२०२६ मा सुनचाँदीको मूल्य अझै माथि जाने संकेत
काठमाडौं । सन् २०२५ मा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भयो । यस अवधिमा सुनको मूल्य ६२ प्रतिशतले र चाँदीको मूल्य १४४ प्रतिशतले बढ्यो । २०२६ मा पनि यो तेजी कायम रहन सक्ने अपेक्षा गरिएको छ । इकोनोमिक्स टाइम्सको एक प्रतिवेदनअनुसार विज्ञहरूले लगानीकर्ता सतर्क रहनुपर्ने जनाएका छन्, किनकि सट्टाबाजीका कारण मूल्यमा अचानक ठूलो उतार–चढाव आउन सक्छ । सुन र चाँदी दुवै मूल्यवान धातु हुन्, जसलाई मानिसहरूले सुरक्षित लगानी मान्छन् । इकोनोमिक्स टाइम्सले २०२६ का लागि सुन र चाँदीको मूल्य अनुमानबारे १० जना कमोडिटी बजार विज्ञहरूसँग प्रश्न गरेको थियो । सबै १० जना विज्ञको धारणा मूल्य माथि जाने नै छ भन्ने छ । तीमध्ये ८० प्रतिशतले चाँदीले सुनभन्दा राम्रो प्रदर्शन गर्ने बताएका छन् । आनन्द राठी सेयर्स एन्ड स्टक ब्रोकर्सका कमोडिटीज तथा करेन्सी निर्देशक नवीन माथुरले २०२६ मा दुवै धातुका लागि बलियो फन्डामेन्टल रहेको बताए । यद्यपि नाफामा केही कमी आउन सक्छ । सुनले निरन्तर राम्रो प्रदर्शन गर्नेछ भने चाँदीमा उतार–चढाव बढी भए पनि प्रतिशतका हिसाबले यसले सुनलाई उछिन्ने सम्भावना छ । चाँदीको मूल्यबारे ६० प्रतिशत विज्ञहरूको अनुमान अनुसार अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य कम्तीमा प्रति औंस १०० अमेरिकी डलरसम्म पुग्न सक्छ । यो बुधबारको ७२ डलरको मूल्यभन्दा करिब ४० प्रतिशत बढी हो । ती ६० प्रतिशतमध्ये आधाले चाँदीले प्रति औंस ११० डलरको स्तर पार गर्ने बताएका छन् । त्यस्तै, २०–२० प्रतिशत विज्ञले चाँदीको मूल्य ८०–९० डलर र ९०–१०० डलरको दायरामा रहने अपेक्षा गरेका छन् । २०२५ मा सुन र चाँदी सबैभन्दा राम्रो प्रदर्शन गर्ने सम्पत्तिहरूमध्ये परेका थिए । यसको पछाडि फरक–फरक कारण थिए । सुनको मूल्य बढ्नुको मुख्य कारण केन्द्रीय बैंकहरूको खरिद, ब्याजदर घट्ने अपेक्षा, भू–राजनीतिक अनिश्चितता र डलर कमजोर हुनु हो । यी कारणहरूले चाँदीको मूल्यमा पनि ठूलो उछाल आयो । यसका अतिरिक्त चाँदीको बढ्दो अभाव पनि एउटा ठूलो कारण हो । चाँदी सोलार प्यानल, विद्युतीय सवारी साधन र एआईजस्ता तीव्र रूपमा बढिरहेका उद्योगहरूमा प्रयोग हुन्छ । एचडीएफसी सेक्युरिटीजका कमोडिटीजका वरिष्ठ विश्लेषक सौमिल गान्धीका अनुसार चाँदी औद्योगिक धातु र मूल्यवान धातु दुवैको हैसियत राख्छ, जसले यसलाई अझ आकर्षक बनाउँछ । बलियो औद्योगिक तथा लगानी माग र स्थिर आपूर्तिका कारण चाँदीको बजार धेरै वर्षदेखि घाटामा चलिरहेको छ र यो प्रवृत्ति २०२६ मा पनि जारी रहने सम्भावना छ । मोतीलाल ओसवाल फाइनान्सियल सर्भिसेजका कमोडिटीज तथा करेन्सी हेड अफ रिसर्च नवनीत दमानीले हालको तेजीपछि लगानीमा सावधानी अपनाउने समय आएको बताए । उनका अनुसार खरिद सोचविचार गरेर गर्नुपर्छ, किनकि मूल्यमा ७–१० प्रतिशतसम्म गिरावट आउन सक्छ ।
