उग्रचण्डी खाद्यान्न स्टोरलाई २० हजार जरिवाना, १५ फर्मलाई सुधारात्मक निर्देशन
काठमाडौं । नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १७ वटा फर्ममा निरीक्षण गरेको छ । विभागका अनुसार काठमाडौंका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा एउटा फर्मलाई नगद जरिवाना गरेको छ । उग्रचण्डी खाद्यान्न स्टोरलाई २० हजार रुपैयाँ जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ क बमोजिम कारबाही गरिएको हो । यस्तै, निकन्टिनेन्टल प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै, विभागले अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सरोकारवालाको समेत सहभागितामा नियमित बजार अनुगमन गर्दै बजारमा स्वच्छता कायम गर्न पहल गरिरहेको जनाएको छ ।
स्याङ्जामा १ अर्ब ३२ करोडको सुन्तला उत्पादन, प्रतिकेजी ५७ रुपैयाँमा बिक्री
काठमाडौं । स्याङजाबाट यस वर्ष १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । स्याङ्जामा उत्पादन भएको सुन्तला थोकमा प्रतिकेजी ५७ रुपैयाँका दरले बिक्री भएको छ । गत वर्षको तुलनामा यस वर्ष २० करोड रुपैयाँ बढीको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादकत्व समेत बढेको छ । यस वर्ष १६.३७ टन प्रतिहेक्टर उत्पादन भएको छ भने गत वर्ष १४.६६ टन प्रतिहेक्टर उत्पादन भएको थियो । स्याङ्जामा उत्पादन भएको कुल परिमाणको सुन्तलामध्ये ९० प्रतिशत बिक्री हुने गरेको छ भने बाँकी रहेको १० प्रतिशत सुन्तला कोसेली, उपहार तथा घर घरमै खपत हुने गरेको उनले बताए । यस वर्ष उत्पादन भएकामध्ये २० हजार ८८२ मेट्रिक टन बिक्री योग्य परिमाणको सुन्तला हो । स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला बगैँचाले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्ष २ हजार २५० हेक्टर क्षेत्रफलमा रहेको सुन्तला बगैँचा यस वर्ष १५० हेक्टर क्षेत्रफल वृद्धि भई २ हजार ४०० हेक्टर पुगेको उनले जानकारी दिए । गत वर्ष १ हजार ३७० हेक्टर उत्पादनशील क्षेत्रफल रहेको थियो । यस वर्ष उत्पादनशील क्षेत्रफल १ हजार ४२० हेक्टर रहेको छ । हुर्कँदो बगैँचाको क्षेत्रफलसमेत गत वर्षको तुलनामा यस वर्ष १ सय हेक्टर वृद्धि भएको छ । गत वर्ष ८८० हेक्टर रहेकामा यस वर्ष ९८० हेक्टरमा हुर्कँदो सुन्तलाको बगैँचा रहेको छ । विसं २०७३/७४ मा स्याङजालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५/७६ को सुरुआतसँगै स्याङजालाई सुपरजोन घोषणा गरिएको थियो । सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका छन् । स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तला खेतीलाई विस्तार गरी व्यवसायीकरण गर्न थालिएको छ । सुन्तला खेतीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा विकास गर्नेतर्फ सुन्तला किसानको लहर बढ्दै गएको छ । पाखो, भिरालो जमिन तथा बारीमा अन्य रुख बुट्यानलाई फडानी गरी सुन्तला बगैँचा निर्माण गर्ने र अन्य खाद्यान्न उत्पादन हुने जमिनलाई सदुपयोग गरी सुन्तलाका बोट लगाउनेतर्फ अहिले किसान आकर्षित हुँदै गएका छन् । जिल्लाको पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, विरुवा, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र हुन् । यहाँका सुन्तला काठमाडौं, बुटवल, पोखरा, नारायणगढलगायत ठूला सहरमा पुग्ने गरेका छन् । स्याङ्जामा उत्पादन भएको सुन्तला खरिद गर्न सिधै व्यापारी बगैँचामा पुग्ने गरेका छन् ।
