुनी आधार, अभियोग वा पक्राउसम्बन्धी प्रक्रिया सार्वजनिक नभएको भन्दै विपक्षी सांसदहरूले सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारसँग जवाफ मागेका हुन् । जबरालाई प्रहरीले आइतबार राति बासबारीस्थित निवासबाट नियन्त्रणमा लिएको थियो । राति करिब ३ बजे उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पु‍र्याइएको थिया । करिब १० घण्टा कार्यालयमा राखिएपछि उनलाई परिवारको जिम्मा लगाएर छाडिएको थियो । त्यसपछि उनको निवासमा सुरक्षा बढाइएको छ । प्रहरीले भने जबरालाई औपचारिक रूपमा पक्राउ नगरिएको दाबी गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले सुरक्षा थ्रेटका कारण उनलाई कार्यालयमा ल्याइएको बताएका छन् । तर उक्त सुरक्षा जोखिमको प्रकृति, त्यसको आधार तथा उनलाई नियन्त्रणमा लिन प्रयोग गरिएको कानुनी प्रक्रियाबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन । यही विषयलाई लिएर संसदमा विपक्षी सांसदहरूले सरकारको जवाफदेहितामाथि प्रश्न उठाएका हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सुरक्षा खतरा रहेको व्यक्तिलाई नियन्त्रणमा लिने सरकारको तर्कमाथि नै प्रश्न गरे । उनले सुरक्षा खतरा दिने व्यक्ति र सुरक्षा खतरा रहेको भनिएको व्यक्तिबीच राज्यले गरेको व्यवहारबारे स्पष्ट पार्न सरकारसँग माग गरे । ‘पूर्वप्रधानन्यायाधीशलाई जेनजीबाट थ्रेट भनियो । गिरफ्तारी सुरक्षा थ्रेट दिनेलाई दिइन्छ कि थ्रेट हुनेलाई ?,’ उनले प्रश्न गरे । दुलालले मध्यरातमा जबरालाई नियन्त्रणमा लिइएको घटनाले सरकार कानुनी प्रक्रियाबाट सञ्चालन भइरहेको छ कि छैन भन्ने प्रश्नसमेत उठाएको बताए । राज्यका निकायले संविधान र प्रचलित कानुनअनुसार काम गर्नुपर्ने उनको भनाइ थियो । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पनि जबरालाई नियन्त्रणमा लिइएको घटनाको कानुनी आधार स्पष्ट पार्न सरकारसँग माग गरे । उनले कुनै कसुर वा अभियोग सार्वजनिक नगरी व्यक्तिलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक शासन प्रणालीमा स्वीकार्य प्रक्रियासँग मेल नखाने दाबी गरे । ‘कोही मान्छेले कानुन हातमा लिन खोज्छ भने अभियोग लगाएर पक्राउ गर्नुपर्छ । त्यसमा हामी सहमत छौं,’ महरले भने । उनका अनुसार सरकारले पटकपटक पूर्वाग्रहका, प्रतिशोधको आधारमा तर्साउने, धम्क्याउने र हुर्मत लिने काम गरेको छ । महरले पनि जबरालाई सुरक्षा थ्रेट रहेको भनिएको विषयमा प्रश्न उठाउँदै खतरा उत्पन्न गर्ने पक्षमाथि राज्यको कारबाही हुनुपर्नेमा खतरा रहेको भनिएको व्यक्तिलाई नियन्त्रणमा लिनुको औचित्य स्पष्ट पार्न सरकारसँग माग गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अलीले पनि जबरा प्रकरणलाई सरकारको पछिल्लो कार्यशैलीसँग जोडेर संसद्को ध्यानाकर्षण गराएका छन् । संवैधानिक आयोग तथा मानव अधिकारसम्बन्धी पदाधिकारीलाई भेट्नसमेत रोकिएको दाबी गर्दै उनले सरकार विधि र प्रक्रियाबाट सञ्चालन भइरहेको छ कि छैन भन्ने प्रश्नसमेत गरे । ‘संसदमा हामी कानुन, विधि र प्रक्रियाबारे छलफल गरिरहेका छौं । तर सरकारका गतिविधि हेर्दा सरकारले बाटो बिराइरहेको छ,’ उनले भने । जबराको विषयमा रास्वपा सांसद मौन विपक्षी सांसदहरूले जबरालाई नियन्त्रणमा लिइएको घटनाको कानुनी आधार र सरकारको कार्यशैलीमाथि प्रश्न उठाइरहँदा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भने यस विषयमा संसदमा कुनै धारणा राखेनन् । रास्वपा सांसदहरूले सोमबारको आकस्मिक समयमा बाढी, पहिरो, जनजीवनमा परेको असर र विपद् व्यवस्थापन तथा सतर्कताका विषय उठाए । तर पूर्वप्रधानन्यायाधीश जबरालाई राति नियन्त्रणमा लिएर अर्को दिन परिवारको जिम्मा लगाइएको घटनाबारे उनीहरूले प्रश्न उठाएनन् ।
काठमाडौंमा आज महिला पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल
