चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

काठमाडौं । नेपाल प्रहरीले आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ ।

सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा आगामी चाडपर्वमा यात्रुहरू ठगिन नपाऊन् र सवारी दुर्घटना न्यूनीकरण होस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्न लागेको जानकारी दिइएको हो ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिलजंग शाहले टिकटमा हुने कालोबजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी बढाउने जानकारी दिए ।

डीएसपी शाहका अनुसार सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थिति रहनेछ भने भाडादरसम्बन्धी विवाद तत्काल समाधान गर्न यातायात व्यवस्था विभागका प्रतिनिधिलाई पनि सहभागी गराउन प्रस्ताव गरिएको छ । सहायता कक्षमा सबै गन्तव्यको भाडादर स्पष्ट रूपमा राखिनेछ, जसले यात्रु र यातायात व्यवसायीबीच हुने विवाद कम गर्ने अपेक्षा गरिएको छ ।

टिकट बुकिङलाई थप व्यवस्थित र विश्वसनीय बनाउन काउन्टरमा बस्ने कर्मचारीको आधिकारिक परिचयपत्र अनिवार्य हुनुपर्नेमा उनले जोड दिए । यसले टिकट काट्ने व्यक्ति कुन समितिसँग आबद्ध छ भन्ने स्पष्ट हुने र कुनै समस्या आएमा अनुगमन गर्न सहज हुने प्रहरीको भनाइ छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि ‘क्यू–फ्री’ प्रणालीमा परिवर्तनको खाँचो औँल्याउँदै शाहले सोही मार्गमा अभ्यस्त चालकलाई मात्र खटाउन सुझाव दिए । यदि अपरिचित मार्गमा नयाँ चालक पठाउँदा सडकका खाल्डाखुल्डी र मोडबारे जानकारी नहुँदा दुर्घटना हुने सम्भावना बढी हुने उनले बताए ।

उनले भने, ‘बढी भाडा असुल्ने, टिकटबिना यात्रु बोक्ने वा एउटै सिटको टिकट दुई–तीन जनालाई बिक्री गर्ने जस्ता समस्या अनुगमन गर्न नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिनेछ । त्यहाँ नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागका प्रतिनिधि रहने व्यवस्था भए यात्रुका समस्या तत्काल समाधान गर्न सहज हुनेछ । सहायता कक्षमा सबै गन्तव्यको भाडादर स्पष्ट रूपमा राखिदिँदा यात्रु र यातायात व्यवसायीबीच हुने विवाद पनि कम हुन्छ ।’

दसैँको समयमा सबैभन्दा बढी सवारी चाप हुने कलङ्की–नागढुङ्गा खण्डलाई लक्षित गर्दै प्रहरीले विशेष रणनीति तयार पारेको छ । चाडपर्वको चार दिन अगाडिदेखि हुने अत्यधिक ट्राफिक दबाबलाई व्यवस्थापन गर्न उपलब्ध जनशक्तिलाई अधिकतम परिचालन गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

Share News