पूर्वप्रधानन्यायाधीश जबराले मागे आफू र परिवारको सुरक्षा
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू र आफ्नो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस भएको भन्दै थप सुरक्षा व्यवस्थाको माग गरेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा निवेदन दिँदै उनले थप सुरक्षाको माग गरेका हुन् । पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासँग सम्बन्धित विषयका कारण आफूले निवेदन दिएको बताएका छन् । राणाले निवेदनमा परिवारको सुरक्षाप्रति थप चिन्ता उत्पन्न भएको उल्लेख गरेका छन् । उनले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखको हैसियतमा सम्पादन गरेको बताएका छन् । न्यायिक निर्णयका कारण समेत आफूलाई थप असुरक्षाको महसुस भएको बताएका छन् । 'हालका मितिमा कार्यालयमा आइसकेपछि पनि कतिपय कुराबारे जानकारी पाएँ,' उनले दिएको निवेदनमा उल्लेख छ, ' यस कारण मलाई थप सुरक्षा थप गरी पाउन यो निवेदन पेश गरेको छु।' आफ्नो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारी नै रहेको उल्लेख गर्दै उनले आफ्नो निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुग्नुपर्ने माग गरेका छन् । उनले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता गोविन्द थपलियाले पूर्व प्रधानान्याधिश चोलेन्द्र शमशेर जबराले सुरक्षा माग गरेको निवेदन प्राप्त भएको जानकारी दिए । कार्यालयबाट थप सुरक्षाको प्रबन्ध मिलाइएको र सुरक्षा निगरानीसमेत बढाएको उनले बताए । ' सुरक्षा माग गरेको निवेदन हिजो प्राप्त भएको छ,' उनले विकासन्युजसँग भने । शनिवार राती उनलाई घरबाट प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले जेनजीबाट सुरक्षाको थ्रेट रहेको भन्दै प्रहरीले घरबाट नियन्त्रणमा लिएको थियो । आइतबार प्रहरीले जबरालाई घरमा पुर्याएर परिवारको जिम्मा लगाएको थियो । प्रहरीले उनको सुरक्षार्थका लागि बाँसबारीस्थित निवासमा थप सुरक्षाको व्यवस्था गरेको थियो ।
एनआईसी एशियाबाट भीआरएसमा बाहिरिँदै डीसीईओसहित ६ जना, १५ महिनाको तलब पाउने
काठमाडौं । एनआईसी एशिया बैंकबाट ६ जना कर्मचारी स्वेच्छिक अवकाश सुविधा (भीआरएस)मा बाहिरिने भएका छन् । बैंकले ल्याएको भीआरएसमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोषकुमार राठी, सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) अर्जुनराज खनियाँ, वरिष्ठ प्रबन्धक कैलाश गौतम, उपप्रबन्धकद्वय सुनिल मानन्धर र कानुनीतर्फका उपप्रबन्धक मनोज अधिकारी तथा सहायक प्रबन्धक देवेन्द्र भट्टले आवेदन दिएका हुन् । बैंकका अनुसार भीआरएसअन्तर्गत बाहिरिन चाहेका कर्मचारीहरूको निवेदन पनि स्वीकृत भइसकेको छ । भीआरएसअन्तर्गत बाहिरिन लागेका कर्मचारीले १५ महिनाको तलब बराबरको सुविधा पाउने बैंकले जनाएको छ । भीआरएस लिएर बाहिरिने कर्मचारीले प्रयोग गर्दै आएका सवारीसाधनलाई व्यावसायिक कर्जामा रूपान्तरण गर्न सक्ने व्यवस्था गरिएको छ । कर्मचारीका रूपमा पाउँदै आएको सुविधाबाहेक अन्य ग्राहकसरहका सुविधा भने