अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एआइआइबीको वार्षिक बैठकमा भाग लिन कतार प्रस्थान
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआइआइबी) को सञ्चालक समितिको ११औं वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ कतारको राजधानी दोहातर्फ प्रस्थान गरेका हुन् । अर्थमन्त्री डा. वाग्ले कतार एयरवेजको नियमित उडानमार्फत साँझ ७ः०० बजे दोहातर्फ प्रस्थान गरे । उनीसँगै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि प्रतिनिधिमण्डलमा रहेका छन् । एआइआइबीको ११औं वार्षिक बैठकका क्रममा अर्थमन्त्री डा. वाग्लेले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सम्बोधन गर्नेछन् । सो क्रममा उनले नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग र लगानी परिचालनबारे छलफल गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा मन्त्रीले एआइआइबीका अध्यक्षका साथै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नेछन् । वार्षिक बैठक तथा निर्धारित द्विपक्षीय संवादहरू सम्पन्न गरी प्रतिनिधिमण्डल आगामी असोज १४ गते (बुधबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
सफ्टवेयर कम्पनी खोल्दै एनसीएचएल, सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले बैंक तथा वित्तीय संस्थाका लागि आवश्यक प्रविधि तथा सफ्टवेयर विकास गर्ने उद्देश्यले छुट्टै सहायक कम्पनी स्थापना गर्ने तयारी गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले बैंकिङ, वित्तीय तथा भुक्तानीसम्बन्धी प्रविधिमा अनुसन्धान, प्रणाली तथा सफ्टवेयर विकास, जडानलगायतका कार्य गर्न सहायक वा सम्बद्ध कम्पनीका रूपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । यसका लागि सञ्चालक समितिलाई आवश्यक स्वीकृति तथा प्रक्रिया अघि बढाउने अख्तियारी प्रदान गर्ने प्रस्ताव आगामी १५औँ वार्षिक साधारण सभामा पेस हुँदैछ । एनसीएचएलका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न सफ्टवेयर विदेशबाट आयात गर्नुका साथै छुट्टाछुट्टै कम्पनीमार्फत विकास गराउँदा ठूलो रकम खर्च हुने गरेको छ । सोही बमोजिम सबै बैंक तथा वित्तीय संस्थाका लागि साझा (कमन) सफ्टवेयर विकास गर्न सकिने अवधारणा सहित सहायक कम्पनी स्थापनाको प्रक्रिया अघि बढाइएको हो । कम्पनीका अनुसार हाल सहायक कम्पनीले कुन-कुन क्षेत्रमा काम गर्ने वा यसको संरचना कस्तो हुने भन्ने विस्तृत खाका भने तयार भइसकेको छैन । आवश्यकताअनुसार भविष्यमा छुट्टै कम्पनी स्थापना गर्ने उद्देश्यले साधारण सभाबाट प्रस्ताव पारित गरी सञ्चालक समितिलाई अधिकार दिन लागिएको हो । एनसीएचएलले अहिले पनि बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक पर्ने प्रविधि तथा सफ्टवेयर विकासमा काम गर्दै आएको छ । साथै विभिन्न प्रणालीबीच अन्तरसम्बन्ध कायम गर्न आवश्यक प्रणाली समेत विकास गर्दै आएको कम्पनीले जनाएको छ । साथै एनसीएचएलले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको १५ प्रतिशतका दरले २१ करोड ८७ लाख ७६ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले १ करोड १५ लाख १४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी असोज २८ गते बिहान साढे १० बजे काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यतिमा १५औँ वार्षिक साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने तथा लेखापरीक्षण प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । कम्पनीले प्रस्तावित बोनस सेयर बराबर चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गर्ने भएको छ । नियमनकारी निकायबाट प्रस्तावित संशोधनमा कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन गर्न सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अधिकार दिने प्रस्तावसमेत रहेको छ । नेपाल राष्ट्र बैंकको नेतृत्वमा २०६५ पुस ८ गते स्थापना भएको एनसीएचएलमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूको सेयर स्वामित्व रहेको छ । एनसीएचएलले बैंक तथा वित्तीय संस्थाको कार्यक्षमता र उत्पादकत्व वृद्धि गर्नुका साथै ग्राहकलाई प्रविधिमा आधारित नवीन वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्दै आएको छ । कम्पनीले विद्युतीय चेक फछ्र्योट, अन्तरबैंक भुक्तानी प्रणाली, खुद्रा भुक्तानी सञ्जाल, कनेक्ट आईपीएस, कर्पोरेटपे, कनेक्ट आरटीजीएस, राष्ट्रिय भुक्तानी अन्तरसम्बन्ध, नेपालपे क्यूआर, राष्ट्रिय कार्ड सञ्जाल तथा नेपालपे कार्डलगायतका सेवा सञ्चालन गर्दै आएको छ । राष्ट्र बैंकको स्वीकृति तथा निर्देशनअनुसार एनसीएचएलले राष्ट्रिय भुक्तानी सञ्जालसम्बन्धी परियोजनासमेत कार्यान्वयन गरिरहेको छ । परियोजनाको पहिलो चरणअन्तर्गत खुद्रा भुक्तानी सञ्जाल सञ्चालनमा ल्याइएको छ, जसले कार्डबाहेकका विद्युतीय कारोबारलाई विभिन्न भुक्तानी प्रणालीबीच अन्तरसम्बन्ध कायम गरी कारोबारको मार्गनिर्देशन तथा फछ्र्योट गर्न सहयोग पुर्याउँछ । परियोजनाको दोस्रो चरणअन्तर्गत कार्डमा आधारित कारोबारलाई विभिन्न प्रणालीबीच अन्तरसम्बन्ध कायम गर्ने उद्देश्यले अन्तरसम्बन्धित कार्ड सञ्जाल तथा नेपालको घरेलु कार्ड प्रणाली कार्यान्वयन गरिएको छ । खुद्रा भुक्तानी सञ्जाल र राष्ट्रिय कार्ड सञ्जाल दुवै सञ्चालनमा आइसकेका छन् । बैंक तथा वित्तीय संस्थाहरू एनसीएचएलका विभिन्न प्रणालीमा सहभागी सदस्यका रूपमा आबद्ध छन् । उनीहरूले आफ्ना ग्राहकका भुक्तानी कारोबार तथा फछ्र्योटसम्बन्धी कार्यको जिम्मेवारी वहन गर्छन् । बैंकबाहेकका संस्थाहरू भने प्रत्यक्ष वा प्राविधिक सदस्यका रूपमा आबद्ध भई एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीमार्फत सम्बन्धित बैंकको माध्यमबाट आफ्ना भुक्तानी कारोबार सञ्चालन गर्दै आएका छन् ।
कांग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा हो : डा. शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोइरालाले पार्टीको आसन्न १५औँ महाधिवेशन केवल नेतृत्व चयनको औपचारिकता मात्र नभई कांग्रेसको भविष्यको दिशा तय गर्ने ऐतिहासिक परीक्षा भएको बताएका छन् । शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा संस्थापन इतर पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको विचार र इतिहास गौरवमय रहेकाले आन्तरिक एकता कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । कोइरालाले पार्टीको महाधिवेशनलाई अत्यन्त गम्भीरतापूर्वक लिएर नयाँ ऊर्जा र उत्साहका साथ अगाडि बढ्नुपर्ने बताए । उनले महाधिवेशन सामान्य