काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने वा पदबाट हटाउने विषय प्रतिवेदनमा नरहेको स्पष्ट पारेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव महेश बस्नेतले अध्यक्षको राजीनामा माग्ने, हटाउने वा आलोचना गर्ने विषय प्रतिवेदनमा नरहेको बताएका हुन् ।
उनका अनुसार बलथली बैठकपछि विभिन्न मस्यौदा तथा १३ वटा समूहबाट आएका सुझावलाई समेटेर तीन जना नेतालाई एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो ।
रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र शंकर पोखरेलले तयार पारेको एकीकृत प्रतिवेदनलाई आधार बनाएर कार्यदलले थप छलफल गरी साझा प्रतिवेदन तयार गरेको उनले बताए ।
उनका अनुसार पार्टीको विशेष महाधिवेशन वा विशेष विधान महाधिवेशन तत्काल नबोलाउने सहमति भएको छ । तर नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको विषय आउन सक्ने र त्यसलाई रोक्न नसकिने उनले बताए ।
यस्तै, पार्टीको नियमित विधान महाधिवेशनमा विगतका निर्णय तथा विधानसम्बन्धी विषयमा छलफल गर्न सकिने उनको भनाइ छ ।
७० वर्षे उमेर हद र दुई कार्यकाल लगायतका विषय नियमित विधान महाधिवेशनमा छलफलको विषय बन्न सक्ने बस्नेतले बताए ।
कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने विषयमा पनि सहमति गरेको उनले जानकारी दिए ।
पार्टीको एकता सुदृढ गर्ने तथा वर्तमान सरकारको ‘अधिनायकवादी, प्रतिशोधपूर्ण र जनविरोधी’ गतिविधिविरुद्ध आन्दोलन अघि बढाउने उद्देश्यले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने सहमति भएको उनको भनाइ छ ।
बस्नेतले कार्यदलको प्रतिवेदनमा १३ वटा समूहबाट आएका सुझावलाई अनुसूचीमा समावेश गरिने जानकारी दिए ।
कार्यदलको साझा प्रतिवेदन आइतवारकै सचिवालय बैठकमा र सोमवार बस्ने केन्द्रिय कमिटी बैठकमा पेश गरिने उनले बताए ।
उनका अनुसार कार्यदलले तयार गरेको २९ पृष्ठको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ ।
बस्नेतले कार्यदलको प्रतिवेदनलाई लिएर बाहिर आएका विभिन्न चर्चा तथा सामाजिक सञ्जालमा भएका प्रचारबाट भ्रममा नपर्न पनि आग्रह गरे ।