विकासन्युज

स्टार्टअप ‘जिरो टु हिरो’ अन्तर्गत चार आइडिया छनोट

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पोको सन्दर्भमा आयोजित थिमेटिक सेसनमा प्रस्तुत गरिएका आइडियामध्ये चार उत्कृष्ट आइडिया छनोट भएका छन् । संघले सञ्चालन गरेको बुट क्याम्पबाट छनोट भएका अन्तिम १५ मध्ये १३ आइडियाबाट निर्णायक समितिले चारवटालाई उत्कृष्ट ठहर गरेको हो । छनोटमा परेका उनीहरूले अब आइडिया स्टुडियो सिजन–९ मा सिधा प्रवेश पाएका छन् । संघले आह्वान गरेपछि कोशी प्रदेशका विभिन्न १० जिल्लाबाट ५२ आइडिया दर्ता भएका थिए । तीमध्ये क्याम्पमा सहभागी गराई अन्तिम १५ आइडिया छनोट गरिएको संघले जनाएको छ । विराट एक्स्पो स्थलमा दैनिक रूपमा आयोजना भइरहेको थिमेटिक सेसनका क्रममा आइडिया पिच गरेका विष्णु पोखरेल, जीवन कुशवाहा, भिजन प्रताप खत्री र आयुष आचार्यका आइडियाहरू उत्कृष्ट ठहरिएका हुन् । उनीहरूको आइडियालाई उद्यमशीलता विकाससँगै व्यवसायमा रूपान्तरण गर्न संघले समन्वयकारी भूमिका निर्वाह गर्ने संघका अध्यक्ष अनुपम राठीले बताएका छन् ।

महालक्ष्मी विकास बैंकले ल्यायो परिमार्जित सुनचाँदी धितो कर्जा योजना

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले आकर्षक सुविधासहित परिमार्जित सुनचाँदी धितो कर्जा योजना सार्वजनिक गरेको छ । नयाँ वर्षलाई लक्षित गर्दै तथा नेपाली बजारमा सुन तथा चाँदीप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गरी बैंकले प्रतिस्पर्धी ब्याजदरमा सुनचाँदी धितो कर्जा उपलब्ध गराउने जनाएको हो । बैंकका अनुसार कम ब्याजदर, छरितो प्रक्रिया र सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिबद्धतासहित यो कर्जा सुविधा प्रदान गरिनेछ । यस अन्तर्गत ग्राहकहरूले सुन वा चाँदी धितो राखी कर्जा उपभोग गर्न सक्नेछन् भने कुनै पनि आधिकारिक विक्रेताबाट सुनचाँदी खरिद गर्नसमेत कर्जा सुविधा उपलब्ध हुनेछ । सो योजनाअन्तर्गत कर्जाको अधिकतम सीमा ५० लाख रुपैयाँ तोकिएको छ । ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले हाल यो सेवा न्युरोड (काठमाडौं), न्युरोड (पोखरा), महाराजगञ्ज, हेटौँडा र भैरहवा शाखामार्फत सञ्चालन गरिने बैंकले जनाएको छ । यद्यपि, सुनचाँदी धितो कर्जाको आवेदन भने बैंकका जुनसुकै शाखा कार्यालयमार्फत पेश गर्न सकिनेछ । ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले आगामी दिनमा पनि ग्राहकहितलाई केन्द्रमा राखी विभिन्न अवसर र चाडपर्वमा नवीनतम् सेवा तथा सुविधा ल्याउँदै जाने जनाएको छ । 'सबल बैंक, सफल सहकार्य' भन्ने नाराका साथ विगत ३१ वर्षदेखि निरन्तर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका देशभर करिब ८ लाखभन्दा बढी ग्राहक रहेका छन् ।

