एमाले सचिवालय बैठक च्यासलमा सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।

पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षा कार्यदलको बैठकले तयार पारेका प्रतिवेदन र आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डामाथि छलफल गर्न सचिवालय बैठक बसेको हो ।

आइतबार बिहान बसेको पुनर्गठन तथा निर्वाचन समीक्षा कार्यदलको बैठकले कार्यदलमा प्रस्तुत विभिन्न प्रतिवेदनलाई समेटेर एउटै प्रतिवेदन तयार गरी सचिवालयमा पेस गर्ने निर्णय गरेको थियो । कार्यदलको निर्णयको माइन्युट तयार गर्न समय लागेपछि सचिवालय बैठक केही ढिला सुरु भएको हो ।

सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल हुनुका साथै असोज ५ देखि ७ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे पनि निर्णय हुने अपेक्षा गरिएको छ ।

पार्टी पुनर्गठन, निर्वाचन समीक्षा र आगामी संगठनात्मक प्रक्रियाबारे कार्यदलमा छलफल भइरहेका बेला बस्न लागेको सचिवालय बैठकलाई एमालेको आगामी राजनीतिक तथा सांगठनिक दिशाबारे निर्णय लिने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ ।

Share News