काठमाडौं । गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र हराइरहेका व्यक्तिको खोजीका क्रममा आइतबार थप १३ वटा शव फेला परेका छन् ।
आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार कार्यमा खटिएको टोलीले यी शवहरू फेला पारेको हो । सुरुङभित्र कंक्रिटिङका लागि तयार पारिएको रिबारको जालमा अल्झिएका र हिलोले पुरिएको अवस्थामा ती शवहरू भेटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यससँगै अडिट-३ क्षेत्रबाट मात्रै निकालिएका शवको कुल संख्या ३७ पुगेको छ ।
उद्धार गरिएका शवहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका-६ स्थित खम्बास्वास्थ्य परिसरमा ल्याएर राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले सूचना जारी गर्दै मृतकका परिवार तथा आफन्तहरूलाई शव सनाखतका लागि उपस्थित भई सहयोग गरिदिन अनुरोध गरेको छ ।
घटनापछि नेपाली सेना र आयोजनाको प्रवर्द्धक कम्पनी 'नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी'को संयुक्त टोली खोज तथा उद्धारमा निरन्तर खटिरहेको छ ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन घटनास्थलमा तालिमप्राप्त कुकुर (सर्च डग) र कम्पनीका तर्फबाट मिनि एक्साभेटरको प्रयोग गरी दुईतर्फी टनेलमा खोजी तीव्र पारिएको छ ।
भदौ १० गतेको बाढीपछि यस आयोजनामा कार्यरत अझै ४५८ जना व्यक्तिहरू सम्पर्कविहीन रहेकाले खोजी कार्यलाई निरन्तरता दिइएको उद्धार टोलीले जनाएको छ ।