५० भन्दा बढी स्मार्ट फिचरसहित आयो टीभीएस एनटर्क १५०

६.३ सेकेन्डमै ६० किमि प्रतिघण्टा

काठमाडौं । टीभीएस मोटर कम्पनीले  नेपालमा आफ्नो नयाँ स्कुटर टीभीएस एनटर्क १५० सार्वजनिक गरेको छ । कम्पनीले यसलाई नेपालकै पहिलो ‘हाइपर स्पोर्ट स्कुटर’का रूपमा बजारमा ल्याएको हो ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा शनिबार काठमाडौंको नक्सालमा आयोजित कार्यक्रममा एनटर्क १५० सार्वजनिक गरिएको हो । 

१४९.७ सीसीको रेस–ट्युन गरिएको इन्जिन तथा स्टेल्थ विमानबाट प्रेरित डिजाइनमा तयार गरिएको यो स्कुटरमा उच्च कार्यक्षमता, स्पोर्टी डिजाइन र आधुनिक प्रविधिको संयोजन गरिएको कम्पनीले जनाएको छ ।

यसमा १४९.७ सीसी एयर–कुल्ड ओ थ्री सी टेक इन्जिन रहेको छ । उक्त इन्जिनले ७ हजार आरपीएममा १३.२ पीएस पावर तथा ५ हजार ५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ । 

स्कुटरले ६।३ सेकेन्डमै शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने कम्पनीको दाबी छ । यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ ।

स्टेल्थ विमानबाट प्रेरित डिजाइन

एनटर्क १५० को डिजाइन स्टेल्थ विमानबाट प्रेरित रहेको कम्पनीले जनाएको छ । यसमा मल्टिप्वाइन्ट प्रोजेक्टर हेडलाइट, स्पोर्टी टेललाइट, एरोडाइनामिक विङलेट, सिग्नेचर ध्वनि भएको छोटो मफलर, नेकेड ह्यान्डलबार तथा रंगीन एलोय ह्विल प्रयोग गरिएको छ ।

फर्वार्ड–बायस्ड स्टान्स र एरोहेडबाट प्रेरित अगाडिको डिजाइनले स्कुटरलाई आक्रामक तथा स्पोर्टी स्वरूप दिएको छ । मोटरसाइकल शैलीको नेकेड ह्यान्डलबार, जेटबाट प्रेरित भेन्ट र इन्टिग्रेटेड विङलेटले यसको स्पोर्टी पहिचानलाई थप बलियो बनाउने कम्पनीको भनाइ छ ।

यसमा ‘टी’ आकारको टेललाइट, स्पोर्ट–ट्युन गरिएको सस्पेन्सन, हलुका एलोय ह्विल तथा पर्फर्मेन्स एक्जस्टसमेत राखिएको छ ।

५० भन्दा बढी स्मार्ट सुविधा

यसमा टीभीएस स्मार्टकनेक्ट  प्रविधिसहित ५० भन्दा बढी कनेक्टेड सुविधा उपलब्ध छन् । यसमा टर्न–बाइ–टर्न नेभिगेसन, अन्तिमपटक स्कुटर पार्क गरिएको स्थान पत्ता लगाउने सुविधा, कल तथा सन्देशको सूचना र विभिन्न राइड मोडलगायतका सुविधा छन् ।

कम्पनीका अनुसार यी सुविधाले नयाँ पुस्ताका चालकलाई थप सहज र कनेक्टेड राइडिङ अनुभव प्रदान गर्नेछ ।

ट्र्याक्सन कन्ट्रोल र एबीएस

सुरक्षा र चालकको आत्मविश्वासलाई ध्यानमा राख्दै यसमा सिंगल–च्यानल एबीएससँगै आफ्नो सेग्मेन्टमै पहिलोपटक ट्र्याक्सन कन्ट्रोल उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

यसमा हाजार्ड ल्याम्प र फलो–मी हेडलाम्प पनि राखिएको छ। आरामदायी यात्राका लागि टेलिस्कोपिक सस्पेन्सन, समायोजन गर्न मिल्ने ब्रेक लेभर, पेटेन्ट गरिएको ई–जेड  सेन्टर स्ट्यान्ड तथा २२ लिटरको सिटमुनिको भण्डारण क्षमता उपलब्ध छ ।

तीन रंगमा उपलब्ध

यो स्कुटर स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रंगमा उपलब्ध हुनेछ । यसको प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

स्कुटर हाल नेपालभरका जगदम्बा मोटर्सका डिलरशिपमार्फत बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Share News