फार्मेसी परिषद्को सदस्य नियुक्ति प्रक्रियाप्रति फार्मेसी संघको विरोध

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट नेपाल फार्मेसी परिषद्को सदस्य नियुक्तिका लागि रोस्टरमा सूचीकृत गर्ने प्रयोजनार्थ अघि बढाइएको प्रक्रियामा पछिल्लो समय देखिएका गतिविधिप्रति नेपाल फार्मेसी संघले  विरोध जनाएको छ । 

नेपाल फार्मेसी परिषद् ऐन, २०५७ को दफा ९(१) (ङ) बमोजिम सदस्य नियुक्तिका लागि आवेदन प्रक्रिया अघि बढाएर २०८३ भदौ १७ गते अन्तिम नामावली प्रकाशन र भदौ १८ गते अन्तर्वार्ता सम्पन्न भइसकेको संघले जनाएको छ । 

तर, त्यसको नतिजा सार्वजनिक नगरी २२ दिनपछि २०८३ असोज ८ गते पुनः केही नयाँ संस्था तथा व्यक्तिलाई समावेश गरेर अन्तर्वार्ताका लागि सूचना प्रकाशित गरिएको भन्दै संघले प्रश्न उठाएको हो ।

संघका अनुसार अन्तर्वार्ता सम्पन्न भइसकेपछि नयाँ नाम थप्नुको आधार र प्रक्रिया स्पष्ट हुनुपर्ने देखिन्छ । ‘भूलवश छुटेको’ भन्दै २२ दिनपछि नयाँ नाम समावेश गरिएको भए त्यसको आधारसमेत सार्वजनिक रूपमा स्पष्ट हुनुपर्ने संघको माग छ ।

संघले नेपाल फार्मेसी परिषद्का अध्यक्ष डा।कादिर आलमको विगतको परिषद् सदस्य नियुक्तिसँग सम्बन्धित विषयमा पनि छानबिन आवश्यक रहेको जनाएको छ । 

मुस्लिम फार्मासिस्ट एसोसिएसन अफ नेपाल २०८२ जेठ २२ गते दर्ता भएको र त्यसपछि मन्त्रिस्तरीय निर्णयबाट डा. आलम परिषद्को सदस्यमा नियुक्त भएको विषयमा सार्वजनिक रूपमा प्रश्न उठेकाले त्यसको निष्पक्ष अध्ययन तथा आवश्यक छानबिन हुनुपर्ने संघको धारणा छ ।

त्यस्तै, अहिले प्रकाशित नयाँ नामावलीमा डा. कादिर आलम आबद्ध मुस्लिम फार्मासिस्ट एसोसिएसन नेपालका उपाध्यक्षसमेत रहेको विषयलाई संघले गम्भीर चासोको विषय भनेको छ । 

उक्त संस्थाका गतिविधि हालसम्म सार्वजनिक रूपमा उल्लेख्य रूपमा नदेखिएको अवस्थामा सम्बन्धित व्यक्तिको नाम अहिले समावेश हुनु तथा परिषद्का अध्यक्षसँग प्रत्यक्ष संस्थागत सम्बन्ध रहेको व्यक्तिलाई सदस्यका रूपमा अघि बढाउने प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठेको संघको भनाइ छ ।

परिषद् सदस्य नियुक्तिका लागि उल्लेख गरिएका केही संस्था केवल गठन वा दर्ता भएको उद्देश्य परिषद् सदस्य नियुक्तिको प्रयोजनसँग जोडिएको हो कि भन्ने प्रश्नसमेत उठेको संघले जनाएको छ । 

ती संस्थाका कार्यसमिति, नियमित गतिविधि तथा सम्बन्धित व्यक्तिको भूमिकाबारे पर्याप्त विवरण सार्वजनिक नभएकाले यस विषयमा थप छानबिन र स्पष्टता आवश्यक रहेको संघको भनाइ छ ।

सत्ता, पहुँच वा प्रभावका आधारमा नियुक्ति हुने प्रवृत्तिबारे विगतदेखि उठ्दै आएका प्रश्नलाई ध्यानमा राखेर मन्त्रालयको निर्णय प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्नेमा संघले जोड दिएको छ । 

परिषद्को सदस्य नियुक्तिमा निश्चित संस्था वा व्यक्तिलाई प्राथमिकता दिनेभन्दा योग्यता, अनुभव, व्यावसायिक योगदान, संस्थागत क्रियाशीलता र व्यक्तिको क्षमताका आधारमा निर्णय हुनुपर्ने संघको माग छ ।

नेपाल फार्मेसी संघले आफूले परिषद् सदस्यमा आफ्ना प्रतिनिधि नियुक्त गर्न माग नगरेको स्पष्ट पार्दै योग्यता, अनुभव, व्यावसायिक योगदान, संस्थागत क्रियाशीलता र व्यक्तिको क्षमताका आधारमा योग्य व्यक्तिलाई नियुक्त गर्नुपर्ने माग गरेको छ ।
 

Share News