उनीहरुले पाउनेछन् । उनीहरूले चाहेमा आफूले प्रयोग गर्दै आएको सवारीसाधनलाई लिन चाहेमा व्यावसायिक कर्जामा रूपान्तरण गर्न सक्ने बैंकले जनाएको छ । त्यस्तै, कर्मचारीका रूपमा लिएका कर्जालाई अब सामान्य ग्राहकका रूपमा रुपान्तरण गर्नुपर्ने व्यवस्था गरिएको छ । बैंकले यसपटक सहायक प्रबन्धक तहसम्मका कर्मचारीलाई लक्षित गरेर भीआरएस ल्याएको हो । बैंकले जुन तहका कर्मचारीबाट भीआरएसका लागि आवेदन आउने अपेक्षा गरेको थियो, सोहीअनुसार आवेदन आएको जनाएको छ । बैंकले भीआरएस कार्यक्रमलाई खर्च कटौतीका रुपमा मात्रै नलिएको जनाएको छ । संस्थालाई आवश्यकता अनुसार चुस्तदुरुस्त राख्ने उद्देश्यले भीआरएस सुविधा ल्याइएको बैंकको भनाइ छ ।
फार्मेसी परिषद्को सदस्य नियुक्ति प्रक्रियाप्रति फार्मेसी संघको विरोध
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट नेपाल फार्मेसी परिषद्को सदस्य नियुक्तिका लागि रोस्टरमा सूचीकृत गर्ने प्रयोजनार्थ अघि बढाइएको प्रक्रियामा पछिल्लो समय देखिएका गतिविधिप्रति नेपाल फार्मेसी संघले विरोध जनाएको छ । नेपाल फार्मेसी परिषद् ऐन, २०५७ को दफा ९(१) (ङ) बमोजिम सदस्य नियुक्तिका लागि आवेदन प्रक्रिया अघि बढाएर २०८३ भदौ १७ गते अन्तिम नामावली प्रकाशन र भदौ १८ गते अन्तर्वार्ता सम्पन्न भइसकेको संघले जनाएको छ । तर, त्यसको नतिजा सार्वजनिक नगरी २२ दिनपछि २०८३ असोज ८ गते पुनः केही नयाँ संस्था तथा व्यक्तिलाई समावेश गरेर अन्तर्वार्ताका लागि सूचना प्रकाशित गरिएको भन्दै संघले प्रश्न उठाएको हो । संघका अनुसार अन्तर्वार्ता सम्पन्न भइसकेपछि नयाँ नाम थप्नुको आधार र प्रक्रिया स्पष्ट हुनुपर्ने देखिन्छ । ‘भूलवश छुटेको’ भन्दै २२ दिनपछि नयाँ नाम समावेश गरिएको भए त्यसको आधारसमेत सार्वजनिक रूपमा स्पष्ट हुनुपर्ने संघको माग छ । संघले नेपाल फार्मेसी परिषद्का अध्यक्ष डा।कादिर आलमको विगतको परिषद् सदस्य नियुक्तिसँग सम्बन्धित विषयमा पनि छानबिन आवश्यक रहेको जनाएको छ । मुस्लिम फार्मासिस्ट एसोसिएसन अफ नेपाल २०८२ जेठ २२ गते दर्ता भएको र त्यसपछि मन्त्रिस्तरीय निर्णयबाट डा. आलम परिषद्को सदस्यमा नियुक्त भएको विषयमा सार्वजनिक रूपमा प्रश्न उठेकाले त्यसको निष्पक्ष अध्ययन तथा आवश्यक छानबिन हुनुपर्ने संघको धारणा छ । त्यस्तै, अहिले प्रकाशित नयाँ नामावलीमा डा. कादिर आलम आबद्ध मुस्लिम फार्मासिस्ट एसोसिएसन नेपालका उपाध्यक्षसमेत रहेको विषयलाई संघले गम्भीर चासोको विषय भनेको छ । उक्त संस्थाका गतिविधि हालसम्म सार्वजनिक रूपमा उल्लेख्य रूपमा नदेखिएको अवस्थामा सम्बन्धित व्यक्तिको नाम अहिले समावेश हुनु तथा परिषद्का अध्यक्षसँग प्रत्यक्ष संस्थागत सम्बन्ध रहेको व्यक्तिलाई सदस्यका रूपमा अघि बढाउने प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठेको संघको भनाइ छ । परिषद् सदस्य नियुक्तिका लागि उल्लेख गरिएका केही संस्था केवल गठन वा दर्ता भएको उद्देश्य परिषद् सदस्य नियुक्तिको प्रयोजनसँग जोडिएको हो कि भन्ने प्रश्नसमेत उठेको संघले जनाएको छ । ती संस्थाका