काठमाडौं । नेपालमा महिला ई–स्पोर्ट्स खेलाडीहरूको प्रतिभा र क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला पब्जी मोबाइल च्याम्पियनसिप २०२६ को फाइनल आज काठमाडौंको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ । पावर म्याक्स टाइगर इनर्जी ड्रिङ्कको सहकार्यमा आयोजना भएको प्रतियोगिताको अन्तिम चरणमा १६ महिला टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सुरुवातमा २४ महिला टोली सहभागी भएका थिए । तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने १६ टोली फाइनल चरणमा पुगेका हुन् । प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको आयोजकले जनाएको छ । महिला ई–स्पोर्ट्सको विकास, नयाँ प्रतिभाको पहिचान र महिला खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । फाइनल खेलमा महिला खेलाडीहरूको जोश, उत्साह र प्रतिस्पर्धाले थप रोमाञ्चक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
दसैं अफरमा होण्डाको नयाँ बाइक किन्दा १ लाख रुपैयाँसम्म नगद जित्ने अवसर
काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले दसैं, तिहार र छठलाई लक्षित गर्दै ‘यो दशैं, आशाको सुरुवात’ योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत होण्डाको नयाँ बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्म नगद जित्ने मौका पाउनेछन्। योजनाको मुख्य आकर्षण ‘होण्डा छ साथ साथ’ अफर हो। यसअन्तर्गत हरेक हप्ता सातै प्रदेशबाट एक–एक जना गरी सात जना विजेता छनोट गरिनेछ। विजेताले १ लाख रुपैयाँसम्म नगद प्राप्त गर्नेछन्। कम्पनीले विजेताले जितेको रकम बराबरकै रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पनि योगदान गर्ने जनाएको छ। यसरी ग्राहकले पुरस्कार जित्नुका साथै विपद् प्रभावितको सहयोगमा पनि सहभागी हुने कम्पनीको भनाइ छ। यससँगै ग्राहकले थप तीनमध्ये कुनै एक सुविधा रोज्न सक्नेछन्। उनीहरूले १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन, सात वर्षसम्म निःशुल्क सर्भिसिङ वा पाँच वर्षको वार्षिक मर्मत सम्झौता (एएमसी) मध्ये एउटा विकल्प छनोट गर्न सक्ने व्यवस्था गरिएको छ। नयाँ बाइक वा स्कुटर खरिदलाई सहज बनाउन स्याकार हायर पर्चेजमार्फत फाइनान्स सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो योजना सीमित अवधिसम्म लागू हुनेछ र होण्डाका सबै आधिकारिक शोरुमबाट नयाँ दुईपांग्रे सवारी खरिद गर्दा नियम तथा सर्तअनुसार यसको लाभ लिन सकिनेछ।
बाढीले विद्युत संरचनामा ७.४ अर्बको क्षति, ४३० मेगावाट प्रणाली बाहिर
काठमाडौं । असोज ६ गतेदेखि परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण देशका विभिन्न जलविद्युत आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार बाढीबाट नेपाल विद्युत प्राधिकरण र उसका सहायक कम्पनीका संरचनामा करिब ७ अर्ब ४० करोड रुपैयाँको क्षति पुगेको अनुमान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी बाढीबाट विद्युत संरचनामा पुगेको क्षति तथा विद्युत आपूर्तिको अवस्थाबारे जानकारी दिएको हो । बाढी तथा क्षतिका कारण आकस्मिक रूपमा बन्द गरिएका केही जलविद्युत केन्द्र सञ्चालनमा आइसकेका छन् भने केही अवरुद्ध केन्द्र सञ्चालनमा ल्याउन अझै समय लाग्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सहायक कम्पनीमार्फत प्रवद्र्धित राहुघाट जलविद्युत आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ । टर्बाइन फ्लोरमा समेत पानी पसेकाले सरसफाइ गरी आयोजना सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ । कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुगेका कारण कुल १९० मेगावाट क्षमताका ७ वटा जलविद्युत केन्द्रबाट विद्युत प्रसारण हुन सकेको छैन । राहुघाट सबस्टेसनमा कनेक्सन भएका अवरुद्ध आयोजनामध्ये ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत केन्द्रबाहेक १२७ मेगावाट उत्पादन क्षमता पुनः सञ्चालनमा ल्याउन सकिने अवस्थामा पुगेको प्राधिकरणले जनाएको छ । हाल प्रणालीबाट बाहिर रहेका कुल ८ वटा विद्युत आयोजनाको क्षमता २३० मेगावाट छ । यता सेती–मादी करिडोरका २६२ मेगावाट र मस्र्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत केन्द्र भने पुनः सञ्चालनमा आइसकेका छन् । अवरुद्ध १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत केन्द्र पनि