काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले बैंक तथा वित्तीय संस्थाका लागि आवश्यक प्रविधि तथा सफ्टवेयर विकास गर्ने उद्देश्यले छुट्टै सहायक कम्पनी स्थापना गर्ने तयारी गरेको छ ।
कम्पनीको सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले बैंकिङ, वित्तीय तथा भुक्तानीसम्बन्धी प्रविधिमा अनुसन्धान, प्रणाली तथा सफ्टवेयर विकास, जडानलगायतका कार्य गर्न सहायक वा सम्बद्ध कम्पनीका रूपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
यसका लागि सञ्चालक समितिलाई आवश्यक स्वीकृति तथा प्रक्रिया अघि बढाउने अख्तियारी प्रदान गर्ने प्रस्ताव आगामी १५औँ वार्षिक साधारण सभामा पेस हुँदैछ ।
एनसीएचएलका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न सफ्टवेयर विदेशबाट आयात गर्नुका साथै छुट्टाछुट्टै कम्पनीमार्फत विकास गराउँदा ठूलो रकम खर्च हुने गरेको छ । सोही बमोजिम सबै बैंक तथा वित्तीय संस्थाका लागि साझा (कमन) सफ्टवेयर विकास गर्न सकिने अवधारणा सहित सहायक कम्पनी स्थापनाको प्रक्रिया अघि बढाइएको हो ।
कम्पनीका अनुसार हाल सहायक कम्पनीले कुन-कुन क्षेत्रमा काम गर्ने वा यसको संरचना कस्तो हुने भन्ने विस्तृत खाका भने तयार भइसकेको छैन । आवश्यकताअनुसार भविष्यमा छुट्टै कम्पनी स्थापना गर्ने उद्देश्यले साधारण सभाबाट प्रस्ताव पारित गरी सञ्चालक समितिलाई अधिकार दिन लागिएको हो ।
एनसीएचएलले अहिले पनि बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक पर्ने प्रविधि तथा सफ्टवेयर विकासमा काम गर्दै आएको छ । साथै विभिन्न प्रणालीबीच अन्तरसम्बन्ध कायम गर्न आवश्यक प्रणाली समेत विकास गर्दै आएको कम्पनीले जनाएको छ ।
साथै एनसीएचएलले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको १५ प्रतिशतका दरले २१ करोड ८७ लाख ७६ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले १ करोड १५ लाख १४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी असोज २८ गते बिहान साढे १० बजे काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यतिमा १५औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने तथा लेखापरीक्षण प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
कम्पनीले प्रस्तावित बोनस सेयर बराबर चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गर्ने भएको छ । नियमनकारी निकायबाट प्रस्तावित संशोधनमा कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन गर्न सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अधिकार दिने प्रस्तावसमेत रहेको छ ।
नेपाल राष्ट्र बैंकको नेतृत्वमा २०६५ पुस ८ गते स्थापना भएको एनसीएचएलमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूको सेयर स्वामित्व रहेको छ ।
एनसीएचएलले बैंक तथा वित्तीय संस्थाको कार्यक्षमता र उत्पादकत्व वृद्धि गर्नुका साथै ग्राहकलाई प्रविधिमा आधारित नवीन वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्दै आएको छ ।
कम्पनीले विद्युतीय चेक फछ्र्योट, अन्तरबैंक भुक्तानी प्रणाली, खुद्रा भुक्तानी सञ्जाल, कनेक्ट आईपीएस, कर्पोरेटपे, कनेक्ट आरटीजीएस, राष्ट्रिय भुक्तानी अन्तरसम्बन्ध, नेपालपे क्यूआर, राष्ट्रिय कार्ड सञ्जाल तथा नेपालपे कार्डलगायतका सेवा सञ्चालन गर्दै आएको छ ।
राष्ट्र बैंकको स्वीकृति तथा निर्देशनअनुसार एनसीएचएलले राष्ट्रिय भुक्तानी सञ्जालसम्बन्धी परियोजनासमेत कार्यान्वयन गरिरहेको छ । परियोजनाको पहिलो चरणअन्तर्गत खुद्रा भुक्तानी सञ्जाल सञ्चालनमा ल्याइएको छ, जसले कार्डबाहेकका विद्युतीय कारोबारलाई विभिन्न भुक्तानी प्रणालीबीच अन्तरसम्बन्ध कायम गरी कारोबारको मार्गनिर्देशन तथा फछ्र्योट गर्न सहयोग पुर्याउँछ ।
परियोजनाको दोस्रो चरणअन्तर्गत कार्डमा आधारित कारोबारलाई विभिन्न प्रणालीबीच अन्तरसम्बन्ध कायम गर्ने उद्देश्यले अन्तरसम्बन्धित कार्ड सञ्जाल तथा नेपालको घरेलु कार्ड प्रणाली कार्यान्वयन गरिएको छ । खुद्रा भुक्तानी सञ्जाल र राष्ट्रिय कार्ड सञ्जाल दुवै सञ्चालनमा आइसकेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरू एनसीएचएलका विभिन्न प्रणालीमा सहभागी सदस्यका रूपमा आबद्ध छन् । उनीहरूले आफ्ना ग्राहकका भुक्तानी कारोबार तथा फछ्र्योटसम्बन्धी कार्यको जिम्मेवारी वहन गर्छन् । बैंकबाहेकका संस्थाहरू भने प्रत्यक्ष वा प्राविधिक सदस्यका रूपमा आबद्ध भई एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीमार्फत सम्बन्धित बैंकको माध्यमबाट आफ्ना भुक्तानी कारोबार सञ्चालन गर्दै आएका छन् ।