विकासन्युज

कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरुले पार्टी विधानको धारा १७ (२) बमोजिम पार्टीको विशेष महाधिवेशन यही पुस २७ र २८ गते गर्न माग गरेका छन् । उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गरी विधानले तोकेको विशेष महाधिवेशनका लागि दर्ता निवेदनको समयसीमा ‘तीन महिना’ अर्थात् यही पुस २८ गतेभित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नैपर्नेबारेमा ध्यानाकर्षण गराएका हुन् ।  विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरू देवराज चालिसे, प्रमोदहरि गुरागाईं, मनोजमणि आचार्य, सुवास पोखरेल, नारायणप्रसाद भट्टराईलगायतले केन्द्रीय कार्यसमितिले यही पुस २६ देखि २८ गते नियमित महाधिवेशनको मिति तोके पनि उक्त कार्यतालिकाका कार्यक्रम स्थगित भइसकेको अवस्थामा सो माग गरेका हुन् ।  विधानले तोकेको समयसीमा (२०८२ मङ्सिर) भित्र १५औं महाधिवेशन गर्न अन्यथा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गत असोज २९ गते देशभरका दुई हजार ४८८ (५४ प्रतिशत) महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएको उनीहरुले अवगत गराएका थिए ।  साथै उनीहरुले गत भदौ २३ देखि २४ गतेपछिको विशेष राजनीतिक परिस्थितिमा कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावनाअनुरुपको बनाउन, समसामयिक नीति निर्माण गर्न तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टी पुनःनिर्माणका लागि विशेष निर्णय गर्न महाधिवेशन अपरिहार्यताबारे निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरेका थिए ।  

माछापुच्छ्रे बैंकले त्रिवि शिक्षण अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आफ्नो १२ औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने भएको छ । अस्पतालमा उपचार तथा सेवा लिन आउने सेवाग्राहीको सुविधा र सहजतालाई मध्यनजर गर्दै, बैंकले उक्त काउन्टर सञ्चालन गर्न लागेको हो।  शिक्षण अस्पतालमा बैंकको एक्सटेन्सन काउन्टर निर्माण गरी सञ्चालनमा ल्याउन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा.सुवासप्रसाद आचार्य तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले हस्ताक्षर गरे । सम्झौतापश्चात अस्पतालले उपलब्ध गराएको स्थानमा बैंकले आवश्यक संरचना निर्माण गरी काउन्टर सञ्चालनमा ल्याउने छ । यसअघि अस्पताल परिसरमा एटिएम जडान गरी सेवा प्रवाह गर्दै आएको बैंकले उक्त काउन्टरमार्फत शिक्षण अस्पतालमा आउने बिरामीहरूले उपचारका क्रममा बिल भुक्तानी तथा रेमिट्यान्स सेवा लगायतका विभिन्न बैंकिङ कारोबार सहज रूपमा प्रदान गर्नेछ । 