सुनको मूल्य तोलामा १४ सयले घट्यो
काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा बिहीबार पनि दुवै धातुको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँ र चाँदीको मूल्य ५५ सय रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ४१५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६१ हजार रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–अभावले बाटो छेक्न सक्छ, तर गन्तव्य रोक्न सक्दैन । भनिन्छ नि, चट्टान फोरेर पनि पिपल उम्रिन्छ । सत्यनारायणको यो सफलताले त्यो भनाइलाई व्यवहारमै चरितार्थ गरिदिएको छ । कठोर गरिबी र अभावको चट्टानलाई छिचोल्दै उनले झुपडीबाट देखेको सपना साकार हुने चरणमा पुगेको छ, यसले अभाव देखाएर भाग्ने देशभरका युवालाई पनि ‘अठोटका अगाडि बाध्यता हार्छन्’ भन्ने सन्देश प्रवाह गरेको छ । हुलाकी लोकमार्गको बरियारपट्टि चोकबाट तीन किलोमिटरभित्र पर्छ श्रीपुर गाउँ । यो गाउँका स–साना छाप्राहरूको लहर छिचोलेपछि एउटा यस्तो झुप्रो भेटिन्छ, जुन गरिबीले ढल्नै लागेको छ, तर घरभित्र उम्रेको आशाले त्यसलाई टेको दिइरहेको आभाष हुन्छ । यहीभित्र अभाव र अँध्यारोसँग जुध्दै सत्यनारायणले एउटा चम्किलो सपना सजाए अर्थात् ‘डाक्टर’ बन्ने सपना । आज त्यही झुप्रोबाट पलाएको सपनाले पूर्णता पाउने बाटो तय गरेको छ। यो सफलता त्यत्तिकै मिलेको होइन, सत्यनारायणले सुनाएअनुसार आमा सुनितालाई वर्षौंदेखि टाउको दुख्ने समस्या थियो । बुबा कतारमा पसिना बगाइरहेका बेला, आमालाई अस्पताल लैजाने जिम्मेवारी कलिलो उमेरमै सत्यनारायणको काँधमा आयो । उनी आमाको हात समाउँदै अस्पतालका गल्ली–गल्ली चहार्थे । डाक्टरले औषधि लेखिदिन्थे, औषधि खाँदा केही दिन निको हुन्थ्यो, तर फेरि उही पीडा दोहोरिन्थ्यो । अस्पतालका ती लामा लाइन, बिरामीहरूको चित्कार र आमाको अनुहारमा देखिएको असह्य पीडाले उहाँको बालमस्तिष्कमा गहिरो चोट पुर्यायो । ती दिनहरू सम्झँदै सत्यनारायण भन्छन्, 'औषधि खाँदा केही दिन निको हुने, फेरि उही पीडा दोहोरिने । आमाको त्यो पीडाले मेरो बाल्यकालको सोच नै बदलिदियो । अस्पतालमै उभिएर मैले कसम खाएँ, म डाक्टर बन्छु ।' यही अठोटले हो, उनको सपना बदलिदिएको, त्यही सपनाले आज जीवनको दिशा नै बदलिदिने आधार तय गरिरहेको छ । सुरुमा उनलाई एमबिबिएसको प्रवेश परीक्षा कसरी दिने, कति खर्च लाग्छ वा कति पढ्नुपर्छ भन्ने केही ज्ञान थिएन । थियो त केवल एउटा दृढ सङ्कल्प । सत्यनारायणले गाउँकै जनता माध्यमिक विद्यालयबाट २०७७ सालमा एसइई उत्तीर्ण गरे। पढाइमा तेज भएकै कारण उनले विराटनगरको अरनिको उच्च माविबाट विज्ञान विषय लिएर कक्षा १२ को पढाइ पूरा गरे । त्यसपछि उहाँको वास्तविक सङ्घर्षको अध्याय सुरु भएको हो । 