विकासन्युज

मितेरी डेभलपमेन्ट बैंकको ११ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको असोज १० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ६ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्नेछ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी २१औँ वार्षिक साधारण सभाबाट प्रस्ताव पारित गरी सेयरधनीलाई लाभांश वितरण गरिने प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्त कुमार चापगाईंले जानकारी दिए । 

तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक, गोलभेडा प्रतिकिलो १०० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी र फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली र भारतीय गोलभेडा प्रतिकिलो १०० रुपैयाँमा कारोबार भइरहेको छ । सानो (टनेल) गोलभेडाको मूल्य प्रतिकिलो ७५ रुपैयाँ तोकिएको छ । रातो लाम्चो आलु प्रतिकिलो ५५ रुपैयाँ, रातो गोलो आलु ४८ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँमा कारोबार भइरहेको छ । समितिका अनुसार भारतीय सुकेको प्याज प्रतिकिलो ९३ रुपैयाँ, स्थानीय गाजर १२० रुपैयाँ र तराई गाजर ९० रुपैयाँ रहेको छ । हरियो तरकारीतर्फ स्थानीय बन्दा ७० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मूला ४० रुपैयाँ, सेतो मूला ६० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ र डल्लो भन्टा ७० रुपैयाँ प्रतिकिलो तोकिएको छ । यस्तै तने बोडी ९० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ, घिउ सिमी ७० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ, भटमासकोसा १८० रुपैयाँ, तितो करेला ९० रुपैयाँ र लौका ८० रुपैयाँमा कारोबार भइरहेको छ । सागपातमध्ये रायोको साग र पालुङ्गो साग प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज ३०० रुपैयाँ पुगेको छ । च्याउतर्फ कन्य च्याउ २०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो तोकिएको छ । फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, मुस्ताङ स्याउ १३० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन १५० रुपैयाँ, मालभोग केरा १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ र हरियो तरबुजा ६० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

अनलाइन सेक्युरिटिजले १२५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । अनलाइन सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ४९)ले १२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले सञ्चालक समितिको सिफारिसअनुसार १२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको १९औँ वार्षिक साधारण सभा काठमाडौंमा दिउँसो साढे ३ बजे बस्नेछ । आर्थिक वर्ष २०८२÷८३ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव सभामा पेस हुनेछ । त्यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तथा आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । सभाले सञ्चालक समितिको पुनर्गठन तथा निर्वाचनसम्बन्धी प्रस्तावसमेत पारित गर्नेछ । त्यस्तै, रणनीतिक साझेदार खोज्ने तथा समान प्रकृतिका संस्थासँग गाभ्ने वा गाभिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ ।

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५३ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा कायम गरिएको छ । युरो एकको खरिददर १७४ रुपैयाँ ३० पैसा र बिक्रीदर १७४ रुपैयाँ ९८ पैसा तोकिएको छ । यस्तै, बेलायती पाउन्ड एकको खरिददर २०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५८ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको बिक्रीदर १०७ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ ६१ पैसा र सिङ्गापुर डलर १२० रुपैयाँ २३ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ८८ पैसा, साउदी रियाल ४० रुपैयाँ ९१ पैसा, कतारी रियाल ४२ रुपैयाँ १८ पैसा र यूएई दिराम ४१ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने राष्ट्र बैंकको भनाइ छ ।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको ढोका खुल्दै, व्यवसायीमा उत्साह

