काठमाडौं । सिप्रदी हायर पर्चेज प्रालिले गत आर्थिक वर्ष २०८२/८३ मा ५४ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १.२६ प्रतिशत अर्थात् ७० लाख रुपैयाँ कम हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल आम्दानी ५५ करोड ५० लाख रुपैयाँ थियो ।
यसअघि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ५८ करोड रुपैयाँ, आव २०७९/८० मा ५२ करोड ८० लाख रुपैयाँ, आव २०७८/७९ मा ४९ करोड ४० लाख रुपैयाँ, आव मा ६७ करोड ८० लाख रुपैयाँ, आव २०७६/७७ मा ७७ करोड १० लाख रुपैयाँ, आव २०७५/७६ मा ८१ करोड ६० लाख रुपैयाँ, आव २०७४/७५ मा ५७ करोड ६० लाख रुपैयाँ र आव २०७३/७४ मा २० करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
सन् २०१४ मा स्थापना भएको सिप्रदी हायर पर्चेज नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन हुँदै आएको हायर पर्चेज वित्तीय संस्था हो । कम्पनी सिप्रदी ट्रेडिङ प्रालिको शतप्रतिशत स्वामित्वमा रहेको सहायक कम्पनी हो । सिप्रदी ट्रेडिङ प्रालि नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक हो । सिप्रदी समूहअन्तर्गत रहेको सिप्रदी ट्रेडिङले सन् १९७९ देखि नेपालमा अटोमोबाइल तथा सम्बन्धित व्यवसायमा कारोबार गर्दै आएको छ । सिप्रदी हायर पर्चेजका अध्यक्ष सिद्धार्थशमशेर जबरा रहेका छन् ।
कम्पनीले मुख्य रूपमा सिप्रदी ट्रेडिङमार्फत बिक्री हुने व्यावसायिक सवारीसाधनमा हायर पर्चेज वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
गत आर्थिक वर्षमा कम्पनीको व्यवस्थापनमा रहेको कुल कर्जा पोर्टफोलियो ४ अर्ब ९१ करोड २० लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा यस्तो पोर्टफोलियो ४ अर्ब ९ करोड ९० लाख रुपैयाँ थियो । यसअनुसार एक वर्षमा कम्पनीको कर्जा पोर्टफोलियो १९.८३ प्रतिशत अर्थात् ८१ करोड ३० लाख रुपैयाँले बढेको छ ।
कम्पनीको व्यवस्थापनमा रहेका कुल सम्पत्ति पनि बढेर गत आर्थिक वर्षमा ५ अर्ब ४१ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो सम्पत्ति ४ अर्ब ४९ करोड १० लाख रुपैयाँ थियो ।
कम्पनीको सञ्चालन नाफामा भने दबाब देखिएको छ । गत आर्थिक वर्षमा औसत कुल सम्पत्तिको अनुपातमा सञ्चालन नाफा करिब ४.४ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ५.५ प्रतिशत थियो । सञ्चालन नाफामा आएको कमी मुख्य रूपमा खुद ब्याज मार्जिन घटेका कारण भएको हो । गत आर्थिक वर्षमा कम्पनीको खुद ब्याज मार्जिन ६.६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ८.२ प्रतिशत थियो ।
बजारमा अधिक तरलता तथा बैंक तथा वित्तीय संस्था र अन्य हायर पर्चेज कम्पनीबीचको प्रतिस्पर्धाका कारण समग्र क्षेत्रमा नै खुद ब्याज मार्जिनमा दबाब परेको जनाएको छ । आगामी दिनमा कर्जाबाट प्राप्त हुने ब्याज आम्दानी र कोषको लागतबीच सन्तुलन कायम गर्न तथा कम प्रतिफल दिने क्षेत्रमा कर्जा विस्तार हुन नदिन सक्ने क्षमता कम्पनीको नाफाका लागि महत्वपूर्ण रहनेछ ।
कम्पनीको सञ्चालन खर्च पनि बढेको छ । गत आर्थिक वर्षमा कुल आम्दानीको तुलनामा सञ्चालन खर्च ३५.४ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ३४.७ प्रतिशत थियो ।
कम्पनीको कर्जा पोर्टफोलियोमा ब्रान्ड तथा क्षेत्रगत एकाग्रताको जोखिमसमेत रहेको छ । कम्पनीले मुख्य रूपमा टाटा ब्रान्डका व्यावसायिक सवारीसाधनमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । कम्पनीबाट वित्तीयकरण गरिएका सवारीसाधनमध्ये करिब १०० प्रतिशत टाटा ब्रान्डका छन् । त्यस्तै, कुल वित्तीयकरणमध्ये करिब ९८ प्रतिशत हिस्सा व्यावसायिक सवारीसाधनको रहेको छ ।
हायर पर्चेज क्षेत्रमा बैंकिङ क्षेत्रको तुलनामा नियामकीय निगरानी तथा नियन्त्रण कम कडा रहेको छ । कर्जालाई कोषको लागतसँग आबद्ध गर्ने तथा १ प्रतिशत सेवा शुल्क कार्यान्वयन गर्नेलगायतका पछिल्ला नियामकीय सुधारले हायर पर्चेज क्षेत्रलाई नियामकीय दायरामा ल्याए पनि केही नियन्त्रणसम्बन्धी कमजोरी अझै रहेको बताइएको छ ।
हायर पर्चेज कम्पनीले तुलनात्मक रूपमा जोखिमयुक्त तथा मध्यम क्रेडिट प्रोफाइल भएका ऋणीलाई कर्जा प्रवाह गर्ने भए पनि निष्क्रिय कर्जा पहिचान तथा कर्जा नोक्सानी व्यवस्थासम्बन्धी प्रावधान बैंकिङ क्षेत्रको तुलनामा केही सहज रहेको कम्पनीले जनाएको छ ।
कम्पनीको कुल खराब कर्जा अनुपात गत आर्थिक वर्षमा ३.२ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात करिब ६.४ प्रतिशत थियो । त्यस्तै, ९० दिनभन्दा बढी भुक्तानी अवधि नाघेको कर्जाको हिस्सा पनि करिब ५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो हिस्सा करिब १८ प्रतिशत थियो ।
कम्पनीको कर्जा नोक्सानी व्यवस्थापन अनुपात पनि बढेर करिब ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात करिब ८१ प्रतिशत थियो । खराब कर्जा घटेसँगै सम्पत्तिको गुणस्तरमा सुधार आएको देखिए पनि आगामी दिनमा नयाँ खराब कर्जा थपिन नदिनु कम्पनीका लागि महत्वपूर्ण रहनेछ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण सापटी पनि बढाएको छ । गत आर्थिक वर्षमा कम्पनीको बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण सापटी ५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो ऋण सापटी ४ अर्ब रुपैयाँ थियो ।