स्थानीय उत्पादनको बजारीकरणमा बागमती सरकारको जोड

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवर्द्धन, औद्योगिक सुरक्षा र नयाँ उद्यमी उत्पादनका लागि नीतिगत सुधार गर्ने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको माइतीघरस्थित सचिवालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री मगरले नेपालमा करिब सात लाख साना तथा मझौला उद्योग सञ्चालनमा रहेको उल्लेख गर्दै स्थानीय कच्चा पदार्थको उपयोग, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र युवा पलायन रोक्न यस्ता उद्योगको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले स्थानीय उत्पादनको बजारीकरणका लागि हेटौँडामा ‘कोसेली घर’ निर्माण भइसकेको र अन्य जिल्लामा पनि जग्गा उपलब्ध भएपछि विस्तार गरिने जानकारी दिए । महिला उद्यमीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र जिल्लास्तरीय औद्योगिक प्रदर्शनीका लागि बजेट व्यवस्था गरिएको पनि उनले बताए ।

मुख्यमन्त्री मगरले उद्योग स्थापना भएपछि वरपर बस्ती विकास हुँदा स्थानीय विरोधका कारण उद्योग सार्नुपर्ने समस्या समाधान गर्न प्रदेश सरकारले छुट्टै कानुनी व्यवस्था गरेको बताए । आवश्यक प्रक्रिया पूरा गरेर स्थापना भएका उद्योगलाई अनावश्यक रूपमा स्थानान्तरण गर्न नदिई सुरक्षा प्रदान गरिने उनको भनाइ थियो ।

उद्योग सञ्चालनका लागि स्थिर ब्याजदर आवश्यक रहेको उल्लेख गर्दै उनले बैंकको ब्याजदर उद्योगीलाई सहज हुने गरी निश्चित र स्थिर हुनुपर्ने बताए । व्यवसायीलाई अप्ठ्यारो पार्ने ऐन, नियमावली र कार्यविधि संशोधन गर्न प्रदेश सरकार तयार रहेको पनि उनले बताए ।

कार्यक्रममा महासंघकी अध्यक्ष शोभा गुरुङले उद्योग दर्ता र नवीकरण प्रक्रिया सरल बनाउन, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न, महिला तथा युवा उद्यमशीलतालाई प्राथमिकता दिन र सरकारी खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादन अनिवार्य गर्ने व्यवस्था गर्न माग गरिन् ।

महासंघकी केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष रिता अवालले घरेलु तथा साना उद्योग पूँजीको अभाव, उच्च ब्याजदर, बजार, प्रविधि, कच्चा पदार्थ र आयातित वस्तुसँगको प्रतिस्पर्धाका कारण समस्यामा परेको बताइन् । उनले घरेलु तथा साना उद्योग विकास कोष स्थापना, सहुलियतपूर्ण कर्जा, महिला उद्यमीका लागि विशेष बजेट र स्थानीय उत्पादनको बजारीकरणमा जोड दिइन् ।

Share News