७२ खर्बको निक्षेपमध्ये ४८ खर्ब बागमतीबाट, कर्जामा पनि उस्तै प्रभाव

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश सबैभन्दा बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमा बागमती प्रदेशबाट परिचालन गरिएको निक्षेपको अंश सबैभन्दा धेरै ६५ दशमलव आठ प्रतिशत र कुल कर्जा प्रवाहमा ५९ दशमलव ५ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०८१/८२ सम्ममा बैंक तथा वित्तीय संस्थाले कुल ७२ खर्ब ९५ अर्ब ६९ लाख ३० हजार रुपैयाँ बराबर निक्षेप सङ्कलन गर्दा बागमती प्रदेशबाट मात्र ४७ खर्ब ९७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ बराबर निक्षेप उठेको छ । यस्तै, कोशीबाट पाँच खर्ब ५३ अर्ब तीन करोड ७९ लाख रुपैयाँ, मधेस प्रदेशबाट चार खर्ब सात अर्ब ७३ करोड ७२ लाख रुपैयाँ, गण्डकीबाट छ खर्ब १२ अर्ब २९ करोड ५७ लाख रुपैयाँ, कर्णालीबाट ९१ अर्ब नौ करोड रुपैयाँ र सुदूरपश्चिमबाट एक खर्ब ७३ अर्ब ८३ करोड रुपैयाँ बराबर निक्षेप सङ्कलन भएको छ । यस्तै, गत असार मसान्तसम्म कुल ५५ खर्ब ८६ अर्ब २९ करोड २२ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह हुँदा बागमती प्रदेशबाट मात्र ३३ खर्ब २३ अर्ब ३१ करोड ६१ लाख रुपैयाँ बराबर ऋण लगानी भएको छ ।  कोशी प्रदेशबाट छ खर्ब १३ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ, मधेस प्रदेशबाट चार खर्ब ९५ अर्ब ८६ करोड रुपैयाँ, गण्डकीबाट तीन खर्ब ५६ अर्ब ९२ करोड ५७ लाख रुपैयाँ, लुम्बिनीबाट पाँच खर्ब ७७ अर्ब २७ करोड ६१ लाख रुपैयाँ, कर्णालीबाट ६२ अर्ब १२ करोड रुेपैयाँ र सुदूरपश्चिमबाट एक खर्ब ५७ अर्ब ४० करोड ४१ लाख रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ ।    राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कृषिमा प्रवाहित कर्जा शून्य दशमलव ०४ प्रतिशतले घटेर तीन खर्ब ३६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।  गत वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ६१ अर्ब १९ करोड रुपैयाँ कर्जा पशुपालन पशु बधशाला शीर्षकमा र सबैभन्दा कम सुर्तीमा २० करोड ६५ लाख रुपैयाँ प्रवाह भएको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामा कोशी प्रदेशको अंश १६ दशमलव सात, मधेसको १८ दशमलव सात, बागमतीको ३६ दशमलव दुई, गण्डकीको सात दशमलव एक, लुम्बिनीको १५, कर्णालीको एक दशमलव पाँच र सुदूरपश्चिम प्रदेशको चार दशमलव सात प्रतिशत रहेको छ । यसैगरी गत असार मसान्तसम्ममा औद्योगिक क्षेत्रमा १६ खर्ब ९९ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३० दशमलव ४२ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये सबैभन्दा बढी गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३५ दशमलव २७, विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा २६ दशमलव २६, कृषि, वन तथा पेयपदार्थसम्बन्धी उद्योगमा २१ दशमलव ८५, निर्माणसम्बन्धी उद्योगमा ११ दशमलव ७०, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा चार दशमलव २३ प्रतिशत र सबैभन्दा कम खानीसम्बन्धी उद्योगमा शून्य दशमलव ६९ प्रतिशत कर्जा प्रवाह भएको छ। प्रतिवेदनअनुसार गत असार मसान्तसम्म प्रवाहित औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी १२ खर्ब ८० अर्ब ९७ करोड रुपैयाँ अर्थात् यस शीर्षकमा प्रवाहित वार्षिक कर्जाको ७१ दशमलव तीन प्रतिशत रहेको छ । त्यसपछि कोशीको नौ दशमलव पाँच र लुम्बिनी प्रदेशको आठ दशमलव तीन प्रतिशत रहेको छ । मधेसको सात दशमलव पाँच, गण्डकीको एक दशमलव छ, कर्णालीको शून्य दशमलव दुई र सुदूरपश्चिमको एक दशमलव छ प्रतिशत रहेको छ । यस्तै, सेवा क्षेत्रमा गत आवको अन्त्यसम्म कर्जा प्रवाह २१ खर्ब ८४ अर्ब चार करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश मात्रै ३९ दशमलव एक प्रतिशत हुन आउँछ ।  सेवा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये थोक तथा खुद्रा बिक्रेता उपक्षेत्रमा सबैभन्दा बढी ४७ दशमलव तीन प्रतिशत कर्जा प्रवाह भएको छभने ‘रियल स्टेट’ उपक्षेत्रमा १२ दशमलव दुई, पर्यटन उपक्षेत्रमा ११ दशमलव आठ, वित्त, बीमा तथा अचल सम्पत्ति उपक्षेत्रमा ११ दशमलव तीन, शिक्षामा छ दशमलव छ, यातायात, भण्डारण र सञ्चार क्षेत्रमा तीन दशमलव सात, अन्य सेवा उपक्षेत्रमा तीन दशमलव सात प्रतिशत र स्वास्थ्य र  अन्य सामाजिक कार्यसम्बन्धी उपक्षेत्रमा तीन दशमलव तीन प्रतिशत कर्जा प्रवाह भएको छ । सेवा क्षेत्रअन्तर्गत प्रवाहित कर्जामा बागमती प्रदेशको हिस्सा ५९ दशमलव पाँच प्रतिशत रहेको छ । यस्तै, लुम्बिनीको १० दशमलव तीन, कोशीको १० दशमलव एक र मधेस प्रदेशको नौ प्रतिशत रहेको छ । यस्तै, गण्डकीको छ दशमलव नौ, कर्णालीको एक दशमलव एक र सुदूरपश्चिम प्रदेशको तीन प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल प्रहरीले गर्यो नेपाल लाइफ इन्स्योरेन्सलाई सम्मान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लाई जिल्ला प्रहरी परिसर, काठमाडौंले सम्मान गरेको छ ।  जिल्ला प्रहरी परिसर, काठमाडौंको आयोजनामा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रममा यस कम्पनीले दरबारमार्गस्थित प्रहरी कार्यालयको पुनःसम्भार र पुनःस्थापनामा गरेको सहयोगको सम्मान स्वरूप कदरपत्र प्रदान गरिएको हो ।  प्रहरी महानिरीक्षक कार्कीबाट  सो कदर पत्र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अमितकुमार कयालले संयुक्त रुपमा ग्रहण गरे । दरबारमार्गको प्रहरी कार्यालय निर्माणार्थ यस कम्पनीले १७ लाख रुपैयाँको सहयोग प्रदान गरेको छ ।  समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाई अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिक सुरक्षा, सामाजिक सद्भाव र अमन चयनका लागि समर्पित नेपाल प्रहरीको भूमिका र अपरिहार्यतालाई आम नागरिकमा स्थापित गराउन तथा प्रहरी कार्यालयको पुनःस्थापनामा यस कम्पनीले पु¥याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप कम्पनीलाई कदरपत्र प्रदान गरिएको हो ।  यस अगावै पनि यस कम्पनीले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँको सहयोग प्रदान गरेको थियो ।  साथै काठमाडौंको बसपार्कस्थित प्रहरी कार्यालयको खानेपानी तथा शौचालय निर्माणार्थ यस कम्पनीले ६० हजार र जिल्ला प्रहरी कास्कीलाई कार्यसम्पादनलाई चुस्त दुरुस्त र प्रविधिमैत्री बनाउनका निम्ति पाँच थान कम्प्युटर प्रदान गरिएको थियो ।

