८० हजारभन्दा बढी दर्शकले अवलोकन गरेपछि सकियो नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी
काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना गरिएको चार दिने ‘नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३’ आइतबार सम्पन्न भएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ, नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा आयोजना गरेको यस प्रदर्शनीलाई अनुमानभन्दा दोब्बर अर्थात् ८० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । प्रदर्शनीमा सात लाख रुपैयाँदेखि करोडौँ रुपैयाँसम्मका किफायती घर, अपार्टमेन्ट र घडेरीहरू बिक्री तथा प्रदर्शनका लागि राखिनुका साथै बैंक तथा वित्तीय संस्थाले ५.४९ प्रतिशतदेखि ६ प्रतिशतसम्मको सस्तो ब्याजदरमा कर्जा अफर गरेका थिए । प्रदर्शनी अवधिभर वास्तुशास्त्र, सार्वजनिक-निजी साझेदारी, नीतिगत सुधार र भूकम्पीय सुरक्षालगायत विषयमा सेमिनार तथा अन्तरक्रियाहरू समेत आयोजना गरिएका थिए । समापन समारोहका प्रमुख अतिथि एवं पूर्वाधार विकास समितिका सभापति इन्जिनियर आशिष गजुरेल र अर्थ तथा सुशासन समितिका संयोजक रुकेश रञ्जितले दर्शकको व्यापक सहभागिताले अर्थतन्त्र सुधारोन्मुख रहेको संकेत गरेको भन्दै छरिएर रहेका असुरक्षित बस्तीलाई व्यवस्थित गर्न एकीकृत बस्ती विकास र घरजग्गा क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । त्यसैगरी नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवर, चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रा र महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले २४० भन्दा बढी स्वदेशी उद्योगसँग जोडिएको यो क्षेत्रलाई चलायमान बनाउन जग्गाको हदबन्दी हटाउनुपर्ने, ५० प्रतिशतको लोन टु भ्यालु अनुपातलाई कम्तीमा ८० प्रतिशत पुर्याउनुपर्ने, कर्जा पुनर्संरचनाको सुविधा दिनुपर्ने र यस क्षेत्रलाई उद्योगसरह मान्यता दिनुपर्ने नीतिगत मागहरू अघि सारे । सिजी प्रोपर्टिज शीर्ष प्रायोजक र एसियन पेन्ट्स पावर्ड बाई प्रायोजक रहेको उक्त प्रदर्शनीको समापनमा उत्कृष्ट प्रदर्शकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
माथिल्लो त्रिशूली-१ को सुरुङभित्र थप १३ शव फेला
काठमाडौं । गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र हराइरहेका व्यक्तिको खोजीका क्रममा आइतबार थप १३ वटा शव फेला परेका छन् । आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार कार्यमा खटिएको टोलीले यी शवहरू फेला पारेको हो । सुरुङभित्र कंक्रिटिङका लागि तयार पारिएको रिबारको जालमा अल्झिएका र हिलोले पुरिएको अवस्थामा ती शवहरू भेटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यससँगै अडिट-३ क्षेत्रबाट मात्रै निकालिएका शवको कुल संख्या ३७ पुगेको छ । उद्धार गरिएका शवहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका-६ स्थित खम्बास्वास्थ्य परिसरमा ल्याएर राखिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले सूचना जारी गर्दै मृतकका परिवार तथा आफन्तहरूलाई शव सनाखतका लागि उपस्थित भई सहयोग गरिदिन अनुरोध गरेको छ । घटनापछि नेपाली सेना र आयोजनाको प्रवर्द्धक कम्पनी 'नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी'को संयुक्त टोली खोज तथा उद्धारमा निरन्तर खटिरहेको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन घटनास्थलमा तालिमप्राप्त कुकुर (सर्च डग) र कम्पनीका तर्फबाट मिनि एक्साभेटरको प्रयोग गरी दुईतर्फी टनेलमा खोजी तीव्र पारिएको छ । भदौ १० गतेको बाढीपछि यस आयोजनामा कार्यरत अझै ४५८ जना व्यक्तिहरू सम्पर्कविहीन रहेकाले खोजी कार्यलाई निरन्तरता दिइएको उद्धार टोलीले जनाएको छ ।
सोमबारदेखि यामाहा ब्लू फेस्ट, १० लाखसम्मको क्यासब्याक अफर