'सपना त देखियो, तर घरमा बसेर हुनेवाला थिएन । सपना पछ्याउन घर छोड्नुपर्ने भयो । एमबिबिएसको तयारीका लागि काठमाडौं पुगेँ, तर आर्थिक अभावको पहाडले थिच्यो । तीन महिनामै काठमाडौं छाडेर घर फर्किँए । उता बुबा पनि कतारको रोजगारी गुमाएर घर फर्किए । परिवारमा ‘भोक कि पढाइ’ भन्ने सङ्कट आइलाग्यो', सत्यनारायणले सुनाए । हातमा दशथोक, मनमा पुस्तक परिस्थितिसँग हार मान्ने उनको स्वभाव थिएन । काठमाडौंमा बसेर तयारी गर्ने सपना अधुरै छाड्नुपरेपछि गाउँ फर्किए । गाउँमै निर्माण मजदुरको काम रोजे । दिनभर चर्को घाममा मिस्त्रीसँगै गाह्रो लगाउने, सिमेन्ट बोक्ने र निर्माणको काम गर्ने सत्यनारायणको दैनिकी बन्यो । शरीर थकित हुन्थ्यो, हात–खुट्टा गल्थे, तर रात पर्नासाथ उजको मन फेरि पढाइतर्फ फर्किन्थ्यो । बत्तीको मधुरो उज्यालोमा उनी चिकित्सा शिक्षाका पुस्तक पल्टाउथे र प्रवेश परीक्षाको तयारीमा डुब्थे। 'मैले गरिबीले काठमाडौं छोडेँ, तर सपना छोडेको होइन । मैले अभावले हण्डर खाएँ, तर हिम्मत हारेको थिइनँ । त्यसैले कुनै दिन अस्पतालको अगाडि उभिएर गरेको सङ्कल्पले मलाई गन्तव्यमा अगाडि बढिरहन झक्झक्याइरह्यो । आखिर सबैको कुरा अठोट त रहेछ, नहार्ने अठोट', मलिन मुद्रामा सत्यनारायणले विगत सम्झिँदै भने । यही अठोटले उनको सङ्घर्षले नयाँ गोरेटो तय गर्यो । मजदुरीबाट हातमा परेको सीमित ज्यालाबाट घरखर्च कटाएर बाँकी बचेको पैसाले उनी किताब किन्थे । कतिपय रात त उनले भोकभोकै पनि किताबका पाना पल्टाएर सपनाको खोजी गरे । सत्यनारायण भन्छन्, 'मेरो कोठामा किताबकै सिरानी र किताबकै ओछ्यान हुन्थ्यो ।' त्यही किताबबीच बिताएका अनगिन्ती रातहरूले उहाँलाई मेडिकल कलेजको ढोकासम्म पुर्याएको हो । सफलताको उडानः पहिलो प्रयासमै नाम काम सजिलो थिएन, तर सपना पनि त चानचुने थिएन । त्यसैले घरमै दुई वर्षको कठोर अध्ययन र मजदुरीपछि उनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दिए। नतिजा आउँदा सबै अचम्मित भए । सत्यनारायणले मधेसी दलित आरक्षण कोटामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए । उनको तपस्याले अन्ततः प्रतिफल दियो । यो खबर सुन्दा परिवारमा खुसीको सीमा छैन । यद्यपि, छात्रवृत्तिले पढाइ शुल्क निःशुल्क भए पनि आवास र अन्य शैक्षिक सामग्रीको खर्च जुटाउने चिन्ता बाँकी नै थियो । बुबा मधुरी साफी भन्छन्, 'छोराले आफ्नो मिहिनेतले डाक्टर पढ्ने बाटो त खोल्यो, तर अब यसलाई पूरा कसरी गराउने भन्ने चिन्ता छ । हामीसँग सम्पत्तिको नाममा केही धुर जग्गाबाहेक केही छैन । कक्षा भर्नाका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङसम्म पुग्ने र बस्ने खाने समस्याले क्षणिक खुसीलाई अन्धकारतर्फ धकेल्दै थियो ।' जब प्रविधिको सहाराले ‘भाइरल’ बने सत्यनारायणको कथा सामाजिक सञ्जालमा चर्चामा आएपछि देशैभरबाट सहयोगी हातहरू उनको झुपडीसम्म पुग्न थालेका छन् । प्रविधिको सहारामा उनको सफलताको चर्चा देश, विदेशमा पुगेको छ । विस्तारै आर्थिक सहयोग गर्नेहरू थपिँदै छन् । सहयोगी मनहरू जुर्मुराएका छन् । यो सहयोगले उनलाई केही राहत त दिएको छ । सहयोगी हातहरू