१६ करोड अमेरिकी डलर बराबरका निर्यात नियन्त्रित एनभीडीया चिप्स कसरी चीन पुगे ?
काठमाडौं । डिसेम्बर ८ मा अमेरिकाको टेक्सास राज्यका संघीय अभियोजकहरूले सार्वजनिक गरेका कागजातहरूले अमेरिका र विश्वभर फैलिएको एक विशाल तस्करी सञ्जालमाथि भइरहेको अनुसन्धानको खुलासा गरे । संघीय अधिकारीहरूले यस अनुसन्धानलाई ‘अपरेशन गेटकिपर’ नाम दिएका थिए । यो अनुसन्धान लागूऔषध तस्करी वा चोरीका सामानमा केन्द्रित थिएन, बरु एनभीडीयाका ग्राफिक्स प्रोसेसिङ युनिट्स (जीपीयू) का लागि बताए अनुसार चलाइँदै आएको गोप्य, भूमिगत आपूर्तिकर्ता सञ्जालमाथि केन्द्रित थियो । यस्ता चिप्स कृत्रिम बौद्धिकता (एआई) प्रतिस्पर्धाको मेरुदण्ड मानिन्छन् र तिनको प्रयोग सैन्य तथा नागरिक दुवै प्रयोजनका लागि हुन सक्छ । सरकारका अनुसार एउटा लुकेको तस्करी गिरोहले अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी निर्यात नियन्त्रण कानुनको अवज्ञा गर्दै चिप्स चीन पठाइरहेको थियो । उक्त तस्करी सञ्जालमा अवैध रूपमा संयुक्त राज्य प्रवेश गर्ने व्यक्तिहरू, फ्रन्ट कम्पनीहरू र न्यू जर्सीमा रहेको एक गोप्य गोदाममार्फत गरिने ढुवानी सञ्चालन संलग्न थियो । जहाँ अमेरिकी सरकारका तर्फबाट काम गरिरहेका कम्तीमा एक जना भेष बदलेका (अन्डरकभर) एजेन्टले प्रवेश गरेका थिए । संघीय अनुसन्धानले पत्ता लगाएका तथ्यहरूले अत्याधुनिक चिप्समा पहुँचका लागि संयुक्त राज्य अमेरिका र चीनबीच चलिरहेको तीव्र प्रतिस्पर्धालाई उजागर गर्छ, जसले विश्व अर्थतन्त्रको भविष्य निर्धारण गर्ने धेरैको विश्वास छ । अधिकारीहरूका अनुसार उक्त तस्करी सञ्जालले अक्टोबर २०२४ देखि मे २०२५ सम्म चीनमा कम्तीमा १६ करोड अमेरिकी डलर बराबरका एनभीडीया एच १०० एच २०० जीपीयू निर्यात गर्ने प्रयास गरेको थियो । चीनबाट यी चिप्सको माग अत्यन्तै ठूलो छ र हालसम्म उत्कृष्ट आपूर्ति अझै पनि संयुक्त राज्य अमेरिकामै केन्द्रित छ । चीनले आफ्नै स्थानीय एआई चिप बजार विकास गरिरहेको भए पनि देश अझै पनि एनभीडीयाको प्रविधिमा अत्यधिक निर्भर रहेको छ । सेमीएनालाइसिसका विश्लेषक रे वाङ भन्छन्, ‘मलाई लाग्छ अहिले चीनका अग्रणी एआई मोडेलहरूमध्ये ६० प्रतिशतभन्दा बढीले एनभीडीयाको हार्डवेयर प्रयोग गरिरहेका छन् । हार्डवेयरदेखि सफ्टवेयरसम्म एनभीडीयासँग प्रणालीगत फाइदा छ । र अहिलेको अवस्थामा यी दुवै पक्षलाई एकसाथ हेर्दा चीन अझै पनि त्यसको पछि लागेर सम्हाल्ने प्रयासमै छ ।’ तथ्य संकलनका क्रममा सरकारले न्यू जर्सीको सेककसमा रहेको एक गोदाममा एक जना अन्डरकभर एजेन्ट पठायो । त्यहाँ उक्त व्यक्तिले एनभीडीया जीपीयूहरूलाई ‘सान्डकायन’ नामको नक्कली कम्पनीको ब्रान्डिङ लगाएर पुनः लेबल गरिँदै गरेको दृश्य कथित रूपमा देखेका थिए । सरकारका अनुसार ढुवानी तथा निर्यातसम्बन्धी कागजातहरूमा ती सामानलाई ‘एड्याप्टर’, ‘एड्याप्टर मोड्युल’ र ‘कन्ट्याक्टर कन्ट्रोलर’ भनेर गलत रूपमा वर्गीकृत गरिएको थियो । मे २८ मा न्यू जर्सीको उक्त गोदाममा षड्यन्त्रकारीहरूले भाडामा लिएका तीनवटा ट्रकहरू तस्करी गरिएका चिप्स उठाउन आइपुगेपछि अपरेशन गेटकिपर नाटकीय रूपमा उत्कर्षमा पुगेको थियो । षड्यन्त्रकारीहरूले प्रयोग गरेको भनिएको एक