विकासन्युज

अविरल वर्षापछि ४८३ मेगावाट विद्युत् अवरुद्ध

काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ । संरचनामा क्षति पुग्दा केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । नदीखोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको उत्पादन समेत प्रभावित भएको छ । बाढीका कारण १४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, मोदीलगायत आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत कुश्मा-नयाँ बुटवलखण्डको प्रसारणलाइनमा समेत ‘फल्ट’ आएको छ । यसका कारण करिडोर प्रसारणलाइनमा जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ । बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ । क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत् आपूर्ति अवरोध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका निम्ति प्राविधिक तथा मर्मत टोलीहरू विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए । विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा अरू उपलब्ध प्रसारण वितरण संरचनामार्फत यो सुचारु गर्ने व्यवस्था मिलाइएको श्रेष्ठले उल्लेख गरे । क्षतिग्रस्त संरचनाको अवस्था मूल्यांकन गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरेर विद्युत् आपूर्ति क्रमशः पुनर्स्थापना गर्ने कार्य भइरहेको छ । कार्यकारी निर्देशक श्रेष्ठले प्राकृतिक विपद्का कारण संरचनामा क्षति पुगे पनि उपभोक्तालाई विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न प्राधिकरणले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए । भारी वर्षा, बाढीपहिरो र अवरुद्ध सडकका कारण कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको उनको भनाइ छ । सडक तथा पहुँचमार्ग खुल्नेबित्तिकै थप प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरी क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् आपूर्ति पुनर्स्थापनाको काम तीव्र बनाइने उनले बताए । विपद्को अवस्थामा उपभोक्तालाई संयमित रहन तथा क्षतिग्रस्त विद्युत् संरचना, ढलेका तार वा पोलनजिक नजान प्राधिकरणले आग्रह गरेको छ । 

पाल्पामा पहिरोमा परी २ जनाको मृत्यु, ३ जना बेपत्ता

काठमाडौं । पाल्पामा पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।  माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो ।  दुवै जनाको शव निकालिएको छ । दुवै शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ ।  यसैगरी, पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् । माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तिमगरको घर पुरिएको  छ । घर्तीको परिवारका दुई जना र छिमेकीकी एक छोरी हराइरहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए ।

हिमलुङमा हिमपहिरो, १० जना सम्पर्कविहीन

काठमाडौं । मनाङको नार-फू क्षेत्रमा पर्ने ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन भएको बताइएको छ। एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालका महासचिव ऋषि भण्डारीले हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएको पुष्टि गरेका छन् । उनका अनुसार इम्याजिन नेपाल प्रालिका २ जना र हिमालयन होलिडेज नेपालका ८ जना सम्पर्कविहीन भएका हुन्। घटनापछि उनीहरूको अवस्थाबारे जानकारी लिन तथा उद्धारका लागि आवश्यक समन्वय भइरहेको छ। यद्यपि, हिमपहिरो गएको स्थान र सम्पर्कविहीन भएका आरोही तथा सहयोगीको अवस्थाबारे विस्तृत विवरण अझै प्राप्त हुन सकेको छैन । 

बागलुङमा पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

यी हुन् निरन्तर वर्षाले अवरुद्ध भएका सडकहरू

काठमाडौं । निरन्तर वर्षासँगै बाढीपहिरो र कटानका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । आइतबार (आज) बिहान १० बजे अध्यावधिक गरिएको विवरणअनुसार ३५ स्थानमा सडक अवरुद्ध रहेका छन् ।  

अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्त

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले गण्डकी प्रदेशसहित देशभरको जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ ।  बाढीले स्याङ्जा र गुल्मीलाई जोड्ने पक्की पुल बगाएको छ भने प्रदेशका अधिकांश प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् ।  निरन्तरको वर्षाले प्रमुख नदीहरूमा जलसतह खतराको तह पार गरेपछि तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ ।  गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक विपद्को जोखिम उच्च बनेको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालिगण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने पक्की पुल बाढीले बगाएको छ ।  यससँगै पर्वत, म्याग्दी र लमजुङका मुख्य नदीहरूमा जलसतहले खतराको तह पार गरेको छ । विशेषगरी लमजुङको चेपे खोला, पर्वतको कालीगण्डकी नदी र म्याग्दीको नारायणी नदीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ । सडक सञ्जालतर्फ बेसीशहर–चामे, जोमसोम–कोरला,पोखरा–वागलुङ, बेनी–जोमसोम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर लगायतका मुख्य राजमार्ग र सहायक सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।  तनहुँको पृथ्वी राजमार्गको घाँसीकुवा खण्डमा खसेको पहिरो पन्छाउन नेपाली सेनाको कालीभञ्जन गणबाट खटिएको टोलीले प्रयास जारी राखेको छ ।  सुरक्षा निकायले विपद्को जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी तीव्र पारेको छ । पर्वतको घारखोला क्षेत्रमा बहाव उच्च भएपछि नयाँ रणभीम गुल्मको सुरक्षा पोष्टलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।  त्यस्तै, कास्कीको पञ्चासे, तनहुँको कोटेगाउँ, स्याङ्जाको पञ्चमुल र म्याग्दीको दरबाङ लगायतका क्षेत्रमा वर्षाको मात्रा सतर्कता तहभन्दा माथि पुगेको छ ।  सम्बन्धित प्रशासनले अत्यावश्यक बाहेकका अवस्थामा यात्रा नगर्न र शतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । 

नारायणीमा खतरा तह नाघ्यो

काठमाडौं । देशका प्रमुख नदी तथा खोलामा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाटस्थित नारायणी नदीको जलसतह खतरा तह पार गरेर निरन्तर बढिरहेको छ । देवघाटमा नारायणी नदीको खतरा तह ९‍.३ मिटर रहेकोमा जलसतह सो तह पार गरिसकेको विभागले जनाएको छ ।  हालको पूर्वानुमानअनुसार नारायणीको जलसतह ऐतिहासिक अधिकतम ११.६ मिटरभन्दा माथि पुग्न सक्ने तथा करिब १३ मिटर सम्म पुग्ने सम्भावना रहेको छ । विभागका अनुसार नारायणीको जलसतह आइतबार बिहान करिब ११ बजेतिर १३ मिटर पुग्न सक्ने अनुमान गरिएको छ । जलसतह निरन्तर बढिरहेकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यसैगरी, रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व तथा पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा र गुल्मीलगायत जिल्लाबाट बहने साना नदी तथा खोलामा समेत बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको विभागले जनाएको छ । यी क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले नदी तथा खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । विशेषगरी नारायणीसँगै तिनाउ, मर्स्याङ्दी तथा अन्य साना नदी–खोलामा समेत बाढीको जोखिम उच्च रहेको छ ।

डिस्कोर्डमा जबरालाई ‘थ्रेट’, रातारात सुरक्षित स्थानमा लगियो

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई डिस्कोर्डमा सुरक्षाको थ्रेट आएपछि  सुरक्षाका लागि प्रहरीले नियन्त्रणमा लिएको खुलेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले सुरक्षित स्थानमा राखिएको जनाएको छ । डिस्कोर्डमा एक व्यक्तिले जबराको घर घेराउ गर्ने, आक्रमण र घर जलाउनेसम्मको सूचना डिस्कर्डमा आएपछि उनको सुरक्षाका लागि तत्काल सुरक्षित स्थानमा ल्याइएको कार्यालयका प्रमुख सन्तोष खडकाले विकासन्युजलाई बताए । उनको सुरक्षा नितान्त सुरक्षाबाहेक अन्य कारण नभएकाले जबरालाई सुरक्षित स्थानमा राखिएको उनको भनाइ छ । जबरालाई कुनै कानुनी कारबाहीका लागि नभई सुरक्षाका कारण सुरक्षित स्थानमा राखिएको उनले स्पष्ट पारे ।  ‘राणाको घरमा समेत सुरक्षाकर्मी तैनाथ गरिएको छ,’ खडकाले भने,’ उनलाई मात्र थ्रेट आएको छ । परिवारलाई सुरक्षाको कुनै खतरा छैन ।’  प्रहरीले उनलाई निवासमा १२ बजे उद्धार गरेको उनको भनाइ छ । प्रहरीले सुरक्षाको थ्रेट भएकाले उद्धार गरिएको उनले उल्लेख गरे ।  उनीविरुद्ध कुनै कसुर वा उजुरी नपरेको उनले जानकारी दिए । डिस्कोर्डमा पहिलेदेखि उनीविरुद्ध सुरक्षा थ्रेटको चेतावनी आइरहेको उनले बताए ।  ‘हामीलाई विशेष सूचना प्राप्त भएकाले समयमा सचेत भएर सुरक्षित स्थानमा लगिएको छ,’ उनले भने ।