काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले दसैं, तिहार र छठलाई लक्षित गर्दै ‘यो दशैं, आशाको सुरुवात’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार योजनाअन्तर्गत होण्डाको नयाँ बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्म नगद जित्ने मौका पाउनेछन्।
योजनाको मुख्य आकर्षण ‘होण्डा छ साथ साथ’ अफर हो। यसअन्तर्गत हरेक हप्ता सातै प्रदेशबाट एक–एक जना गरी सात जना विजेता छनोट गरिनेछ। विजेताले १ लाख रुपैयाँसम्म नगद प्राप्त गर्नेछन्।
कम्पनीले विजेताले जितेको रकम बराबरकै रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पनि योगदान गर्ने जनाएको छ। यसरी ग्राहकले पुरस्कार जित्नुका साथै विपद् प्रभावितको सहयोगमा पनि सहभागी हुने कम्पनीको भनाइ छ।
यससँगै ग्राहकले थप तीनमध्ये कुनै एक सुविधा रोज्न सक्नेछन्। उनीहरूले १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन, सात वर्षसम्म निःशुल्क सर्भिसिङ वा पाँच वर्षको वार्षिक मर्मत सम्झौता (एएमसी) मध्ये एउटा विकल्प छनोट गर्न सक्ने व्यवस्था गरिएको छ।
नयाँ बाइक वा स्कुटर खरिदलाई सहज बनाउन स्याकार हायर पर्चेजमार्फत फाइनान्स सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो योजना सीमित अवधिसम्म लागू हुनेछ र होण्डाका सबै आधिकारिक शोरुमबाट नयाँ दुईपांग्रे सवारी खरिद गर्दा नियम तथा सर्तअनुसार यसको लाभ लिन सकिनेछ।