झुपडीसम्म आइपुग्दा सत्यनारायणको आँखामा एकातिर कृतज्ञताको भाव देखिन्छ भने अर्कोतिर आफ्नो जिम्मेवारीप्रतिको गहिरो बोध । चारैतिरबाट पाइरहेको साथ र शुभेच्छापछि उत्साहित बनेका सत्यनारायण भन्छन्, “जब म काठमाडौँबाट रित्तो हात गाउँ फर्किएर मजदुरी गर्न थालेको थिएँ, मलाई लाग्थ्यो यो लडाइँमा म एक्लै छु । आज देशैभरिबाट मनकारी महानुभावहरूले देखाउनुभएको यो माया देख्दा म भावुक भएको छु । यो सहयोग केवल पैसा मात्र होइन, यो मप्रतिको भरोसा र समाजको ऋण हो, जुन म जीवनभर सेवा गरेर तिर्नेछु ।” उनलाई आफूजस्तै अन्य गरिब विद्यार्थीहरूको भविष्यको पनि चिन्ता छ । भन्छन्, “म त भाग्यमानी रहेछु र सबैको नजरमा परेँ, तर म जस्ता हजारौँ सत्यनारायणहरू आज पनि गाउँका कुनाकाप्चामा मजदुरी गर्दै सपना मारिरहेका छन् । राज्यले यस्तो प्रणाली बनाओस् कि कोही पनि प्रतिभाशाली विद्यार्थीले पैसाकै अभावमा किताब फाल्नु नपरोस् । सपना मार्न नपरोस् ।” आरक्षणः सीमान्तकृतका लागि वरदान सत्यनारायणको यो सफलतामा मेहनतसँगै नेपालको समावेशी आरक्षण व्यवस्थाको पनि ठूलो भूमिका छ । मधेस मामिला जानकार प्राडा विजयप्रसाद मिश्र आरक्षणको व्यवस्थाको महत्त्व सत्यनारायणजस्ता धेरै युवाहरूको सफलताले थप सान्दर्भिक बनाउँदै लगेको बताउछन् । भुइँमान्छेहरूले आफ्नो अधिकार सही प्रयोग नगरेसम्म र ओझेलमा परेको समुदायलाई अवसर नदिएसम्म लोकतन्त्र बलियो हुँदैन भन्ने कुरा यसबाट बुझ्नुपर्ने उनको भनाइ छ । प्राडा मिश्र भन्छन्, 'आरक्षणलाई अझै वैज्ञानिक बनाउनुपर्छ, यसलाई भुइँमान्छेले लाभ लिने गरी अझै व्यवस्थित बनाउनुपर्छ । कुन समुदाय पछाडि छ भन्ने बुझ्न प्रत्येक १० वर्षमा यसको समीक्षा गर्दै अगाडि बढ्नुपर्छ ।' सत्यनारायण साफी युवाहरूका लागि प्रेरणाको बलियो स्रोत बनेका छन् । झुपडीमा फुलेको उनी र उनीजस्तै युवाहरूको ‘सपनाको बिउ’ लाई फक्राउन सरकार र सरोकार भएकाहरूको सहयोगको खाँचो छ । रासस
हिमालय रोडिज सिजन ७ सम्पन्न, अनिश तामाङ बने विजेता
काठमाडौं । नेपालकै लोकप्रिय एडभेन्चर रियालिटी शो हिमालय रोडिज को सातौँ सिजन ग्रान्ड फिनाले प्रसारणसँगै सम्पन्न भएको छ । १४ पुस २०८२ मा फिनाले प्रसारण भएसँगै पुरस्कार हस्तान्तरण समारोहमार्फत सिजनको औपचारिक समापन गरिएको हो । समारोहमा अनिश तामाङलाई सिजन ७ को विजेताका रूपमा औपचारिक रूपमा पुरस्कार प्रदान गरिएको छ । टाइटल प्रायोजक यामाहा रेसिङले तामाङलाई पर्फर्मेन्स, पावर र राइडिङको रोमाञ्च झल्काउने मोटरसाइकल यामाहा एफजेड–३ प्रदान गरेको छ । साथै, कार्यक्रमको प्रसारक हिमालय टिभीले उनको मेहनत र उपलब्धिको कदर गर्दै १० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको हो । यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले विजेता तामाङलाई यामाहा एफजेड–३ हस्तान्तरण गरेका थिए । यामाहा प्रेसेंट्स हिमालय रोडिज सिजन ७ : हेल ओर हेभन सेप्टेम्बर १, २०२५ देखि प्रसारण सुरु भएको थियो । यस सिजनमा जम्मा १८ वटा एपिसोड प्रसारण भएका थिए ।