टेक्स्ट च्याट समूहमा एक प्रयोगकर्ताले सन्देश पठाउँदै न्यू जर्सीको गोदामसम्म सामान ल्याइरहेका एक ट्रक चालकले घटनास्थलमा प्रहरी अधिकारीहरू देखिएको र उनीहरूले कार्गोको गन्तव्यबारे प्रश्न सोधिरहेको जानकारी दिएका थिए । सन्देशअनुसार षड्यन्त्रकारीहरूले चालकहरूलाई ‘केही पनि थाहा छैन भनेर मात्र भन्नू’ भन्ने निर्देशन दिएका थिए। अभियोजकहरूका अनुसार पाँच मिनेटपछि षड्यन्त्रकारीहरूमध्ये एक जनाले सम्पूर्ण च्याट समूहमा अर्को सन्देश पठाए– यो समूह च्याट विघटन गर, सबैलाई डिलिट गर । त्यसको केही समयपछि संघीय एजेन्टहरूले त्यहाँ छापा मारेर उच्च प्रविधियुक्त उपकरणहरू नियन्त्रणमा लिए र घटनास्थलमा रहेका सामानहरू चीन पठाउन नदिन सफल भए । यो मुद्दा पछिल्ला महिनाहरूमा अनधिकृत एनभीडीया निर्यातसम्बन्धी यस्तै किसिमका धेरै कारबाहीहरू भइरहेका बेला आएको हो । थिङ्क ट्यांक ‘सेन्टर फर अ न्यू अमेरिकन सेक्युरिटी’को अनुमानअनुसार २०२४ मा मात्र १० हजारदेखि सयौं हजारसम्म एआई चिप्स चीनमा तस्करी गरिएका थिए । ‘आजको संसारमा एनभीडीयाका चिप्स गैरकानुनी रूपमा हात पार्ने धेरै तरिकाहरू छन् जस्तो मलाई लाग्छ,’ वाङले भने, ‘तपाईं विश्वभर डेटा सेन्टर स्थापना गर्न सक्नुहुन्छ, शेल कम्पनीहरू खोलेर एनभीडीयाका चिप्स किन्न सक्नुहुन्छ। अनि एनभीडीयाका लागि ट्र्याक गर्न र उचित जाँचबुझ गर्न अत्यन्तै गाह्रो हुन्छ ।’ एनभीडीयाका एक प्रवक्ताले सीएनबीसीलाई अमेरिकी सरकारको निर्यात नियन्त्रण प्रक्रिया कडा र व्यापक रहेको बताएका छन् । ‘दोस्रो बजारमा पुराना पुस्ताका उत्पादनहरूको बिक्रीसमेत कडा निगरानी र समीक्षा अन्तर्गत पर्छ,’ एनभीडीयाका प्रवक्ताले भने, ‘व्यवसाय, घर र विद्यालयहरूमा लाखौं नियन्त्रित जीपीयूहरू प्रयोगमा रहे पनि हामी सरकार र हाम्रा ग्राहकहरूसँग मिलेर दोस्रो हातबाट हुने तस्करी नहोस् भन्ने सुनिश्चित गर्न निरन्तर काम गर्नेछौं ।’ तर संघीय अभियोजकहरूले आफ्नो अनुसन्धान सार्वजनिक गरेको त्यही दिन राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा गरेको एक पोस्टले सम्पूर्ण अपरेशनलाई कमजोर पार्न सक्ने अवस्था सिर्जना गर्यो । ट्रम्पले ‘ट्रुथ सोसल’ मा लेख्दै अब संयुक्त राज्यले एनभीडीयाका एच २०० जीपीयू अपरेशन गेटकिपरमा अधिकारीहरूले नियन्त्रणमा लिएका सबैभन्दा शक्तिशाली जीपीयू चीन निर्यात गर्न अनुमति दिने बताए । ट्रम्पका अनुसार ती निर्यातहरू अमेरिकी सरकारले बिक्री रकमको २५ प्रतिशत हिस्सा प्राप्त गर्ने सर्तमा अनुमति दिइनेछ । तर एनभीडीयाका सबैभन्दा उन्नत एआई चिप्स, ब्ल्याकवेल र रुबिन जीपीयू भने अझै निर्यातका लागि स्वीकृत नभएको उनले स्पष्ट पारे । अपरेशन गेटकिपरको परिणामस्वरूप दुई जना व्यवसायी पक्राउ परे भने एक ह्युस्टनका व्यक्ति र उनको कम्पनीले अत्याधुनिक एआई प्रविधि तस्करी गरेको अभियोग स्वीकार गरे । तर राष्ट्रपतिको उक्त घोषणाले अमेरिकी अभियोजकहरूका लागि मुद्दा कमजोर बनाइदिएको छ, किनकि उनीहरू उही चिप्सको तस्करी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको प्रमाणित गर्न प्रयासरत थिए । अभियुक्तहरूको तर्फबाट बहस गर्ने रक्षा वकिलहरूले यस अवसरलाई तुरुन्तै प्रयोग गरे । भोलिपल्ट अदालतमा दायर गरिएको निवेदनमा रक्षा वकिलहरूले लेखे, ‘राष्ट्रपतिले नै उक्त दाबीलाई झुटो सावित गरिदिए, जब उनले यस मुद्दामा अधिकारीहरूले नियन्त्रणमा लिएका सबैभन्दा शक्तिशाली जीपीयू एनभीडीयाका एच २०० अब चीन निर्यात गर्न संयुक्त राज्यले अनुमति दिने घोषणा गरे ।’ केही विज्ञहरूले भने एनभीडीयाका सबैभन्दा उच्चस्तरका एआई चिप्सको तस्करी चीनमा जारी नै रहने विश्वास व्यक्त गरेका छन् । ‘मलाई तस्करी अचानक रोकिन्छ जस्तो लाग्दैन,’ वाङले भने, ‘एच २०० चिप्स खुला गरिनुले मात्र चीनको एआई माग पूरा हुन्छ कि हुँदैन भन्ने कुरा स्पष्ट छैन । विश्वव्यापी रूपमा हामीले देखिरहेको कम्प्युटिङ माग तीव्र गतिमा बढिरहेको छ र चीनमा पनि त्यस्तै अवस्था हुने मेरो विश्वास छ ।’
अनसनरत भुसालसँग वार्ता गर्न समित गठन
काठमाडौं । सरकारले अनसनरत डा. निकोलस भुसालसँग वार्ता गर्न चार सदस्यीय वार्ता समिति गठन गरेको छ । विभिन्न माग राखी केही दिनयता अनसन बसेका भुसालसँग छलफल गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा पौडेल सहित प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसाल सदस्य रहेका छन्। केही दिनदेखि अनसनमा रहेका डा. भुसालको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई नेपाल चिकित्सक संघको पहलमा बुधबार वीर अस्पतालमा भर्ना गरिएको छ। भुसाल समूहले गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा हुनुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, प्रदेशसभा खारेज गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी चयन गर्नु पर्ने र जेनजी आन्दोलनका दोषीलाई सजाय दिनुपर्ने लगायतका पाँचबुँदे माग राखेका छन् । उनले माग पुरा नभएसम्म अनसन जारी राख्ने बताएका छन् । यता नेपाल चिकित्सक संघले भने डा. भुसालको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले माग पुरा गरी अनसन स्थगित गर्न सरकारलाई आग्रह गरेको छ ।
विश्व बजारमा फैलिँदै लाओ कफीको सुगन्ध, २०२४ मा १० करोड डलरभन्दा बढी आम्दानी
काठमाडौं । लाओ कफीले स्थानीय उपभोक्ताहरूमाझ मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो लोकप्रियता बढाउँदै लगेको छ । यसको विशिष्ट स्वाद र लाओसको मौलिक संस्कृति तथा सम्पदा झल्काउने गुणस्तरले गर्दा यसले बिस्तारै विश्वव्यापी पहिचान बनाउँदैछ । सिनोक कफीका संस्थापक तथा लाओ कफी एशोसिएसनका पूर्वअध्यक्ष सिनोक सिसोम्ब्याट बोलाभेन पठारमा कफी खेतीको अध्ययनबाट आफ्नो यात्रा सुरु गरेको बताउँछन् । लाओसको प्रमुख कृषि निर्यात वस्तुमध्ये एक रहेको कफीले त्यहाँका नागरिकहरूका लागि रोजगारी र आयको मुख्य स्रोत प्रदान गरेको छ । सन् २०२४ मा लाओसले ५० हजार टनभन्दा बढी कफी निर्यात गरी १० करोड अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको छ ।
सन् २०२५ मा बीवाईडीले बेच्यो २२ लाख ६० हजार ईभी, कार बिक्रीको नयाँ रेकर्ड
काठमाडौं । चिनियाँ विशाल विदूतीय कार निर्माता बीवाईडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । यसले विश्वव्यापी रूपमा कुनै पनि फर्मले भन्दा बढी कार बिक्रीको नयाँ रेकर्ड स्थापित गरेको छ । यो तथ्याङ्कले बीवाईडीलाई पहिलो पटक वार्षिक रूपमा एलोन मस्कको टेस्लालाई उछिन्ने अवस्थामा ल्याएको छ। टेक्सासमा रहेको टेस्लाले सन् २०२५ सेप्टेम्बरको अन्त्यसम्म १२ लाख २० हजार विद्युतीय सवारी साधन (कार) बिक्रीको घोषणा गरेको थियो । टेस्लाले शुक्रबार सन् २०२५ को लागि आफ्नो कुल विद्युतीय कारको बिक्री सङ्ख्या घोषणा गर्ने अपेक्षा गरिएको छ । हाइब्रिड कार पनि उत्पादन गर्ने शेन्जेनमा मुख्यालय रहेको बीवाईडीले हङकङ स्टक एक्सचेन्जमा प्रकाशित एक विज्ञप्तिमा तथ्याङ्क सार्वजनिक गरेको हो । चिनियाँ भाषामा ‘बियादी’ वा अंग्रेजी ‘बिल्ड योर ड्रिम्स’ को सारांश विवाइडी सन् १९९५ मा मूल रूपमा ब्याट्री निर्माणका लागि विशेष स्थापित फर्म भएको थियो । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार निर्मातामध्येको एक बीवाईडीले चीनको अत्यधिक प्रतिस्पर्धी नयाँ ऊर्जा वाहन बजारमा प्रभुत्व जमाएको छ । अब यसले विदेशमा आफ्नो उपस्थिति विस्तार गर्न खोजिरहेको छ । चीनमा बढ्दो मूल्यसँग सचेत उपभोग ढाँचाले नाफामा असर गरिरहेको छ । बीवाईडी र यसका चिनियाँ प्रतिस्पर्धीहरूले संयुक्त राज्य अमेरिकामा भारी करको सामना गरिरहेका छन् । बीवाईडीको सफलता दक्षिणपूर्व एशिया, मध्य पूर्व र युरोपमा पनि बढ्दै गएको छ, जसले यूरोप महाद्वीपका परम्परागत उद्योगको लागि चिन्ता सिर्जना गरेको छ। टेस्लाले सन् २०२४ मा वार्षिक विद्युतीय कार बिक्रीमा बीवाईडी झिनो अन्तरले पछि पारेको थियो । सन् २०२४ मा टेस्लाले १७ लाख ९० हजार कार बिक्री गर्दा विवाडीको बिक्री १७ लाख ६० हजार पुगेको थियो ।
सन् २०२५ मा १ हजार ५०० इरानीलाई मृत्युदण्ड
काठमाडौं । इरानले गत वर्ष कम्तीमा १ हजार ५०० जनालाई मृत्युदण्ड दिएको नर्वेस्थित इरान मानवअधिकार समूहले जनाएको छ । यो धेरै चिन्ताजनक बिषय भएको समूहका निर्देशक महमुद अमिरी–मोगद्दामले बताए । मृत्युदण्डको सङ्ख्याको अकल्पनीय वृद्धिबारेमा उनले भने, ‘विगत ३५ वर्षमै भएको यो सबैभन्दा अकल्पनीय घटना हो । इरानमा मानव अधिकारको लेखाजोखा राख्न थालिएपछिको यो सङ्ख्या निकै धेरै हो ।’ इरानी मानवअधिकार समूह (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनाल्टी ९इसिपिएम०’ का अनुसार सन् २०२४ मा इरानले कम्तिमा ९७५ जनालाई मृत्युदण्ड दिएको थियो । आइएचआरले सन् २०२५ को लागि आफ्नो अन्तिम गणना जारी गर्न बाँकी छ । कम्तिमा १ हजार ५०० मानिसहरूको मृत्यु दण्ड दिइएको र यसमध्ये ७०० भन्दा बढीलाई लागूपदार्थसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिइएको आइएचआरले प्रमाणित गरेको छ । अमिरी–मोगद्दामले भने, ‘देशको अनिवार्य ‘ड्रेस कोड’ उल्लङ्घनको आरोपमा पक्राउ परेकी इरानी–कुर्द महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सन् २०२२ सेप्टेम्बरमा भएको विरोध प्रदर्शनपछि मृत्युदण्डको सङ्ख्या बढेको छ ।’ सन् २०२२ मा मृत्युदण्ड ५०० बाट बढेर सन् २०२३ मा ८०० भन्दा बढी पुगेको थियो भने यो सङ्ख्या सन् २०२४ मा ९७५ भएको थियो । इरानको आर्थिक गतिरोधप्रति असन्तुष्टि व्यक्त गर्दै इरानमा भएको प्रदर्शनको केही दिनपछि यो नयाँ तथ्याङ्क आएको हो । इरानको दक्षिणपश्चिमी क्षेत्रमा बिहीबार प्रदर्शनकारी र सुरक्षा फौजबीच झडप भएको थियो र प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । ‘इरानी अधिकारीहरूले मृत्युदण्डलाई डर सिर्जना गर्ने साधनको रूपमा प्रयोग गर्छन्,’ अमिरी–मोगद्दामले भने, ‘यी मृत्युदण्डको उद्देश्य नयाँ प्रदर्शनहरू रोक्नु हो । तर पछिल्ला दिनहरूमा तपाईंले देख्नु भएको छ उनीहरू सफल भएका छैनन् ।’ यद्यपि भर्खरका प्रदर्शनहरू सन् २०२२ को विरोध प्रदर्शनको स्तरको नजिक पुगेका छैनन् ।
