विकासन्युज

रिलायन्स स्पिनिङको ७.७० लाख कित्ता सेयरको लक इन अवधि भदौमा सकिने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको योग्य संस्थागत लगानीकर्ताका लागि छुट्टाइएको ७ लाख ७० हजार ६४० कित्ता सेयरको लक इन अवधि आगामी भदौ १ गते समाप्त हुने भएको छ । कम्पनीको जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत बराबरको १९ लाख २६ हजार ६०० कित्ता साधारण सेयरमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई निष्कासन तथा बाँडफाँट गरिएको थियो । रिलायन्स स्पिनिङको सेयर २०८२ फागुन १ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो । धितोपत्र दर्ता तथा निष्कासन नियमावलीअनुसार योग्य संस्थागत लगानीकर्तालाई छुट्टाइएको सेयर सूचीकरण भएको मितिले छ महिनासम्म लक इन राख्नुपर्ने व्यवस्था छ । उक्त कानुनी व्यवस्थाअनुसार कम्पनीको योग्य संस्थागत लगानीकर्ताका लागि छुट्टाइएको सेयरको लक इन अवधि भदौ १ गते समाप्त हुने कम्पनीले जनाएको छ । लक इन अवधि सकिएपछि ती सेयर दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछन् ।

संसदमा विपक्षीको अवरोध यथावत

काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पनि विपक्षी दलहरूले आफ्नो विरोधलाई निरन्तरता दिएका छन् ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गत जेठ १७ गते दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले पुनः विरोध गरेका हुन् । प्रधानमन्त्री बालेनले उक्त दिन नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले त्यसलाई संसदको अभिलेख (रेकर्ड)बाट हटाउन र प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग दोहोर्याएका छन् ।   माग पूरा नभएसम्म संसदको कारबाही सहज रूपमा अघि बढ्न नदिने अडान विपक्षी दलहरूको छ ।

घाटामा छन् यी ८ विकास बैंक र फाइनान्स कम्पनी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म विकास बैंक र फाइनान्स कम्पनीहरूले कुल ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका ३४ वटा विकास बैंक तथा फाइनान्स कम्पनीमध्ये २६ संस्थाले नाफा कमाएका छन् भने ८ संस्था घाटामा रहेका छन् । राष्ट्र बैंकका अनुसार विकास बैंकहरूले ७ अर्ब ३२ करोड ५५ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरूले ९६ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । नाफा आर्जन गर्ने विकास बैंकमध्ये गरिमा विकास बैंक सबैभन्दा अगाडि रहेको छ । बैंकले जेठ मसान्तसम्म १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  त्यस्तै, मुक्तिनाथ विकास बैंकले १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब १ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका छन् । त्यस्तै ज्योति विकास बैंकले ८१ करोड ६१ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ७५ करोड ५९ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले ६० करोड ६८ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले ५४ करोड ६५ लाख रुपैयाँ र लुम्बिनी डेभलपमेन्ट बैंकले ५२ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तै, एक्सेल डेभलपमेन्ट बैंकले १६ करोड १८ लाख रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकले १२ करोड ११ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकले ६ करोड २३ लाख रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकले  ५ करोड ३६ लाख रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकले ३ करोड ७५ लाख रुपैयाँ नाफा गरेका छन् ।  फाइनान्स कम्पनीतर्फ मञ्जुश्री फाइनान्सले २८ करोड ४४ लाख रुपैयाँ खुद नाफासहित अग्रस्थान कायम गरेको छ । त्यसपछि पोखरा फाइनान्सले १५ करोड ५९ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सले १४ करोड १९ लाख रुपैयाँ, गुडविल फाइनान्सले ८ करोड ९५ लाख रुपैयाँ र गोर्खाज फाइनान्सले ६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  यस्तै, बेस्ट फाइनान्सले ५ करोड ७९ लाख रुपैयाँ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ४ करोड ६९ लाख रुपैयाँ, गह्वेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ४ करोड ६६ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सले ४ करोड २३ लाख रुपैयाँ, रिलायन्स फाइनान्सले १ करोड ४३ लाख रुपैयाँ, समृद्धि फाइनान्सले १ करोड १४ लाख रुपैयाँ, मल्टिपर्पस फाइनान्सले १ करोड ९ लाख रुपैयाँ र नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सले ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  तर, चालु आवको जेठ मसान्तसम्म ८ वटा विकास बैंक तथा वित्तीय संस्था घाटामा रहेका छन् । कर्णाली डेभलपमेन्ट बैंक २४ करोड ५९ लाख रुपैयाँ खुद नोक्सानीसहित सबैभन्दा बढी घाटामा रहेको छ । त्यस्तै, नेपाल फाइनान्स ७ करोड ९२ लाख रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंक ६ करोड ७ लाख रुपैयाँ, सिन्धु विकास बैंक ४ करोड ४१ लाख रुपैयाँ, जानकी फाइनान्स ३ करोड ३० लाख रुपैयाँ, प्रोग्रेशिभ फाइनान्स २ करोड ७० लाख रुपैयाँ, सालापा विकास बैंक ४७ लाख रुपैयाँ तथा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स १५ लाख रुपैयाँ खुद नोक्सानीमा रहेका छन् ।