पोखरामा आजदेखि दैनिक ५ घण्टा बिजुली आपूर्ति बन्द हुने, ताररहित सहर बनाउने
काठमाडौं । पोखरामा आजदेखि २१ गतेसम्म दैनिक ५ घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखा अन्तर्गत रहेको कुँडहर सबस्टेशनमा ४ दिनसम्म बिहान ६ देखि ११ बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य सुरु हुने भएकाले पोखराको अधिकांश क्षेत्रमा बिजुली काटिने पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । ‘कुँडहर सवस्टेशनको एक सय ३२ केभीको बसबार मर्मतका लागि प्राधिकरणले ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार आजदेखि मर्मत कार्य हुँदैछ । यसबाट कुँडहर ग्रीडबाट आपूर्ति हुने सबै फिडरहरू सटडाउन हुनेछन् । हामीले सोहीअनुसार सूचना गरेका छौँ,’ कार्यालय प्रमुख यादवले भने । पोखरा प्रवेशको विजयपुरबाट यता हरिचोकसम्मको सम्पूर्ण क्षेत्रमा विद्युत् नआउने पोखरा वितरण केन्द्रले जनाएको छ । तोकिएको समभन्दा अगावै मर्मत कार्य सकिएकामा भने केही छिटो बिजुली आउनेसमेत बताइन्छ । सवस्टेशनको बसबार मर्मत सकिएपछि भने नियमित विद्युत् आपूर्ति हुने पोखरा वितरण केन्द्रले जनाएको छ । पोखरालाई तार रहित बनाउन आग्रह पोखरा महानगरपालिकाले पोखराको बजार क्षेत्रलाई तार रहित बनाउने योजनामा सहकार्यका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेको छ । विद्युत् प्राधिकरणले अघि बढाएको पोखराको २३ किमी क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने योजनाअनुसार अधिकांश स्थानमा एकीकृत रूपमा बिजुली, टेलिफोन र इन्टरनेट समेतलाई भूमिगत गर्ने सम्भावनाका बारेमा महानगरले छलफल अघि बढाएको हो । महानगरले इन्टरनेट सेवा प्रदायकहरूसँग छलफल गरी बिजुलीलगायतका पोलहरूमा अव्यवस्थित रूपमा रहेका अनावश्यक तार तत्काल हटाउन पनि आग्रह गरेको छ । नगर प्रमुख धनराज आचार्यले सेवा प्रदायकहरूलाई यथाशक्य छिटो विद्युत् प्राधिकरणसँग समन्वय गरी सेवामा सहकार्य गर्न आग्रह गरे । ‘पोखरा बजार क्षेत्रलाई ताररहित बनाउने योजनामा सहयोगका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेका छौँ । यस कार्यका लागि आवश्यक सहयोग गर्न महानगरपालिका तयार छ,’ उनले भने । प्रमुख आचार्यले एक महिनाभित्रमा तार हटाउन निर्देशन दिइएको र सम्बन्धित कम्पनीले नहटाए महानगरपालिका आफैंले हटाउने समेत बताए । ‘विद्युत् प्राधिकरणले गरिरहेको तार हटाउने योजनामा इन्टरनेट सेवा प्रदायकहरूलाई समेत सहभागी गराउँछौँ । उहाँहरूलाई एक महिनाको समय दिएका छौँ । एक प्राविधिक समिति बनाएर यसको व्यवस्थापन गर्न निर्देशन दिइएको छ,’ प्रमुख आचार्यले भने । पोखरामा हाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत तारहरू भूमिगत गर्ने कार्य गरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक-रत्नचोक-राष्ट्र