विकासन्युज

फस्ट माइक्रोफाइनान्सको साधारणसभा असोज ८ मा हुने, १५ प्रतिशत बोनस सेयर बितरण गर्ने

काठमाडौं । फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको आठौ वार्षिक साधारणसभा असोज ८ गते हुने भएको छ ।  गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यक्रम छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित हुने छ ।  चुक्तापुँजी बढाउनका लागि २ बराबर १ अनपातमा हकप्रद सेयर निष्कासनका लागि सञ्चालक समितिलाई सभाले अख्तियारी प्रदान गर्ने छ । संस्थाले चुक्तापुँजी बढाएर ६८ करोड ४३ लाख रुपैयाँ पु¥याउने योजना छ ।

ओम डेभलपमेन्ट बैंकले २ दिनमै सेयर कर्जा दिने

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले सेयर धितोमा राखेर कर्जा दिने सेयर कर्जा योजना ल्याएको छ ।  बैंकले विना घरजग्गा २ दिनमै सेयर कर्जा नाराका साथ नयाँ योजना ल्याएको हो । बैंकले सेयर कर्जाको ब्याज दर भने खुलाएको छैन् । नेपाल राष्ट्र बैंकले खुला गरेपछि बैंकले सेयर कर्जा योजना ल्याएको हो । अन्य आधा दर्जन बढी बैंकले सेयर कर्जा योजना ल्याइसकेका छन् । बैंकले धमाधम सेयर कर्जा योजना ल्याउदा पनि सेयर बजारमा सुधार हुन सकेको छैन् ।

एनआईसी एसिया बैंकले सुनधितो राखेर १ दिनमै कर्जा दिने

काठमाडौं । एनआईसी एसिया बैंकले सुन धितो राखेर कर्जा लिने गरी गोल्ड लोन योजना ल्याएको छ । बैंकले न्युनतम् ३० हजार रुपैयाँ कर्जा प्रदान गर्ने भएको छ । आकर्षक ब्याज दरमा एकै दिनमा पैसा निकाल्न सकिने र निःशुल्क बीमा सुविधा दिने बैंकले जानकारी दिएको छ । बैंकले लगानी विविधिकरण अन्तर्गत सुन कर्जा योजना ल्याएको हो ।

यातायात व्यवसायी सरकारसँग झुके, मंगलबारदेखि दशैंका लागि टिकट बुकिङ खुल्ने

  काठमाडौँ । सरकारलाई भाडा बढाउन दवाव दिदै आएका यातायात व्यवसायी अन्तत आफै झुकेका छन् ।  भाडा बढाउनुपर्ने र छतमा यात्रु राख्न पाउनुपर्ने माग गर्दे दशैंका लागि टिकट बुकिङ खुलाउन आनकानी गरेका यातायात व्यवसायीले भदौ २७ गते मंगलबारदेखि लामो रुटका लागि टिकट बुकिङ खुल्ला गर्ने सहमत भएका हुन । बैठकमा मन्त्री वीरबहादुर बलायरले बिग्रेको सडक डोजर, स्काभेटरलगायत यन्त्रको सहयोगले मर्मत गरेर सञ्चालन गर्न सकिने तर भाडा बढाउन नसकिने स्पष्ट अडान राखेपछि व्यवसायी पछि हटेको मन्त्रीका प्रेस संयोजक रमेश जोशीले जानकारी दिए । मन्त्री बलायरले दशैको मुखमा आएर भाडा बढाउन नसकिने र अन्य माग पनि पुरा गर्न नसकिने अडान लिएपछि यातायात व्यवसायी पछि हटेका थिए । लामो दूरीमा यात्रा गर्ने यात्रुको सामान छतमा राख्न दिएपनि खसी, बोकालगायत यात्रु छतमा राखे ट्राफिक प्रहरीले कारबाही गर्ने सहमतिसमेत भएको छ । बैठकमा राज्यमन्त्री सीता गुरुङ, विभागका महानिर्देशक रुपनारायण भट्टराई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहाक अध्यक्ष दोलनाथ खनाल र महासचिव सरोज सिटौला सहभागी थिए ।  सहमतिको अनुमगन गर्न विभागका महानिर्देशक भट्टराईको सदस्यतामा पाँच सदस्यीय समिति गठन गरिएको छ ।  