प्रक्रिया नभई समग्र पार्टी र देशको भविष्य निर्माण गर्ने महत्त्वपूर्ण चरण भएको उल्लेख गरे । कांग्रेस लामो इतिहास र बलियो वैचारिक आधार भएको पार्टी रहेको स्मरण गराउँदै उनले पार्टीको समृद्ध इतिहास र विचारले आगामी दिनमा थप शक्ति र गतिशीलता प्रदान गर्ने विश्वास व्यक्त गरे । डा. कोइरालाले महाधिवेशन सफल बनाउन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताको सामूहिक सहभागिता र सहयोग अपरिहार्य रहेको बताए । पार्टीभित्रका आन्तरिक मतभेदलाई थाती राखेर सबै पक्ष एकजुट भई अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले महाधिवेशनलाई आन्तरिक लोकतन्त्र सुदृढ गर्ने अवसरका रूपमा लिन आग्रह गरे । उनले भने, ‘यहाँहरू सबैले गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद दिन चाहन्छु। अधिवेशन हाम्रो लागि एउटा परीक्षाको समय पनि हो । अधिवेशन चानचुने कुरा होइन, यसका लागि धेरै काम र मेहनत गर्नुपर्छ। यसमा खटिनुभएका सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।’ उनले महाधिवेशनले पार्टीलाई भविष्यको बाटो देखाउने भएकाले यसलाई गम्भीरतापूर्वक अघि बढाइएको बताए । ‘हाम्रो अधिवेशनले भविष्यको बाटो देखाउने भएकाले यो अत्यन्त महत्त्वपूर्ण छ । त्यसैले हामीले यसलाई गम्भीरतापूर्वक अघि बढाइरहेका छौँ। सबै साथीहरूको साथ र सहयोग लिएर सँगै अगाडि बढ्न चाहन्छौँ,’ उनले भने । कांग्रेस पुरानो इतिहास र बलियो विचार बोकेको पार्टी भएको उल्लेख गर्दै उनले पुरानो हुनु भनेको कमजोर हुनु नभई नयाँ जोश र ऊर्जाका साथ अघि बढ्नु भएको बताए । ‘नेपाली कांग्रेस पुरानो र बलियो विचार बोकेको पार्टी हो । पुरानो भन्नाले फाटेको होइन, बरु नयाँ जोश र ऊर्जाका साथ अगाडि बढ्ने पार्टी हो । यही अधिवेशनले हामीलाई थप शक्ति र ऊर्जा प्रदान गर्नेछ । त्यसैले अधिवेशन सफल बनाउन यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछु,’ उनले भने । अधिवेशनको तयारीमा खटिएका कार्यकर्ता तथा शुभेच्छुकहरूको योगदानको प्रशंसा गर्दै कोइरालाले सबैको साझा प्रयासबाट मात्र पार्टीले भविष्यको स्पष्ट मार्गचित्र तय गर्न सक्ने बताए ।
भारी वर्षापछि पनि धाप ड्याममा कुनै जोखिम छैन : ऊर्जा मन्त्रालय
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ मा रहेको धाप ड्याम पूर्णरूपमा सुरक्षित रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सिँचाइ विभागअन्तर्गतको नागमती तथा धाप बाँध आयोजनाले शनिबार विज्ञप्ति जारी गर्दै भारी वर्षापछि पनि ड्याम र यसको मुख्य संरचनामा कुनै जोखिम नरहेको स्पष्ट पारेको हो । केही दिनअघि सामाजिक सञ्जालमा धाप ड्यामको सुरक्षाबारे प्रश्न उठेपछि आयोजनाले ड्यामको वास्तविक अवस्था देखाउने भिडियोसमेत सार्वजनिक गरेको छ । आयोजनाका अनुसार लगातारको वर्षाका कारण जलाशयमा पानीको बहाव बढेपछि प्राविधिक टोलीले ड्यामको अवस्था, पानीको सतह र पानीको आवागमन निरन्तर निगरानी गरिरहेको छ । गत भदौ २४ गते साँझ स्याडल ड्याम–१ नजिक सडक किनारामा पहिरो गएपछि तत्काल सुरक्षाका उपाय अपनाइएको थियो । त्यसयता आउटफ्लोमार्फत प्रतिक्षण करिब ४०० लिटर पानी बाहिर निकालिएको आयोजनाले जनाएको छ । यसबाट जलाशयको पानीको सतह २.