बैंकचोक-शहिदचोक-लेकसाइड-हल्लनचोकदेखि बुलौदी हुँदै जिरो किलोमिटरसम्मको क्षेत्रमा अहिले यो कार्य भइरहेको छ । पोखराको सहरी सौन्दर्यकरणमा प्रत्यक्ष प्रतिकूल असर पुर्याइरहेका अव्यवस्थित तारहरूको व्यवस्थापन गर्ने यो उपयुक्त अवसर भएकाले प्राधिकरणको योजनामा सामेल भई ताररहित अभियानमा सहयोगका लागि महानगरले आग्रह गरेको हो । महानगर २३ किमी क्षेत्रमा आगामी जुलाईभित्रमा सम्पन्न गर्नेगरी तारहरू भूमिगत गर्ने कार्य भइरहेको छ । यस परियोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको प्राधिकरण पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीले बताए । पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आवतजावत हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउने कार्य भइरहेको हो । जमिनमुनि तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्याउने काम पनि प्राधिकरण गरिरहेको छ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको र तार भूमिगत गरेपछि ठाउँठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्याइने आयोजना प्रमुख सुवेदीले बताए । विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ ।
हुस्सुले ढाकियो तराई, पहाडमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू-भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु रहनेछ । मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन तथा दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
नाडामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएपछि निर्वाचन कार्यक्रम रद्द
काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) मा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । यसअघि १७ सदस्यका लागि १८ जनाले उम्मेदवारी दिएपछि निर्वाचन हुने सम्भावना देखिएको थियो । तर, अन्तिम समयमा उम्मेदवार दीपककुमार अग्रवालले आफ्नो नाम फिर्ता लिएसँगै सबै सदस्यहरू निर्विरोध चयन भएका हुन् । नाडा स्रोतका अनुसार अग्रवाललाई पछि कार्यसमितिमा मनोनित गर्ने सहमति जुटेपछि निर्वाचनको अन्योल हटेको हो । व्यक्तिगततर्फबाट विक्रम सिंहानिया, दीपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, नारायणप्रसाद पौडेल, अनुपकुमार बराल, अभिक ज्योति, पंकज अग्रवाल, निलमणि पाठक, नवीनकुमार परख, विमल साह, दिवाकर मिश्रा, दीपकराज गिरी, नवराज भुषाल, तोयानाथ खनाल, मिलनबाबु मल्ल, प्रकाश कपुरी र विकास जोशी निर्वाचित भएका छन् । त्यसैगरी, संस्थागततर्फ सातै प्रदेशका अटोमोबाइल्स एशोसिएसनबाट प्रतिनिधिहरू चुनिएका छन् । जसमा डिल्लीराज आचार्य (मोरङ), केदारकुमार अग्रवाल (जानकी), दामोदर प्रसाद अटल (हेटौंडा), दीपेन्द्र कोइराला (पश्चिमाञ्चल), गणेशप्रसाद भट्टराई (लुम्बिनी), भद्र भण्डारी (कर्णाली) र पुस्करराज ओझा (सुदूरपश्चिम) रहेका छन् । नाडाको विधान अनुसार २९ सदस्यीय कार्यसमितिमा २५ जना निर्विरोध चयन भएका छन् भने निवर्तमान अध्यक्ष स्वतः सदस्य रहने व्यवस्था छ । बाँकी तीन सदस्य भने नयाँ कार्यसमितिले मनोनित गर्नेछ । गत पुस ९ गते ४९ औं वार्षिक साधारण सभा सम्पन्न भए पनि निर्वाचन कार्यतालिका नमिलेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पुनः निर्वाचन गराउन निर्देशन दिएको थियो । सोही बमोजिम पुस २५ गतेका लागि निर्वाचन तय गरिएको थियो । तर, व्यवसायीहरूबीचको आपसी समझदारी र एकताका कारण चुनाव नगरी नै नयाँ नेतृत्व छानिएको छ ।
