निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस
काठमाडौं । सरकारले ‘प्रतिनिधि सभा निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । उनकाअनुसार बैठकमा पेश भएको अध्यादेशमा दलित आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा निर्धारण गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूची १ लाई संशोधन गर्न अध्यादेश जारी गरेका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले भने, ‘प्रतिनिधि सभा निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ । यसमा २०७८ सालको जनगणनाको प्रतिवेदन बमोजिमको दलित, आपदवासि, जनजाति, खसआर्य, मधेसी, थारु तथा मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४को अनुसूची १ लाई संशोधन गर्ने रहेको छ ।’ बैठकले मकवानपुरको बिदुर नगरपालिकास्थित केन्द्रीय कारागारमा खालि रहेको ब्लकमा बालसुधार गृह सञ्लान गर्न स्वीकृति दिने निर्णय भएको पनि बताए ।
एनसीएचएलको चौधौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को चौधौं वार्षिक साधारण सभा बिहीबार काठमाडाैंमा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदनसहितको २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसपश्चात एनसीएचएलको चुत्ता पुँजी १ अर्ब ४५ करोड ८५ लाख ११ हजार ५०० बराबरको हुनेछ । कम्पनीले पूँजीवृद्धिमार्फत नेशनल पेमेन्ट स्वीच, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरूको स्तरोन्नतिका लागि प्रयोग गर्नेछ। आ.व. २०८१/८२ मा एनसीएचएलको भुक्तानी प्रणालीहरूमार्फत कुल १८६ खर्ब बराबरको २१.१२ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो । उक्त आर्थिक वर्षमा कम्पनीबाट फर्छ्याैट भएका कारोबारहरूको संख्या ६७ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ४ प्रतिशतले वृद्धि भएको छ । बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना सञ्चालकहरू निर्विरोध रुपमा निर्वाचित गरेको छ । विकास बैंकहरूबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा सांग्रिला डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी तथा फाइनान्स कम्पनीहरूबाट प्रतिनिधित्व गर्दै आईसीएफसी फाइनान्सका नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसी निर्वाचित भएका छन् । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरूबाट ३ जना, विकास बैंकहरू, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १–१ जना रहेका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ । वार्षिक साधारण सभाबाट नेपालपे कार्डको क्लोज्ड युजर ग्रुप पनि घोषणा गरिएको छ । सभाको विविध प्रस्ताव अन्तर्गत सो घोषणा गरिएको हो । नेशनल कार्ड स्कीम अन्तर्गत सुरुवात गरिएको सो नेपालपे कार्डको हाल दुईवटा बैंक वित्तीय संस्थामार्फत इस्यूइङ तथा १२ वटा बैंक वित्तीय संस्थाबाट अक्वयरिङको कार्य सुरु भएको छ ।
स्याउ बिमा भुक्तानीमा ढिलाइ, जुम्लाका चार हजार किसान मारमा
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको जुम्ला शाखाले स्याउ बिमा गरेका अधिकांश किसानका बगैंचा समयमै अनुगमन नगर्दा जुम्लाका हजारौं स्याउ किसान प्रभावित भएका छन् । दुई वर्षअघि गरिएको बिमाबापतको रकम हालसम्म भुक्तानी नपाउँदा जिल्लाका करिब चार हजार किसान मारमा परेका हुन् । बिमित किसानका अनुसार कम्पनीले वास्तविक मूल्याङ्कनका क्रममा स्याउ बगैंचाको स्थलगत लागत सङ्कलन गरी कागजात तयार पारे पनि भुक्तानी दिन आलटाल गरिँदै आएको छ। लागत सङ्कलनकै क्रममा छुटेका किसानका बगैंचा अहिलेसम्म अनुगमन नहुँदा बिमा भुक्तानी प्रक्रिया अन्योलमा परेको छ । बिमाबापतको रकम पाउन ढिलाइ भएपछि किसानहरू आक्रोशित बनेका छन् । स्याउ बिमा भुक्तानीको माग गर्दै दिनहुँ खलङ्गा बजारस्थित शिखर इन्स्योरेन्सको कार्यालयमा बिमित पक्ष धाइरहेका देखिन्छन् । तीला गाउँपालिका-२ का स्थानीय राम रावतले श्रीमतीको नाममा २०० स्याउका बिरुवा बिमा गर्दा ९ हजार रुपैयाँ तिरेको बताए । ‘गाउँ–गाउँमा अनुगमन गर्न कम्पनीका कर्मचारी आए तर मेरो बगैंचामा आएनन्,’ उनले भने, ‘कम्पनीकै कमजोरीका कारण बिमाबापतको रकम पाउन कठिन भएको छ। किसान मारमा परेका छौं, यसको सुनुवाइ हुनुप¥यो । ’ यस्तै तीला गाउँपालिका–१ रारा निवासी सुन्दरी पाण्डे (रावत) ले २५० बिरुवा बिमा गर्दा ९ हजार रुपैयाँ तिरेको तर सबै कागजात बुझाउँदा पनि भुक्तानी नपाएको गुनासो गरिन् । ‘कम्पनीमा सम्पर्क गर्दा बगैंचा अनुगमन नभएको भन्दै गैरजिम्मेवार जवाफ दिइयो,’ उनले भनिन् । वडाको सिफारिससहित निवेदन दिएको एक हप्ता बितिसक्दा पनि कुनै सुनुवाइ नभएकोमा उनले दुःख व्यक्त गरिन् । बिमितहरूबाट निरन्तर गुनासो आएपछि कम्पनीका कर्मचारीले केन्द्रीय कार्यालयमा पठाइएका फाइल सदर भई आएपछि सबै किसानलाई भुक्तानी दिइने बताउँदै आएका छन् । यसै सन्दर्भमा शिखर इन्स्योरेन्स जुम्ला शाखाका कार्यालय प्रमुख लक्ष्मण काफ्लेले अनुगमनका क्रममा सम्पर्कमा नआएका किसानलाई तत्काल भुक्तानी दिन नसकिएको स्पष्ट पारे । व्यक्तिगत निवेदन र वडाको सिफारिसका आधारमा पुनः अनुगमन गरी बिमाबापतको रकम भुक्तानी गरिने प्रतिबद्धता उनले व्यक्त गरे । कम्पनीका अनुसार जुम्लामा ५ हजार ३७९ जना किसानले स्याउ बिमा गराएकामध्ये हालसम्म ६५५ जनाले मात्र क्षतिपूर्ति पाएका छन् । ९४७ जनाको प्रक्रिया पूरा भई भुक्तानीको चरणमा रहेको र बाँकी किसानका बगैंचाको पुनः अनुगमन तथा मूल्याङ्कन गरी सबैलाई भुक्तानी दिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
मुक्तिनाथ कृषि कम्पनीले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी ७५ करोड ६० लाख रुपैयाँको १ः०.६ अनुपातमा प्रति सेयर १०० रुपैयाँ अंकित मूल्य दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले हकप्रद सेयरका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ । बिहीबार सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना र नेपाल लाइफ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरे । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले नेपालको कृषि क्षेत्रको व्यवसायीक विकासका लागि कृषक र उपभोक्ताहरूलाई जोड्न संस्थागत मूल्य श्रृंखला व्यवस्थापकको रूपमा कार्यरत अग्रणी कम्पनी हो । कम्पनीले कृषकहरूको लागि आवश्यक उत्पादनका साधनको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगहरूको विकास र उपभोक्ताहरूलाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादनहरू उपलब्ध गराउने सम्बन्धी व्यवसाय गरिरहेको छ ।
हिङमाङ एकता समाजद्वारा महायज्ञ भव्य रूपमा सम्पन्न
काठमाडौं । हिङमाङ एकता समाज खोटाङको आयोजनामा सनातन वैदिक धर्म, आध्यात्मिक चेतना र सामाजिक एकताको गहिरो सन्देश बोकेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । गत मंसिर २१ गतेदेखि मंसिर २७ गतेसम्म महायत्र आयोजना सम्पन्न गरिएको आयोजक कुमार हेङमाङले जानकारी दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित कन्चने डाँडा हिङमाङ गाँउमा सम्पन्न महायज्ञले उक्त क्षेत्रलाई धर्म, संस्कार र सामूहिक एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताए । ‘धर्म, संस्कार र एकता–हाम्रो पहिचान’ भन्ने मूल नारासहित आयोजना गरिएको उक्त महायज्ञले हिङमाङ परिवार मात्र नभई समग्र समाजमा आध्यात्मिक ऊर्जा सञ्चार गरेको सहभागीहरुले बताए । महायज्ञमा श्रीमद् भागवत महापुराणको सातौं दिवससम्म शतचण्डी महारुद्राभिषेक, नित्य जप, हवन, तर्पण, मार्जन, ब्राह्मण भोजन, चारपल्ट विशाल महाआरती तथा लाखौँ दीप प्रज्वलन जस्ता विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका थिए । दिनहुँ वैदिक मन्त्रोच्चारण, भजन-कीर्तन र कथा-प्रवचनले वातावरण भक्तिमय बन्दै जाँदा श्रद्धालु भक्तजनको उल्लेखनीय उपस्थिति थियो । ओमकार धार्मिक सेवा समिति कपन, काठमाडौंको सहकार्यमा गणेश पन्तले २७८ थान श्रीमद् भागवत गीता निःशुल्क रूपमा वितरण गरे । ‘ज्ञान बाँडौँ, पुण्य कमाऔँ’ अभियान अन्तर्गत गरिएको उक्त कार्यले धार्मिक ग्रन्थमार्फत जीवन दर्शन, नैतिकता र कर्मयोगको सन्देश पुर्याउने विश्वास लिएको पन्तले बताए । हिङमाङ एकता समाजका अध्यक्ष कुमार हिङमाङ, उपाध्यक्ष डोरनाथ हिङमाङ, सह-सचिव कुलबहादुर हिङमाङ तथा व्यवस्थापक सन्जय हिङमाङले महायज्ञ सफल महत्वपूर्ण भूमिका निर्वाह गरे । यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा सद्भाव, अनुशासन र आपसी सहकार्यको भावना अझ बलियो बनाउने उनीहरुको विश्वास छ । समग्रमा, हिङमाङ एकता समाज खोटाङद्वारा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ केवल धार्मिक अनुष्ठानमा सीमित नरही सामाजिक एकता, सांस्कृतिक पहिचान र आध्यात्मिक जागरणको अनुपम उदाहरण बनेको छ । यसले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा पुण्यकार्यलाई निरन्तरता दिन सबैलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
रवि धरौटीमा रिहा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन्। उच्च अदालत दाङको बुटबल इजलासले सहकारी ठगी मुद्दामा लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। लामिछानेले पेस गर्ने भनिएको धरौटी उच्च अदालत दाङ बुटबल इजलासले स्वीकार्ने आदेश भएको अदालतका रजिस्टार अमित उप्रेतीले जानकारी दिए ।
भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क हुने
नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा नवजात शिशुको सिकलसेल एनिमियाको निःशुल्क परीक्षण हुने भएको छ । यसअघि एक वर्षको बच्चाको परीक्षण गरेर सिकलसेल थाहा पाउने उपकरण अस्पतालमा थियो । अहिले नयाँ र अत्याधुनिक उपकरण ल्याइएको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले योसँगै बच्चा जन्मेको २४ घण्टामा सिकलसेल परीक्षण गरी रिर्पोट लिन सकिने जानकारी दिए । उनले प्रदेश सरकारले विसं २०७९ मा खरिद गरेको उक्त उपकरण बुटवलबाट ल्याएर सञ्चालन गरिएको उल्लेख गर्दै पछिल्लो दुई दिनमा चार जना नवजात शिशुको परीक्षण भएको जानकारी दिए । ‘यो उपकरण पहिलोपटक भेरी अस्पातलमा सञ्चालनमा ल्याइएको हो । योसँगै भेरी अस्पतालमा पहिलोपटक नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क गर्ने छौं,’ डा. सुवेदीले भने । उनका अनुसार यसबाहेक भेरी अस्पताल नेपालगञ्जमा सिकलसेल एनिमियाका लागि १६ शय्याको सिकलसेल वार्ड सञ्चालनमा ल्याइएको छ । बिरामीको रगत परीक्षणका लागि ‘डेकेयर’ सेन्टर पनि सञ्चालनमा रहेको मेसु सेवेदीले जानकारी दिए । भेरी अस्पतालका सिकलसेलसम्बन्धी जानकार डा. राजन पाण्डेले यो रोग समयमा पत्ता नलाग्दा कतिपय नवजात शिशुको अकालमा ज्यान जाने गरेको उल्लेख गर्दै नवजात शिशुमा सिकलसेल देखिए तीन महिनापछि पाँच वर्षसम्म थप खोप र औषधि सेवन गराउनुपर्ने जानकारी दिए । डा. पाण्डेले समयमा समस्या पत्ता लाग्दा उपचार सुरु गर्न सकिने जानकारी दिँदै भने, ‘बच्चा जन्मेको २४ घण्टामा परीक्षण गरेर समस्या छ वा छैन निश्चित गर्न सकिन्छ । यो सहज र प्रभावकारी विधि भएकाले ढुक्क भएर शिशुको परीक्षण गर्न/गराउन सकिन्छ ।’ डा. पाण्डेले थारु समुदायमा जनस्वास्थ्यको समस्याका रूपमा रहेको सिकलसेल अन्य जातिमा पनि भेटिने गरेको बताउँदै भेरी अस्पतालमा जन्मने बच्चाका अभिभावकको अनुमतिमा निःशुल्क परीक्षण हुने जानकारी दिए बच्चा जन्मदै सिकलसेल देखिएमा नौ महिना भएपछि पहिलो दादुरारुबेला खोप लगाउनाले समयमा पुनः परीक्षण गरी सिकलसेल, बिटा थालेसेमियालगायत अन्य हेमोग्लोबिनोप्याथी भए/नभएको थप पुष्टि गर्न सकिने व्यवस्था मिलाइएको उनको भनाइ छ । डा. पाण्डेले सिकलसेल, थालेसिमिया नियन्त्रण, न्यूनीकरणका लागि जनचेतना आवश्यक रहेकामा जोड दिँदै पश्चिम नेपालमा सिकलसेलको समस्या थारुबाहेक अन्य समुदायमा पनि विस्तारै देखिन थालेको जानकारी दिए ।
बन्दीपुर होटल अब अन्तर्राष्ट्रिय होटल ‘लेमन ट्री’ ब्राण्डमा
काठमाडौं । बन्दीपुर होटल अब अन्तर्राष्ट्रिय होटल ‘लेमन ट्री’ ब्राण्डमा सञ्चालन हुने भएको छ । बुधबार बन्दीपुर होटल र लेमन ट्री होटल्स लिमिटेडबीच १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भयो। सम्झौतापछि बन्दीपुरस्थित होटल अब लेमन ट्री होटल्स ब्राण्डको नेटवर्कमा सामेल हुँदै अन्तर्राष्ट्रिय स्तरमा परिचालन हुनेछ। सम्झौतापत्रमा बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडको तर्फबाट मुख्य कार्यकारी अधिकृत विलास पवारले हस्ताक्षर गरे । यो सम्झौताले अन्तर्राष्ट्रिय पर्यटक आकर्षण बढाउने र स्थानीय रोजगार सृजना गर्ने अपेक्षा गरिएको छ । बन्दीपुरको होटल शीघ्र औपचारिक रूपमा लेमन ट्री होटल्सको ब्राण्ड नाम तथा मानकअनुसार सञ्चालनमा आउने जनाइएको छ ।