३८ मिटरले घटेको छ । अहिले ड्याममा सञ्चित पानीको करिब ३५ प्रतिशत सुरक्षित रूपमा निकासा गरिसकिएको पनि आयोजनाले जानकारी दिएको छ । आयोजनाका अनुसार धाप ड्यामको सामान्य जलसतह २०८७.१४ मिटर हो । यदि आगामी दिनमा भारी वर्षा भएर पानी त्योभन्दा माथि पुगेमा अतिरिक्त पानी स्पिलवेमार्फत स्वतः बाहिर जाने व्यवस्था रहेको छ । आयोजनाले पहिरो प्रभावित क्षेत्रमा पानी निकास, तटबन्ध र अन्य आपत्कालीन व्यवस्थापनका काम पनि भइरहेको जनाएको छ । ड्यामको सुरक्षा र प्राविधिक मूल्याङ्कन निरन्तर भइरहेकाले सर्वसाधारणलाई अनावश्यक त्रास नमान्न र आधिकारिक सूचनामात्र विश्वास गर्न आयोजनाले आग्रह गरेको छ ।
क्यूएफएक्स अक्वायरपछि लबिम मलको आम्दानी ७३.३८ प्रतिशत बढ्यो, एकै वर्ष साढे ६४ करोड
काठमाडौं । ललितपुर विशाल बजार मल्टिप्लेक्स कम्पनी लिमिटेड (लबिम मल)ले गत आर्थिक वर्ष २०८२/८३ मा ६४ करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा २७ करोड ३० लाख रुपैयाँ अर्थात् ७३.३८ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल सञ्चालन आम्दानी ३७ करोड २० लाख रुपैयाँ थियो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड ६० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ३४ करोड ५० लाख रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा २८ करोड १० लाख रुपैयाँ र आर्थिक वर्ष २०७७/७८ मा २० करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । सन् २००१ को डिसेम्बरमा स्थापना भएको कम्पनीले ललितपुरको पुल्चोकमा भाडामा लिएको जग्गामा व्यावसायिक परिसर विकास गरेको हो । कम्पनीले सन् २०१६ को अप्रिलदेखि ‘लबिम मल’ नामबाट व्यावसायिक सञ्चालन सुरु गरेको थियो भने पूर्ण रूपमा व्यावसायिक सञ्चालन सन् २०१७ देखि सुरु भएको थियो । कम्पनीले पाटन बहुमुखी क्याम्पससँग जग्गा भाडामा लिएको हो । सम्झौताअनुसार जग्गाको भाडा अवधि सन् २०१६ को मार्चदेखि २५ वर्षका लागि रहेको छ । लबिम सन् २०२६ को जुलाईमा पब्लिक कम्पनीमा रूपान्तरण भएको हो । त्यसअघि कम्पनीले सन् २०२६ को मेमा ललित सिनेमाज प्राइभेट लिमिटेडलाई औपचारिक रूपमा अक्वायर गरेको थियो । अक्वायरपछि लबिम मलमा सञ्चालन हुँदै आएका मल्टिप्लेक्स सिनेमा हल तथा क्यूएफएक्स ब्रान्डअन्तर्गतका चलचित्र प्रदर्शनसम्बन्धी सेवाहरू कम्पनीको सञ्चालनमा एकीकृत भएका छन् । सन् २०२६ को जुलाई मध्यसम्म राजेश कुमार सिद्धिको कम्पनीमा करिब ३३ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको नेतृत्व प्रमुख कार्यकारी अधिकृत दीपेक्षा विक्रम राणाले गर्दै आएका छन् । लबिम मलको अकुपेन्सी दर आर्थिक वर्ष २०८०/८१ मा करिब ९८ प्रतिशत तथा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा करिब ९६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा चलचित्र सञ्चालनलाई कम्पनीको व्यवसायमा एकीकृत गरेपछि आम्दानीका स्रोत विस्तार तथा विविधीकरण भएका छन् । चलचित्र सञ्चालनबाट कुल बिक्रीमा करिब २२ करोड ६० लाख रुपैयाँ योगदान भएको छ । कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको नाफा पनि बढेको छ । यस्तो नाफा आर्थिक वर्ष २०८०/८१ मा २३ करोड ९० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा २४ करोड ८० लाख रुपैयाँ र आर्थिक वर्ष २०८२/८३ मा