विकासन्युज

सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाले दिए राजीनामा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले राजीनामा दिएका छन् । देवकोटाले पुस ९ गते व्यक्तिगत कारण देखाउँदै राजीनामा पेश गरेका हुन् । बैंक सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले उनको राजीनामा आगामी माघ १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । बैंकले देवकोटाको राजीनामासँगै आवश्यक व्यवस्थापन प्रक्रिया अघि बढाइएको जनाएको छ ।    

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा चौलागाईं चयन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२औँ केन्द्रीय महाधिवेशन पुस ११ र १२ गते नेपालगञ्जमा सम्पन्न भएको छ । महाधिवेशनमा देशभरका ८ सयभन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो । महाधिवेशनको मूल समारोहको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै उनले कर्मचारी एकता, संस्थागत सुशासन र बैंकको सुदृढीकरणमा कर्मचारी संघको भूमिकाको प्रशंसा गरेका थिए । महाधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । संघको अध्यक्षमा रबिन्द्र प्रसाद चौलागाईं, वरिष्ठ उपाध्यक्षमा कबिराज बराज र महासचिवमा ऋषिराम ज्ञवाली चयन भएका छन् । उनीहरूसहित ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ । नवगठित नेतृत्व र महाधिवेशनले लिएको नीतिले आम कर्मचारीको मनोबल उच्च राख्दै कर्मचारीका साझा एजेन्डामा एकताबद्ध भएर समस्याको समाधान गर्ने र राष्ट्रिय वाणिज्य बैंकको समग्र प्रगतिमा योगदान पुर्‍याउने विश्वास लिएको संघले जनाएको छ । आम कर्मचारीले संघप्रति देखाएको ठूलो विश्वास र भरोसालाई महाधिवेशनले केवल नेतृत्व परिवर्तनका रूपमा मात्र नभई संस्थाको हित, सुदृढीकरण र प्रगतिका लागि संघले बोकेको संकल्पको विजयका रूपमा व्याख्या गरेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा संघले नेपालगञ्ज नगरमा प्लेकार्ड र ब्यानरसहित प्रभातफेरी समेत आयोजना गरेको थियो ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा बुधबार दुवै धातुको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२० रुपैयाँले घटेको हो ।      बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ४७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ५९० रुपैयाँमा कारोबार भएको थियो ।   

६ दशकपछि सीईओ पद छोड्दै वारेन बफेट, बर्कशायर हाथवे अब कसले सम्हाल्ला ?

काठमाडौं । बर्कशायर हाथवेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वारेन बफेटले ३१ डिसेम्बरमा आफ्नो पद छोड्दै छन् । यो अवकाशको घोषणा बर्कशायरको वार्षिक सेयरधनीको बैठकमा गरिएको हो । सन् २०२६ जनवरी १ देखि कम्पनीका उपाध्यक्ष ग्रेग एबेलले बर्कशायरको कार्यभार सम्हाल्नेछन् । ९५ वर्षीय बफेटले आफू नियमित रूपमा कार्यालय आउने र बोर्डका अध्यक्षको रूपमा कायम रहने बताएका छन् । तर, दैनिक कार्यसञ्चालनबाट उनको बिदाइ हुनु छ दशक लामो एउटा युगको अन्त्य हो । जसले अमेरिकी पुँजीवादलाई नयाँ रूप दियो र संघर्षरत एउटा टेक्सटाइल कम्पनीलाई विशाल वित्तीय साम्राज्यमा रूपान्तरण