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सम्भावना बलियो बनेको छ। फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेसँगै पर्यटन व्यवसायीमा उत्साह र आशा पलाएको छ। यसले लामो समयदेखिको व्यावसायिक शून्यता अन्त्य हुने अपेक्षा जगाएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएयता नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन सकेको थिएन। यसअघि हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडानको प्रयास गरे पनि यात्रु अभावका कारण सेवा निरन्तर हुन सकेन। त्यसपछि विमानस्थलको पूर्ण उपयोगबारे प्रश्न उठ्दै आएको थियो। पछिल्लो समय फ्लाई दुबईको जहाज अवतरण भएपछि भने पर्यटन क्षेत्र थप उत्साहित बनेको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलका अनुसार नियमित अन्तर्राष्ट्रिय उडानले पोखरालाई विश्वका पर्यटकीय गन्तव्यसँग प्रत्यक्ष जोड्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत टेवा पुर्‍याउनेछ। उनले नियमित अन्तर्राष्ट्रिय उडानलाई पोखराको पर्यटन विकासको मेरुदण्डका रूपमा व्याख्या गरे। पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने उद्देश्यसहित निर्माण गरिएको विमानस्थलमा फ्लाई दुबईको जहाज अवतरण हुनुलाई उनले पर्यटन विकासको नयाँ कोशेढुंगाका रूपमा लिएका छन्। भुजेलका अनुसार फ्लाई दुबई विश्वका २५० भन्दा बढी अन्तर्राष्ट्रिय सहरसँग जोडिएको वायुसेवा कम्पनी भएकाले यसले पोखरालाई विश्व बजारसँग जोड्ने आधार तयार गरेको छ। यो उडान पोखरा र गण्डकी प्रदेशका लागि मात्र नभई सातवटै प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्त्वपूर्ण हुने उनले बताए। यद्यपि, अन्तर्राष्ट्रिय उडान सुरु हुनु जत्तिकै त्यसको निरन्तरता र दिगो व्यवस्थापन पनि चुनौतीपूर्ण रहेको व्यवसायीहरूको बुझाइ छ। अन्तर्राष्ट्रिय उडानलाई सफल र नियमित बनाउन स्थानीय, प्रदेश र संघीय सरकार, राजनीतिक दल, निजी क्षेत्र तथा अन्य सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको भुजेलले औँल्याए।   नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले पोखरामा अन्तर्राष्ट्रिय उडानको सम्भावनालाई मूर्त रूप दिन विदेशमा प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्नुपर्ने बताए। उनले ‘जाऊँ है पोखरा’ अभियानलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पर्यटन व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीलाई सहकार्य गर्न आह्वान गरे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमता र दिगो रूपमा सञ्चालन गर्न विश्वभर छरिएर रहेका नेपाली तथा अन्य सरोकारवालाले कम्तीमा तीन महिना हातेमालो गर्नुपर्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय उडानले पर्यटकको आगमन बढाउनुका साथै उनीहरूको बसाइ अवधि लम्ब्याउन प्रत्यक्ष योगदान पुर्‍याउने पोखरेलले बताए। पोखराबाटै यात्रा गर्न उनले सबैलाई आग्रह गरे। उनका अनुसार पोखरामा सिधै अवतरण गर्ने सुविधा उपलब्ध भए विदेशी पर्यटकको बसाइ अवधि बढ्ने र स्थानीय अर्थतन्त्र चलायमान हुनेछ। पोखरेलले भने, ‘पोखरा मन पराउने अन्तर्राष्ट्रिय पाहुनाहरू सिधै यहाँ आउँदा उनीहरूको बसाइ लम्बिनेछ भने बाह्य पर्यटकको आवागमन पनि उल्लेख्य रूपमा बढ्नेछ। यसका साथै विदेश जाने स्वदेशी यात्रुहरूले पनि दुई दिन पोखरा घुमेर यहीँबाट उडान भर्न सक्ने भएकाले आन्तरिक पर्यटनमा समेत तत्काल सकारात्मक प्रभाव देखिनेछ।’ उनले फ्लाई दुबई वा अन्य अन्तर्राष्ट्रिय उडानमार्फत यात्रा गर्नु पोखराको समग्र समृद्धिमा योगदान पुर्‍याउने अवसरसमेत भएको बताए।   पर्यटन व्यवसायी गोपी भट्टराईले नियमित अन्तर्राष्ट्रिय उडान सुरु भए होटल, यातायात तथा समग्र पर्यटन व्यवसायले नयाँ गति लिने विश्वास व्यक्त गरे। लामो प्रतीक्षापछि पोखरामा फ्लाई दुबईको उडान हुनुले पश्चिमाञ्चल क्षेत्रको आर्थिक समृद्धिको ढोका खोल्ने अपेक्षा गरिएको उनले बताए। भट्टराईका अनुसार दुबई विश्वकै प्रमुख ट्रान्जिट हबमध्ये एक भएकाले यस उडानले पोखरालाई विश्वका २४० भन्दा बढी सहरसँग जोड्ने सम्भावना छ। विमानस्थलको धावनमार्ग र क्षमताबारे उठ्दै आएका आशंकालाई समेत यस उडानले सम्बोधन गरेको उनको भनाइ छ। उनले भने, ‘आजको उडानले सबै जिज्ञासाहरूको जवाफ दिएको छ। पूर्ण यात्रु भारसहित जहाज अवतरण र उडान हुनुले यो विमानस्थल अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक उडानका लागि पूर्णतः सक्षम छ भन्ने प्रमाणित गरेको छ।’ दसैँ, तिहार र नयाँ वर्षजस्ता चाडपर्व नजिकिँदै गर्दा सुरु भएको उडानले यात्रुको चाप व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। काठमाडौंको तुलनामा पोखराबाट पाँच हजार रुपैयाँ सस्तो दरमा उडान सुविधा उपलब्ध गराइनुले यसको लोकप्रियता बढ्ने व्यवसायीहरूको विश्वास छ। भट्टराईका अनुसार यो उडानका लागि विगत एक वर्षदेखि निरन्तर गृहकार्य भइरहेको थियो। अब श्रम स्वीकृतिलगायतका प्राविधिक प्रक्रिया पोखराबाटै सहज बनाउनु आवश्यक रहेको उनले बताए। उनले एयर अरेबिया, इमिरेट्स र इन्डिगोलगायतका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले पनि पोखरामा उडान गर्ने तयारी थालेको दाबी गरे।   सरोकारवालाहरूका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनु सकारात्मक सुरुवात भए पनि यसलाई नियमित व्यावसायिक तालिकामा समावेश गर्नु मुख्य चुनौती हो। अन्तर्राष्ट्रिय उडानलाई चार्टर्ड उडानमा मात्र सीमित नराखी नियमित बनाउन सके पोखराको पर्यटन, होटल, यातायात तथा अन्य स्थानीय व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। यसका लागि सरकारले आवश्यक नीतिगत सहजीकरण गर्नुका साथै निजी क्षेत्र, पर्यटन व्यवसायी, सञ्चारमाध्यम र विदेशमा रहेका नेपाली समुदायले संयुक्त रूपमा प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। नियमित उडानको निरन्तरता सुनिश्चित गर्न सके पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढ्नुका साथै नेपालको पर्यटन क्षेत्रले समेत लाभ लिन सक्ने उनीहरूको विश्वास छ।