आलोचनाबाट डराउने सरकार लोकतन्त्रका लागि खतरनाक : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकार आलोचनाबाट डराउन थालेको आरोप लगाएका छन् ।  उनले लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता भए पनि वर्तमान सरकार त्यसबाट विचलित हुन थालेको बताएका हुन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले सरकारमाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा प्रश्न गर्नेहरूलाई नै निशाना बनाउने प्रवृत्ति देखिएको टिप्पणी गरेका हुन् । ‘लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता हो। तर जब सरकार आलोचनाबाट डराउन थाल्छ, तब उसले प्रश्नकर्तालाई नै निशाना बनाउन खोज्छ,’ उनले लेखेका छन् । आङ्देम्बेले विभिन्न सञ्चारगृह, नेपाली कांग्रेसका सभापति गगन थापाको निवास तथा अन्य केही स्थान अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई सरकारको असहिष्णु प्रवृत्तिको संकेतका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार गेटअगाडि सवारी राख्ने कार्य केवल आवतजावत अवरुद्ध गर्ने विषय नभई स्वतन्त्र प्रेस र प्रतिपक्षी नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने तथा आलोचनात्मक आवाजलाई तर्साउने प्रयास हो । ‘गेटअगाडि गाडी राखिएको घटना बाटो छेक्ने मात्रै होइन, आलोचनात्मक आवाज थुन्ने प्रयास पनि हो । यो स्वतन्त्र प्रेस र विपक्षी नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने, डर देखाउने र ‘प्रश्न गर्‍यौ भने परिणाम भोग्नुपर्छ’ भन्ने सन्देश दिन खोजिएको कार्य हो,’ उनले उल्लेख गरेका छन् । सञ्चारमाध्यम र प्रतिपक्ष लोकतन्त्रका अपरिहार्य अंग भएको उल्लेख गर्दै उनले उनीहरूलाई सरकारको शत्रुका रूपमा हेर्न नहुने बताएका छन् । ‘सञ्चारमाध्यम र प्रतिपक्ष सरकारका शत्रु होइनन्, उनीहरू जनतासामु राज्यका गतिविधि देखाउने ऐना हुन् । ऐना फुटाउँदैमा अनुहार सुन्दर देखिँदैन,’ आङ्देम्बेको भनाइ छ । सहकारीपीडित, मिटरब्याजपीडित, सुकुम्बासी, मुगुका गणेश नेपालीको मृत्यु तथा सर्लाहीका विवेक मण्डलको आत्मदाहजस्ता विषय उठाउँदै उनले जनताका यस्ता पीडाका बारेमा प्रश्न गर्ने सञ्चारमाध्यम र प्रतिपक्षको आवाज दबाएर समस्याको समाधान नहुने पनि बताएका छन् । ‘गाडीले गेट छेक्न सकिएला, तर जनताको आवाज छेक्न सकिँदैन। इतिहासले देखाएको छ– गेट बन्द गर्न सकिए पनि प्रश्नको बाटो बन्द गर्न सकिँदैन,’ उनले लेखेका छन् । गत सोमबार अज्ञात व्यक्तिहरूले कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन, नेपाली कांग्रेस सभापति गगन थापाको निवास तथा भाटभटेनी सुपरमार्केट अगाडि सवारीसाधन पार्क गरेका थिए ।  उक्त घटनापछि त्यसको उद्देश्यलाई लिएर राजनीतिक तथा सार्वजनिक वृत्तमा विभिन्न टिप्पणी भइरहेका छन् ।