गर्‍यो । आज बर्कशायर अमेरिकाको नवौं सबैभन्दा मूल्यवान कम्पनी हो । यो देशको दोस्रो ठूलो प्रोपर्टी तथा दायित्व बीमा कम्पनीसमेत हो, जसको स्वामित्वमा करिब ७०० अर्ब डलर बराबरका कारोबारयोग्य सेयर, बन्ड र नगद छन् । दशकौंसम्म बर्कशायरले एसएन्डपी ५०० सूचकांकलाई निरन्तर पछाडि पारेको छ । यस अवधिमा बफेटले गीको र नेशनल इन्डेम्निटीजस्ता बीमा कम्पनीहरू, इस्कर मेटलवर्किङजस्ता उत्पादन कम्पनीहरू, डेरी क्वीनजस्ता खुद्रा ब्रान्ड, ठूला युटिलिटी कम्पनीहरू तथा अमेरिकाका सबैभन्दा ठूला रेलमार्गमध्ये एक बीएनएसएफसमेत अधिग्रहण गरे । उनले सयौं अर्ब डलर बराबरका सेयर खरिद–बिक्री गरे र अमेरिकन एक्सप्रेस, कोका–कोला र एप्पलजस्ता कम्पनीहरूमा दीर्घकालीन लगानीबाट ठूलो नाफा कमाए । वारेन बफेटलाई संसारकै महान् लगानीकर्तामध्ये एक मानिन्छ । उनले बर्कशायरलाई सानो टेक्सटाइल मिलबाट विशाल बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण गरे । सन् १९६२ मा उनले यो मिल प्रतिसेयर ७.६० डलरको दरमा किन्न सुरु गरेका थिए । आज बर्कशायरको एक सेयरको मूल्य ७ लाख ५० हजार डलरभन्दा बढी छ । बफेटको कुल सम्पत्तिमध्ये करिब १५० अर्ब डलर बराबरको हिस्सा बर्कशायरका सेयरमै रहेको छ । उनले पछिल्ला २० वर्षमा मात्र ६० अर्ब डलरभन्दा बढी दान गरिसकेका छन् । उत्तराधिकारीका रूपमा ग्रेग एबेलमाथि सबैको नजर रहने जनाइएको छ । बफेटजस्तो स्टक पिकिङका लागि एबेल परिचित छैनन् । उनले वर्कशायरको ऊर्जा व्यवसायबाट उचाइ हासिल गरेका हुन् । यस्तो अवस्थामा बफेटका प्रमुख लगानी सहायकमध्ये एक टोड कम्ब्स जेपीमोर्गन चेसतर्फ जानु केही लगानीकर्ताका लागि चिन्ताको विषय बनेको छ। एबेलले अब छिट्टै कठिन पूँजी बाँडफाँडसम्बन्धी निर्णय लिनुपर्नेछ । ब्याजदर घट्दै जाँदा बर्कशायरको ३८० अर्ब डलरको नगद भण्डारको अवसर लागत बढ्दै गएको छ । कम्पनीले सम्भवतः बीमा क्षेत्रमा अर्को ठूलो अधिग्रहण गर्न सक्छ, जहाँ बर्कशायरको चब्बमा पहिले नै ८ प्रतिशत हिस्सा रहेको छ । ग्रेग एबेलले बर्कशायरको दिशामा के परिवर्तन ल्याउँछन् भन्ने कुरामा लगानीकर्ताहरूले सूक्ष्म रूपमा नजर राख्नेछन् । तर, कुनै ठूलो उलटफेर हुने अपेक्षा गरिएको छैन ।  एबेलले सन् २०१८ देखि बर्कशायरका सबै गैरबीमा व्यवसायहरूको जिम्मेवारी सम्हाल्दै आएका छन् । बफेट बोर्डका अध्यक्षकै रूपमा रहनेछन् र हरेक दिन कार्यालय आउनेछन् । नयाँ लगानी अवसर पहिचान गर्न र एबेललाई सल्लाह दिन उनी सक्रिय रहनेछन् ।

४ दशक पुरानो अशोक स्टीलको आम्दानी २१ प्रतिशत बढ्यो, बैंक ऋण साढे ३ अर्ब रुपैयाँ

काठमाडौं । अशोक स्टील इन्डस्ट्रिज प्रालिको यस वर्ष आम्दानी बढाएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष अशोक स्टील इन्डस्ट्रिजको आम्दानी २१.२२ प्रतिशत अर्थात् ७६ करोड १० लाख रुपैयाँ बढेको हो । कम्पनीले सन् २०२४ मा ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२५ मा उक्त आम्दानी बढेर ४ अर्ब ३४ करोड ७० लाख रुपैयाँ गरेको हो ।  सन् २०२३ को तुलनामा भने आम्दानी कम हो । सन् २०२३ मा कम्पनीले ६ अर्ब ६६ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२३ को तुलनामा यस वर्ष कम्पनीको आम्दानी ३४.