पाल्पा सिमेन्टले पुस २५ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पाका स्थानीय बासिन्दाहरूलाई जारी पुँजीको ५ प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता सेयर बिक्री गरिनेछ । बाँकी सर्वसाधारण लगानीकर्तालाई छुट्याएको १५ प्रतिशत अर्थात् ५६ लाख २५ हजार कित्ता सेयरको १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा माघ २५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले उद्योगसँगै नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार, गैँडाकोट, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी, बेलातारी, सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
निजी क्षेत्र अर्थतन्त्रको इन्जिन हो, सुरक्षित नभएसम्म मुलुक अघि बढ्दैन
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको खस्केको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य-सामूहिक पहल’ विषयक कार्यक्रममा अर्थमन्त्री खनालले जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले पनि ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्र थप मनोबलका साथ उठ्न आवश्यक रहेको बताए । उनले अहिले आर्थिक सूचक सकारात्मक दिशामा रहे पनि लगानी बढ्न नसकेको स्वीकार गरे । ‘चालु खाता बचतमा छ । शोधनान्तर बचतमा छ । बैंक वित्तीय संस्थामा पर्याप्त तरलता छ । ब्याजदर र मुद्रास्फीति घटेको छ । तर पनि कर्जा लगानी बढ्न सकेन,’ खनालले भने । निजी क्षेत्रको सम्पत्ति राज्यको पनि सम्पत्ति रहेको उल्लेख गर्दै उनले यसको सुरक्षा सबैको दायित्व रहेको प्रष्ट पारे । ‘निजी क्षेत्र अर्थतन्त्रको इन्जिन हो । यसलाई आफ्नो ढङ्गले काम गर्न दिनुपर्छ । निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति राज्यको पनि सम्पत्ति हो,’ उनले भने, ‘मुलुकभित्र जुनसुकै क्षेत्रबाट लगानी हुनु भनेको राज्यका लागि भएको लगानी हो । त्यसमा क्षति हुनु भनेको मुलुककै सम्पत्ति माथिको क्षति हो भनेर राजनीतिक दलका कार्यकर्ताले पनि बुझ्न जरुरी छ ।’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले आर्थिक समृद्धिका लागि शान्ति र स्थायित्व पूर्वशर्त हुने बताए । ‘समृद्धि हासिल गर्न शान्ति चाहियो । त्यसका लागि स्थिर र बलियो सरकार चाहिन्छ । चुनाव पछि एउटै दलले स्थिर सरकार बनाउन सकेन भने पनि अरु दल मिलेर स्थायित्वसहितको वातावरण आवश्यक छ,’ उनले भने । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले राज्य र सरकार अन्तर्गतका निकायलाई स्वतन्त्र एवं व्यावसायिक रूपमा अघि बढाएको स्पष्ट पार्दै निजीक्षेत्रमा कुनै हस्तक्षेप नगरेको बताए । मन्त्री खरेलले निजी क्षेत्रलाई सुरक्षित राख्नु अपरिहार्य रहेको उल्लेख गरे । निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता नबनेसम्म मुलुक अघि बढ्न नसक्ने उनले धारणा व्यक्त गरे । ‘समाजवाद उन्मुख राज्य व्यवस्था अघि बढाउन निजी क्षेत्रलाई नजरअन्दाज गर्न सकिँदैन । उद्योग, व्यापार र व्यवसायका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ,’ मन्त्री खरेलले भने । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुनिश्चित भइसकेको भन्दै निर्वाचन हुनेमा कुनै आशङ्का नरहेको स्पष्ट पारे । सरकारले दृढताका साथ निर्वाचन प्रक्रिया अघि बढाइरहेको उनको भनाइ छ ।
पेट्रोल र डिजेलको मूल्य घट्यो, अब कुन ठाउँमा कति पर्छ ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर ४.१९ रुपैयाँ, डिजेलमा ५.६ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ८.१५ रुपैयाँ घटाएको छ । एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १००.३५ रुपैयाँले बढेर आएको छ । सेहीअनुसार निगम सञ्चालक समितिले खुद्रा बिक्री मूल्य समायोजन गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर ५ रुपैयाँले घटाइएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ र अन्तरराष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ । नयाँ मूल्य बिहीबार बिहानदेखि लागू हुनेछ । एलपी ग्यासको खरिद मूल्य बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६.५० रुपैयाँ, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम गरिएको छ । यस्तै, डिजेल/मट्टितेलको मूल्य क्रमशः १३४.५० रुपैयाँ, १३६ रुपैयाँ र १३७ रुपैयाँ प्रतिलिटर तोकिएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछ । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल समेटिएका छन् ।