मंगलबार सुनको मूल्य प्रतितोला १२ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेको छ भने र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोला चार हजार ३६० रुपैयाँ कायम भएको छ ।   सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोला चार हजार तीन सय ७५ रुपैयाँ प्रतितोला कायम भएको थियो ।   

७ वर्षमै बेजोसकी पूर्वपत्नीले गरिन् २६ अर्ब डलरभन्दा बढी दान

काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसकी पूर्वपत्नी तथा अर्बपति समाजसेवी म्याकेन्जी स्कटले अमेरिकामा युवाको मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने गैरनाफामूलक संस्था एक्टिभ माइन्ड्सलाई २० मिलियन  अमेरिकी डलर (३ अर्ब बढी रुपैयाँ) दान गरेकी छन् ।  यो उक्त संस्थाको इतिहासकै सबैभन्दा ठूलो सहयोग रकम हो । कुनै पनि सर्त नराखी प्रदान गरिएको यो अनुदान अमेरिकामा किशोर–किशोरीहरूबीच मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढिरहेका बेला आएको हो ।  फर्च्युन पत्रिकाका अनुसार करिब प्रत्येक पाँचमध्ये एक अमेरिकी किशोरले आत्महत्यासम्बन्धी विचारको अनुभव गरेका छन् । स्कटको यो सहयोगले मानसिक स्वास्थ्य क्षेत्रमा ‘नयाँ युगको सुरुवात’गर्ने लक्ष्य राखिएको एक्टिभ माइन्ड्सले जनाएको छ।  प्राप्त रकम युवाहरूलाई मानसिक स्वास्थ्यका विषयमा खुला रूपमा कुरा गर्न प्रोत्साहित गर्ने, यससँग जोडिएको सामाजिक कलंक कम गर्ने तथा अमेरिका भरका विद्यालय, कलेज र समुदायमा मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न प्रयोग गरिनेछ । संस्थाका अनुसार युवामाझ मानसिक स्वास्थ्य सेवाको माग तीव्र रूपमा बढिरहेका बेला र धेरै परोपकारी संस्थाहरू आर्थिक दबाबमा रहेका समयमा यो सहयोग प्राप्त भएको हो। यो अनुदान कुनै पनि सर्तबिना उपलब्ध गराइएको भएकाले एक्टिभ माइन्ड्सले सबैभन्दा आवश्यक क्षेत्रमा रकम परिचालन गर्न सक्नेछ ।  यसअन्तर्गत क्याम्पसस्तरीय कार्यक्रम विस्तार, युवा नेतृत्व विकासका लागि तालिम तथा समुदायसम्म पहुँच बढाउने कार्यक्रमलाई प्राथमिकता दिइनेछ । संस्थाले स्कटको योगदानलाई आफ्नो इतिहासकै सबैभन्दा ठूलो दान भन्दै यसले परिवर्तनकारी प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।  संस्थाका अनुसार यस सहयोगले प्रत्येक युवाले मानसिक स्वास्थ्यलाई समग्र कल्याणको महत्त्वपूर्ण आधारका रूपमा बुझ्ने भविष्य निर्माण गर्न मद्दत गर्नेछ । अमेरिकामा किशोरहरूको मानसिक स्वास्थ्यप्रति बढ्दो चिन्ताका बीच आएको यो सहयोगलाई निकै महत्वपूर्ण मानिएको छ । फर्च्युनको रिपोर्टअनुसार करिब पाँचमध्ये एक अमेरिकी किशोरले आत्महत्यासम्बन्धी सोच अनुभव गरेका छन् ।  यसले मानसिक स्वास्थ्य शिक्षा विस्तार, प्रारम्भिक चरणमै सहयोग उपलब्ध गराउने तथा साथी–सहयोग (पीयर सपोर्ट) सञ्जाललाई सुदृढ बनाउने आवश्यकता झनै बढाएको छ । २६ अर्ब डलरभन्दा बढी दान म्याकेन्जी स्कटको अनुमानित नेटवर्थ करिब ३५.८ अर्ब अमेरिकी डलर रहेको छ । सन् २०१९ यता उनी विश्वकै प्रभावशाली समाजसेवीमध्ये एक मानिन्छिन् । उनले आफ्नो परोपकारी अभियान ‘यिल्ड गिभिङ मार्फत २ हजार ७०० भन्दा बढी गैरनाफामूलक संस्थालाई २६ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेकी छन् ।  उनले विशेषगरी कुनै सर्त नराखी अनुदान दिने अभ्यासलाई प्राथमिकता दिँदै संस्थाहरूलाई आफ्नै आवश्यकता र प्राथमिकताअनुसार रकम खर्च गर्ने स्वतन्त्रता दिँदै आएकी छन् । यो पछिल्लो सहयोगले पनि मानसिक स्वास्थ्यका क्षेत्रमा स्कटको निरन्तर प्रतिबद्धतालाई झल्काएको छ ।  यस वर्षको सुरुमै उनले मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्य संस्थाहरूलाई पनि ठूलो रकम सहयोग गरेकी थिइन्, जसले सामाजिक चुनौती समाधानमा समुदाय–आधारित पहललाई सशक्त बनाउने उनको दीर्घकालीन रणनीतिलाई थप बल पुगेको छ ।