कार्यसमिति, नियमित गतिविधि तथा सम्बन्धित व्यक्तिको भूमिकाबारे पर्याप्त विवरण सार्वजनिक नभएकाले यस विषयमा थप छानबिन र स्पष्टता आवश्यक रहेको संघको भनाइ छ । सत्ता, पहुँच वा प्रभावका आधारमा नियुक्ति हुने प्रवृत्तिबारे विगतदेखि उठ्दै आएका प्रश्नलाई ध्यानमा राखेर मन्त्रालयको निर्णय प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्नेमा संघले जोड दिएको छ । परिषद्को सदस्य नियुक्तिमा निश्चित संस्था वा व्यक्तिलाई प्राथमिकता दिनेभन्दा योग्यता, अनुभव, व्यावसायिक योगदान, संस्थागत क्रियाशीलता र व्यक्तिको क्षमताका आधारमा निर्णय हुनुपर्ने संघको माग छ । नेपाल फार्मेसी संघले आफूले परिषद् सदस्यमा आफ्ना प्रतिनिधि नियुक्त गर्न माग नगरेको स्पष्ट पार्दै योग्यता, अनुभव, व्यावसायिक योगदान, संस्थागत क्रियाशीलता र व्यक्तिको क्षमताका आधारमा योग्य व्यक्तिलाई नियुक्त गर्नुपर्ने माग गरेको छ ।
चितवन र हेटौंडामा रोकिए १०५ वटा ग्यास बुलेट
काठमाडौं । बुधबारदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको कृष्णभिरसहित दर्जनौं स्थानमा पहिरो खसेर यातायात ठप्प भएपछि काठमाडौं उपत्यका आउँदै गरेका १०५ वटा ग्यास बुलेट बिच बाटोमै रोकिएका छन् । भारतको बरौनी, पारादीप र हल्दियालगायतका स्थानबाट १ लाख ५० हजार सिलिन्डर बराबरको ग्यास लोड गरी आएका ती बुलेटहरू वीरगन्ज भन्सार पास भई हाल चितवनको रामनगर र हेटौंडा आसपासका क्षेत्रमा थन्किएका हुन् । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार काठमाडौंका १६ वटा ग्यास ब्रान्डका लागि ल्याइएका यी बुलेटहरू सडक सञ्चालन हुनासाथ उपत्यका भित्र्याइने छ । सडक खुल्नेबित्तिकै दैनिक ५० हजारदेखि ६० हजार सिलिन्डरका दरले बजारमा ग्यास पठाउन सकिने निगमले जनाएको छ । आइतबार उपत्यकामा १७ हजार सिलिन्डर मात्र वितरण गरिएको र आपूर्ति सहज हुन नसक्दा हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा खाना पकाउने ग्यासको चर्को अभाव सिर्जना भएको छ ।
दक्षिण अफ्रिकामा मिनीबस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु
काठमाडौं । दक्षिण अफ्रिकाको क्वाजुलु–नाताल प्रान्तमा आइतवार बिहान भएको भीषण सडक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ । एन–२ राजमार्गमा तीव्र गतिमा रहेको मिनीबस र विपरीत दिशाबाट आइरहेको ट्रक एकापसमा ठोक्किँदा उक्त मानवीय क्षति भएको हो । स्थानीय समयअनुसार आइतबार बिहान ४ बजे इन्कोसी मटुबाटुबा नगरपालिका क्षेत्रमा उक्त दुर्घटना भएको हो । प्रान्तीय यातायात तथा मानव बस्ती विभागले दिएको जानकारीअनुसार उत्तरतर्फ गइरहेको मिनीबस र दक्षिणतर्फ गइरहेको ट्रक ठोक्किएपछि मिनीबसमा आगलागी भएको थियो । दुर्घटनामा परी ८ जना गम्भीर घाइते भएका छन् । जलेर गम्भीर अवस्थामा रहेका घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल लगिएको छ । घटनाको प्रकृति हेर्दा दुर्घटना निकै शक्तिशाली भएको अनुमान गरिएको छ । घटनाको विस्तृत अनुसन्धानका लागि रोड ट्राफिक म्यानेजमेन्ट कर्पोरेसन र प्रहरीले