बढेर ३१ करोड ५० लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको नाफा दर करिब ६७ प्रतिशत रहेकोमा चलचित्र व्यवसायका प्रत्यक्ष सञ्चालन खर्चका कारण आर्थिक वर्ष २०८२/८३ मा घटेर करिब ४९ प्रतिशतमा कायम भएको छ । यद्यपि, कम्पनीको करपछिको नाफा बढेको छ । करपछिको नाफा आर्थिक वर्ष २०८१/८२ मा ८ करोड ७० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर १४ करोड रुपैयाँ पुगेको छ । करपछिको नाफा दर आर्थिक वर्ष २०८०/८१ मा करिब १५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा २३ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा करिब २२ प्रतिशत कायम भएको छ । कम्पनीको नगद सिर्जना क्षमता पनि बढेको छ । कुल नगद सञ्चिति आर्थिक वर्ष २०८०/८१ मा १२ करोड १० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा १५ करोड ३० लाख रुपैयाँ र आर्थिक वर्ष २०८२/८३ मा बढेर २१ करोड ५० लाख रुपैयाँ पुगेको छ । यद्यपि, कम्पनीको मुख्य सञ्चालन एउटै व्यावसायिक सम्पत्ति लबिम मलमा केन्द्रित रहेको छ । साथै, जग्गा भाडा सम्झौताको अवधि २५ वर्ष रहेको र उक्त अवधि समाप्त भएपछि सम्पत्ति जग्गाधनीलाई फिर्ता गर्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ५३ करोड ८५ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ५३ करोड ३५ लाख रुपैयाँ दीर्घकालीन र ५० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएका प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किएका छन् । उनी शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री शाह महासभामा सहभागी हुन गत मंगलबार साँझ अमेरिका गएका थिए । उनले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए । अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका उच्च अधिकारीसँग भेटवार्ता पनि गरेका थिए । महासभामा सम्बोधन गर्दै उनले नेपालको प्राथमिकता, जलवायु परिवर्तनका चुनौती र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा धारणा राखेका थिए । प्रधानमन्त्री शाहले हालै नेपालमा आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याएको संकटको एउटा उदाहरणका रूपमा प्रस्तुत गरेका थिए ।
बाढी गएको एक महिना : सडक जोडिँदै, बस्तीको जीवन हराउँदै
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बस्ती, सडक, पुल र जलविद्युत् आयोजनासहितका संरचना बगाएको एक महिना पुगेको छ । जीवन हराएको र बस्ती उजाडिएको आज एक महिना पुग्यो । खोला घट्यो तर रसुवा,नुवाकोट र धादिङ लगायतका धेरैका जीवनबाट दुःख र निराशा अझै हराएका छैनन् । अझै पनि बाढी प्रभावित मानिसहरूको पीडा सुन्न सकिने अवस्था छैनन् । बिस्तारै सम्पर्क टुटेका बाटा र पुलहरू जोडिने क्रममा छन् । केही भने जोड्ने प्रयासमा रहेका छन् । केही सडक र पुल अस्थायी रूपमा जोडिन थालेका छन् । बाढीबाट विस्थापित परिवारको जीवन भने अझै सामान्य अवस्थामा फर्किन सकेको छैन । बाढीले रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा ठूलो क्षति पुर्याएको छ । प्रभावित क्षेत्र अहिले पनि भग्नावशेष, अस्थायी आवास र अवरुद्ध सडकको अवस्थाबाट गुज्रिरहेको छ । कतिपय ठाउँमा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । घर पूर्णरूपमा बगेका तथा बस्न नमिल्ने परिवारका लागि स्थायी बसोबासको टुंगो लागिसकेको छैन। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीमा १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार २८५ जना अझै बेपत्ता छन् । बाढी प्रभावित क्षेत्रबाट १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । सरकारको प्रारम्भिक क्षति तथा आवश्यकता मूल्यांकनले बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति तथा आर्थिक नोक्सानी भएको देखाएको छ । पुनःस्थापना र पुनर्निर्माणका लागि भने ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्रारम्भिक आकलन छ । बाढीले सबैभन्दा ठूलो असर सडक तथा पुलमा पारेको थियो । बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकका विभिन्न खण्डमा क्षति पुगेपछि रसुवासँगको स्थल यातायात सम्पर्क लामो समय अवरुद्ध भयो । अहिले सडक खुलाउने कामलाई तीव्रता दिएको छ । सडक विभागका अनुसार विदुर–बेत्रावती करिब १० किलोमिटर सडकखण्डको अधिकांश भाग सञ्चालनमा आइसकेको छ । बाढीले बगाएका तथा पहिरोले पुरिएका केही भागमा भने ट्र्याक खोल्ने काम भइरहेको छ । बेत्रावतीमा ७२ मिटर लामो बेलीब्रिज जडानको तयारी भइरहेको छ । देवीघाटबाट पारिका बस्ती तथा विदुर–त्रिशूली बजारतर्फको आवतजावतमा भने केही स्थानमा अझै तुइनको भर पर्नुपर्ने अवस्था छ । गल्छी–स्याफ्रुबेँसी सडकलाई दसैँअघि वा असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । तर स्याफ्रुबेँसी–रसुवागढी करिब १५ किलोमिटर सडकखण्डमा बाढीले पुर्याएको क्षति ठूलो रहेकाले त्यसलाई पूर्णरूपमा पुनःनिर्माण गर्न थप समय लाग्ने देखिएको छ । अस्थायी बास पनि सुरक्षित छैन बाढीले घरबार गुमाएका परिवारका लागि सडक खुल्नु मात्रै पर्याप्त भएको छैन । उनीहरूलाई स्थायी बसोबासमा फर्काउने चुनौती अहिले मुख्य बनेको छ । कतिपय प्रभावित परिवार क्षतिग्रस्त घरबाट बाँकी सामान निकालेर सरसफाइमा जुटेका छन् । घर पूर्णरूपमा बगेका वा बस्न अयोग्य भएका परिवार भने अझै टेन्ट तथा अस्थायी आश्रयस्थलमा छन् । निरन्तरको वर्षाले टेन्टमा बसिरहेका परिवारको समस्या थपिएको छ । वर्षाको पानी टेन्टभित्र पस्दा खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री जोगाउनसमेत कठिन भएको प्रभावितको गुनासो छ । नुवाकोटका चार स्थानीय तहमा मात्रै प्रारम्भिक तथ्यांकअनुसार १ हजार ९५५ परिवारको आवासमा क्षति पुगेको छ । विदुर नगरपालिकामा मात्रै १ हजार ६७८ परिवारको आवासमा क्षति पुगेको जनाइएको छ । अस्थायी आवास प्रभावितलाई लामो समयसम्म होल्डिङ सेन्टर वा टेन्टमा राखिरहनुभन्दा भाडाको घरमा स्थानान्तरण गर्ने नीति सरकारले अघि सारेको छ । विदुर नगरपालिकाले बस्नयोग्य घर नभएका प्रभावित परिवारलाई कोठा भाडाका लागि प्रतिपरिवार मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । संघीय सरकारले पनि स्थायी आवास निर्माण नभएसम्म आवास भाडा तथा आवश्यक खर्चका लागि चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भए थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ । भाडामा बस्न नचाहने परिवारका लागि अस्थायी आवास निर्माणको विकल्पसमेत सरकारले अघि सारेको छ । तर राहत र अस्थायी व्यवस्थाबाट दीर्घकालीन