नाडामा असन्तुष्ट पक्ष अदालत जाने तयारी, कार्यसमिति निर्विरोध गराएर नाटक गरेको आरोप
काठमाडौं । नेपालको अटोमोबाइल्स क्षेत्रको छाता संगठन नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध हुने लगभग निश्चितजस्तै भएको छ । तर नाडाभित्रको असन्तुष्ट पक्षले भने यो सम्पूर्ण निर्वाचन प्रक्रियालाई अवैधानिक र नाटकको संज्ञा दिँदै बहिष्कार गरेको छ । असन्तुष्ट पक्षले नयाँ नेतृत्वको वैधतामाथि प्रश्न उठाएको छ । असन्तुष्ट पक्षका एक अटो व्यवसायीका अनुसार यो चुनाव एउटा समूहले मात्र गरेको र यसमा आफूहरूको सहभागिता नरहेको बताए । ‘यो विधानविपरीत भएको निर्वाचन हो, यसको कुनै अर्थ छैन । यो चुनाव एउटा नाटक मात्र हो,’ उनले भने, ‘हामीले त्यहाँ सहभागी नै भएका छैनौं, त्यसपछि निर्विरोध त भइहाल्छ नि ।’ उनका अनुसार विगतमा करण चौधरीपछि आकाश गोल्छालाई नेतृत्व दिने गरी विधानसमेत संशोधन गरेर सहमति भएको थियो तर उक्त सहमति कार्यान्वयन भएन। उनले नाडा अब पहिलाको नाडाजस्तो नरहेको जिकिर गरे । ‘नाडा नाडा जस्तो रहेन, यहाँ सवारीसाधनका आयातकर्ता निकै कम छन्, अब यो पार्ट्स र डिलरहरूको मात्र संस्था बन्न लाग्यो,’ उनले भने । असन्तुष्ट पक्षले निर्वाचन प्रक्रियाविरुद्ध अदालतमा मुद्दा दायर गरेको र अदालतको फैसला नै आफूहरूलाई मान्य हुने जनाएको छ । नाडाको ४९ औं साधारण सभा तथा निर्वाचन विरुद्ध असन्तुष्ट पक्ष अदालतमा जाने तयारीमा छ । अध्यक्ष पदका लागि उम्मेदवारी दर्ताको अन्तिम समयसम्म अध्यक्ष पदमा उप्रेतीको मात्रै उम्मेदवारी परेको थियो । यद्यपि निर्वाचन समितिका अनुसार उनलाई निर्वाचित घोषणा गर्न भने बाँकी छ । नाडाका कोषाध्यक्ष मिलन मल्लले भने, ‘अहिले उहाँलाई निर्वाचित भन्न मिल्दैन । निर्विरोध उम्मेदवार हुनुभएको हो । चुनाव त यही २५ गतेलाई तोकिएको छ ।’ नाडाको नेतृत्व सम्हाल्न तयार उप्रेती अटोमोबाइल क्षेत्रमा परिचित नाम हो । हेटौंडा भएका उनी विशेषगरी स्पेयर पार्ट्सको आयात व्यवसायमा संलग्न छन् । उनी पीएलओ समूहसँग पनि आबद्ध छन् । लामो समयदेखि नाडाको विभिन्न जिम्मेवारीमा रहेर अटो क्षेत्रको उत्थानमा उप्रेती सक्रिय मानिन्छन् । यसअघि नाडाको कोषाध्यक्ष र महासचिव पद सम्हालिसकेका उप्रेतीले लुब्रिकेन्ट र वातावरण समितिको सदस्य रहेर समेत काम गरिसकेका छन् । नाडाको विधानअनुसार निर्वाचनबाट एकजना अध्यक्ष र १७ जना सदस्य निर्वाचित हुन्छन् । त्यसपछि निर्वाचित अध्यक्ष र सदस्यहरूले आफूहरूमध्येबाटै अन्य पदाधिकारीहरू (उपाध्यक्ष, महासचिव, सचिव आदि) चयन गर्छन् । यस प्रक्रियामा निवर्तमान अध्यक्षसहित कुल १९ जनाको भोटिङबाट पदाधिकारीहरूको टुङ्गो लाग्नेछ । एकातर्फ उप्रेतीको नेतृत्वमा नयाँ कार्यसमिति आउने निश्चित देखिएको छ भने अर्कोतर्फ संस्थाभित्रको गहिरो मतभेद र कानुनी