काठमाडौं । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले असोज ५ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा वार्षिक कार्यक्रम ‘यामाहा ब्लू फेस्ट’ आयोजना गर्ने भएको छ । ‘द बिगेस्ट एक्सचेन्ज मेला’ का रूपमा प्रस्तुत गरिएको ६ दिने फेस्टमा ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटरमार्फत जुनसुकै ब्रान्डका पुराना दुईपांग्रे सवारीसाधनको बजारकै उत्कृष्ट मूल्यांकन गरिनेछ । मेलामा पुराना सवारीसाधन एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्न प्रोत्साहित गर्ने उद्देश्यले ‘चंगा चेट’ अभियानसमेत सार्वजनिक गरिनेछ, जहाँ ग्राहकले पुरानो मोटरसाइकल वा स्कुटरमा थप ५० हजार रुपैयाँसम्मको भ्यालुएसन पाउनेछन् । साथै, १० लाख रुपैयाँसम्मको क्यासब्याक अफरसहित नागरिकताको भरमा तत्काल फाइनान्सिङ सुविधा र ४० महिनासम्मको न्यूनतम ईएमआई योजनासमेत उपलब्ध गराइनेछ । एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले विश्वस्तरीय मापदण्डका सवारीसाधन नेपाली राइडरसम्म पुर्याउन र एक्सचेन्ज प्रक्रियालाई थप सहज एवं लाभदायक बनाउन यो मेला आयोजना गरिएको बताए । खरिदका अतिरिक्त मेलामा रोमाञ्चक स्टन्ट शो, टेस्ट राइड, सेलिब्रेटी तथा क्रिएटरहरूसँग भेटघाट, कस्प्ले आर्टिस्टको प्रस्तुति र निःशुल्क एसेसरिजका साथै विभिन्न हाइटेक ग्याजेट जित्ने अवसरसमेत रहनेछ ।
बाढीमा परी उत्तरगयाका ११ जनाको मृत्यु, ७३७ सम्पर्कविहीन
काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकामा गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले व्यापक जनधनको क्षति पुर्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङका अनुसार बाढीका कारण ११ जनाको मृत्यु भएको छ भने ७३७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेहरूमा ४३६ जना स्थायी र ३१ जना अस्थायी बासिन्दा रहेका छन् । वडागत रूपमा हेर्दा वडा नं. १ मा ४३७ जना, वडा नं. २ मा ७५ जना (२ जनाको मृत्यु), वडा नं. ३ मा ३० जना (१ जनाको मृत्यु), वडा नं. ४ मा ७७ जना (१ जनाको मृत्यु) र वडा नं. ५ मा ११८ जना (७ जनाको मृत्यु) प्रभावित भएका छन् । उनले भनिन्, ‘पर्यटक, मजदुर तथा अन्य पेसाकर्मीहरू समावेश नभएकाले क्षति अझै बढ्न सक्ने अनुमान गरिएको छ । बाढीका कारण जनप्रतिनिधि, शिक्षक र निजामती कर्मचारीहरूसमेत प्रभावित भएका छन् ।’ गुरुङका अनुसार उत्तरगया गाउँपालिका वडा नं. १ की कार्यपालिका सदस्य ज्ञानु विक सम्पर्कविहीन छन् । त्यसैगरी, जनस्वास्थ्य निरीक्षक बलराम न्यौपाने, जनस्वास्थ्य अधिकृत प्रदिप न्यौपाने, अनमी दिनिसा शाही र कार्यालय सहयोगी रेप्पा तामाङ बेपत्ता रहेका छन् भने सूचना प्रविधि अधिकृत जनक आचार्यको मृत्यु भएको छ । साथै मिननाथ न्यौपाने, रमेश लामिछाने, संजिव तामाङ, नारायण बहादुर थापा, अजय कुमार यादव, ममता श्रेष्ठ, मनमाया तामाङ, सुक बहादुर तामाङ, प्रिन्सिपल सुरज डंगोल र सुष्मा तामाङ लगायतका शिक्षक तथा विद्यालय कर्मचारीहरू सम्पर्कविहीन छन् । भौतिक पूर्वाधारतर्फ गाउँपालिकाभर ६१३ परिवार पूर्ण रूपमा विस्थापित भएका छन् भने ६१८ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । साथै २२ वटा टहरा तथा अन्य संरचनामा क्षति पुगेको छ । सार्वजनिक निकायहरूतर्फ उत्तरगया गाउँपालिकाको कार्यपालिका कार्यालय (कैदलेटार) र वडा नं. १ को सम्पर्क कार्यालय नौविशेमा क्षति पुगेको छ । यसबाहेक सामुदायिक स्वास्थ्य एकाइ, कृषि तथा पशु सेवा सम्पर्क केन्द्र, उत्तरगया आँखा केन्द्र, विभिन्न विद्यालयका १० वटा भवन, ८ वटा शौचालय र ३४ वटा कक्षाकोठाहरू क्षतिग्रस्त भएका छन् । बाढीले यातायात, विद्युत र सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद गराएको छ । गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेशी-रसुवागढी सडकको वेत्रावती-मैलुङ खण्ड र वडा नं. १, २ र ३ जोड्ने सडक पूर्ण रूपमा क्षति भएको छ । ३ वटा पक्की पुल र ३ वटा झोलुङ्गे पुल बाढीले बगाएपछि आवतजावत तथा राहत सामग्री ढुवानीमा गम्भीर समस्या पैदा भएको छ भने वडा नं. १ मा विद्युत र सञ्चारको नेटवर्क पूर्ण रूपमा अवरुद्ध रहेको छ । विस्थापित र प्रभावितहरूलाई सुरक्षित राख्न विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ ।गाउँपालिकाभित्रका शिक्षालय आवि, भिमसेन स्थान, शिम्ले आवि, गणेश आवि र निलकण्ठ मावि छात्रावासमा गरी १७८ जना र नुवाकोट जिल्लाको विदुर तथा बट्टार क्षेत्रमा सारिएका ५३३ जना गरी कुल ७११ जना नागरिकले आश्रय लिइरहेका गाउँपालिकाकी उपाध्यक्ष गुरुङले बताइन् । उनका अनुसार राहत वितरणको क्रममा हालसम्म वडा नं. १ मा ११३, वडा नं. २ मा ७२, वडा नं. ३ मा १८, वडा नं. ४ मा ३२१ र वडा नं. ५ मा ४१७ गरी कुल ९४१ घरधुरीलाई राहत सामग्री वितरण गरिसकिएको छ । साथै भदौ १४ देखि १९ गतेसम्ममा विभिन्न ११५ वटा सरकारी, संघसंस्था तथा व्यक्तिगत तहबाट सहयोग प्राप्त भएको गुरुङको भनाइ छ । सडक र पुल भत्किएका कारण दुर्गम क्षेत्रहरूमा राहत पुर्याउन ठूलो चुनौती सामना गर्नुपरिरहेको उनले बताइन् । ‘अहिले पूर्णरुपमा विवरण आएको छैन् । सामान्य राहत वितरण गरिरहेका छौं । पूर्णरुपमा विवरण आएपछि उहाँलाई कहाँ राख्ने के गर्ने भन्नेबारे योजना बनाउँनेछौं,’उपाध्यक्ष गुरुङले भनिन् ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी पक्राउ
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलीमा खानमलाई पञ्जाब प्रान्तको लाहोरमा हिरासतमा लिइएको छ । लाहोरका डेपुटी कमिस्नरले उनको हिरासतको पुष्टि गरे । इमरान खानका छोरा कासिम खानले सामाजिक सञ्जाल एक्समार्फत अलीमा खानमलाई प्रहरीले अपहरण गरेको आरोप लगाएका छन् । उनले परिवारलाई अलीमालाई कहाँ लगिएको भन्ने जानकारी नदिइएको र परिवार तथा उनका वकिलले समेत उनीसँग सम्पर्क गर्न नसकेको बताएका छन् । कासिमले सरकारमाथि मानिसलाई नियन्त्रणमा लिएर परिवारमा डर पैदा गरेको तथा मानवअधिकार, उचित कानुनी प्रक्रिया र कानुनको शासनको उल्लंघन गरेको आरोपसमेत लगाएका छन् । ‘पहिले उनीहरूले मेरा बुबालाई जेलमा हाले । अब उनीहरू उनको परिवारको पछि लागेका छन्,’ उनले लेखेका छन् । बीबीसी उर्दूका अनुसार अलीमा खानमका आफन्त कासिम जमान खानले उनलाई लाहोर जिमखानाबाहिरबाट हिरासतमा लिएर कोट लखपत जेलमा स्थानान्तरण गरिएको बताएका छन् । उनका अनुसार शान्ति भंग हुन सक्ने आशंकाका आधारमा डेपुटी कमिस्नरले अलीमा खानमलाई हिरासतमा लिन प्रहरीलाई आदेश दिएका थिए । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा पक्राउ गरेको हो । लाहोर प्रहरीले भने घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । जेलमा रहेका इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले आगामी सेप्टेम्बर २७ मा इस्लामाबादतर्फ लामो मार्च गर्ने घोषणा गरेको छ । सोहीबीच अलीमा खानमलाई हिरासतमा लिइएको हो । अलीमा खानम यसअघि पनि पीटीआई समर्थकहरूसँग विभिन्न प्रदर्शनमा सहभागी हुँदै आएकी छन् ।
४ लाख ३० हजार डाउनपेमेन्टमै नयाँ टियागो ईभी पाइने