आईएसएमटी कलेजबाट ४१५ विद्यार्थी दीक्षित, उत्कृष्टलाई विशेष अवार्ड र छात्रवृत्ति

काठमाडौं । बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डसँग सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । काठमाडौंमा आयोजित समारोहमा बीबीए (बिजनेस एन्ड म्यानेजमेन्ट), बीएचएम, बीएस्सी आईटी (सीएसई) र एमबीए कार्यक्रमका ४१५ जना विद्यार्थी दीक्षित भएका कलेजले जनाएको छ । असार २६ गते याक एन्ड यति होटलमा आयोजित समारोहमा नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा युनिभर्सिटी अफ सन्डरल्यान्ड (यूके)का उच्चस्तरीय प्रतिनिधि, अभिभावक तथा अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो । कलेजका अनुसार उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई युनिभर्सिटी अफ सन्डरल्यान्डले विशेष अवार्ड प्रदान गरेको छ । साथै, आईएसएमटी समूहअन्तर्गत सञ्चालन हुने विभिन्न शैक्षिक कार्यक्रममा अध्ययनका लागि उत्कृष्ट विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति समेत प्रदान गरिएको छ । आईएसएमटी समूहले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा युनिभर्सिटी अफ सन्डरल्यान्डसँगको सम्बन्धनमा बीबीए, बीएचएम, बीएस्सी आईटी, साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक्स, एमबीए तथा एमएस्सी कम्प्युटिङ कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

गगन थापाले गरे विवेक मण्डलका सन्तानको शिक्षाको जिम्मा लिने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । क्रममा भएको मण्डलको आज बिहान २ः४० बजे निधन भएको हो ।  उनको निधनपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै थापाले घटनालाई अत्यन्त दुःखद र मर्माहत बनाउने भएको बताएका छन् । थापाले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै यस कठिन घडीमा आफू परिवारसँगै रहेको उल्लेख गरेका छन् । साथै मण्डलका सन्तानको शिक्षा–दीक्षाको जिम्मेवारीमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । ‘स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् । थापाले मण्डलको निधनलाई परिवारका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै शोकको यस घडीमा परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन् । मण्डलले आत्मदाहको प्रयास गरेपछि उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो ।