बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा कायम भएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८१ रुपैयाँ ८० पैसा र बिक्रीदर १८२ रुपैयाँ ५६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ११ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ८० पैसा र बिक्रीदर ११२ रुपैयाँ २७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५१ पैसा र बिक्रीदर २० रुपैयाँ ६० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३९ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ७७ पैसा , बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ २६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
जनवरी १ देखि ९३५ वस्तुमा आयात शुल्क घटाउने चीनको घोषणा
काठमाडौं । चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुमा आयात शुल्क घटाउने घोषणा गरेको छ । राज्य परिषदको कस्टम्स ट्यारिफ कमिसनका अनुसार यी वस्तुमा लागू हुने शुल्क दर सबैभन्दा अनुकूल राष्ट्र (एमएफएन) दरभन्दा कम हुनेछ । यस कदमको उद्देश्य घरेलु र अन्तर्राष्ट्रिय बजारबीच समन्वय बढाउने, स्रोतहरूको उपयोग सुधार गर्ने र उच्च गुणस्तरका वस्तुको आपूर्ति विस्तार गर्ने हो । चीनले केही महत्वपूर्ण कम्पोनेन्ट र उच्च प्रविधिका सामग्रीमा कर घटाएर उच्च स्तरको प्राविधिक आत्मनिर्भरतालाई समर्थन गर्नेछ । त्यस्तै, केही प्राकृतिक स्रोतमा कर घटाएर हरित विकासलाई प्रवर्द्धन गरिनेछ । स्वास्थ्य क्षेत्रमा पनि कर घटाइनेछ, जसले जनताको भलाइमा सुधार ल्याउने अपेक्षा गरिएको छ । साथै, चीनले ट्यारिफ हेडिङ र राष्ट्रिय उप-हेडिङ नोटहरू सुधार्ने योजना बनाएको छ । स्मार्ट बायोनिक रोबोट र बायो-एभिएसन केरोसिन जस्ता नयाँ उत्पादनका लागि पनि उप-हेडिङ थपिनेछ । चीनले आफ्ना ३४ व्यापारिक साझेदार देशसँग सम्झौताअनुसार पूर्वनिर्धारित शुल्क दर लागू गर्न जारी राख्नेछ । यसैगरी, ४३ अत्यन्त कम विकास भएका देशका लागि सतप्रतिशत शून्य शुल्क सुविधा पनि कायम रहनेछ ।
सालपा विकास बैंकको आईपीओ बिक्री खुला, २५ हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । सालपा विकास बैंकले आज पुस १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेर बाँडफाँडपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत अर्थात् १७ करोड २३ लाख ८८ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । यस्तै, जारी पुँजीको ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ कित्ता बैंकका कर्मचारीलाई सुरक्षित राखि बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र बिक्री नभएमा पुस ३० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । बैंकको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सीआस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
विश्व बैंकको सहयोगमा सडक कालोपत्र हुँदै, ४९.२२ करोडमा ठेक्का सम्झौता
काठमाडौं । विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी-तितौरे ९ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा तितौरेदेखि दानविसौनासम्म कालोपत्र सम्पन्न भइसकेको छ । यसअघि गणेशथान घुम्ती-निरयघाट र ओढारचौर-ढोडेनी सडक कालोपत्र भइसकेको छ । बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठका अनुसार सडक कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको थियो । स्तरोन्नतिसँगै सडक कालोपत्रका लागि निर्माण व्यवसायीसँग ४९ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