काठमाडौं । टाटा मोटर्सको नयाँ टियागो ईभी आकर्षक अफरसहित नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ विशेष अभियान सञ्चालन गरिरहेको छ । सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत ग्राहकले ४ लाख ३० हजार रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने सिप्रदीले जनाएको छ । ‘एक्सचेन्ज, अपग्रेड, सेलिब्रेट’ मुख्य सन्देशसहित सञ्चालन भइरहेको अभियानमा ग्राहकलाई आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्ने अवसर प्रदान गरिएको छ । अभियानअन्तर्गत नयाँ टियागो ईभी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन् । त्यस्तै, पुरानो गाडी एक्सचेन्ज गर्दा ‘बेस्ट एभर एक्सचेन्ज भ्यालुएसन’ को सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । गाडी खरिद गर्ने ग्राहकका लागि निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर र निःशुल्क होम चार्जिङ इन्स्टलेसन समेत उपलब्ध गराइनेछ । यसले गाडी खरिदसँगै ग्राहकलाई आवश्यक पर्ने थप सुविधामा समेत लाभ पुग्ने कम्पनीको भनाइ छ । आफ्नो पुरानो गाडीलाई विद्युतीय सवारीमा अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘जोयफुल विक’ले एक्सचेन्जदेखि नयाँ गाडी खरिदसम्मको प्रक्रियालाई थप सहज र आकर्षक बनाउने कम्पनीको दावी छ । ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा सम्पर्क गरी टियागो ईभीबारे जानकारी लिन, टेस्ट ड्राइभ गर्न तथा अभियानअन्तर्गतका अफरबारे बुझ्न सक्ने कम्पनीले जनाएको छ ।
सिप्रदीको सर्भिस सेन्टरमा अब राति ९ बजेसम्म सेवा
काठमाडौं । सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले सेवा समय विस्तार गरेको छ । २०८३ असोज १ गतेदेखि लागू हुने गरी सर्भिस सेन्टरले बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो । यसअघि उक्त सर्भिस सेन्टरले बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म मात्रै सेवा दिँदै आएको थियो । टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई थप सहज, छिटो र भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले समय थप गरिएको हो । ग्राहकको समय र व्यावसायिक सवारी सञ्चालनको आवश्यकतालाई ध्यानमा राख्दै सेवा अवधि रातिसम्म विस्तार गरिएको सिप्रदीले जनाएको छ । श्री जाल्पादेवी अटोवक्र्समा टाटा कमर्सियल भेहिकलका लागि अत्याधुनिक डायग्नोस्टिक उपकरण, टाटा जेन्युइन स्पेयर पार्ट्स, दक्ष तथा प्रशिक्षित प्राविधिक र उच्चतम सुरक्षा मापदण्डअनुसारको सेवा उपलब्ध हुने जनाइएको छ ।
असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने आँकलन
काठमाडौं । आगामी असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न भूभागमा भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बंगालको खाडी क्षेत्रमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका धेरै स्थानमा भारी वर्षा हुनसक्ने देखिएको हो । विभागका अनुसार असोज ९ र १० गते वर्षाको प्रभाव तुलनात्मक रूपमा बढी रहने सम्भावना छ । उक्त अवधिमा विशेषगरी भारी वर्षा हुनसक्ने भएकाले मौसमको अवस्थाप्रति सतर्क रहन विभागले सुझाव दिएको छ । पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्म वर्षा हुने सम्भावना रहेपनि लुम्बिनी प्रदेशमा भने भारी वर्षाको जोखिम बढी देखिएको छ । विभिन्न मौसम पूर्वानुमान प्रणालीले समेत लुम्बिनी क्षेत्रमा उल्लेख्य वर्षा हुनसक्ने संकेत गरेका छन् । पूर्वानुमानअनुसार आगामी चारदेखि पाँच दिनको अवधिमा कतिपय क्षेत्रमा कुल ५०० मिलिमिटरसम्म वर्षा हुन सक्ने देखिएको छ । यद्यपि उक्त परिमाण एकै दिनमा नभई धेरै दिनमा हुने सम्भावित वर्षाको समग्र अनुमान हो । लामो समयसम्म ठूलो परिमाणमा वर्षा भएमा नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै बाढी, पहिरो र डुबानको जोखिमसमेत बढ्न सक्ने मौसमविद्ले बताएका छन् । त्यसैले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो । विभागले विकसित भइरहेको मौसमी प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ । वर्षाको वास्तविक परिमाण, तीव्रता र बढी प्रभावित हुनसक्ने क्षेत्रबारे भने मौसम नजिकिँदै जाँदा थप स्पष्ट विवरण सार्वजनिक हुने विभागको भनाइ छ ।