संयुक्त टोली परिचालन गरेको छ । दुर्घटनाको ठोस कारण पत्ता लगाउन अधिकारीहरूले घटनास्थलको प्राविधिक परीक्षण र प्रत्यक्षदर्शीको बयान लिने कार्य गरिरहेका छन् । दक्षिण अफ्रिकामा मिनीबस ट्याक्सीहरू सार्वजनिक यातायातको मुख्य साधन मानिन्छन् । तर चालकको लापरबाही, सवारी साधनको दयनीय अवस्था र सडक सुरक्षाका मापदण्ड पालना नहुँदा यहाँ यस्ता घातक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् । सरकारले यातायात क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता जनाए पनि सडक सुरक्षा चुनौती कायमै रहेको छ ।
भित्री वस्त्रमा सुन लुकाएर ल्याउने शोकात विमानस्थलबाट पक्राउ
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना भारतीय पक्राउ परेका छन् । विमानस्थल सुरक्षा कार्यालयका अनुसार आइतबार राती भारतीय नागरिक अस्लाम शोकात पक्राउ परेका हुन् । शोकात भारतको मुम्बईबाट इण्डिगो एयरको उडान नम्बर ६ ई ११५७ मार्फत काठमाडौँ आएका थिए । दिल्लीस्थित हाभेलियाजाम खान जामा मस्जिद ठेगाना शोकातले विमानस्थला शंकास्पद गतिविधि गरेकाले चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् । ओस्ताकले भित्री वस्त्रभित्र प्लास्टिकमा सुनलाई पोको पारी लुकाइछिपाई भन्सार छली ल्याएका थिए । उनको साथबाट अवैध रूपमा सुनजस्तो देखिने पहेँलो रङको गोलाकार अर्धठोस पदार्थ दुई थान फेला परेको सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए । उनका अनुसार तौल करिब ४२२.५ ग्राम रहेको छ। सुनजस्तो पदार्थ बरामद गरी शोकातलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौँमा बुझाइए उनले बताए ।
चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने
काठमाडौं । नेपाल प्रहरीले आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ । सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा आगामी चाडपर्वमा यात्रुहरू ठगिन नपाऊन् र सवारी दुर्घटना न्यूनीकरण होस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्न लागेको जानकारी दिइएको हो । प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिलजंग शाहले टिकटमा हुने कालोबजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी बढाउने जानकारी दिए । डीएसपी शाहका अनुसार सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थिति रहनेछ भने भाडादरसम्बन्धी विवाद तत्काल समाधान गर्न यातायात व्यवस्था विभागका प्रतिनिधिलाई पनि सहभागी गराउन प्रस्ताव गरिएको छ । सहायता कक्षमा सबै गन्तव्यको भाडादर स्पष्ट रूपमा राखिनेछ, जसले यात्रु र यातायात व्यवसायीबीच हुने विवाद कम गर्ने अपेक्षा गरिएको छ । टिकट बुकिङलाई थप व्यवस्थित र विश्वसनीय बनाउन काउन्टरमा बस्ने कर्मचारीको आधिकारिक परिचयपत्र अनिवार्य हुनुपर्नेमा उनले जोड दिए । यसले टिकट काट्ने व्यक्ति कुन समितिसँग आबद्ध छ भन्ने स्पष्ट हुने र कुनै समस्या आएमा अनुगमन गर्न सहज हुने प्रहरीको भनाइ छ । सवारी दुर्घटना न्यूनीकरणका लागि ‘क्यू–फ्री’ प्रणालीमा परिवर्तनको