निभिक्स फर्मास्यूटिकल्सले २० प्रतिशत आईपीओ बिक्री गर्ने, ४० प्रतिशत हकप्रद सेयर

काठमाडौं । निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव अघि बढाएको छ । कम्पनीले आगामी विशेष साधारण सभामार्फत आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्ने भएको हो । कम्पनीले असोज २६ गते पोखराको बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा विशेष साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार विशेष साधारण सभा बोलाइएको हो । सभामा कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्तावसमेत पेस हुनेछ । हाल ५५ करोड रुपैयाँ रहेको अधिकृत तथा जारी पुँजी बढाएर ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ पु¥याउने प्रस्ताव कम्पनीले अघि सारेको छ । त्यस्तै, कम्पनीले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेस गर्नेछ । हकप्रद सेयर निष्कासनसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत रहेको छ । कम्पनीको पुँजी संरचना परिवर्तन गरी संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशतबाट बढाएर ८० प्रतिशत कायम गर्ने प्रस्ताव छ । हाल सर्वसाधारणका लागि छुट्याइएको २५ प्रतिशत सेयरलाई संशोधन गरी परिवर्तित पुँजी संरचनाअनुसार कायम जारी पुँजीको २० प्रतिशत बराबरको सेयर सर्वसाधारणका लागि आईपीओमार्फत निष्कासन गर्ने प्रस्ताव कम्पनीले अघि सारेको छ । आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि विशेष साधारण सभामा पेस हुनेछ । साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र हकप्रद सेयर निष्कासनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने प्रस्तावसमेत सभाको कार्यसूचीमा राखिएको छ ।