एमएडब्लु वृद्धिले दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प ल्याउँदै
काठमाडौं । नेपालका लागि डोङफेङ र सेरेस ब्रान्डका इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोक्रपले दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने भएको छ । क्याम्प पुस १९ देखि २१ गतेसम्म दाङस्थित राप्ती अटोमार्ट प्रालिको परिसरमा सञ्चालन हुनेछ, जुन दाङ क्षेत्रका लागि डोङफेङ नेपालका आधिकारिक वितरकसमेत हो । एमएडब्लु वृद्धिका अनुसार उक्त क्याम्पमार्फत ग्राहकहरूले आकर्षक आर्थिक सुविधासहित पुरानो सवारी साटेर नयाँ इलेक्ट्रिक सवारी खरिद गर्न सक्ने अवसर पाउनेछन् । यो कार्यक्रम दाङमा नयाँ अत्याधुनिक डोङफेङ शोरूमको उद्घाटन तथा बहुप्रतीक्षित ‘नामी भिगो’को आधिकारिक सार्वजनिक अनावरणको अवसरमा आयोजना गरिएको हो । कार्यक्रम अवधिमा इलेक्ट्रिक सवारी स्वामित्वलाई अझ सहज र सर्वसुलभ बनाउन विशेष अफर प्याकेज सार्वजनिक गरिएको एमएडब्लु वृद्धिले जनाएको छ । ग्राहकहरूले ‘नामी भिगो’ र ‘नामी बक्स’ विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन् । साथै ९७ किलोवाट क्षमताको द्रुत चार्जर, ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जर र निःशुल्क अटो प्लस बीमाको सुविधा पनि प्रदान गरिनेछ । उच्चस्तरीय इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकहरूका लागि सेरेस ब्रान्डमा अधिकतम ६ लाख रुपैयाँसम्मको विशेष लाभ उपलब्ध गराइनेछ । सबै मोडेलमा पुराना सवारी साधनको आकर्षक मूल्याङ्कन गरिने र टेस्ट ड्राइभ लिने प्रत्येक आगन्तुकलाई निश्चित उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । दाङमा सञ्चालनमा आएको नयाँ शोरूमले डोङफेङ र सेरेसका इलेक्ट्रिक सवारी साधनका लागि यस क्षेत्रको प्रमुख बिक्री तथा सेवा केन्द्रका रूपमा काम गर्नेछ । सीमित अवधिका विशेष अफरको लाभ लिन र इलेक्ट्रिक सवारीको प्रत्यक्ष अनुभव गर्न एमएडब्लु वृद्धिले दाङ तथा आसपासका ग्राहकहरूलाई आमन्त्रण गरेको छ ।
१८० एमएल प्याकसहित ‘द गभर्नर स्मोकवुड कास्क’ ह्विस्की बजारमा
काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले ‘द गभर्नर स्मोकवुड कास्क’ ह्विस्कीको ७५० एमएल प्याक सफल भएपछि सोही ब्रान्डको १८० एमएल सानो प्याक बजारमा ल्याएको छ । प्रिमियम ब्लेन्डेड ह्विस्की पोर्टफोलियोलाई विस्तार गर्ने उद्देश्यसहित ल्याइएको नयाँ प्याकले उपभोक्तालाई ब्रान्डको स्वाद र शिल्पकला अनुभव गर्न सहज बनाउने कम्पनीले जनाएको छ । १० वर्षसम्म परिपक्व गरिएका हाइल्याण्ड र स्पेसाइड स्कच माल्टबाट तयार गरिएको ‘द गभर्नर’ ह्विस्कीले ‘दुई प्रख्यात माल्ट, एक उत्कृष्ट ब्लेन्ड’ भन्ने मूल दर्शनलाई प्रतिबिम्बित गर्ने बताइएको छ । हाइल्याण्ड माल्टले गहिराइ र संरचना दिने तथा स्पेसाइड