खाँचो औँल्याउँदै शाहले सोही मार्गमा अभ्यस्त चालकलाई मात्र खटाउन सुझाव दिए । यदि अपरिचित मार्गमा नयाँ चालक पठाउँदा सडकका खाल्डाखुल्डी र मोडबारे जानकारी नहुँदा दुर्घटना हुने सम्भावना बढी हुने उनले बताए । उनले भने, ‘बढी भाडा असुल्ने, टिकटबिना यात्रु बोक्ने वा एउटै सिटको टिकट दुई–तीन जनालाई बिक्री गर्ने जस्ता समस्या अनुगमन गर्न नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिनेछ । त्यहाँ नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागका प्रतिनिधि रहने व्यवस्था भए यात्रुका समस्या तत्काल समाधान गर्न सहज हुनेछ । सहायता कक्षमा सबै गन्तव्यको भाडादर स्पष्ट रूपमा राखिदिँदा यात्रु र यातायात व्यवसायीबीच हुने विवाद पनि कम हुन्छ ।’ दसैँको समयमा सबैभन्दा बढी सवारी चाप हुने कलङ्की–नागढुङ्गा खण्डलाई लक्षित गर्दै प्रहरीले विशेष रणनीति तयार पारेको छ । चाडपर्वको चार दिन अगाडिदेखि हुने अत्यधिक ट्राफिक दबाबलाई व्यवस्थापन गर्न उपलब्ध जनशक्तिलाई अधिकतम परिचालन गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने व्यवसायीको घोषणा
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ । सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेसम्म हाल कायम भाडादरमै यात्रुलाई सेवा प्रदान गर्ने स्पष्ट पारेका हुन् । बैठकमा बोल्दै अध्यक्ष सिटौलाले चाडपर्वमा अग्रिम टिकट बुकिङ मात्र ठूलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु मुख्य चुनौती रहेको बताए । सडकको दयनीय अवस्था र ठाउँठाउँमा भइरहेको अवरोधका कारण यातायात सञ्चालनमा कठिनाइ भए पनि सरकारसँगको समन्वयमा सेवालाई निरन्तरता दिने उनले जानकारी दिए । यातायात क्षेत्रमा बिचौलियाको बिगबिगी र जथाभाबी टिकट काट्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए। साथै, सवारीसाधनको प्रकार (नर्मल, डिलक्स र सुपर डिलक्स) अनुसार सरकारले तोकेको भाडादर कार्यान्वयन गर्न व्यवसायी प्रतिबद्ध रहेको उनले बताए । चाडपर्वका समयमा हुने एकतर्फी यात्रुको चाप व्यवस्थापनमा जोड दिँदै सिटौलाले मालवाहक सवारीसाधनलाई निश्चित समय रोक्न र सडक मर्मतमा तीव्रता दिन सरकारसँग आग्रह गरे । सिटौलाले भने, ‘तोकिएको बसपार्क र काउन्टरबाट मात्र टिकट काट्ने व्यवस्था मिलाउन सके यात्रु ठगीको समस्या हटेर जान्छ। दसैँको समयमा यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिनुपर्छ । बाटोका खाल्डाखुल्डी पुर्न र सडक सुरक्षाका लागि १५–२० दिन विशेष ध्यान दिनुपर्छ ।’ अध्यक्ष सिटौलाले चाडपर्वका लागि अग्रिम बुकिङ गरिएका गाडीलाई अन्य प्रयोजनमा (रिजर्भ) नपठाउन पनि व्यवसायीलाई निर्देशन दिइएको बताए । साथै, लामो दूरीका सवारीसाधनमा दुईजना चालक राख्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि सरकारले नागरिकको हितलाई ध्यानमा राखेर घाटा सहेरै भए पनि मूल्य स्थिर राख्नुपर्ने सिटौलाको तर्क छ । पेट्रोलियम पदार्थको मूल्य नबढेमा सार्वजनिक यातायातको भाडा पनि नबढाउने उनले प्रतिबद्धता जनाए ।