अवैध अन्तर्राष्ट्रिय कल बाईपास सञ्चालनमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं । काठमाडौंमा गैरकानुनी अन्तर्राष्ट्रिय कल बाईपास सञ्चालन गरिरहेको व्यक्ति पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौं महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वरस्थित कस्टको इन्फरमेसन टेक्नोलोजीमा छापा मार्दै कल बाईपास गर्दै गरेको अवस्थामा ३० वर्षीय राजन राजवंशी पक्राउ गरेको हो । पक्राउ परेका राजवंशी झापाको बिर्तामोड नगरपालिका वडा नं। २ का मूल निवासी हुन् र हाल काठमाडौं धुम्बाराहीमा बस्दै आएका छन् । उनीमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ । राजवंशीलाई पक्राउ गर्ने क्रममा सीआईबीले विभिन्न उपकरणहरू बरामदसमेत गरेको छ । प्रहरीका अनुसार थप अनुसन्धान जारी रहेको छ र अवैध अन्तर्राष्ट्रिय कल बाईपास सञ्चालनमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । शुक्रबार अपराह्न २ वजे आह्वान भएको बैठक दिउँसोको सवा पाँच बजे केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । महाधिवेशनसम्बन्धी विवाद उत्कर्षमा पुगेका बेला बैठक आह्वान गरिएको हो । यसअघि बिहीबार पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको तय गरिएको कार्यतालिका स्थगित गरिएको जानकारी दिएका थिए । उनीहरूले नियमित महाधिवेशनको सट्टा विशेष महाधिवेशनको विकल्प प्रस्ताव गरेपछि कांग्रेसभित्र आन्तरिक असन्तोष र तनाव थप चर्किएको छ ।
एक वर्षमै त्रिभुवन विमानस्थलको आम्दानी करिब १३ अर्ब, लामिडाँडा विमानस्थलको कमाइ ७२८ रुपैयाँ मात्र
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालका विमानस्थलमध्ये सबैभन्दा धेरै आम्दानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक प्रतिवेदनअनुसार उक्त विमानस्थलले एक वर्षमा १२ अर्ब ९० करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको हो । यात्रु सेवाको हिसाबले पनि त्रिभुवन विमानस्थल पहिलो नम्बरमा रहेको छ । यो विमानस्थलले एक वर्षको अवधिमा ३७ लाख १८ हजार आन्तरिक र ४० लाख ९८ हजार यात्रुलाई अन्तर्राष्ट्रिय उडानबाट सेवा दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि धेरै आम्दानी गर्ने दोस्रो विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्षमा ३६ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विमानस्थलले एक वर्षमा ७ लाख ९८ हजार यात्रुलाई सेवा दिएको छ । एक वर्षको अवधिमा तेस्रो धेरै आम्दानी गर्ने विमानस्थलमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । उक्त विमानस्थलले एक वर्षमा २८ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । गौतमबुद्ध विमानस्थलले ६ लाख ७५ हजार यात्रुलाई आन्तरिक र १३ हजार यात्रुलाई अन्तर्राष्ट्रिय उडानबाट सेवा दिएको छ । क्यानको प्रतिवेदनअनुसार आव २०८१/८२ मा १४ विमानस्थलले करोड रुपैयाँ बराबरको आम्दानी गरेका छन् । विराटनगर विमानस्थलले एक वर्षको अवधिमा १९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, नेपालगञ्ज विमानस्थलले १४ करोड ६० लाख रुपैयाँ, चन्द्रगढीले ८ करोड ९० लाख रुपैयाँ, धनगढीले ७ करोड ३४ लाख रुपैयाँ, धनगढीले ७ करोड ३४ लाख रुपैयाँ, जनकपुरले ७ करोड १५ लाख रुपैयाँ भरतपुरले ६ करोड २३ लाख रुपैयाँ आम्दानी गरेका छन् । करोड आम्दानी गर्ने अन्य विमानस्थलहरुमा लुक्लाले ६ करोड २१ लाख रुपैयाँ, सिमराले ५ करोड ३६ लाख रुपैयाँ, रामेछापले १ करोड ३६ लाख रुपैयाँ, राजविराजले १ करोड ५९ लाख रुपैयाँ र सुर्खेतले ३ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेका छन् । लाख आम्दानी गर्ने विमानस्थल एक वर्षको अवधिमा १८ विमानस्थल कार्यालयले लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन् । क्यानको प्रतिवेदनअनुसार जोमसोमले ८८ लाख २० हजार रुपैयाँ, सिमकोटले ५१ लाख ७३ हजार रुपैयाँ, तुम्लिङटारले ५० लाख रुपैयाँ, फाप्लुले ४९ लाख ८ हजार रुपैयाँ, जुम्लाले २४ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेका छन् । लाख कमाउने अन्य विमानस्थलहरूमा रारा, बाजुरा, डोल्पा, दाङ, सल्ले, भोजपुर, ताप्लेजुङ, साँफेबगार, टिकापुर, खानीडाँडा, रुम्जाटार थामखर्क र रेसुंगा हुन् । हजारभन्दा कम आम्दानी गर्ने विमानस्थल सबैभन्दा कम आम्दानी गर्नेमा भने खोटाङको लामिडाँडा विमानस्थल रहेको छ । लामिडाँडाले पछिल्लो एक वर्षमा ७२८ रुपैयाँ मात्रै आम्दानी गरेको क्यानको तथ्यांक छ । एक वर्षको अवधिमा बझाङ विमानस्थलले ९० हजार २६३ रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, फाल्गुनन्द सुकिलुम्बाले ७६ हजार ७३१ र डोटीले ४६ हजार रुपैयाँ आम्दानी गरेका छन् ।
सिटिजन लाइफको नवौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभा शुक्रबारसम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभामा अध्यक्षको मन्तव्यसहित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल गरी पारित गरिएको छ । साथै लेखापरीक्षकको प्रतिवेदनसहित सो अवधिको वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू समेत स्वीकृत गरिएको छ । त्यसैगरी, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षण समितिको सिफारिस अनुसार बाह्य लेखापरीक्षक नियुक्त गर्न पारित गरिएको छ । वर्तमान लेखापरीक्षक श्री एसएआर एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरिएको छ । सभामा बीमा ऐन, २०७९ अनुसार स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी प्रस्तुत गर्नुका साथै सञ्चालक समिति सदस्यहरूको सेवा–सुविधा, कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरू समेत अनुमोदन गरिएको छ ।
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केहीबेरमा बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केहीबेरमा सुरु हुने भएको छ । पार्टीका नेताहरू केन्द्रीय कार्यालय आउनेक्रम जारी रहेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र अर्का महामन्त्री गगन थापाले प्रेस विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको पाटो बन्द भएको बताएपछि केन्द्रीय कार्य सम्पादन समितिको आकस्मिक बैठक बस्न थालेको हो । समितिको बैठक बस्नु पहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । महामन्त्रीहरूले विशेष महाधिवेशनका लागी हलसमेत बुकिङ गर्ने प्रक्रिया सुरु गरेपछि पार्टीमा हलचल सुरु भएको थियो । सोही हलचलको पराकम्पको रुपमा अहिले कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो । बैठकले नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भनेर निर्णय लिने छ । यसबाहेक महामन्त्री शर्माले नीति महाधिवेशनको समेत प्रस्ताव गरेका छन् । विशेष महाधिवेशन पनि गर्न नसकिने र नियमित महाधिवेशन समेत नहुने अवस्थामा नीति महाधिवेशनमा जान सकिने शर्माले बताएका छन् । उनले केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा यस विषयमा प्रष्ट पार्ने उनी निकटका नेता प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।
बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति हुनु सहायकरथीत्रय रामसुन्दर बोहोरा, भुवन खत्री र प्राविधिक धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार (आज) आयोजित कार्यक्रममा उनीहरू तीनै जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका एक महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका पाँच जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।
काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन् । जसमध्ये एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला तथा अन्य दुई मतदाता रहेका छन् । काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १६ हजार ५४८ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० मतदाता कायम भएका छन् । जसमध्ये पुरुष ८३ हजार ७७३, महिला ७७ हजार ३२६ र अन्य एक मतदाता रहेका छन् । यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता कायम भएका छन् । जसमध्ये पुरुष ८३ हजार ७२६, महिला ८१ हजार ७८४ र अन्य एक मतदाता रहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा १८९ मतदान स्थलमा ४०० मतदान केन्द्र कायम गरिएका छन् । जिल्लाको १३ स्थानीय तहमा १३५ वडा छन् । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा १९० मतदान केन्द्र तथा ३८९ मतदान केन्द्र कायम गरिएका थिए ।
खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकको एटीएमबाट पैसा निकाल्न पाउने
काठमाडौं । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकको एटीएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ । सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले नबिल बैंकका मुलुकका विभिन्न स्थानमा रहेका एटीएमबाट कार्डको प्रयोग नगरी सहज रुपमा खल्ती वालेटमा भएको रकम निकाल्न सक्ने बैंकले जनाएको छ । बैंकलाई वालेटदेखि एटीएम कारोबारको प्रणालीलाई एकापसमा जोड्नका लागि उक्त सम्झौता गरिएको बैंकको भनाइ छ । सम्झौताअनुसार वालेट प्रयोगकर्ताले दैनिक अधिकतम पाँच हजार रुपैयाँ र मासिक रूपमा अधिकतम २५ हजार रुपैयाँ नगद निकाल्न सकिनेछ । नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले उक्त सम्झौतापछि बैंकको एटिएम नेटवर्कलाई वालेटका प्रयोगकर्तासम्म विस्तार गर्न सहयोग पुगेको बताए । ‘नबिल बैंक प्रविधिको अधिकतम उपयोग गरी ग्राहकलाई सहज रूपमा सेवा प्रवाहका लागि प्रतिबद्ध छ, सोहीअनुसार खल्तीसँग सम्झौता भएको हो,’ उनले भने, ‘नयाँ सुविधाले ग्राहकको समय बचत हुनुका साथै कार्ड व्यवस्थापनको झन्झट पनि हट्नेछ । नेपालको फिनटेक इकोसिस्टममा डिजिटल रूपान्तरणमा नबिल बैंकको प्रतिबद्धता अझ बलियो हुनेछ ।’ खल्ती वालेटका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नबिल बैंकसँगको यो सहकार्य डिजिटल अर्थतन्त्र निर्माणका लागि महत्त्वपूर्ण प्रयास भएको बताए । यो सेवा सुरु भएसँगै खल्ती वालेटका प्रयोगकर्ताले सहज रुपमा नगदको आवश्यकता पूरा गर्न पाउने बैंकले जनाएको छ । बैंकका अनुसार यो सुविधा लिनका लागि खल्ती वालेटका प्रयोगकर्ताले सबैभन्दा पहिले खल्ती वालेटमा भएको कार्र्डलेस विथड्रलमा रहेको नबिल कार्डलेस विथड्रलमा गएर आफूले निकाल्न चाहेको रकम भर्नुपर्नेछ । त्यसपछि उक्त विवरण पुष्टि गरेपछि प्रयोगकर्ताले मोबाइलमा ओटिपी नम्बर प्राप्त गर्नेछन् । त्यसपछि प्रयोगकर्ताले बैंकको एटिएम स्क्रिनमा रहेको कार्डलेस विथड्रलमा जानुपर्नेछ । त्यसमा रहेको वालेट अप्सनमा मोबाइल नम्बर राख्नुपर्नेछ । साथै मोबाइलमा प्राप्त ओटिपी राखेपछि आफूले वालेटमा प्रविष्ट गरेको रकम एटिएम स्क्रिनमा प्रविष्ट गरेपछि नगद निकाल्न सकिनेछ । यो सुविधा जुनसुकै समयमा पनि उपलब्ध हुनेछ । विशेष गरी एटिएम कार्ड नभएको अवस्थामा सहज रुपमा नगद निकाल्नका लागि यो उत्तम विकल्प हुने बैंकले जनाएको छ । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरका २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।