सन् २०२५ मा १ लाख ६१ हजार विदेशी पर्यटक मुस्ताङमा, १८ प्रतिशतभन्दा बढीले वृद्धि
काठमाडौं । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । मुस्ताङमा सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८.७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको जनाइएको छ । उक्त वर्षको जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म यहाँ कुल १ लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए । उनका अनुसार सन् २०२४ मा १ लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । गत वर्ष मुस्ताङ आउने पर्यटकमध्ये सार्क राष्ट्रबाट १ लाख ३२ हजार ८४७ र अन्य राष्ट्रबाट २८ हजार २७५ जना रहेका छन् । त्यसअघि सार्क राष्ट्रबाट १ लाख ९ हजार ५४९ र अन्य राष्ट्रबाट २६ हजार १७० जना विदेशी पर्यटक मुस्ताङ आएको तथ्याङ्क छ । एक्याप प्रमुख गुप्ताका अनुसार सन् २०२४ को अनुपातमा सन् २०२५ को १२ महिनाको अवधिमा सार्क राष्ट्रतर्फ २३ हजार २९८ र अन्य राष्ट्रबाट २ हजार १०५ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको हो । यस हिसाबले सार्कतर्फ १७.५७ प्रतिशत र अन्य राष्ट्रतर्फ ७.४४ प्रतिशत पर्यटकको सङ्ख्या वृद्धि भएको हो । हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो रहेको छ । यद्यपि, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रभावका कारण अपेक्षा गरिएअनुरुपको विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुन नसकेको एक्याप प्रमुख गुप्ताको भनाइ छ । सन् २०२५ मा यहाँ करिब ३० प्रतिशत विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुने अनुमान गरिए पनि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटक सङ्ख्या कम हुँदा अनुमानअनुसार पर्यटक वृद्धि हुन नसकेको हो । युवा आन्दोलनको असरले यहाँ सन् २०२४ को भन्दा सन् २०२५ को सेप्टेम्बरमा ३ हजार ६३८, अक्टोबरमा ८५४ र नोभेम्बरमा ७० जना विदेशी पर्यटक घटेका जनाइएको छ । एक्याप प्रमुख गुप्ताले सन् २०२५ मा जनवरीदेखि अगस्त र डिसेम्बर अन्तिमसम्म पर्यटकको सङ्ख्या वृद्धि भएको बताए । मुस्ताङ भ्रमण गर्नेमा बढी मात्रामा भारतीय पर्यटक रहेका छन् । एक्याप प्रमुख गुप्ताले मुस्ताङ भित्रिएका पर्यटकमध्ये ८२ प्रतिशत सार्क राष्ट्र र १८ प्रतिशत अन्य मुलुकका रहेकामा सार्क राष्ट्रका कुल पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी भारतीय रहेको जानकारी दिए ।
नयाँ वर्ष सन् २०२६ सुरु, उल्लासपूर्वक मनाउने चलन बढ्दै
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ । यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । विभिन्न संवतको अध्ययन अनुसन्धानमा लागेका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सनकाे प्रभाव विश्वव्यापी बन्दै गएको बताउँछन् । ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ । इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताए । पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।
तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात
काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू-भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू-भागमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ । यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । आज राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु कायमै रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन तथा दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२५’ सम्पन्न
