८० हजारभन्दा बढी दर्शकले अवलोकन गरेपछि सकियो नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी

काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना गरिएको चार दिने ‘नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३’ आइतबार सम्पन्न भएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ, नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा आयोजना गरेको यस प्रदर्शनीलाई अनुमानभन्दा दोब्बर अर्थात् ८० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । 

प्रदर्शनीमा सात लाख रुपैयाँदेखि करोडौँ रुपैयाँसम्मका किफायती घर, अपार्टमेन्ट र घडेरीहरू बिक्री तथा प्रदर्शनका लागि राखिनुका साथै बैंक तथा वित्तीय संस्थाले ५.४९ प्रतिशतदेखि ६ प्रतिशतसम्मको सस्तो ब्याजदरमा कर्जा अफर गरेका थिए । प्रदर्शनी अवधिभर वास्तुशास्त्र, सार्वजनिक-निजी साझेदारी, नीतिगत सुधार र भूकम्पीय सुरक्षालगायत विषयमा सेमिनार तथा अन्तरक्रियाहरू समेत आयोजना गरिएका थिए ।

समापन समारोहका प्रमुख अतिथि एवं पूर्वाधार विकास समितिका सभापति इन्जिनियर आशिष गजुरेल र अर्थ तथा सुशासन समितिका संयोजक रुकेश रञ्जितले दर्शकको व्यापक सहभागिताले अर्थतन्त्र सुधारोन्मुख रहेको संकेत गरेको भन्दै छरिएर रहेका असुरक्षित बस्तीलाई व्यवस्थित गर्न एकीकृत बस्ती विकास र घरजग्गा क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । 

त्यसैगरी नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवर, चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रा र महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले २४० भन्दा बढी स्वदेशी उद्योगसँग जोडिएको यो क्षेत्रलाई चलायमान बनाउन जग्गाको हदबन्दी हटाउनुपर्ने, ५० प्रतिशतको लोन टु भ्यालु अनुपातलाई कम्तीमा ८० प्रतिशत पुर्याउनुपर्ने, कर्जा पुनर्संरचनाको सुविधा दिनुपर्ने र यस क्षेत्रलाई उद्योगसरह मान्यता दिनुपर्ने नीतिगत मागहरू अघि सारे । 

सिजी प्रोपर्टिज शीर्ष प्रायोजक र एसियन पेन्ट्स पावर्ड बाई प्रायोजक रहेको उक्त प्रदर्शनीको समापनमा उत्कृष्ट प्रदर्शकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो । 

Share News