कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केहीबेरमा बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केहीबेरमा सुरु हुने भएको छ । पार्टीका नेताहरू केन्द्रीय कार्यालय आउनेक्रम जारी रहेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र अर्का महामन्त्री गगन थापाले प्रेस विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको पाटो बन्द भएको बताएपछि केन्द्रीय कार्य सम्पादन समितिको आकस्मिक बैठक बस्न थालेको हो । समितिको बैठक बस्नु पहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । महामन्त्रीहरूले विशेष महाधिवेशनका लागी हलसमेत बुकिङ गर्ने प्रक्रिया सुरु गरेपछि पार्टीमा हलचल सुरु भएको थियो । सोही हलचलको पराकम्पको रुपमा अहिले कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो । बैठकले नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भनेर निर्णय लिने छ । यसबाहेक महामन्त्री शर्माले नीति महाधिवेशनको समेत प्रस्ताव गरेका छन् । विशेष महाधिवेशन पनि गर्न नसकिने र नियमित महाधिवेशन समेत नहुने अवस्थामा नीति महाधिवेशनमा जान सकिने शर्माले बताएका छन् । उनले केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा यस विषयमा प्रष्ट पार्ने उनी निकटका नेता प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।
बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति हुनु सहायकरथीत्रय रामसुन्दर बोहोरा, भुवन खत्री र प्राविधिक धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार (आज) आयोजित कार्यक्रममा उनीहरू तीनै जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका एक महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका पाँच जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।
काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन् । जसमध्ये एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला तथा अन्य दुई मतदाता रहेका छन् । काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १६ हजार ५४८ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० मतदाता कायम भएका छन् । जसमध्ये पुरुष ८३ हजार ७७३, महिला ७७ हजार ३२६ र अन्य एक मतदाता रहेका छन् । यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता कायम भएका छन् । जसमध्ये पुरुष ८३ हजार ७२६, महिला ८१ हजार ७८४ र अन्य एक मतदाता रहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा १८९ मतदान स्थलमा ४०० मतदान केन्द्र कायम गरिएका छन् । जिल्लाको १३ स्थानीय तहमा १३५ वडा छन् । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा १९० मतदान केन्द्र तथा ३८९ मतदान केन्द्र कायम गरिएका थिए ।
खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकको एटीएमबाट पैसा निकाल्न पाउने
काठमाडौं । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकको एटीएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ । सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले नबिल बैंकका मुलुकका विभिन्न स्थानमा रहेका एटीएमबाट कार्डको प्रयोग नगरी सहज रुपमा खल्ती वालेटमा भएको रकम निकाल्न सक्ने बैंकले जनाएको छ । बैंकलाई वालेटदेखि एटीएम कारोबारको प्रणालीलाई एकापसमा जोड्नका लागि उक्त सम्झौता गरिएको बैंकको भनाइ छ । सम्झौताअनुसार वालेट प्रयोगकर्ताले दैनिक अधिकतम पाँच हजार रुपैयाँ र मासिक रूपमा अधिकतम २५ हजार रुपैयाँ नगद निकाल्न सकिनेछ । नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले उक्त सम्झौतापछि बैंकको एटिएम नेटवर्कलाई वालेटका प्रयोगकर्तासम्म विस्तार गर्न सहयोग पुगेको बताए । ‘नबिल बैंक प्रविधिको अधिकतम उपयोग गरी ग्राहकलाई सहज रूपमा सेवा प्रवाहका लागि प्रतिबद्ध छ, सोहीअनुसार खल्तीसँग सम्झौता भएको हो,’ उनले भने, ‘नयाँ सुविधाले ग्राहकको समय बचत हुनुका साथै कार्ड व्यवस्थापनको झन्झट पनि हट्नेछ । नेपालको फिनटेक इकोसिस्टममा डिजिटल रूपान्तरणमा नबिल बैंकको प्रतिबद्धता अझ बलियो हुनेछ ।’ खल्ती वालेटका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नबिल बैंकसँगको यो सहकार्य डिजिटल अर्थतन्त्र निर्माणका लागि महत्त्वपूर्ण प्रयास भएको बताए । यो सेवा सुरु भएसँगै खल्ती वालेटका प्रयोगकर्ताले सहज रुपमा नगदको आवश्यकता पूरा गर्न पाउने बैंकले जनाएको छ । बैंकका अनुसार यो सुविधा लिनका लागि खल्ती वालेटका प्रयोगकर्ताले सबैभन्दा पहिले खल्ती वालेटमा भएको कार्र्डलेस विथड्रलमा रहेको नबिल कार्डलेस विथड्रलमा गएर आफूले निकाल्न चाहेको रकम भर्नुपर्नेछ । त्यसपछि उक्त विवरण पुष्टि गरेपछि प्रयोगकर्ताले मोबाइलमा ओटिपी नम्बर प्राप्त गर्नेछन् । त्यसपछि प्रयोगकर्ताले बैंकको एटिएम स्क्रिनमा रहेको कार्डलेस विथड्रलमा जानुपर्नेछ । त्यसमा रहेको वालेट अप्सनमा मोबाइल नम्बर राख्नुपर्नेछ । साथै मोबाइलमा प्राप्त ओटिपी राखेपछि आफूले वालेटमा प्रविष्ट गरेको रकम एटिएम स्क्रिनमा प्रविष्ट गरेपछि नगद निकाल्न सकिनेछ । यो सुविधा जुनसुकै समयमा पनि उपलब्ध हुनेछ । विशेष गरी एटिएम कार्ड नभएको अवस्थामा सहज रुपमा नगद निकाल्नका लागि यो उत्तम विकल्प हुने बैंकले जनाएको छ । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरका २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।
धोवीखोला नदी करिडोर सडक मर्मत धमाधम
काठमाडौं । काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ । शहरी विकास मन्त्रालय मातहतको काठमाडौं उपत्यकाका विकास प्राधिकरण र काठमाडौं महानगरपालिको समन्वयमा धोवीखोला करिडोरको बागमती दोभानदेखि चावहिलको बैजनी पुलसम्मको करिडोर सडकको दायाँ र बायाँ दुवै किनारको मर्मत धमाधम भइरहेको छ । धोवीखोला करिडोर प्राधिकरणको क्षेत्राधिकारमा पर्दछ । हाल करिडोरको दायाँ किनारको सडकको मर्मत सकिएको छ । बायाँ किनारतर्फको काम हुँदैछ । प्राधिकरणले धोवीखोला करिडोर तथा कपन-वूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना क्षेत्रको बाटोमा खाल्डाखुल्डी भएकाले व्यापक जनगुनासो रहेको र उक्त बाटो यथाशीघ्र गर्नुपर्ने भएकोमा आयोजनाको बजेट रोक्का र अपुग भएकाले मर्मतका लागि काठमाडौं महानगरपालिकाका अनुरोध गरेको थियो । प्राधिकरणको अनुरोधमा काठमाडौं महानगरपालिकाबाट सडक मर्मत भइरहेको छ ।
वार्षिकोत्सवलाई समाजसेवामा रूपान्तरण गर्दै ग्लोबल आइएमई बैंक, देशव्यापी रूपमा १९ कार्यक्रम आयोजना गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित यो संस्थाले विगतका वर्षहरूमा जस्तै यसपटक पनि वार्षिकोत्सवको अवसरमा पारेर ठूलो स्तरको सामाजिक योगदान दिने कार्यक्रमहरू अगाडि सारेको हो । गत वर्ष १८औं वार्षिकोत्सवका अवसरमा बैंकले मानवीय सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता लगायत कार्यक्रम आयोजना गरेको थियो । बैंकले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा मुलुकभर १८ हजार बिरुवाहरू रोप्ने कार्यक्रम घोषणा गरेको थियो । गत वर्ष बैंकले स्थानीय तह, स्थानीय संघसंस्था तथा सामुदायिक संस्थाहरूको सहकार्यमा वातावरण संरक्षण, जीवीकोपार्जन तथा आयआर्जनमा उपयोगी करिब २१ हजार बिरुवा रोपण गरेको थियो । १९औं वार्षिकोत्सवका अवसरमा बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा मानवीय सहयोग, आयआर्जन अभिवृद्धिलाई प्राथमिकता दिँदै दुर्गम क्षेत्र, गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी यी कार्यक्रमहरू देशव्यापी रूपमा सञ्चालन गर्नेछ । यी कार्यक्रमहरू मध्ये ग्लोबल आइएमई स्वस्थ नारी पहल एक महत्त्वपूर्ण कार्यक्रम हो । जसअन्तर्गत बैंकले सातवटै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्वास्थ्य जाँच, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण जस्ता सेवाहरू प्रदान गरिनेछ । यसरी शिविरको क्रममा प्रारम्भिक