विदेशमा रहेका १० हजार नेपालीले पाए भुजुङ्ग हाइड्रोको आईपीओ, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड गरेको छ । कम्पनीको आईपीओ पुस १७ गतेका दिन बाँडफाँड सम्पन्न भएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ । कम्पनीले गत पुस ३ गतेदेखि पुस ७ गतेसम्म सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई बिक्री खुला गरेको थियो । उक्त अवधिमा कम्पनीको आईपीओमा रितपूर्वक आवेदन दिएका लगानीकर्तालाई सेयर बाँडफाँड गरिएको हो । १० हजार जना आवेदकले कम्पनीको आईपीओ प्राप्त गरेको कम्पनीले जनाएको छ । आईपीओ रिजल्ट कुमारी क्यापिटल लिमिटेडको वेबसाइट, सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्था, सीडीएससीको मेरोसियर पोर्टल तथा आईपीओ रिजल्ट मार्फत हेर्न सकिने कम्पनीले जानकारी दिएको छ । आईपीओ नपरेका लगानीकर्ताको रकम फिर्ता प्रक्रिया सुरु भइसकेको कम्पनीले जनाएको छ ।
विदेशमा रहेका १० हजार नेपालीले पाए भुजुङ्ग हाइड्रोको आईपीओ, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड गरेको छ । कम्पनीको आईपीओ पुस १७ गतेका दिन बाँडफाँड सम्पन्न भएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ । कम्पनीले गत पुस ३ गतेदेखि पुस ७ गतेसम्म सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई बिक्री खुला गरेको थियो । उक्त अवधिमा कम्पनीको आईपीओमा रितपूर्वक आवेदन दिएका लगानीकर्तालाई सेयर बाँडफाँड गरिएको हो । १० हजार जना आवेदकले कम्पनीको आईपीओ प्राप्त गरेको कम्पनीले जनाएको छ । आईपीओ रिजल्ट कुमारी क्यापिटल लिमिटेडको वेबसाइट, सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्था, सीडीएससीको मेरोसियर पोर्टल तथा आईपीओ रिजल्ट मार्फत हेर्न सकिने कम्पनीले जानकारी दिएको छ । आईपीओ नपरेका लगानीकर्ताको रकम फिर्ता प्रक्रिया सुरु भइसकेको कम्पनीले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले माग्यो २६० बढी कर्मचारी, कुनमा पदमा कति ?
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । प्राधिकरणले अधिकृतस्तरदेखि सहायकस्तरसम्मका विभिन्न पदमा दरखास्त खुलाएको हो । सूचना अनुसार अधिकृतस्तर अन्तर्गत सहनिर्देशकदेखि वातावरणविदसम्मका पदमा १३२ जना कर्मचारी माग गरिएको छ । त्यस्तै, सहायकस्तर अन्तर्गत मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर तथा लेखापाल पदमा १३० जनाको लागि विज्ञापन प्रकाशित गरिएको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आगामी माघ १० गतेभित्र नेपाल विद्युत् प्राधिकरणको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । यसैगरी, प्राधिकरणले ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन फाराम खुलाएको जनाएको छ ।