७२ प्रतिशत कम हो । यसैगरी, कम्पनीले सन् २०२१ मा ४ अर्ब ५२ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ६ अर्ब ८८ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, कम्पनीले सन् २०२० मा २ अर्ब २६ करोड १० लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब ३५ करोड ४० लाख रुपैयाँ, सन् २०१८ मा ३ अर्ब ५९ करोड ४० लाख रुपैयाँ, सन् २०१७ मा १ अर्ब ३५ करोड ८० लाख रुपैयाँ र सन् २०१६ मा ९३ करोड ४० लाख रुपैयाँको स्टीलको व्यापार गरेको थियो ।  सन् १९८४ मा स्थापित अशोक स्टीलले स्पञ्ज आइरन, पिग आइरन र स्क्राइब कच्चा पदार्थ प्रयोग गरी एमएस ब्लेड उत्पादन गरिरहेको छ । गढीमाई बारामा उद्योग रहेको यस कम्पनीले वार्षिक १ लाख मेट्रिक टन टीएमटी उत्पादन गर्दै आएको छ ।  चार दशकदेखि नेपाली बजारमा रहेको अशोक स्टीलको अध्यक्ष तथा प्रबन्ध निर्देशक पूनमचन्द अग्रवाल हुन् । उनीसँग स्टील उत्पादन उद्योगमा ३० वर्षभन्दा बढीको अनुभव छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेक तुलसियान हुन् । कम्पनीको देशभर २५० बढी डिलर र ५ सय बढी खुद्रा बिक्रेता छन् ।  कम्पनीले बैंकको ऋण बढाएको छ । सन् २०२५ मा कम्पनीले ३ अर्ब ४३ करोड रुपैयाँ ऋण लिएको छ । जबकि सन् २०२४ कम्पनीले ३ अर्ब ३ करोड रुपैयाँ मात्रै ऋण लिएको थियो । कुल ऋणमा १ अर्ब ७९ करोड २३ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको कम्पनीले जनाएको छ ।

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम

काठमाडौं । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा पर्दै आएको छ । सामाजिक धारणा, स्रोतसाधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले भोग्ने तनाव, एन्जाइटी र डिप्रेसन जस्ता समस्या समयमै पहिचान हुन सकेका छैनन् । यसको असर आमा मात्र होइन, बच्चा र समग्र परिवारमा समेत पर्न थालेको छ । एक ३४ वर्षीया महिलाको दुई पटक गर्भपतन भइसकेको थियो । यही कारण यसपटकको गर्भावस्थामा उहाँ अत्यन्तै मानसिक दबाबमा थिइन् । ‘अहिले त जसरी पनि बच्चा हुनै पर्छ’ भन्ने सोचले उनलाई निरन्तर सताइरहेको थियो । उमेर ढल्किँदै गएको, करिअरमा ढिलाइ हुने डर र गर्भावस्थापछि जागिर के हुन्छ भन्ने चिन्ताले उनमा एन्जाइटी बढायो । अहिले उनी परामर्शपश्चात् सामान्य अवस्थामा फर्किएकी छिन् । साथै अर्की २९ वर्षे महिलाको समस्या पनि उस्तै छ । उनले बच्चा जन्माइसकेपछि डिप्रेसनको सामना गरिन् । आर्थिक अभाव, श्रीमान्को अस्थिर व्यवहार, घरमा पहिले नै अन्य बच्चाको जिम्मेवारी र अन्तरजातीय विवाहका कारण परिवारबाट अस्वीकृतिले उनको मानसिक अवस्था झन् कमजोर बनायो । पोस्टपार्टम अवधिमा उनलाई पटकपटक आत्महत्याका विचार आउन थाले । उपचार नपाएको भए अवस्था अझ खतरनाक हुन सक्थ्यो । अन्ततः उनमा एन्टी–डिप्रेसनको समस्या देखियो । २३ वर्षीया सुत्केरीमा भने फरक केही समस्या देखियो । बच्चाको हेरचाह गर्न मन नलाग्ने, कहिलेकाहीँ बच्चालाई क्षति पुर्‍याउने सोचसमेत आउने गरेको थियो । श्रीमान्ले ‘बच्चा नहेरेको’ भन्दै कुटपिटसमेत गर्थे । वैवाहिक सम्बन्ध नै धरमराउँदै गएको थियो । पोस्टपार्टम डिप्रेसनको अवस्थालाई