भियतनामको विद्युत् क्षमता ८७ हजार ६०० मेगावाट, ९९.८५ प्रतिशत घरमा पहुँच
काठमाडौं । भियतनामको विद्युत् प्रणाली अब दक्षिण-पूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) मा उत्पादन क्षमताका आधारमा दोस्रो ठूलो बनिसकेको छ । यो तथ्य भियतनामको राज्य स्वामित्वको विद्युत् कम्पनी भियतनाम इलेक्ट्रिसिटी (ईभीएन) ले सरकारी पोर्टलमार्फत सार्वजनिक गरेको हाे । ईभीएनका अनुसार, सन् २०२५ को अन्त्यसम्म देशको कुल जडित विद्युत् क्षमता करिब ८७ हजार ६०० मेगावाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ६ हजार ४०० मेगावाटले वृद्धि भएको हो । यस वृद्धि प्रमुख रूपमा नयाँ ऊर्जास्रोतहरू जस्तै जलविद्युत्, तापविद्युत् र नविकरणीय ऊर्जा परियोजनाहरूबाट भएको हो । सोही अवधिमा भियतनामको व्यावसायिक विद्युत् उत्पादन २ करोड ८७ लाख किलोवाट प्रतिघण्टा पुगेको छ । यसले देशको ऊर्जा आपूर्तिमा निरन्तर वृद्धि भएको र औद्योगिक तथा घरेलु आवश्यकताहरू पूरा गर्न पर्याप्त क्षमता विकसित भएको देखाउँछ । विद्युत् पहुँचको क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको छ । हाल देशभर १०० प्रतिशत कम्युनहरू (स्थानीय तह) र ९९.८५ प्रतिशत घरधुरीहरू राष्ट्रिय विद्युत् सञ्जालसँग जोडिएका छन् । यसले भियतनाममा विद्युत् पहुँच सुनिश्चित गर्न सरकारको प्रतिबद्धता स्पष्ट देखाउँछ र ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई पनि ऊर्जा सुविधामा पहुँच प्रदान गरेको छ । विशेषज्ञहरूले भियतनामको ऊर्जा क्षेत्रमा देखिएको यो वृद्धि आर्थिक विकास, औद्योगिक विस्तार र जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । साथै, नविकरणीय ऊर्जा र स्मार्ट ग्रिड प्रविधिमा लगानी बढाइ रहेकोले देशको ऊर्जा प्रणाली दिगो र पर्यावरण मैत्री बन्ने अपेक्षा गरिएको छ ।
चिसो अत्यधिक बढ्दा पनि घटेन मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
काठमाडौं । अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समून्द्री सतहबाट ३ हजार ८०० मिटर उचाइमा रहेको हिन्दू तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने नघटेको उनको भनाइ छ । अत्यधिक चिसोका कारण स्थानीयको जनजीवनमा प्रतिकूल बनेको छ । अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको छ । भुसालका अनुसार हाल मन्दिरमा दैनिक औसत १ हजार ५०० दर्शनार्थी आइरहेका छन् । मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धारामा जलसेचन र कुण्डमा स्नान दर्शन गरी मन्दिर दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास छ । चिसोका कारण स्वास्थ्यमा समस्या आउनेहरुलाई मुक्तिनाथ विकास समितिले हेरचार गर्दै आएको छ । समितिले मन्दिर परिसरमा स्वास्थ्यकर्मी राखेको छ । चिसोमा पनि पर्यटन आउने क्रम जारी रहेपछि होटल व्यवसाय पनि फस्टाएको छ । यहाँ स्वदेश र विदेशबाट पनि पर्यटकहरु आउने गरेका छन् । विशेष गरी भारतीय पर्यटकहरुको उल्लेख्य उपस्थिति हुने गरेको छ । हुम्लाबाट मुक्तिनाथ आएका सुन्दर राउतले मुक्तिनाथको दर्शन गर्न पाउँदा निकै खुसी लागेको बताए । मुक्तिनाथ मन्दिरको महिमा र यसको चर्चा सुनेपछि आफू आएको उनले बताए । साथै जाजरकोटबाट आएका देवबहादुर रोकायाले पनि धार्मिक तपोभूमिमा धार्मिक आस्था र विश्वास लिएर दर्शन गर्न आएको बताए । पछिल्लो समय नेपाल–चीन जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकको यात्रा सहज भएपछि मुस्ताङमा पर्यटक बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरम्म २ लाख ३ हजार २९२ जना आन्तरिक र ४८ हजार १०९ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ ।
शीतलहरले पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा कठिनाइ, यी हुन् वैकल्पिक मार्ग
काठमाडौं । शीतलहरका कारण निर्माणाधीन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शीतलहरको कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो । सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भई एकतर्फी सडक सञ्चालन भइरहेकाले सवारी साधन सञ्चालनमा थप कठिनाइ हुने सम्भावना रहेको आयोजनाले जनाएको छ । मौसममा सुधार नहुञ्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्रै यात्रा गर्न आयोजनाले अनुरोध छ । सो सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा वैकल्पिक सडकको प्रयोग गर्न सकिने आयोजनले स्पष्ट पारेको छ । पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट-मुग्लिङ-पोखरा-स्याङ्जा-पाल्पा हुँदै बुटवल जान सक्नेछन् । यस्तै, कालीगण्डकी चोक (गैँडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौंबाट बर्दघाट पश्चिम जानेर बुटवल-काठमाडौं जाने सवारी साधनहरु काठमाडौं-मुग्लिङ-पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।
१०० शय्याको धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी, ७० लाख बजेट विनियोजन
काठमाडौं । बागलुङको धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइको तयारी थालिएको छ । अस्पतालमा पढाइका लागि छुट्टै प्रयोगशाला बनाइने छ । गण्डकी प्रदेश सरकारले धौलागिरि अस्पतालमा चालु आर्थिक वर्षबाट नर्सिङ पढाई गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख गरेको थियो । चालु आवमा नर्सिङ पढाइका लागि आवश्यक प्रयोगशालासहितको पूर्वाधार निर्माण गर्नका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन भएको गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस वर्ष नर्सिङको भर्ना प्रक्रिया सकिएकाले पूर्वाधार तयार गरेर आगामी वर्ष विद्यार्थी भर्ना गर्ने तयारीका लागि बजेट पठाइएको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । कक्षाकोठा र प्रयोगशाला लगायतको व्यवस्थापन भने चालु आर्थिक वर्षमै सकिने उनको भनाइ छ । प्रदेश मातहतका अस्पताल तथा वर्थिङ सेन्टरमा तालिम प्राप्त मिडवाइफमार्फत सेवा प्रवाहको सुनिश्चतताका लागि आगामी आवदेखि प्रवीणता प्रमाणपत्र तहको ‘मिडवाईफरी शैक्षिक कार्यक्रम’ धौलागिरि अस्पतालमा अध्यापन सुरु गरिने धौलागिरि अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीले जानकारी दिए । ‘यो एसइईपछि पढ्न पाइने तीन वर्षे नर्सिङ कोर्स हो, यसमा गर्भवती, सुत्केरी र शिशुको स्याहारसम्बन्धी मात्रै अध्ययन हुन्छ । चालु आर्थिक वर्षमै भर्ना अघि बढाउने भनिएपनि जेनजी आन्दोलनलगायतका कारण समस्या भएको थियो, यो वर्ष पूर्वाधार तयारी गर्छौँ, अर्को वर्ष भर्ना खोलिन्छ,’ उनले भने । नर्सिङ विषय अध्यापनका लागि १०० शय्याको अस्पताल र वार्षिक १ हजार २०० सुत्केरी अस्पतालमा हुनुपर्ने मापदण्ड पुगेकाले नर्सिङको पढाइको तयारी थालिएको हो । स्वास्थ्यमन्त्री पाठकले बागलुङका तीन अस्पतालको स्तरोन्नति एकसाथ भएको बताए । धौलागिरि अस्पताल १०० शय्याको नहुँदा नर्सिङ पढाउन समस्या भएकाले स्तरोन्नतिपछि नर्सिङ पढाइको बाटो गत वर्षदेखि खुलेको थियो । ५० शय्याको धौलागिरि प्रादेशिक अस्पताललाई प्रदेश मातहतको १०० शय्या, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको बुर्तिबाङ प्रदेश अस्पताल, धौलागिरि आयुर्वेद अस्पताल बागलुङलाई २५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको मन्त्री पाठकले बताए ।