इन्टर कन्टिनेन्टल होटल्स ग्रुपमा गेट कलेज, आईएचजी एकेडेमीबीच सहकार्य

काठमाडौं । इन्टर कन्टिनेन्टल होटल्स् ग्रुप (आईएचजी) ले नेपालमा आफ्नो आधिकारिक शैक्षिक प्रतिष्ठानका रूपमा ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट) लाई चयन गरेको छ । यसअघि नेपालमा होटल सोल्टी क्राउन प्लाजा, इन्टर कन्टिनेन्टल होटल्स् ग्रुपको आधिकारिक ध्वजाबाहक होटल रहँदै आएको छ । शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच इन्टर कन्टिनेन्टल होटल्स ग्रुप र गेट कलेजबीच सहकार्य समझदारी पत्रमा हस्ताक्षर भएको छ । आईएचजी दक्षिणपूर्वी एसियाका प्रमुख सान्ताडी सिल्भाको विशेष उपस्थितिमा सम्पन्न समझदारी पत्रमा इन्टर कन्टिनेन्टल होटल्स ग्रुपका तर्फबाट होटल सोल्टीका महाप्रबन्धक उपाल मजुमदार र गेट कलेजका संस्थापक/ प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले हस्ताक्षर गरे । समझदारीपत्रअनुसार अब गेट कलेज नेपालका लागि आधिकारिक आईएचजी एकेडेमीका रूपमा रहने छ । विश्वकै अग्रणी होटल कम्पनी मध्येको इन्टरकन्टिनेन्टल होटल्स् ग्रुप (आईएचजी)का विश्वभर करिब १ सय देशमा रहेका ५ हजार २२१ होटलमा रहेका करिब ७ लाख ७७ हजार ६७५ कोठाबाट अतिथिलाई सेवा प्रदान गरिँदै आएको छ  

एनएमबि बैंकको “एक घर एक खाता” अभियान दोस्रो चरणमा

काठमाडौं । एनएमबि बैंकले “एक घर एक खाता” अभियानको दोस्रो चरणको सुरुवात गरेको छ ।  अभियानको प्रवद्र्धकदुतका रुपमा नायक राजेश हमाललाई लिएर देशव्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गर्नेे बैंकले जनाएको छ । अभियानको मुख्य उद्देश्य हरेक नेपालीको बैंकमा एक खाता तथा सरल वित्तीय पहुँच होस् भन्ने रहेको छ । अभियानले वित्तीय प्रणालीबाटै कारोबार गर्ने, वित्तिय साक्षरता बढाउने, बचत गर्ने बानी बसाउने तथा डिजिटल बैकिङ्गको अवधारणालाई समेत आत्मसाथ गराउने बिश्वास लिएको छ । “एनएमबि बैंक एक घर एक खाता” योजना बारे बैंकका कार्यकारी अधिकृत सुनिल के.सीले भने — “नेपाली सिने क्षेत्रका महान् अभिनेता राजेश हमाललाई यस योजनाको प्रर्वधक दुतका रुपमा फेरी एक पटक “एक घर एक खाता” दोस्रो चरणको अभियानका साथ घरदैलोमा आउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौं” ।