माल्टले स्मूथनेस र सन्तुलन थप्ने विशेषता यसमा रहेको छ । स्मोकवुड कास्कमा तयार गरिएको यस ह्विस्कीमा भ्यानिला, ओक र क्यारामेलका नोटसँगै सौम्य स्मोक स्वाद पाइने कम्पनीको दाबी छ । नयाँ प्याक सार्वजनिकबारे प्रतिक्रिया दिँदै सागर डिस्टिलरी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सौरभ कारंजितले १८० एमएल प्याकले ब्रान्डको गुणस्तर कायम राख्दै उपभोक्ताका लागि अझ सहज पहुँच सुनिश्चित गर्ने बताए । ‘द गभर्नर स्मोकवुड कास्क’ ह्विस्कीको १८० एमएल प्याक अब देशभर खुद्रा मूल्य ७४५ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
सुकेको खुर्सानी किलोको ४२० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९७, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ९५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ८०, गाजर (तराई) प्रतिकिलो रु ७०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १६०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु १६०, घिरौँला प्रतिकिलो रु ११०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४५, सलगम प्रतिकिलो ९०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७५, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ८० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ११०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८० र कुरिलो प्रतिकिलो रु २००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु २००, जिरीको साग प्रतिकिलो रु १५०, गाँठकोभी प्रतिकिलो रु ८५, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ७००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु ९०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु ११०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु ११०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लप्सी प्रतिकिलो रु ७५, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३५०, सरिफा प्रतिकिलो रु २०० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी अमला प्रतिकिलो रु ७५, अदुवा प्रतिकिलो रु ८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु ५००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १००० निर्धारण गरिएको छ ।
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ र बिक्रीदर १९३ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ९४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०५ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५० पैसा र बिक्रीदर २० रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ ८ पैसा र बिक्रीदर ४६८ रुपैयाँ २ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ७३ पैसा बिक्रीदर ३७४ रुपैयाँ २९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।