श्रीमान्ले नबुझ्दा हिंसा थपिएको थियो । अहिले भने उनलाई औषधि र परामर्शले क्रमशः सुधार भइरहेको छ । एक कामकाजी महिलाले त बच्चा जन्मिएपछि जागिर नै छाड्नुपर्‍यो । बच्चा जन्मिएपछि उनी माइतीमै बसिनन् । घर फर्किएपछि सबै काम आफैँ गर्नुपर्ने, त्यसमाथि काम छोड्दाको नयाँ दैनिकीले उनलाई तनाव दिइरहेको थियो । त्यसकै कारण मानसिक अवस्था बिग्रिँदै गइरहेको थियो । उनी पोस्टपार्टम डिप्रेसन मात्र होइन, व्यक्तिगत तथा पारिवारिक डिस्फ्याक्टरबाट पनि गुज्रिराखेकी थिइन् । माथिका चार घटना प्रतिनिधि मात्रै हुन् । यी घटनाले गर्भावस्था तथा सुत्केरी अवस्थामा महिलाले भोग्नुपरेका मानसिक स्वास्थ्यको अवस्था देखाउँछन् । उदाहरणले गर्भावस्था र प्रसूति शारीरिक मात्र विषय होइन यो मातृत्वसँग जोडिएको मानसिक स्वास्थ्यको अनिवार्य हिस्सा हो भन्ने देखाउँछ । आमामा मानसिक स्वास्थ्य समस्या पछिल्लो समय मानसिक स्वास्थ्यसम्बन्धी बहस र पैरवी बढ्दै गए पनि गर्भावस्था र सुत्केरी अवस्थासँग जोडिएको मानसिक स्वास्थ्यबारे भने कमै मात्र चर्चा हुने गरेको छ । यस्तो अवस्थाको मानसिक स्वास्थ्य समस्याले गर्भमा रहेको भ्रूणको वृद्धि–विकासमा असर पार्न सक्छ । बच्चाको शारीरिक, बौद्धिक र भावनात्मक विकासमा समेत नकारात्मक प्रभाव पर्न सक्छ । समयमै पहिचान र उपचार नहुँदा यस्ता समस्याले साइकोसिस, आत्महानि, आत्महत्या तथा अन्य जटिल स्वास्थ्य समस्याको रूप लिन सक्ने विज्ञहरू बताउँछन् । यसले बच्चाको स्याहार–सुसारमा नकारात्मक असर पार्नुका साथै आमा–बच्चाबिचको आत्मीय सम्बन्ध विकासमा कठिनाइ सिर्जना गर्न सक्छ । दाम्पत्य जीवन र पारिवारिक सम्बन्धमा समेत समस्या देखिन सक्छ । धेरैमा गर्भावस्था र सुत्केरी अवस्थाका विभिन्न शारीरिक तथा सामाजिक परिवर्तनका कारण तनाव देखिन सक्छ, जुन केही हदसम्म सामान्य मानिन्छ । यदि यस्तो तनाव लामो समयसम्म निरन्तर रहन्छ र यसले शारीरिक स्वास्थ्य, दैनिक क्रियाकलाप, पारिवारिक तथा दाम्पत्य सम्बन्ध र कार्यस्थलमा समेत नकारात्मक असर पार्न थाल्छ भने त्यो गर्भवती वा सुत्केरी अवस्थासँग सम्बन्धित मानसिक स्वास्थ्य समस्याको संकेत हुनसक्छ । श्रीमान् तथा परिवारबाट आवश्यक साथ–सहयोग नपाउनु, सानै उमेरमा वा किशोरावस्थामै गर्भवती हुनु, अनियोजित वा अनिच्छित गर्भधारण, हाल वा विगतमा हिंसाबाट प्रभावित हुनु, आर्थिक अभाव, व्यक्तिगत वा पारिवारिक दुःखद घटना भोग्नु, गर्भवती हुनुअघि नै मानसिक स्वास्थ्य समस्या हुनु, तथा अघिल्लो गर्भावस्थाको दुःखद वा डरलाग्दो अनुभव (गर्भपतन, नवजात शिशुको स्वास्थ्य समस्या, बच्चाको मृत्यु वा अन्य जटिलता) जस्ता कारणले गर्भवती तथा सुत्केरी अवस्थामा मानसिक समस्या निम्त्याउन सक्छन् । परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको मानसिक स्वास्थ्य ओपिडीमा कार्यरत मनोचिकित्सक डा प्रतिष्ठा घिमिरेका अनुसार गर्भवती तथा सुत्केरी धेरै महिलामा एन्जाइटी र डिप्रेसनको समस्या देखिने गरेको छ । अस्पतालले २०८१ साल असोज २० गतेदेखि गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपिडी सेवा सुरु गरेको छ । यो सेवा सरकारीस्तरमा यो अस्पतालमा मात्र उपलब्ध छ । ओपिडीमा दैनिक ६ देखि ७ जना परामर्शका लागि आउने गरेका छन् भने हरेक दिन १५ देखि २० जना सुत्केरी भइसकेका आमालाई मनोसामाजिक परामर्श दिने गरिएको छ । सेवाग्राहीसँग दैनिक कुरा गर्ने नर्स, मिडवाइफलाई यस्ता लक्षणबारे तालिम दिने, तनाव व्यवस्थापनका तालिम, रेफरल केशलाई काउन्सिलिङ र उपचार गर्ने, सघन कक्षमा बच्चा भएका आमाहरूको स्क्रिनिङ गर्ने काम अस्पतालले गर्दै आएको छ । गर्भावस्थामा तनाव र एन्जाइटीका केस देखिन्छन् भने डेलिभरीपछि एन्जाइटी र डिप्रेसनका केस ओपिडीमा बढी आउने गरेका छन् । डर लाग्ने, मन आत्तिने, छटपटी हुने, भविष्यप्रति नकारात्मक सोच आउने, बच्चालाई पेटमा केही पो भएको छ भन्ने डर लाग्ने, निद्रा नलाग्ने, जिउ भारी भएजस्तो हुने लक्षण लिएर आउने धेरै हुने डा घिमिरेका बताउँछिन् । मनोविद्हरूका अनुसार ‘सो–कल्ड बेस्ट आमा’ बन्नै पर्छ भन्ने सामाजिक दबाब पनि महिलाले थेग्न नसक्दा मानसिक समस्या बढिरहेको छ । कतिपय अवस्थामा आत्महत्या गर्ने सोचसमेत आउने गरेको पाइएको छ । “धेरै महिलाले सहयोग माग्नै चाहँदैनन् । गाह्रो भए पनि भन्न सक्दैनन् । मानसिक समस्या व्यक्त गर्दा आफू खराब आमा ठहरिने हो कि, कर्तव्य पूरा गर्न नसकेको दोष लाग्ने हो कि भन्ने डरले उनीहरू अझ बढी तनावमा पर्ने गरेका छन्”, डा घिमिरे बताउँछिन् । एन्जाइटीदेखि आत्महत्यासम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभर करिब १० प्रतिशत गर्भवती र सुत्केरी भइसकेका १३ प्रतिशत महिला कुनै न कुनै मानसिक समस्याबाट प्रभावित हुन्छन् । विकासोन्मुख देशहरूमा यो अवस्था अझ गम्भीर छ । त्यहाँ गर्भावस्थामा १५.६ प्रतिशत र सुत्केरीपछिको अवधिमा १९.८ प्रतिशत महिलामा मानसिक समस्या देखिन्छ । गम्भीर अवस्थामा आमाको पीडा अत्यन्तै बढ्न सक्ने भएकाले आत्महत्यासम्म गर्ने अवस्था पनि आउन सक्छ । यसका साथै, प्रभावित आमाले आफ्नो दैनिक भूमिका र जिम्मेवारी ठिकसँग निर्वाह गर्न सक्दैनन् । परिणामस्वरूप, बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पर्न सक्छ । तर गर्भावस्था तथा मातृत्वको अवस्थामा देखिने मानसिक समस्याको उपचार सम्भव छ । नेपालमा गर्भवती तथा सुत्केरी अवस्थामा हुने मानसिक समस्याबाट पीडित हुने दर उच्च देखिन्छ । डब्लुएचओकै तथ्याङ्कअनुसार गर्भावस्थामा १५.६ प्रतिशत र सुत्केरीपछिको अवधिमा १९.८ प्रतिशत जसका कारण प्रजनन उमेरका महिलामध्ये आमाको आत्महत्या मृत्युको प्रमुख कारणमध्ये एक बनेको छ । यसै गरी जानीजानी आत्म–हानि (इन्टेन्सनल सेल्फ हार्म) आमासम्बन्धी कुल मृत्युको करिब ६ प्रतिशत हिस्सा ओगटेको छ । समस्या कसरी थाहा पाउने ? यस विषयमा चर्चा र बहस पनि कम हुने गरेकाले नै जटिलता थपिएपछि मात्र महिलाहरू अस्पतालसम्म आइपुग्छन् । सुत्केरीपछि ३ महिनादेखि एक वर्षसम्म महिलाहरूमा मानसिक समस्या देखिन सक्छन् । लगनखेलस्थित मानसिक अस्पतालकी मानसिक रोग विशेषज्ञ डा तृष्णा विष्ट ९९ प्रतिशत महिला ‘पोस्टपार्टम ब्लुज’ सँग गुज्रिने बताउँछिन् । त्यो भनेको कहिले खुसी त कहिले दुःखी महसुस हुने, बिसन्चो, चिडचिडापन, ‘मुड स्वीङ’ भइराख्ने लक्षण हुन् । पोस्टपार्टम डिप्रेसन देखिन भने मध्यमदेखि जटिलताको अवस्थाबाट गुज्रनुपर्ने उनको भनाइ छ । 