समस्याको चाङमा प्राधिकरणका अधिकांश आयोजना

काठमाडौ । सरकारले विद्युत् संकट समाधान गर्ने भन्दै विगत पाँच वर्षदेखि प्राथमिकतामा राखेर अगाडि बढाएका नेपाल विद्युत् प्राधिकरण र मातहतका आयोजनामध्ये केहीको मात्रै प्रगति सन्तोषजनक रहेको पाइएको छ । प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मात्रै आर्थिक र भौतिक प्रगति ९० प्रतिशत भन्दा माथि रहेपनि अन्य नौवटा आयोजना कछुवागतिमा मात्रै अगाडि बढिरहेको छ ।  कुल ४५६ मेगावाट क्षमताको सो आयोजना आगामी असारमा पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । प्राधिकरणले अगाडि बढाएको चमेलिया जलविद्युत् आयोजना १५ वर्षपछि बल्ल आएर परीक्षण उत्पादन गर्ने चरणमा पुगेको छ । संसदीय समिति र राजनीतिक दलको खिचातानीमा परेको सो आयोजना ऊर्जा मन्त्रालय र प्राधिकरणको विशेष पहलमा निर्माण सम्पन्न हुने चरणमा पुगेको हो । कुलेखानी तेस्रो जलविद्युत् आयोजना प्राधिकरणका लागि ‘खाँउ भने दिनभरीको शिकार नखाँउ भने कान्छा बाउको अनुहारमा’ परिणत भएको छ । कुल १४ मेगावाट क्षमताको सो आयोजनाको म्याद मात्रै सात पटक थप गरिसकिएको छ । चिनियाँ ठेकेदारको बदमासी र स्थानीय सहायक ठेकेदार गोल्छा अर्गनाइजेशनले जिम्मेवारी पूरा नगर्दा कहिले पूरा हुने कुनै ठेगान छैन । म्याग्दीमा आयोजनास्थल रहेको राहुघाट जलविद्युत् आयोजनामा भारतीय ठेकेदारले बिचैमा काम छाडेर हिँडेपछि पुनः ठेक्का प्रक्रिया शुरु भएको छ । ३२ मेगावाट क्षमताको सो आयोजनाको क्षमता वृद्धि गरेर ४० मेगावाट पु¥याइएको छ । कम्पनी ढाँचामा अगाडि बढाउन लागिएको राहुघाटको निर्माण आगामी वर्षदेखि मात्रै शुरु हुने स्थिति छ । उता प्राधिकरणकै अर्को महत्वपूर्ण आयोजना माथिल्लो त्रिशूली ‘थ्री ए’ भूकम्प र नाकाबन्दीपछि ठेकेदारसँग सहमति जुटाउन लामो समय लागेका कारण बल्ल पुनःनिर्माण शुरु भएको छ । ६० मेगावाट क्षमताको सो आयोजना सम्पन्न हुनु अझै दुई वर्ष लाग्ने प्रक्षेपण गरिएको छ । यस्तै प्राधिकरणको सहायक कम्पनी चिलिमे मातहत रहेका तल्लो साञ्जेन, माथिल्लो सञ्जेन, रसुवागढी र मध्यभोटेकोशीमध्ये माथिल्लो साञ्जेनको मात्रै कार्यप्रगति गतिमा रहेको छ । अन्य आयोजना सामान्य रुपमा अगाडि बढेको भन्दै असन्तुष्टि कायमै छ । यस्तै प्राधिकरणकै सहायक कम्पनीले अगाडि बढाएको तनहुँ सेती जलविद्युत् आयोजना ठेक्का छनोटको प्रक्रियामा छ । यस्तै प्राधिकरण र नेपाल टेलिकमले अगाडि बढाउन लागेको माथिल्लो त्रिशूली ‘थ्री बी’ ठेक्का छनोटका क्रममा छ । प्राधिकरण र उसको मातहतमा रहेका कम्पनीबाट कुल एक हजार ३९ मेगावाट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणकै तथ्यांकलाई विश्लेषण गर्ने हो भने चमेलिया ३० मेगाबाट मात्रै यसवर्ष निर्माण सम्पन्न हुने अवस्थामा छ । ठेकेदारले काम गरिदिएको खण्डमा मात्रै कुलेखानी तेस्रो चालु आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न हुनसक्छ । प्राधिकरणले विशेष रुपमा ध्यान दिएर आयोजनालाई अगाडि बढाएको जानकारी दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही आयोजना अबको केही समयभित्रे सम्पन्न हुने विश्वास व्यक्त गर्छन । प्राधिकरण तथा प्राधिकरणअन्तर्गतका कम्पनीले निर्माण गरिरहेका आयोजना तोकिएको समयमा पूरा नहुने स्थिति देखिएपछि ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले सबै आयोजनाका प्रमुखलाई बोलाएर समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । ऊर्जामन्त्री शाहीले जलविद्युत् आयोजनामा देखिएका समस्याबारे आफू गम्भीर रहेको बताउनुभयो । ‘तोकिएकै समयमा आयोजनाको निर्माण सम्पन्न हुनुपर्छ, समस्या भए समाधानको उपाय खोज्नुपर्छ, होइन भने कुनै बहानाबाजी गर्न पाइदैन, उनले भने  ।’ आयोजनाका प्रमुखले भने पूरानै समस्याको चाङ देखाएको भन्दै मन्त्री शाहीले आपत्ति जनाएका छन् । वन क्षेत्रको जग्गा प्राप्ति, मुआब्जा वितरण, ठेकेदारले निम्त्याएका समस्या प्रस्तुत गर्ने प्रचलन जलविद्युत् आयोजनाको हकमा भने पुरानो होइन । नेपालको हकमा खरिद प्रक्रियामा रहेको कमजोरी आधार बनाएर आयोजना ओगटने र काम नगर्ने प्रवृत्ति हाबी भएकामा सरकारले ठोस् कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ । रासस

सेयर बजार ३२ अंक घट्यो, २ अर्ब ४१ कराेडकाे सेयर कारोबार

काठमाडौ । धितोपत्र बजारमा गत साता २ अर्ब ४१ करोड २१ लाख ७९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।  नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल १७१ कम्पनीको ४४ लाख ९९ हजार ८१० कित्ता शेयर कारोबार भएको थियो । कारोबार रकम गत साताको भन्दा ३२.२४ प्रतिशत कम हो । गत साता १८० कम्पनीको  ३अर्ब ५६ करोड एक लाख २३ हजार बराबरका ७५ लाख ८४ हजार पाँच सय ९० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव शुन्य एक अंकले घटेर अन्तिम दिन एक हजार ५५४ दशमलव ५५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ५२ अंकले बढेर ३२६ दशमलव ०१ अंकमा आइपुगेको छ । कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको १२ करोड ३१ लाख २० हजारको कारोबार भएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो कम्पनीको एक लाख ७५ हजार कित्ता शेयर कारोबार भएको छ । रासस