काठमाडौं । बुधबारदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको कृष्णभिरसहित दर्जनौं स्थानमा पहिरो खसेर यातायात ठप्प भएपछि काठमाडौं उपत्यका आउँदै गरेका १०५ वटा ग्यास बुलेट बिच बाटोमै रोकिएका छन् ।
भारतको बरौनी, पारादीप र हल्दियालगायतका स्थानबाट १ लाख ५० हजार सिलिन्डर बराबरको ग्यास लोड गरी आएका ती बुलेटहरू वीरगन्ज भन्सार पास भई हाल चितवनको रामनगर र हेटौंडा आसपासका क्षेत्रमा थन्किएका हुन् ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार काठमाडौंका १६ वटा ग्यास ब्रान्डका लागि ल्याइएका यी बुलेटहरू सडक सञ्चालन हुनासाथ उपत्यका भित्र्याइने छ ।
सडक खुल्नेबित्तिकै दैनिक ५० हजारदेखि ६० हजार सिलिन्डरका दरले बजारमा ग्यास पठाउन सकिने निगमले जनाएको छ ।
आइतबार उपत्यकामा १७ हजार सिलिन्डर मात्र वितरण गरिएको र आपूर्ति सहज हुन नसक्दा हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा खाना पकाउने ग्यासको चर्को अभाव सिर्जना भएको छ ।