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा ‘एसिया–प्रशान्त इन्टरनेट सुशासन एकेडेमी (एपिगा) नेपाल–२०२५’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । पुस १२ र १३ गते काठमाडौंमा आयोजित दुईदिने क्षमता विकास कार्यशालामार्फत इन्टरनेट सुशासन, आईक्यान नीति तथा बहु–साझेदारी मोडेलका विषयमा स्नातक, स्नातकोत्तर विद्यार्थी तथा युवा पेशेवरहरूलाई लक्षित गरी व्यावहारिक र नीतिगत ज्ञान प्रदान गरिएको हो । आईक्यान (इन्टरनेट कर्पोरेसन फर एसाइन्ड नेम्स एन्ड नम्बर) र कोरिया इन्टरनेट तथा सुरक्षा एजेन्सीको सहकार्यमा विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको एपिगा कार्यक्रमको स्थानीय संस्करणका रूपमा नेपालमा यो कार्यक्रम दोस्रो पटक आयोजना गरिएको हो । कार्यशालाका क्रममा सेमिनार, गोलमेच छलफल, अभ्यासात्मक सिमुलेसन खेल तथा ‘मक आईक्यान सम्मेलन’ जस्ता अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएका थिए । कार्यक्रमको उद्घाटन सत्रमा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी, उपाध्यक्ष तथा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसप्यान) का प्रमुख कार्यकारी अधिकृत सुभाष खड्का, महासचिव चन्द्रविलास भुर्तेल, कोषाध्यक्ष विक्रम सिंह तथा आईक्यानका प्रतिनिधि यश अग्रवालको सहभागिता रहेको थियो । सो अवसरमा यश अग्रवालले आईक्यानको भूमिका, संगठनात्मक संरचना र नीतिनिर्माण प्रक्रियाबारे विस्तृत प्रस्तुति दिएका थिए । एपिगा नेपाल–२०२५ कार्यक्रम टिम लिड विवेक सिलवाल र कार्यक्रम संयोजक उदिप बरालको नेतृत्वमा सञ्चालन गरिएको थियो । कार्यक्रममा सहभागीहरूले डोमेन नेम प्रणाली (डीएनएस) सञ्चालन, आईक्यान तथा इन्टरनेट सुशासन मञ्च (आईजीएफ) प्रक्रिया, क्षेत्रीय एसिया–प्रशान्त इन्टरनेट सुशासन मञ्च (एप्रिगिफ), नीतिगत बहस अभ्यास, नेतृत्व विकास, फेलोसिप तथा अन्तर्राष्ट्रिय अवसरका विषयमा व्यावहारिक ज्ञान आर्जन गरेका छन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघीय इन्टरनेट सुशासन मञ्च सचिवालयकी अन्जा गेन्गो, एप्रिगिफ तथा एप्रालो अध्यक्ष अमृता चौधरी, सफ्टवेरिका कलेज अफ सूचना प्रविधिका क्याम्पस प्रमुख प्रमोद पौडेल तथा एपनिक नीति विशेष समूहका अध्यक्ष विक्रम श्रेष्ठलगायत वक्ताहरूले प्रस्तुति दिएका थिए । एपिगा नेपाल–२०२५ कार्यक्रमले इन्टरनेट नीतिनिर्माण प्रक्रियामा युवाको सार्थक सहभागिता अभिवृद्धि गर्दै खुला, समावेशी र दिगो इन्टरनेट निर्माणमा योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
सन नेपाल लाइफद्वारा वीरेन्द्रनगरमा वृक्षारोपण र ज्याकेट वितरण
काठमाडौं । वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगो विकासलाई केन्द्रमा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमको आयोजनामा तथा वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। 'न्यानो ज्याकेट वितरण, बिउ वितरण तथा वृक्षारोपण कार्यक्रम' अन्तर्गत सञ्चालन गरिएको यस अभियानले वातावरणीय सन्तुलन कायम गर्नुका साथै समुदायस्तरमा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। वीरेन्द्रनगर क्षेत्रमा केन्द्रित कार्यक्रममा कम्पनीले ५० जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरेको थियो। कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कर्णाली प्रदेश प्रमुख गोविन्द ढकाल तथा नेपाल बीमा प्राधिकरणका प्रदेश प्रमुख नील लामिछानेको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै लुम्बिनी वर्ल्ड पिस फोरमका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा कम्पनीका कर्मचारीहरूको सक्रिय सहभागिता थियो। कार्यक्रमका अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले वातावरण संरक्षण र सामाजिक सेवा सन नेपाल लाइफको संस्थागत दर्शनको अभिन्न अङ्ग भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई देशव्यापी रूपमा निरन्तर विस्तार गरिँदै जाने प्रतिबद्धता व्यक्त गरे। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा वातावरणीय सन्तुलन, सामाजिक जिम्मेवारी र दिगोपनलाई प्राथमिकतामा राख्दै वृक्षारोपण, न्यानो कपडा वितरण तथा समुदाय–केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ। हाल कम्पनीले देशभर १४८ शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै नेपाली नागरिकको वित्तीय सुरक्षा र सामाजिक विकासमा योगदान पुर्याउँदै आइरहेको छ।