'बच्चा र आफूलाई हानी पुर्‍याउन मन लाग्ने, अनौठो स्वभाव देखाउने, मनमा कुरा खेलाएर बस्ने, अनौठो खालको आभास हुने जटिल खालको लक्षण हुन सक्छन्,' डा विष्ट भन्छिन् । दुई हप्ताभन्दा बढी समयदेखि लक्षण महसुस भइरहेको छ भने सकेसम्म छिटो स्वास्थ्यकर्मीसँग भेट्नुपर्छ । धेरै चिन्तित हुने र सोचिरहने, पहिले रमाइलो लाग्ने कुरामा चाख नलाग्ने, निराशा, बेसहारा र मूल्यहीन महसुस हुने, डर लाग्ने, आत्तिने र छटपटी हुने यसका लक्षण हुन् । निद्रामा गडबडी आउने, खान मन नलाग्ने, जीवनमा आउने सामान्य तनावको पनि सामना गर्न नसक्ने, कुनै पनि प्रतिकुल अवस्थाका लागि आफैँलाई दोषी देख्ने, रुन मन लाग्ने वा रोइरहने, निरन्तर थकित महसुस हुने, बच्चालाई वा आफैँलाई हानि गर्ने सोच आउने, घरका र कार्यस्थलका नियमित क्रियाकलाप गर्न गाह्रो हुने भएमा स्वास्थ्यकर्मीलाई भेटिहाल्नुपर्ने उनको सुझाव छ । उदासीनता तथा एन्जाइटीको समस्या गर्भवती तथा सुत्केरी अवस्थामा धेरै महिलामा देखिन्छ । समयमै पहिचान भएमा यस्ता समस्याको व्यवस्थापन र उपचार गर्न सकिन्छ । समयमै व्यवस्थापन गरिएमा यी समस्याले आमा र बच्चाको दुवैको स्वास्थ्य र वृद्धि विकासमा हानि पुर्‍याउन सक्छन् । मानसिक तथा शारीरिक परिवर्तनले स्वाभाविक रूपमै महिलालाई पहिलेभन्दा गाह्रो बनाइराखेको हुन्छ । बच्चापछि मानसिक समस्या देखिनुमा त्यसअघि उसको स्वभाव कस्तो थियो भन्नेमा पनि भर पर्ने बताउँछिन् डा विष्ट । उनी भन्छिन् “आत्तिइराख्ने, तनाव लिइराख्ने, समाधान गर्न नसक्ने खालको स्वभाव थियो कि ? उसको आचरण र स्वभाव कस्तो थियो भन्नेमा पनि भर पर्छ ।” सामाजिक, आर्थिक अवस्थासँगै श्रीमान्–श्रीमतीको सम्बन्धले पनि मानसिक स्वास्थ्यमा देखिन सक्ने सम्भावनालाई बढवा दिन्छ । श्रीमान् र परिवारको साथ महिलालाई गर्भावस्थाका साथै सुत्केरीमा श्रीमान् मात्र होइन घरका सबै सदस्यको सहयोग चाहिन्छ । शारीरिक रूपमा महिलाले नै सबै जिम्मेवारी लिनुपर्ने भए पनि अरू कुरामा परिवारका सदस्यले सहयोग गर्नुपर्ने जानकार बताउँछन् । डा. घिमिरे भन्छिन्, 'अप्ठ्यारो भएको बेला कुरा बुझिदिने र सुनिदिनुपर्छ । नयाँ जिम्मेवारी थपिँदा आमाको दैनिकी फेरिएको हुन्छ । आमालाई सुत्न र आराम गर्न दिनुपर्छ । बच्चासँगै आमाको पनि ख्याल राख्नुपर्छ । साथै गर्भवती तथा सुत्केरी महिलाले पनि सहयोग माग्न सिक्नुपर्छ ।' नियमित तालिकामा बाँधिनुपर्दा सकस महसुस हुनसक्ने भएकाले आफूलाई अरू क्रियाकलापमा पनि लगाउनुपर्ने उनी बताउँछिन् । 'बाहिर हिँडडुल गर्ने, पोसिला खानेकुरा खाने, ध्यान र योग गर्ने गर्नुपर्छ । हर्मोन परिवर्तन भइराखेको हुन्छ । कति कुरा सामान्य लक्षण हुन सक्छन् त्यो म आफैले सामना गर्न सक्छु भनेर अठोट लिनुपर्छ । आफूमा आएको परिवर्तनलाई कसरी आत्मसाथ गर्न सक्नुपर्छ भनेर बुझ्नुपर्ने हुन्छ,' उनको भनाइ छ । विज्ञका अनुसार परिवारका सदस्य र विशेष गरी श्रीमान्को साथ भएमा महिलालाई त्यस्ता समस्याबाट जुध्न सजिलो हुन्छ । कामकाजी महिलाले विशेष गरी धेरै कुरामा सम्झौता गर्नुपरेको हुन्छ । पहिले संयुक्त परिवारमा बस्दा बा/आमाले बच्चा हेरिदिन्थे, जसले गर्दा दम्पतीलाई सहज बनाउँथ्यो । डा