काठमाडौं । म्याद नाघेका, किरा परेका र अखाद्य कच्चा पदार्थ प्रयोग गरेर गुदपाक तथा पुष्टकारी उत्पादन गर्ने चन्द्रागिरिका दुई उद्योग शिलबन्दी गरिएको छ । अनुगमनका क्रममा लाखौँ रुपैयाँ बराबरका अखाद्य कच्चा पदार्थ तथा तयारी खाद्य सामग्रीसमेत फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ती सामग्री जफत गरी नष्ट गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, डिभिजन कार्यालय काठमाडौं, चन्द्रागिरी नगरपालिका र प्रहरी प्रभाग नैकापको संयुक्त टोलीले असोज ६ गते चन्द्रागिरी–१५, ढुंगेअड्डामा गरेको अनुगमनका क्रममा श्री कृष्ण पुष्टकारी तथा गुदपाक भण्डार र बज्रबाराही भण्डारमा गम्भीर खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कमजोरी फेला पारेको हो ।
अनुगमनका क्रममा श्री कृष्ण पुष्टकारी तथा गुदपाक भण्डारले म्याद नाघेका चिउरा, चकलेट, टुक्रा बिस्कुट, ओट्स, स्किम मिल्क पाउडर तथा किरा परेको भुटेको चना र त्यसैको पिठो प्रयोग गरी गुदपाक र पुष्टकारी बनाउने गरेको भेटिएको विभागले जनाएको छ ।
यति मात्र होइन, म्याद नाघेका चकलेटमा नयाँ लेबल र मिति कोड लगाएर पुनः बिक्री गर्ने गरेकोसमेत अनुगमन टोलीले फेला पारेको छ। अनुमतिपत्रसमेत नलिई सञ्चालनमा रहेको उक्त उद्योगबाट करिब २ लाख ६० हजार रुपैयाँ बराबरका अखाद्य कच्चा पदार्थ तथा १०० किलो गुदपाक र ५३५ किलो पुष्टकारी जफत गरी नष्ट गरिएको छ।
उद्योगलाई तत्काल शिलबन्दी गरी थप अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ । विभागले उक्त उद्योगबाट उत्पादित स्पेशल पुष्टकारी, श्रीकृष्ण पुष्टकारी, स्पेसल चकलेट, श्रीकृष्ण गुदपाक, मत्थर पेडा पुष्टकारी र स्पेसल कोसेली पुष्टकारी उपभोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
त्यस्तै, ढुंगेअड्डाकै बज्रबाराही भण्डारमा पनि खाद्य स्वच्छताको अवस्था सन्तोषजनक नरहेको पाइएको छ। एउटै कोठामा खाद्य सामग्रीको प्रशोधन र प्याकेजिङ गर्ने तथा आवश्यक अनुमतिको दायरामा नआई खाद्य सामग्री उत्पादन गर्ने गरेको अनुगमन टोलीले जनाएको छ।
उक्त उद्योगबाट करिब १ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको ३५० किलो तयारी अखाद्य सामग्री जफत गरी नष्ट गरिएको छ । उद्योगलाई समेत शिलबन्दी गरिएको विभागले जनाएको छ ।
यसैबीच, काठमाडौं महानगरपालिका–१५, स्वयम्भूस्थित श्री सस्तो बास्केटमा नक्कली मिति कोड र लेबल प्रयोग गरी खाद्य वस्तु बिक्री भइरहेको उजुरीका आधारमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा म्याद नाघेका सुजी, ब्रेडक्रम्ब, थाइम, राजमा लगायतका खाद्य वस्तु फेला परेपछि जफत गरी नष्ट गरिएको छ । विक्रेतालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
स्वयम्भूकै यति आइस प्रालिले खाद्य पदार्थ उत्पादन तथा बिक्री–वितरणको अनुमति नलिई आइस क्युब उत्पादन गरिरहेको पाइएको छ । साथै, प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ को पालना नगरेको पाइएपछि उद्योगको सम्पूर्ण उत्पादन तथा बिक्री–वितरणमा रोक लगाइएको विभागले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ कार्यान्वयनका क्रममा खाद्य उद्योग तथा पसलहरूको अनुगमनलाई थप कडाइ र निरन्तरता दिने जनाएको छ । विभागले खाद्य सामग्री उत्पादन, प्रशोधन तथा बिक्री–वितरण गर्दा तोकिएको मापदण्ड र अनुमति अनिवार्य रूपमा पालना गर्न व्यवसायीलाई सचेत गराएको छ ।