पुनःस्थापनातर्फ कसरी जाने भन्ने चुनौती कायमै छ । सहज पहुँचको प्रतीक्षामा बाढीले रसुवाको उत्तरी क्षेत्रको सडक सञ्जालमा ठूलो क्षति पुर्याएपछि त्यस क्षेत्रको जनजीवनमा यसको प्रभाव अझै देखिन्छ । स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा ठूलो क्षति भएकाले पुनःनिर्माण तथा वैकल्पिक पहुँचका लागि सर्वेक्षण भइरहेको छ । सडकमार्ग सहज नहुँदा कतिपय क्षेत्रमा राहत, स्वास्थ्य सेवा तथा दैनिक उपभोग्य सामग्री पुर्याउनसमेत कठिनाइ भइरहेको छ । एक महिनामा केही सडक र पुल अस्थायी रूपमा जोडिए पनि उत्तरी रसुवाको नियमित यातायात अझै पूर्णरूपमा फर्किएको छैन । पुनर्निर्माणभन्दा ठूलो चुनौती पुनःस्थापना भोटेकोशी बाढीपछि अहिलेको प्राथमिकता सडक र पुल जोड्नु मात्रै होइन, विस्थापित परिवारलाई सुरक्षित रूपमा घर फर्काउनु पनि हो । हजारौँ घरमा क्षति पुगेको छ । सडक, पुल, जलविद्युत्, कृषि भूमि तथा व्यापारिक संरचनामा समेत व्यापक क्षति भएको छ । एक महिनामा उद्धार र राहतबाट पुनर्निर्माणतर्फ काम अघि बढेको संकेत देखिएको छ । बाढी प्रभावितका लागि भने वास्तविक पुनःस्थापना अझै बाँकी छ । भोटेकोशीको बाढी गएको एक महिना पुगेको छ । केही ठाउँमा सडक जोडिन थालेका छन्, तर बाढीले टुटाएको जनजीवन अझै जोडिन सकेको छैन ।
मधेशबाट २७ करोडका अवैध सामान बरामद, ८४ जना पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले पछिल्लो तीन महिनामा मधेश प्रदेशबाट २७ करोड ८५ लाख रुपैयाँभन्दा बढीका अवैध सामान बरामद गरेको जनाएको छ । सो अवधिमा तस्करीमा प्रयोग भएका १० करोड २२ लाख रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधन पनि नियन्त्रणमा लिएर भन्सार बुझाइएको छ । सशस्त्र प्रहरीका अनुसार बरामद सामानमा किराना, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटर पार्ट्स र कस्मेटिक लगायतका सामग्री छन् । तीन महिनाको अवधिमा ३० लाख रुपैयाँभन्दा बढी मूल्यको १ हजार १ सय क्यूफिट काठ र १ सय २ ग्राम चाँदी पनि बरामद गरिएको छ । यस क्रममा अवैध कारोबारमा संलग्न ८४ जनालाई पक्राउ गरेर सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणलाई कडा बनाइएको सशस्त्र प्रहरीले जनाएको छ । तीन महिनामा १ सय ९३ ग्राम ब्राउन सुगर, ९ किलो ५ सय ग्राम चरेस र १ हजार ६ सय ६ किलोभन्दा बढी गाँजा बरामद गरिएको छ । यस्तै, तीन वटा कटुवा पेस्तोल, दुई वटा सिक्सर, दुई वटा भरुवा बन्दुक तथा त्यसका गोली र बारुद पनि बरामद गरिएको छ । सशस्त्र प्रहरीले मानव बेचबिखनको आशंकामा २९ महिला र ३० पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएको जनाएको छ । अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न २२ वटा ट्र्याक्टर, २६ वटा टिपर र दुई वटा जेसीबी पनि नियन्त्रणमा लिइएको छ । मनसुन सुरु भएयता सशस्त्र प्रहरीले विपद्मा परेका ३० जनाको सकुशल उद्धार गरेको जनाएको छ । साथै विभिन्न घटनामा घाइते भएका २ सय ७४ जनालाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । सशस्त्र प्रहरीले नेपाल–भारत खुला सीमामा तस्करी, लागूऔषध कारोबार, मानव बेचबिखन र अन्य सीमा अपराध नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको र सीमा क्षेत्रमा निगरानी थप कडा बनाइएको जनाएको छ ।