सोमबार बेलुकासम्म सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ । कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बाटो अवरुद्ध रहेकाले उक्त क्षेत्रलगायत अन्य स्थानको स्थलगत निरीक्षण गर्न बाँकी रहेकाले क्षतिको विस्तृत विवरण आउन बाँकी छ । वितरण प्रणालीतर्फ पनि बाढीका कारण म्याग्दी, बागलुङ, तनहुँको शापुटार सबस्टेसन, रुकुम पूर्व, मनाङ, मुस्ताङ र प्युठानमा विद्युत सेवा प्रभावित भएको थियो । तीमध्ये म्याग्दी, बागलुङ, तनहुँ र रुकुम पूर्वमा विद्युत सेवा पुनः सुचारु भइसकेको छ । मुस्ताङ, प्युठान र रोल्पामा सोमबार अपराह्नसम्म तथा मनाङमा मंगलबारसम्म विद्युत सेवा सञ्चालन गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ । यसैबीच, आगामी सुक्खायाममा आन्तरिक उत्पादनबाट १ हजार २१८ मेगावाट विद्युत उपलब्ध हुने अनुमान गरिएको छ । माग र आपूर्तिबीच सन्तुलन कायम गर्न ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न विन्दुबाट ३५० मेगावाट र आरटीसीमार्फत १५० मेगावाट गरी कुल १ हजार १५४ मेगावाट विद्युत आयात गर्ने योजना प्राधिकरणको छ । आन्तरिक उत्पादन र आयातसहित सुक्खायाममा कुल २ हजार ३७२ मेगावाट विद्युत उपलब्ध हुने अनुमान गरिएको छ । अघिल्लो वर्षको सुक्खायाममा राष्ट्रिय विद्युत मागको उच्चतम स्तर २ हजार २९२ मेगावाट पुगेको थियो । यसअघि भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली–३ बीको २२० केभी हबमा क्षति पुर्याउनुका साथै विभिन्न जलविद्युत केन्द्रमा असर गरेको थियो । जसकारण हाल कुल ४३० मेगावाट विद्युत प्रणालीबाट बाहिर रहेको प्राधिकरणले जनाएको छ ।
घर ढल्यो, मालिक बेहोस
काठमाडौं । साेमबार बिहानको समय । ललितपुरको धापाखेलको एउटा घरमा बस्दै आएको परिवारलाई स्थानीय प्रशासनले अघिल्लो दिन नै सुरक्षित स्थानमा सारेको थियो । लगातारको वर्षाले जमिन गल्दै गएपछि घरमुनिको भाग जोखिममा परेको थियो । जोखिम देखेरै प्रशासनले परिवारलाई घरबाट निकालिसकेको थियो । तर, घर भने रोकिएन । ललितपुर महानगरपालिका–२४ धापाखेलमा जमिन गलेर घरभन्दा तल पहिरो खसेपछि साढे दुई तले घर एकाएक ढल्यो । घर ढलेको खबरले घरधनी मञ्जु राईलाई यति ठूलो चोट पुग्यो कि उनी खबर सुन्नेबित्तिकै बेहोस भइन् । उनलाई सोमबार बिहानै अस्पताल भर्ना गरिएको छ । महानगरपालिकाका वडा सदस्य उद्धव बस्नेतका अनुसार राईको नाममा रहेको जग्गामा बनेको घर पहिरोले ढलेको हो । ‘घर ढलेको थाहा पाएपछि उहाँ बेहोस हुनुभयो,’ उनले भने, ‘उहाँलाई बिहानै अस्पताल लगिएको छ, कुन अस्पतालमा भर्ना गरिएको हो भन्ने चाहिँ थाहा भएन ।’ राईका श्रीमान् सोभितकुमार थापा मगर हुन् । वर्षाका कारण जमिन कमजोर बन्दै गएपछि स्थानीय प्रशासनले घर जोखिममा रहेको आँकलन गरेको थियो । त्यसपछि सोही घरमा बस्दै आएको परिवारलाई अघिल्लो दिन नै सुरक्षित स्थानमा सारिएको थियो । त्यसैले घर ढल्दा घरभित्र कोही थिएनन । ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने हुन पाएन । असोज ९ गतेदेखि लगातार भइरहेको वर्षाले धापाखेलको जमिन कमजोर बनाएको वडा सदस्य बस्नेतले बताए । पानीले जमिन गल्दै गएपछि घरको तलतिर पहिरो खसेको र त्यसैको दबाबले साढे दुई तले घर ढलेको प्रहरीको भनाइ छ ।
१६ अंकले घट्यो सेयर बजार, ५ अर्ब ३८ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार (आज) सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा पुगेको छ । आज ३५७ स्टकको ५८ हजार ५ सय पटक कारोबारमा १ करोड ३१ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै हिमालयन डिस्टिलरी नेपालको ३५ करोड ८२ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको २९ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज व्यापारबाहेक सबै उपसूचक घटेका छन् । व्यापार ०.२३ प्रतिशतले बढेको छ । घटेका उपसमूहहरूमा बैकिङ ०.१९, विकास बैंक ०.६९, वित्त ०.८५, होटल तथा पर्यटन ०.८७, जलविद्युत १.०३, लगानी १.१६, जीवन बीमा ०.८३, उत्पादन ०.३०, माइक्रोफाइनान्स ०.८२, म्युचल फण्ड ०.७५, निर्जीवन १.२० र अन्य ०.५९ प्रतिशतले घटेको छ ।