चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने व्यवसायीको घोषणा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ ।

सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेसम्म हाल कायम भाडादरमै यात्रुलाई सेवा प्रदान गर्ने स्पष्ट पारेका हुन् ।

बैठकमा बोल्दै अध्यक्ष सिटौलाले चाडपर्वमा अग्रिम टिकट बुकिङ मात्र ठूलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु मुख्य चुनौती रहेको बताए । सडकको दयनीय अवस्था र ठाउँठाउँमा भइरहेको अवरोधका कारण यातायात सञ्चालनमा कठिनाइ भए पनि सरकारसँगको समन्वयमा सेवालाई निरन्तरता दिने उनले जानकारी दिए ।

यातायात क्षेत्रमा बिचौलियाको बिगबिगी र जथाभाबी टिकट काट्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए। साथै, सवारीसाधनको प्रकार (नर्मल, डिलक्स र सुपर डिलक्स) अनुसार सरकारले तोकेको भाडादर कार्यान्वयन गर्न व्यवसायी प्रतिबद्ध रहेको उनले बताए ।

चाडपर्वका समयमा हुने एकतर्फी यात्रुको चाप व्यवस्थापनमा जोड दिँदै सिटौलाले मालवाहक सवारीसाधनलाई निश्चित समय रोक्न र सडक मर्मतमा तीव्रता दिन सरकारसँग आग्रह गरे ।

सिटौलाले भने, ‘तोकिएको बसपार्क र काउन्टरबाट मात्र टिकट काट्ने व्यवस्था मिलाउन सके यात्रु ठगीको समस्या हटेर जान्छ। दसैँको समयमा यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिनुपर्छ । बाटोका खाल्डाखुल्डी पुर्न र सडक सुरक्षाका लागि १५–२० दिन विशेष ध्यान दिनुपर्छ ।’

अध्यक्ष सिटौलाले चाडपर्वका लागि अग्रिम बुकिङ गरिएका गाडीलाई अन्य प्रयोजनमा (रिजर्भ) नपठाउन पनि व्यवसायीलाई निर्देशन दिइएको बताए । साथै, लामो दूरीका सवारीसाधनमा दुईजना चालक राख्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि सरकारले नागरिकको हितलाई ध्यानमा राखेर घाटा सहेरै भए पनि मूल्य स्थिर राख्नुपर्ने सिटौलाको तर्क छ । पेट्रोलियम पदार्थको मूल्य नबढेमा सार्वजनिक यातायातको भाडा पनि नबढाउने उनले प्रतिबद्धता जनाए ।

Share News