विष्ट भन्छिन्, 'हामीले महिलामा मात्र बच्चापछि मानसिक समस्याबाट गुज्रिनुपरेको भन्छौँ तर पुरुषहरूले पनि भोगिरहेका हुन्छन् । दुवैको निद्रा डिस्टर्ब हुन्छ, अनि खानपिन र सम्पूर्ण दैनिकीमा नै परिवर्तन आएको हुन्छ ।' अभिभावकीय भूमिकामा महिलाले मात्र सम्झौता गरेका हुँदैनन्, पुरुषले पनि त्यो जिम्मेवारी निभाइरहेका हुन्छन् । महिलाले साथ नदिएको खण्डमा त्यहाँ पुरुष पनि समस्यामा पर्न सक्छन् । यो अवस्थामा दुवैले एकअर्कालाई साथ दिनुपर्छ । 'यथार्थपरक लक्ष्य राख्नुस्,' डा तृष्णा विष्ट सुझाउँछिन्, 'जीवनमा सबै कुरा प्राप्त हुन्छ भन्ने पनि हुँदैन । केही न केही सम्झौता गर्नुपर्ने हुन्छ । आफूलाई पनि समय दिने प्रयास गर्नुस् । जुन क्षण छ त्यसमा रमाउन सिक्नुस् । मलाई यो समस्या भयो भनेर भन्न सिक्नुस् ।' पहिला त गर्भावस्थामा मुख्य आकर्षण महिला हुन्छिन् । सबैको सोधीखोजीको विषय हुन्छ । बच्चा भएपछि सबै ध्यान बच्चामै जान्छ, जसले गर्दा आमालाई एक्लो महसुस हुन सक्छ । यस्तो समस्या पनि धेरै महिलामा देखिएको छ । डा विष्ट भन्छिन्, 'तपाईँ मानसिक रूपमा तयार नहुँदासम्म बच्चा नजन्माउनुस् । समाजको प्रभाव र दबाबमा नआउनुस् ।' डा घिमिरेका अनुसार गर्भावस्था र त्यसपछिका दिनमा मानसिक स्वास्थ्य समस्या देखिन सक्छ भन्ने विषयमा अझै पर्याप्त जनचेतना छैन । 'मानसिक स्वास्थ्य आफैँमा प्राथमिकतामा पर्दैन, त्यसमाथि गर्भावस्था र सुत्केरी अवस्थाको मानसिक स्वास्थ्यको त झनै बेवास्ता हुन्छ । यसलाई सामान्य ठानेर गम्भीर रूपमा नलिँदा दुर्घटना हुनसक्छ,' उनी भन्छिन् । डा घिमिरे तनाव व्यवस्थापनका तरिका, खानपानमा ध्यान दिने, सन्तुलित भोजन र पोसिलो खाने, शारीरिक रूपमा सक्रिय हुने, आफ्ना कुरा विश्वासिलो व्यक्तिलाई सेयर गर्ने, सोसलाइज हुने, एकोहोरो नहुने, आइसोलेटेड नहुने गर्दा यी समस्या नआउन सक्ने बताउँछिन् । स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई बढी प्राथमिकता दिने परिपाटी छ । मानसिक स्वास्थ्यप्रति समाजमा रहेको नकारात्मक धारणा तथा मानवीय र भौतिक स्रोतसाधनको अभावका कारण गर्भवती तथा सुत्केरी महिलामा देखिने मानसिक स्वास्थ्य समस्या लामो समयदेखि ओझेलमा पर्दै आएको देखिन्छ । कसरी समाधान गर्न सकिन्छ ? बच्चा हेर्न र घरका कामकाजमा श्रीमान् तथा परिवारका सदस्यको सहयोग लिनुहोस् । पर्याप्त आराम र निन्द्रा सुनिश्चित गर्नुहोस् । नियमित रूपमा आफ्नो सरसफाइ गर्नुहोस्, पोसिलो र सन्तुलित खानुहोस् । मिल्ने व्यक्ति र अरू गर्भवती, सुत्केरीसँग आफ्ना भावना व्यक्त गर्नुहोस् । आशावादी रहनुहोस् । विगतका खुसीका क्षणका सम्झना गर्दै हौसला लिनुहोस् । मोबाइल, टिभी, कम्प्युटरलगायत, सामाजिक सञ्जालमा धेरै समय नबिताउनुहोस् । गलत सूचनामा विश्वास नगर्नुहोस् र आफूलाई चाहिने जानकारी आधिकारिक स्रोतबाट लिनुहोस् । रासस

सूर्य नेपाल सेन्ट्रल ओपन : दोस्रो दिन एमेच्योर राहुल शीर्षस्थानमा कायमै