पैचो पसलले मनायो ११औँ वार्षिकोत्सव, कृषक सम्मानित

गुल्मी । ‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल नाराका साथ ग्रामीण कृषि उपजको बिक्री–वितरण गर्दै आएको पैचो पसलले गाउँमै ११औँ वार्षिकोत्सव मनाएको छ । गाउँको अर्थतन्त्रलाई कृषि उत्पादनमार्फत चलायमान बनाउँदै आएको पैचोले गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ स्थित बलेटक्सारमा रहेको केन्द्रीय कार्यालयमा कृषकहरूसँगै वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले मानव सभ्यताको विकासका लागि कृषि उत्पादन अपरिहार्य रहेको बताए । उनले भने, 'विश्वमा जति नै प्रविधि विकास भए पनि मानिस बाँच्नका लागि कृषिमै निर्भर हुनुपर्छ । कृषि सम्मानित पेसाका रूपमा विकास गर्न सके मात्र देशले समृद्धि हासिल गर्न सक्छ ।' पछिल्लो समय अनुदान लिनेले काम नगर्ने र रातदिन मेहनत गर्ने किसानले अनुदान नपाउने प्रवृत्तिका कारण कृषि क्षेत्र अपेक्षित रूपमा फस्टाउन नसकेको उनले उल्लेख गरे । यस्तै, छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवालीले कृषि क्षेत्रमा निरन्तर अनुदान दिए मात्र कृषि क्षेत्र विस्तार हुने बताइन् । उनले आफ्नो पालिकाले २८ वटा कृषि उपजलाई उत्पादनको आधारमा अनुदान दिँदै आएको जानकारी दिँदै कृषि विकासका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताइन् । साथै, नेपालको पहाडी क्षेत्रलाई फलफूल तथा कृषिका लागि अर्गानिक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिइन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाकी उपाध्यक्ष मनी पन्थीले कृषि कर्म गर्ने किसानलाई अगाडि बढाउन सके मात्र देश समृद्ध हुने बताइन् । पछिल्लो समय युवा पुस्ता विदेशिए पनि घरमै रहेका महिलाहरूले कृषि गरेर राम्रो आम्दानी गरिरहेको उनले उल्लेख गरिन् । पैचो पसलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले नेपालमा कृषिमा अपार सम्भावना रहेको कुरा पैचोले प्रमाणित गरेको बताए । गुल्मी जस्तो पहाडी भूभागमा ११ वर्षअघि कम्पनी स्थापना गरेर काम गर्नु चुनौतीपूर्ण भए पनि अहिले गाउँसम्म पुगेको सडक सञ्जालले काम सहज हुँदै गएको उनले बताए । कृषिमा संलग्नलाई प्रोत्साहन गर्ने नीति बने विदेशमा रहेको युवा जनशक्ति नेपाल फर्किने वातावरण बन्ने उनको भनाइ थियो । पैचो पसलका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले पैचोले कृषिमा गरेको लगानीले समाज परिवर्तनका लागि नयाँ आयाम थपिएको बताए । गाउँमा कम्पनी स्थापना हुँदा रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्रमा पनि ठूलो योगदान पुगेको उनको भनाइ थियो । कृषिमा चुनौती भए पनि अर्थतन्त्र चलायमान बनाउन यसले ठूलो सहयोग पुर्‍याउने उनले बताए । आगामी दिनमा किसानसँग जोडिएर लगानी र प्रविधि विस्तारमा पैचोले अझ सक्रिय रूपमा काम गर्ने उनको भनाइ थियो । वार्षिकोत्सवका अवसरमा पैचो पसलले उत्कृष्ट किसान समूहका रूपमा सैयापोखरी किसान समूह, ढाव किसान समूह, जिमी किसान समूह, अस्लेवा किसान समूह र मुसिडाँडा कृषक समूहलाई सम्मान गरेको थियो । यस्तै, सर्वोत्कृष्ट कृषकका रूपमा इमान सिंह राना सम्मानित भएका थिए । सम्मान कार्यक्रममा सहभागी कृषकहरू उत्साहित देखिएका थिए ।

पाँच महिनामा ३७ हजार बीमितले त्यागे बीमा पोलिसी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना अर्थात मंसिर मसान्तसम्ममा ३७ हजार १४९ जना बीमितले पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार पाँच महिनामा ३७ हजार १४९ बीमालेख समर्पणबापत् कुल ५ अर्ब ६९ करोड २१ लाख रुपैयाँ रकम बीमा कम्पनीहरूबाट बाहिरिएको छ । चालु आवको पाँच महिनामा भएको पोलिसी सरेण्डर गत आवको सोही अवधिको तुलनामा १७.५६ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा बीमा कम्पनीहरूबाट ४५ हजार ६० जना बीमितले पोलिसी त्यागेका थिए । सो संख्या बराबरको बीमितले पोलिसी त्याग्दा गत आवमा ६ अर्ब ७२ करोड १० लाख रुपैयाँ रकम बाहिरिएको छ । गत आवको तुलनामा चालु आवको पाँच महिनामा बीमितले तोकिएको समयमा पोलिसी नविकरण र किस्ता नतिर्ने बीमितको संख्या भने बढेको छ । प्राधिकरणको तथ्यांकअनुसार चालु आवको पाँच महिनामा १२ लाख २० हजार ४१५ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३६ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ । गत आवको यही अवधिमा १२ लाख १४ हजार पाँच सय बीमालेख व्यतित भएका थिए । गत आवमा व्यतित बीमालेख रकम ३५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ रहेको छ । बीमा पोलिसी खरिद गर्ने बीमितले तोकिएको समयअगाडि नै बीमालेख त्याग्नुलाई  पोलिसी सरेण्डर भनिन्छ । बीमितलाई ऐनलाई बीमालेख सरेण्डर गर्न पाउने अधिकार दिएको छ । जीवन बीमालेखसम्बन्धी निर्देशिका २०७८ अनुसार बीमितले बीमा प्रारम्भ भएको तीन वर्षसम्म निरन्तर बीमा शुल्क तिरेसकेपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ ।

कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट

काठमाडौं । निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेदवार रही कानुनबमोजिम खर्च विवरण पेस र सार्वजनिक गर्ने उम्मेदवार कालोसूचीमा नरहने स्पष्ट गरेको छ । खर्चको विवरण बुझाउने उम्मेवारको पनि कालोसूचीमा नाम कायम रहेको भनी प्रकाशित समाचारबारे बुधबार आयोगले स्पष्ट गरेको हो ।      विसं २०७९ को प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार भई प्रचलित निर्वचन कानुनअनुसार निर्वचन खर्चको विवरण सार्वजनिक नगर्नेका हकमा जरिवानाको कारबाही गरी पुनः त्यस्तो निर्वचन खर्चको विवरण सार्वजनिक गर्न आदेश दिइएको आयोगले जनाएको छ ।      आयोगले हाल कतिपय सञ्चारमाध्यममा आएकोजस्तो कतिपय उम्मेदवारहरू कालोसूचीमा रहेको भन्ने समाचारमा सत्यता नभएको पनि स्पष्ट पारेको छ । आयोगले विवरण समयमा नबुझाउने र विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना तोकिएको र तोकिएको जरिवाना सम्बन्धित निर्वाचन कार्यालयमा बुझाएका वा अदालतबाट सम्बन्धित उम्मेदवारका विषयमा आदेश भएको अवस्थाका उम्मेदवार पुनः उम्मेदवार हुनबाट वञ्चित नहुने जनाएको छ ।      आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले तोकिएको खर्च सीमाभित्र तोकिएको समयमा आफ्नो निर्वाचनको खर्च विवरण बुझाएका तर त्यसलाई सार्वजनिक नगरेका उम्मेदवारले जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको जनाए । उनले जरिवाना तिरेपछि सम्बन्धित उम्मेदवार कालोसूचीबाट स्वतः हट्ने र पुनः उम्मेदवार बन्न बाधा नहुने बताए ।  

२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, ५ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० अंकले बढेर २६३३ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १६३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ग्रीन भेन्चरको भएको छ । ग्रीन भेन्चरको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै बन्दिपुर केबलकारको १५ करोड, श्रीनगर एग्रीटेकको १३ करोड, हिमालयन रिइन्स्योरेन्सको १२ करोड ९१ लाख र शिवम् सिमेन्टको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   एसवाई प्यानल र न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।  बुधबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १.६१ प्रतिशतले बढेको छ ।    

भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नविकरण

काठमाडौं । भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आईईएक्स) को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आईईएक्सको डे–अहेड र रियल–टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (आरटिसी) आयात गर्न अनुमति नविकरण गरेको हो । यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो । नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० मेगावाट टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट विद्युत प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो। यो अनुमति १७ पुस ९८ गतेदेखि १७ चैत ९९ गतेसम्म (जनवरी–मार्च २०२६) लागू हुनेछ । १८ चैतदेखि १५ भदौ ९९ (अप्रिल–अगस्ट २०२६) सम्मको नविकरण पछि गरिने प्राधिकरणले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मंगलबार विद्युत मन्त्रालयका अधिकारीलाई टेलिफोनमार्फत आरटिसी मोडमा विद्युत आयात गर्न अनुमति नविकरण गरिदिन आग्रह गरेका थिए । उनले आरटिसी मोडमा विद्युत आयातको अनुमति पाएकाले हिउँदको विद्युत माग र आपूर्तिको व्यवस्थापन गर्न सहज हुने बताए ।

सामुदायिक लघुवित्तले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । पुस १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको जनाएको छ । गत वर्ष पनि लघुवित्तले लाभांश वितरण गरेको थिएन ।