चुनौतीले नाडाको आगामी यात्रा सहज नहुने देखिन्छ। यसअघि गत पुस ९ गते नाडाको ४९औं वार्षिक साधारण सभा सम्पन्न भए पनि निर्वाचनको प्रक्रिया भने केही अन्यौलपूर्ण बनेको थियो । निर्वाचन कार्यतालिका बिना नै साधारण सभा बोलाइएको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्वाचन रोक्न निर्देशन दिएको थियो । प्रशासनको सोही आदेशको पालना गर्दै नाडाले पुस २५ गतेका लागि नयाँ निर्वाचन मिति तय गरेको थियो । अध्यक्षमा उप्रेती निर्विरोध भएसँगै अब अन्य कार्यसमिति सदस्य र पदाधिकारीहरू पनि सर्वसहमतिमै चयन गर्ने प्रयास भइरहेको नाडाले जनाएको छ । अन्यौलमा नाडा निर्वाचन, विधान उल्लंघन र अदालतको चक्करमा नयाँ नेतृत्व नाडाको ४९ औं साधारणसभा सम्पन्न, नयाँ नेतृत्वका लागि पुस २५ गते निर्वाचन हुने नाडालाई महासंघ बनाउने प्रस्ताव पारित, कागजात कुर्दै सीडीओ कार्यालय निर्वाचन बिना साधारण सभा नगर्न नाडालाई प्रशासनको निर्देशन
पूर्वगृहमन्त्री लेखकको स्थानहद फुकुवा, ओलीको कायमै
काठमाडौं । गत भदौ २३ र २४ घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरेको छ । आयोगले बिहीबार स्थानहद फुकुवा गरेको हो । आयोगले उनीसँग सोमबार र बुधबार बयान लिएको थियो । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद भने कायमै छ । आयोगले असोज १२ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित उच्च अधिकारीहरूलाई स्थान हद लगाएको थियो । ओलीबाहेक सबैको बयान सकेर आयोगले स्थानहद फुकुवा गरेको हो । ओलीले भने आयोगमा बयान नै नदिने बताउँदै आएका छन् । आयोगको कानुनी हैसियत र स्वच्छतामा प्रश्न उठाउँदै बयान दिन आयोगमा नजाने पक्षमा आफ्नो भनाइ सार्वजनिक गरिरहेको अवस्थामा आयोगले ओलीलाई बयानका लागि पत्राचार गर्ने भएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज सञ्चारकर्मीको प्रश्नको जवाफमा अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउन पत्राचार गर्न लागेको बताएका छन्। आयोगले पत्र पठाए पनि बयान दिन नजाने अडानमा ओली देखिएका छन् । उनी बयान दिन नगए आयोग गुण्डुमै बयान लिन जानेसम्मको तयारी रहेको जनाइएको छ ।
कामना सेवा विकास बैंकद्वारा लहानका विपन्न परिवारलाई फाइबर सिरक वितरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका–५ का गरिब, दलित तथा अति विपन्न परिवारलाई जाडोयाममा फाइबर सिरक वितरण गरेको छ । बैंकको लहान शाखा कार्यालयमार्फत आयोजित कार्यक्रममा मधेश प्रदेश प्रमुख श्याम चवाईंले स्थानीय बासिन्दालाई फाइबर सिरक वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख चवाईंले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेका यस्ता कार्यक्रमले स्थानीय समुदायलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । जाडोयाममा आवश्यक सहयोग प्राप्त भएको भन्दै स्थानीय बासिन्दाले बैंकको मानवीय पहलप्रति खुशी व्यक्त गर्दै आभार प्रकट गरेका छन् । सिरक वितरण कार्यक्रममा बैंकका कर्मचारी, लहान नगरपालिका–५ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्षलगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।