सामाजिक सञ्जालबाटबाट धम्की दिने ‘मनोज मानव’ पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट आधारहीन, भ्रामक तथा धम्कीपूर्ण सामग्री पोस्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन् । आइतबार प्रहरीले सिरहा लहान नगरपालिका- २४ का मनोज मानव भन्ने मनोज कुमार महतो पक्राउ परेका हुन् ।

महतोलाई उदयपुरस्थित चतरा पुलपारिको एक होटलमा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरको सहयोगमा पक्राउ गरेको हो ।

महतोले लामो समयदेखि उद्योगी, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा राष्ट्रसेवक कर्मचारीलगायत विभिन्न व्यक्तिविरुद्ध बदनाम तथा चरित्रहत्या गर्ने गर्ने प्रहरीले उल्लेख गरेको छ । उनले आधारबिनाका सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्दै आएको सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेशबहादुर पालले बताए ।

उनका अनुसार सामाजिक सद्भाव तथा सार्वजनिक शान्तिमा समेत असर परेको भन्दै परेको जाहेरी परेको थियो । उनीविरुद्ध साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ। 

पालका अनुसार महतोले आफूसँग स्वचालित हतियार रहेको र आफू पूर्व जनतान्त्रिकको लडाकु भएको भन्ने गरेका थिए । केही व्यक्तिलाई धम्की दिने गरेको तथा हतियारको फोटो पठाएर आपराधिक लाभसमेत लिएको भन्ने सूचना प्रहरीले प्राप्त गरेको जनाएको छ ।

महतोमाथि थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीले उनीबाट भएको भनिएको आपराधिक लाभ तथा धम्कीसम्बन्धी घटनाबाट पीडित भएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय सिरहामा सम्पर्क गर्न अनुरोध गरेको छ।

Share News