अम्बे मोबाइल्सले बिक्री गर्यो ७७ करोडका मोबाइल, बैंकबाट लियो ५८ करोड ऋण

काठमाडौं । अम्बे मोबाइल्स प्रालिले गत आर्थिक वर्ष २०८२/८३ मा ७७ करोड रुपैयाँ बराबरका मोबाइल फोन बिक्री गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ८५ करोड ५० लाख रुपैयाँ बराबरका मोबाइल फोन बिक्री गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको मोबाइल फोन बिक्री १२.९९ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँले घटेको हो । आपूर्तिकर्ताबाट स्मार्टफोनको आपूर्ति सीमित हुनु तथा आपूर्तिमा ढिलाइ हुनु आम्दानी घट्नुको प्रमुख कारण रहेको कम्पनीले जनाएको छ । आपूर्तिमा आएको समस्याका कारण गत आर्थिक वर्षमा कम्पनीको स्मार्टफोन बिक्री करिब ४३ प्रतिशतले घटेको छ । यसको विपरीत फिचर फोनको बिक्री भने करिब १६ प्रतिशतले बढेको छ । गत वर्ष कम्पनीको कुल आम्दानीमा फिचर फोनको कारोबारले करिब ७७ प्रतिशत योगदान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब १९ करोड १० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ३४ करोड ३० लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ३४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । अम्बे मोबाइल्स नेपालमा ‘लाभा’ ब्रान्डका मोबाइल फोनको एकमात्र आधिकारिक वितरकका रूपमा कार्यरत छ । कम्पनीले ‘बेन्को’ मोबाइल फोनको पनि नेपालका लागि अधिकृत वितरकका रूपमा काम गर्दै आएको छ । हाल कम्पनी लाभा, बेन्को र डुगी ब्रान्डसँग आबद्ध रहेको छ । सन् २०१५ मा स्थापना भएको अम्बे मोबाइल्सले नेपालभर ४६ वटा खुद्रा बिक्री केन्द्र तथा सेवा केन्द्रमार्फत आफ्नो वितरण सञ्जाल विस्तार गरेको छ । कम्पनीले देशभर मोबाइल फोनको बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ । अम्बे मोबाइल्स अम्बे समूहअन्तर्गतको कम्पनी हो । अम्बे समूह नेपालको स्थापित व्यावसायिक समूहका रूपमा रहेको छ । समूहले घरजग्गा, उत्पादन, व्यापारलगायत विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ । कम्पनीको सेयर स्वामित्व शोभाकर न्यौपाने र पूर्ण भद्र पौड्यालबीच रहेको छ । कम्पनीमा न्यौपानेको करिब ८३ प्रतिशत र पौड्यालको करिब १७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।  नेपालको स्मार्टफोन बजारमा तीव्र प्रतिस्पर्धा रहेको छ । साओमी, सामसुङलगायत स्थापित विश्वव्यापी ब्रान्डको उपस्थितिका कारण बजारमा प्रतिस्पर्धा उच्च रहेको हो । ठूला ब्रान्डले मुख्यतः १० हजार रुपैयाँभन्दा माथिका मध्यम तथा उच्च मूल्यका स्मार्टफोनमा ध्यान केन्द्रित गरे पनि १० हजार रुपैयाँभन्दा कम मूल्यका स्मार्टफोन तथा फिचर फोनको बजारमा समेत विभिन्न ब्रान्डको उपस्थितिका कारण प्रतिस्पर्धा तीव्र रहेको छ । मोबाइल फोन उद्योग उपभोक्ताको बदलिँदो रोजाइबाट समेत प्रभावित हुँदै आएको छ । नेपालमा स्मार्टफोनको औसत आयात मूल्य सन् २०१९ मा करिब ४ हजार ५ सय रुपैयाँ रहेकोमा गत वर्ष बढेर करिब २१ हजार ५ सय रुपैयाँ पुगेको छ । यसले उच्च मूल्यका स्मार्टफोनप्रति उपभोक्ताको माग बढ्दै गएको संकेत गर्छ । अम्बे मोबाइल्स हाल लाभा, बेन्को र डुगी ब्रान्डसँग आबद्ध रहेको छ । यी ब्रान्डसँगका वितरण सम्झौता निश्चित अवधिपछि नवीकरण गर्नुपर्ने हुन्छ । लाभासँग कम्पनीको लामो समयदेखिको व्यावसायिक सम्बन्धलाई सकारात्मक पक्षका रूपमा लिइए पनि सम्झौताका सर्तमा परिवर्तन वा सम्झौता अन्त्य भएमा कम्पनीको आम्दानीमा प्रतिकूल असर पर्न सक्ने जोखिम रहेको छ । मोबाइल फोनमा अर्धचालक, प्रशोधन एकाइ तथा स्मृति चिपलगायत विभिन्न सामग्री प्रयोग हुन्छन् । यस्ता सामग्री उत्पादकहरूले विश्वव्यापी रूपमा जोडिएको आपूर्ति शृङ्खलामार्फत प्राप्त गर्ने भएकाले मोबाइल फोन उद्योग आपूर्ति शृङ्खलामा हुने अवरोधबाट प्रभावित हुन सक्नेछ । पछिल्लो समय चिप तथा स्मृति सामग्रीको अभाव देखिएकाले यसको प्रभाव थप देखिन सक्ने कम्पनीले जनाएको छ । मुख्य सामग्रीको अभाव लामो समयसम्म रहेमा मोबाइल फोनको उत्पादन तथा आपूर्तिमा कमी आउन सक्ने र त्यसले अम्बे मोबाइल्सको आम्दानीमा समेत असर पार्न सक्ने जोखिम रहेको छ । त्यस्तै, चिप तथा स्मृति सामग्रीको मूल्य बढ्नु तथा विदेशी विनिमय दरमा प्रतिकूल परिवर्तन आउनुले मोबाइल फोनको मूल्य थप बढ्न सक्नेछ । नेपाली बजार मूल्यप्रति संवेदनशील रहेकाले मोबाइल फोनको मूल्य बढ्दा बिक्री परिमाण तथा कम्पनीको नाफामा दबाब पर्न सक्नेछ । त्यसैले खरिद लागत बढ्दा त्यसको भार ग्राहकसम्म हस्तान्तरण गर्न सक्ने कम्पनीको क्षमता महत्वपूर्ण रहनेछ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५८ करोड रुपैयाँ ऋणसमेत लिएको छ । आपूर्ति शृङ्खलामा देखिने समस्या, मोबाइल फोनको मूल्यमा हुने वृद्धि तथा बिक्रीमा आउन सक्ने कमीले कम्पनीको आम्दानी र नाफामा दबाब पार्न सक्ने देखिन्छ । यसको प्रभाव कम्पनीको कर्जा भुक्तानी क्षमता तथा पुँजी संरचनामा समेत पर्न सक्ने जोखिम रहेको छ । 

