काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले पछिल्लो तीन महिनामा मधेश प्रदेशबाट २७ करोड ८५ लाख रुपैयाँभन्दा बढीका अवैध सामान बरामद गरेको जनाएको छ । सो अवधिमा तस्करीमा प्रयोग भएका १० करोड २२ लाख रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधन पनि नियन्त्रणमा लिएर भन्सार बुझाइएको छ ।
सशस्त्र प्रहरीका अनुसार बरामद सामानमा किराना, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटर पार्ट्स र कस्मेटिक लगायतका सामग्री छन् ।
तीन महिनाको अवधिमा ३० लाख रुपैयाँभन्दा बढी मूल्यको १ हजार १ सय क्यूफिट काठ र १ सय २ ग्राम चाँदी पनि बरामद गरिएको छ । यस क्रममा अवैध कारोबारमा संलग्न ८४ जनालाई पक्राउ गरेर सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमा क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणलाई कडा बनाइएको सशस्त्र प्रहरीले जनाएको छ । तीन महिनामा १ सय ९३ ग्राम ब्राउन सुगर, ९ किलो ५ सय ग्राम चरेस र १ हजार ६ सय ६ किलोभन्दा बढी गाँजा बरामद गरिएको छ ।
यस्तै, तीन वटा कटुवा पेस्तोल, दुई वटा सिक्सर, दुई वटा भरुवा बन्दुक तथा त्यसका गोली र बारुद पनि बरामद गरिएको छ ।
सशस्त्र प्रहरीले मानव बेचबिखनको आशंकामा २९ महिला र ३० पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएको जनाएको छ ।
अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न २२ वटा ट्र्याक्टर, २६ वटा टिपर र दुई वटा जेसीबी पनि नियन्त्रणमा लिइएको छ ।
मनसुन सुरु भएयता सशस्त्र प्रहरीले विपद्मा परेका ३० जनाको सकुशल उद्धार गरेको जनाएको छ । साथै विभिन्न घटनामा घाइते भएका २ सय ७४ जनालाई उद्धार गरेर अस्पताल पुर्याइएको छ ।
सशस्त्र प्रहरीले नेपाल–भारत खुला सीमामा तस्करी, लागूऔषध कारोबार, मानव बेचबिखन र अन्य सीमा अपराध नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको र सीमा क्षेत्रमा निगरानी थप कडा बनाइएको जनाएको छ ।