काठमाडौं । देशका प्रमुख नदी तथा खोलामा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाटस्थित नारायणी नदीको जलसतह खतरा तह पार गरेर निरन्तर बढिरहेको छ ।
देवघाटमा नारायणी नदीको खतरा तह ९.३ मिटर रहेकोमा जलसतह सो तह पार गरिसकेको विभागले जनाएको छ ।
हालको पूर्वानुमानअनुसार नारायणीको जलसतह ऐतिहासिक अधिकतम ११.६ मिटरभन्दा माथि पुग्न सक्ने तथा करिब १३ मिटर सम्म पुग्ने सम्भावना रहेको छ ।
विभागका अनुसार नारायणीको जलसतह आइतबार बिहान करिब ११ बजेतिर १३ मिटर पुग्न सक्ने अनुमान गरिएको छ । जलसतह निरन्तर बढिरहेकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यसैगरी, रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व तथा पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा र गुल्मीलगायत जिल्लाबाट बहने साना नदी तथा खोलामा समेत बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।
यी क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले नदी तथा खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
विशेषगरी नारायणीसँगै तिनाउ, मर्स्याङ्दी तथा अन्य साना नदी–खोलामा समेत बाढीको जोखिम उच्च रहेको छ ।