नगर विकास कोषले माग्यो ईडी, कति चाहिन्छ योग्यता ?

काठमाडौं । नगर विकास कोषले रिक्त कार्यकारी निर्देशक (ईडी) पदका लागि आवेदन माग गरेको छ । नगर विकास कोष ऐन, २०५३, नियमावली, २०५४ तथा नगर विकास कोष कर्मचारी सेवा शर्त (संशोधित) विनियमावली, २०६८ बमोजिम रिक्त पदमा नियुक्तिका लागि आवेदन माग गरिएको हो । इच्छुक योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ । कार्यकारी निर्देशक पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, व्यवस्थापन, चार्टर्ड एकाउन्टेन्सी वा इन्जिनियरिङमध्ये कुनै एक विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्नेछ । त्यस्तै, उल्लिखित विषयमध्ये कुनै एकमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएकाले पनि आवेदन दिन सक्नेछन् । चार्टर्ड एकाउन्टेन्सीलाई मात्र शैक्षिक योग्यताको आधार बनाएका उम्मेदवारले कानुनले तोकेको निकायबाट समकक्षताको प्रमाणपत्र लिएको हुनुपर्नेछ । दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ३५ वर्ष पूरा भएको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ । आवेदनका साथ नेपाली नागरिकता, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ । साथै, नगर विकास कोष कर्मचारी सेवा शर्त (संशोधित) विनियमावली, २०६८ को अनुसूची १० बमोजिमको दरखास्त फाराम पेस गर्नुपर्नेछ । त्यस्तै, विनियमावलीको विनियम १३८ बमोजिम अयोग्य नरहेको स्वघोषणा तथा कार्यकारी निर्देशक सिफारिस समितिले उपलब्ध गराएको ढाँचामा तयार गरिएको व्यावसायिक योजनासहितको कार्यपत्र दुई प्रति पेस गर्नुपर्नेछ । कार्यपत्र नेपाली भाषामा ५ हजार शब्दमा नबढ्ने गरी तयार गर्नुपर्नेछ । कार्यकारी निर्देशकको पारिश्रमिक तथा सुविधा नगर विकास कोष नियमावली, २०५४ मा तोकिएबमोजिम हुने जनाइएको छ । कोषका अनुसार सम्बन्धित कानुन, दरखास्त फाराम, व्यावसायिक योजनाको ढाँचा र स्वघोषणाको ढाँचा नगर विकास कोषको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ । रीतपूर्वक प्राप्त नभएका दरखास्त फाराम सिफारिस समितिले रद्द गर्न सक्नेछ ।