बाढी गएको एक महिना : सडक जोडिँदै, बस्तीको जीवन हराउँदै

पूनःनिर्माणमा चुनौती

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बस्ती, सडक, पुल र जलविद्युत् आयोजनासहितका संरचना बगाएको एक महिना पुगेको छ । जीवन हराएको र बस्ती उजाडिएको आज एक महिना पुग्यो ।

खोला घट्यो तर रसुवा,नुवाकोट र धादिङ लगायतका धेरैका जीवनबाट दुःख र निराशा अझै हराएका छैनन् । अझै पनि बाढी प्रभावित मानिसहरूको पीडा सुन्न सकिने अवस्था छैनन् ।

बिस्तारै सम्पर्क टुटेका बाटा र पुलहरू जोडिने क्रममा छन् । केही भने जोड्ने प्रयासमा रहेका छन् ।

केही सडक र पुल अस्थायी रूपमा जोडिन थालेका छन् । बाढीबाट विस्थापित परिवारको जीवन भने अझै सामान्य अवस्थामा फर्किन सकेको छैन ।

बाढीले रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा ठूलो क्षति पुर्याएको छ । प्रभावित क्षेत्र अहिले पनि भग्नावशेष, अस्थायी आवास र अवरुद्ध सडकको अवस्थाबाट गुज्रिरहेको छ । 

कतिपय ठाउँमा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । घर पूर्णरूपमा बगेका तथा बस्न नमिल्ने परिवारका लागि स्थायी बसोबासको टुंगो लागिसकेको छैन।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीमा १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार २८५ जना अझै बेपत्ता छन् ।

बाढी प्रभावित क्षेत्रबाट १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।

सरकारको प्रारम्भिक क्षति तथा आवश्यकता मूल्यांकनले बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति तथा आर्थिक नोक्सानी भएको देखाएको छ । पुनःस्थापना र पुनर्निर्माणका लागि भने ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्रारम्भिक आकलन छ ।

बाढीले सबैभन्दा ठूलो असर सडक तथा पुलमा पारेको थियो । बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकका विभिन्न खण्डमा क्षति पुगेपछि रसुवासँगको स्थल यातायात सम्पर्क लामो समय अवरुद्ध भयो ।

अहिले सडक खुलाउने कामलाई तीव्रता दिएको छ । सडक विभागका अनुसार विदुर–बेत्रावती करिब १० किलोमिटर सडकखण्डको अधिकांश भाग सञ्चालनमा आइसकेको छ । बाढीले बगाएका तथा पहिरोले पुरिएका केही भागमा भने ट्र्याक खोल्ने काम भइरहेको छ ।

बेत्रावतीमा ७२ मिटर लामो बेलीब्रिज जडानको तयारी भइरहेको छ । देवीघाटबाट पारिका बस्ती तथा विदुर–त्रिशूली बजारतर्फको आवतजावतमा भने केही स्थानमा अझै तुइनको भर पर्नुपर्ने अवस्था छ ।

गल्छी–स्याफ्रुबेँसी सडकलाई दसैँअघि वा असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । तर स्याफ्रुबेँसी–रसुवागढी करिब १५ किलोमिटर सडकखण्डमा बाढीले पुर्याएको क्षति ठूलो रहेकाले त्यसलाई पूर्णरूपमा पुनःनिर्माण गर्न थप समय लाग्ने देखिएको छ ।

अस्थायी बास पनि सुरक्षित छैन

बाढीले घरबार गुमाएका परिवारका लागि सडक खुल्नु मात्रै पर्याप्त भएको छैन । उनीहरूलाई स्थायी बसोबासमा फर्काउने चुनौती अहिले मुख्य बनेको छ ।

कतिपय प्रभावित परिवार क्षतिग्रस्त घरबाट बाँकी सामान निकालेर सरसफाइमा जुटेका छन् । घर पूर्णरूपमा बगेका वा बस्न अयोग्य भएका परिवार भने अझै टेन्ट तथा अस्थायी आश्रयस्थलमा छन् ।

निरन्तरको वर्षाले टेन्टमा बसिरहेका परिवारको समस्या थपिएको छ । वर्षाको पानी टेन्टभित्र पस्दा खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री जोगाउनसमेत कठिन भएको प्रभावितको गुनासो छ ।

नुवाकोटका चार स्थानीय तहमा मात्रै प्रारम्भिक तथ्यांकअनुसार १ हजार ९५५ परिवारको आवासमा क्षति पुगेको छ । विदुर नगरपालिकामा मात्रै १ हजार ६७८ परिवारको आवासमा क्षति पुगेको जनाइएको छ ।

अस्थायी आवास

प्रभावितलाई लामो समयसम्म होल्डिङ सेन्टर वा टेन्टमा राखिरहनुभन्दा भाडाको घरमा स्थानान्तरण गर्ने नीति सरकारले अघि सारेको छ । विदुर नगरपालिकाले बस्नयोग्य घर नभएका प्रभावित परिवारलाई कोठा भाडाका लागि प्रतिपरिवार मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

संघीय सरकारले पनि स्थायी आवास निर्माण नभएसम्म आवास भाडा तथा आवश्यक खर्चका लागि चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भए थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ ।

भाडामा बस्न नचाहने परिवारका लागि अस्थायी आवास निर्माणको विकल्पसमेत सरकारले अघि सारेको छ । तर राहत र अस्थायी व्यवस्थाबाट दीर्घकालीन पुनःस्थापनातर्फ कसरी जाने भन्ने चुनौती कायमै छ ।

सहज पहुँचको प्रतीक्षामा

बाढीले रसुवाको उत्तरी क्षेत्रको सडक सञ्जालमा ठूलो क्षति पुर्याएपछि त्यस क्षेत्रको जनजीवनमा यसको प्रभाव अझै देखिन्छ । स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा ठूलो क्षति भएकाले पुनःनिर्माण तथा वैकल्पिक पहुँचका लागि सर्वेक्षण भइरहेको छ ।

सडकमार्ग सहज नहुँदा कतिपय क्षेत्रमा राहत, स्वास्थ्य सेवा तथा दैनिक उपभोग्य सामग्री पुर्याउनसमेत कठिनाइ भइरहेको छ । एक महिनामा केही सडक र पुल अस्थायी रूपमा जोडिए पनि उत्तरी रसुवाको नियमित यातायात अझै पूर्णरूपमा फर्किएको छैन ।

पुनर्निर्माणभन्दा ठूलो चुनौती पुनःस्थापना

भोटेकोशी बाढीपछि अहिलेको प्राथमिकता सडक र पुल जोड्नु मात्रै होइन, विस्थापित परिवारलाई सुरक्षित रूपमा घर फर्काउनु पनि हो । 

हजारौँ घरमा क्षति पुगेको छ । सडक, पुल, जलविद्युत्, कृषि भूमि तथा व्यापारिक संरचनामा समेत व्यापक क्षति भएको छ ।

एक महिनामा उद्धार र राहतबाट पुनर्निर्माणतर्फ काम अघि बढेको संकेत देखिएको छ । बाढी प्रभावितका लागि भने वास्तविक पुनःस्थापना अझै बाँकी छ ।

भोटेकोशीको बाढी गएको एक महिना पुगेको छ । केही ठाउँमा सडक जोडिन थालेका छन्, तर बाढीले टुटाएको जनजीवन अझै जोडिन सकेको छैन ।

Share News