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्मा शीर्षस्थानमा कायमै रहन सफल भएका छन् ।‌ गोकर्ण गल्फ क्लबमा राहुलले ५-अन्डर ६७ को स्कोर बनाए । समग्रमा ११-अन्डर १ सय ३३ को स्कोरमा राहुलले प्रोफेसनल खेलाडी भुवन कुमार रोक्कालाई ७ स्ट्रोकले पछि पारे । भुवन समग्रमा ४-अन्डर १ सय ४० को नतिजामा दोस्रो स्थानमा उक्लिए । उनले आज ५-अन्डर ६७ स्कोर गरे । मंगलबार इभन-पार ७२ खेलेका जयराम श्रेष्ठ समग्रमा १-अन्डर १ सय ४३ को स्कोरमा तेस्रो स्थानमा तल झरे । समग्रमा १-ओभर १ सय ४५ को स्कोर बनाएका भुवन नगरकोटी चौथो स्थानमा उक्लिए । उनले दोस्रो दिनको खेल इभन-पार ७२ मा सकाए । समग्रमा २-ओभर १ सय ४६ को स्कोर बनाएका नेपाल नम्बर १ प्रो निरज तामाङ (६९), शुक्र बहादुर राई (७१) , दिनेश प्रजापति (७३) तथा एमेच्योर रुबेन थापा (७०) ले संयुक्त रूपमा पाँचौं स्थान बाँडे । यस्तै ४-ओभर १ सय ४८ स्कोरमा रबि खड्का (७१) , प्रदीप कुमार लामा (७५) तथा एमेच्योर फुन्सो नोर्बु लामा (७५) संयुक्तरुपमा आठौं स्थानमा रहे । उपाधि रक्षा गर्ने दाउमा रहेका राहुलले फ्रन्ट नाइनमा ३-अन्डर ३३ खेले । उनले दोस्रो, तेस्रो, पाँचौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे भने चौथो र छैटौं होलमा बोगी खेपे । यसपछि १०औं, ११औं, १३औं र १४औं होलमा पनि एक-एक सट बचाए । तर १५औं र १६औं होलमा लगातार दुई बोगी प्रहार गर्न पुगे। यो सँगै उनले ब्याक नाइन २-अन्डर ३४ मा सकाए । भुवन रोक्काले आज ५-अन्डरको स्कोर दर्ज गर्ने क्रममा फ्रन्ट नाइन २-अन्डर ३४ खेले । पहिलो, तेस्रो, पाँचौं र आठौं होलमा चार बर्डी प्रहार गरे। छैटौं र सातौं होलमा एक-एक सट खेर फाले । यसपछि बोगी रहित ब्याक नाइन खेल्ने क्रममा १२औं, १६औं र १८औं होलमा बर्डी प्रहार गरे  उनले ब्याक नाइन ३-अन्डर ३३ मा सकाए । जयरामले फ्रन्ट नाइन १-अन्डर ३५ र ब्याक नाइन १-ओभर ३७ मा पुरा गरे। तेस्रो देखि पाँचौं होलमा लगातार तीन बर्डी प्रहार गरे । तर आठौं होलमा डबल बोगी खेपे । यसपछि १०औं, १७औं र १८औं होलमा बर्डी प्रहार गरे पनि ११औं र १६औ होलमा बोगी र फेरि १५औं होलमा डबल बोगीको समाना गरे । ११-ओभर १ सय ५५ स्कोर गरेका १८ प्रोफेसनल र ६ एमेच्योर गरी २४ खेलाडीले कट बनाएका छन् । प्रोतर्फ सूर्य प्रसाद शर्मा, तोरण विक्रम शाही, दीपक मगर, किसन कालीराज सुनार, धन बहादुर थापा, टंक बहादुर कार्की, कुमार कामी, रमेश अधिकारी र रामे मगरले कट बनाए । एमेच्योरतर्फ साम डोबलार्ड, टासी छिरिङ र बलराम पौडेलले पनि कट बनाए । ११-ओभर १ सय ५५ स्कोर बनाए पनि काउन्ट ब्याकमा एमेच्योर वाङ्चेन ढोनमडुपसँगै भीमसेन चौलागाई, सञ्जय लामा र सबिन सापकोटाले कट बनाउन सकेनन् । यस प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख २५ हजार रुपैयाँ, तेस्रो हुनेले १ लाख रुपैयाँ, चौथोले ८२ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले ७२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । कट बनाउने शीर्ष १८ खेलाडीले नगद हात पार्नेछन् ।

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

चन्द्रपुर । मंगलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।   जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो । बाटोबाट बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएको थियो । यसअघि साना सवारीसाधन चन्द्रनिगाहपुर–गौर वैकल्पिक बाटो प्रयोग गरेका थिए ।