नारायणीमा डेढ अर्बभन्दा बढीको लगानी भएको आइकोनिक पुल परीक्षण चरणमा

काठमाडौं । नारायणगढ र गैंडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल-स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो । कम्पनीका स्ट्रक्चरल इन्जिनियर सन्देश त्रिपाठीका अनुसार हाल पुल निर्माणको काम टेस्टिङ फेजमा रहेको छ । प्रारम्भिक ‘डिजाइन’ तयार गर्दा गरिएको प्रयोग (एक्सपेरिमेन्ट) र त्यसबाट प्राप्त नतिजाका आधारमा पुलका विभिन्न संरचनात्मक पक्ष परीक्षण गर्दै काम अघि बढाइएको उनले जानकारी दिए ।  उनले भने, ‘डिजाइन गर्दा हामीले विभिन्न परीक्षण गरी पुलले कति भार थेग्न सक्छ भन्ने निर्धारण गरेका हुन्छौँ, फिल्डमा पनि त्यही भार थेग्न सक्छ कि सक्दैन भनेर परीक्षण गर्नुपर्छ, अहिले हामी त्यही चरणमा छौं ।’ ‘टेस्टिङ’का लागि नेपालमै नयाँ प्रविधि ‘ओसेल’ प्रयोग गरिँदैछ । यस प्रविधिअन्तर्गत करिब ४५ मिटर गहिराइमा हाइड्रोलिक ज्याक राखी ‘कङ्क्रिटिङ’ गरिन्छ ।  सो उपकरण हाल चीनबाट ल्याउने प्रक्रियामा रहेको र उपकरण आएपछि थप काम तीव्र हुने इन्जिनियर त्रिपाठीले जानकारी दिए । उनका अनुसार ओसेल प्रविधि पाइलले कति भार सहन सक्छ भन्ने मापन गर्ने उपकरण हो । करिब ४५ मिटर लामो पाइलभित्र स्टिल केजमा हाइड्रोलिक ज्याक जडान गरिन्छ । कङ्क्रिटिङ गर्दा ज्याक फुल्दै जाँदा माथिल्लो र तल्लो भागमा पर्ने दबाब तथा प्रतिक्रिया (रेस्पोन्स) मापन गरिन्छ । यसबाट पाइलको वास्तविक भार बहन क्षमता यकिन गरिन्छ ।   हाल साइट क्याम्पमा छड बाँध्ने, कङ्क्रिट मिक्स डिजाइन गर्ने तथा स्टिल केज निर्माणका काम भइरहेको छ । यहाँ तयार गरिएका केजहरू फिल्डमा लगेर पिलरमा जडान गरिनेछ । पुलको डिजाइन अन्तरराष्ट्रिय आइआरसी कोडअनुसार कम्तीमा १०० वर्ष आयु रहने गरी गरिएको छ । टेस्टिङ फेजमा श्रमिकको सङ्ख्या कम भए पनि यो चरण सकिएपछि थप जनशक्ति परिचालन गरिने योजना व्यवस्थापक इञ्जिनियर मञ्जिल मिश्रले बताए ।  इञ्जिनियर मिश्रका अनुसार बर्खा सुरु हुनुअघि नै फाउन्डेसनको काम सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ । प्रारम्भिक चरणमा टेस्ट पाइलको काम सकिएपछि परीक्षण कार्य अघि बढाइएको उनले बताए । चालु आर्थिक वर्षभित्र फाउन्डेसन तथा पाइलिङको काम सम्पन्न गर्ने लक्ष्य रहेको छ ।   उनका अनुसार पुलमा नदीतर्फ दुई र दायाँ-बायाँ गरी चार पिलर रहनेछन् । उनले भने, ‘ओसेल आउने बित्तिकै नारायणगढतर्फ पाइलिङको काम सुरु हुन्छ, एकातर्फ पाइलिङ गर्न करिब दुई महिना लाग्छ, अबको करिब एक हप्ताभित्र ओसेल आइपुग्ने अपेक्षा छ, नारायणगढतर्फको पाइलिङ सम्पन्न भएपछि गैंडाकोटतर्फ काम सुरु गरिनेछ, यस वर्ष फाउन्डेसन तथा केही सब-स्ट्रक्चरका काम सम्पन्न गर्ने लक्ष्य छ ।’   आइकोनिक केबल-स्टेड पुलमा आर्च ब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सनलगायत आधुनिक संरचनात्मक प्रविधि समावेश हुनेछन् । पुल निर्माणको लागत एक अर्ब ६८ करोड रुपैयाँ रहेको छ । सडक विभागले सन् २०२३ मा पुल निर्माणको ठेक्का दिएको हो ।  नारायणी नदीमा हाल रहेको पुलको समानान्तर निर्माण गरिँदै गरेको नयाँ पुलको लम्बाइ ४२० मिटर र चौडाइ १२ मिटर हुनेछ । पुलको आयु कम्तीमा १०० वर्ष रहने बताइएको छ । विसं २०८० जेठ १९ गते ठेक्का सम्झौतापछि निर्माण कम्पनीले अन्तिम डिजाइन तयार गरी प्रमाणीकरण प्राप्त गरेसँगै नयाँ पुल निर्माणले तीव्रता पाएको हो ।   

जेनजी आन्दोलनको क्षति : बीमितलाई ५ अर्ब ४८ करोड भुक्तानी

काठमाडौं । बीमा कम्पनीहरूले ५ अर्ब ४८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल ३ हजार ३१६ वटा बीमा दाबीको करिब २३ अर्ब ४७ करोड दाबी रकम परेको थियो ।  सोमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब ५ अर्ब ४८ करोड २५ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी कम्पनीहरूले गरिसकेका हुन् । प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कूल ७१२ वटा बीमा दाबीको दाबी रकम करिब १९ अर्ब ५ करोडमध्ये करिब ३ अर्ब ९३ करोड ५९ लाख र मोटर बीमातर्फ कूल २ हजार ३२१ वटा बीमा दाबीको दाबी रकम करिब ३ अर्ब ४६ करोड १६ लाखमध्ये करिब १ अर्ब ३९ करोड २५ लाख भुक्तानी भएको छ । यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ कूल २२६ वटा बीमा दाबीको करिब ५५ करोड ३९ लाख दाबी रकममध्ये करिब ८ करोड ३६ लाख, परिवहन बीमातर्फ कूल १२ वटा बीमा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिब १ करोड ५५ लाख र अन्य बीमातर्फ कूल ४५ वटा बीमा दाबीको करिव ३८ करोड ४० लाख दाबी रकममध्ये करिब  ५ करोड अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।  यस्तै, जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कुल करिब ३ अर्ब २ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको प्राधिकरणले जानकारी दिएको छ । बीमा प्राधिकरणका अनुसार नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा  कम्पनीहरूबाट परेका कुल २ हजार ८६३ वटा पुनर्बीमा दाबीको कुल पुनर्बीमा दाबी रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रहेको छ।

गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए, पर्यटनमा क्रमिक सुधार

काठमाडौं । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएकामा सन् २०२५ केही सङ्ख्या बढेको हो । गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका छन् । जसमा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ हजार ६०५, बङ्गलादेशबाट चार हजार ९८०, अष्ट्रेलियाबाट चार हजार ४१९, थाइल्याण्डबाट चार हजार २३४, बेलायतबाट तीन हजार ७९३, म्यानमारबाट दुई हजार ७५८ र मलेसियाबाट दुई हजार ४२९ पर्यटक भित्रिएका छन् । यस्तै, छिमेकी मुलुक भारतबाट दुई लाख ९२ हजार ४३८, अमेरिकाबाट एक लाख १२ हजार ३१६, चीनबाट ५८ हजार ६८४, बेलायतबाट ५७ हजार ५४५, बंगलादेशबाट ४९ हजार ३५७, अष्ट्रेलियाबाट ३७ हजार ५५०, श्रीलंकाबाट ३० हजार २४३, थाइल्याण्डबाट ३० हजार २२७ र जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यसअघि सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए ।

सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २ हजार ९ सय रुपैयाँले वृद्धि हुँदै प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघि भने सुनको मूल्यमा गिरावट आएको थियो । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मागका कारण सुनचाँदीको मूल्यमा पछिल्लो समय दैनिक उतार–चढाव देखिँदै आएको छ ।