अवस्थामा पत्ता लागेका तथा गम्भीर बिरामी महिलाहरूको शल्यक्रिया उपचार दोस्रो चरणमा समेत गरिनेछ । विगत पाँच वर्षदेखि नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रमबाट हालसम्म १० हजारभन्दा बढी महिलाहरू लाभान्वित भइसकेका छन् । त्यसैगरी, बैंकले सात प्रदेशका सात स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गर्नेछ । गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित यो कार्यक्रमले पैसाको अभावमा उपचार नपाएका दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आयभएका व्यक्तिहरूको आँखाको समस्याको उपचारमा सहयोग हुने विश्वास बैंकले लिएको छ । यसका साथै बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १,५०० गरिब, विपन्न तथा न्यून आय भएका विद्यार्थीहरूको आँखा जाँच गरी आवश्यक चस्मा निःशुल्क रुपमा वितरण गर्नेछ । त्यसैगरी, बैंकले सात वटै प्रदेशमा स्वास्थ्य शिविरहरू पनि सञ्चालन गरी गरिब तथा न्यून आय भएका समुदायलाई स्वास्थ्य सेवा पु¥याउनेछ । यसका साथै, जटिल तथा दीर्घ रोगका विरामीहरुको उपाचारको लागि बैंकले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । स्थानीय निकाय तथा स्वास्थ्य संस्थाको सिफारिसमा बैंकले जटिल रोगको उपचारमा निश्चित रकम सहयोग प्रदान गरिनेछ । शिक्षा क्षेत्रमा बैंकले गरिब तथा जेहेन्दार छात्राहरूलाई कक्षा ६ देखि १२ सम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत पाँच वर्षमा १४० छात्रालाई लाभान्वित गरेको यो कार्यक्रम यस वर्ष थप ७७ जनासहित छात्राहरूमा विस्तार हुनेछ । दुर्गम विद्यालयहरूमा पुस्तकालय निर्माण, १,००० जना विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचारको तालिम तथा सामग्री हस्तान्तरण जस्ता कार्यक्रमहरू पनि समावेश छन् । त्यसैगरी, बैंकले अर्थशास्त्र, व्यवस्थापन तथा कानुन संकायमा उच्च शिक्षा अध्ययनरत गरिब तथा जेहेन्दार विद्याथीलाई एमफिल तथा पीएचडी शोध, अनुसन्धानका लागि वित्तीय सहयोग प्रदान गरिनेछ । वातावरण संरक्षणतर्फ ग्लोबल ग्रिन स्कूल कार्यक्रमअन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाई तथा फोहोर संकलन केन्द्र स्थापना गरिनेछ । स्थानीय तहसँग समन्वय गरी फोहोर व्यवस्थापन तालिम सञ्चालन गरिनेछ । रक्तदान कार्यक्रम मुख्य सहरहरूमा आयोजना गरिनेछ भने आश्रम, बालगृहका बालबालिकालाई खाद्यान्न तथा अन्य सहयोग प्रदान गरिनेछ । सूचना प्रविधिको विकास र आधुनिक प्रविधिको अबलम्बनसँगै बालबालिकाहरूमा देखा परेको अटिजमको बारेमा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी उनीहरूलाई आवश्यक सहयोग प्रदान गरिनेछ । त्यसैगरी, स्वस्थ र अनुशासित युवा जनशक्ति निर्माण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने उद्देश्यले बैंकले दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदाय तथा विद्यालयमा खेलकुद सामग्री वितरण गर्ने छ । साथै बैंकले आय आर्जन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्यमशाला कार्यक्रम सञ्चालन गर्नेछ । यस उद्यमशाला कार्यक्रमअन्तर्गत गरिब तथा न्यून आय भएका व्यक्तिहरुलाई व्यवसायिक तथा सीपमूलक तालिम प्रदान गर्नेछ। बैंकले आफ्ना ३५२ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी विद्युतीय ठगी तथा चोरी न्यूनीकरणका लागि सचेतना फैलाउनुका साथै अधिकतम जनसंख्यालाई बैंकिङ प्रणालीमा समावेश गर्ने कार्यक्रमहरुको आयोजना गर्नेछ । यी सबै पहलले समाजका कमजोर वर्गलाई प्रत्यक्ष लाभ पु¥याउने र दीर्घकालीन विकासमा योगदान दिने अपेक्षा गरिएको छ । ग्लोबल आइएमई बैंकले यसरी वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोडेर नेपालको बैंकिङ क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको छ । बैंकका कार्यक्रमहरुमा मुलुकका सातवटै प्रदेशलाई समेट्ने गरी गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई समावेश गरिनेछ । यो प्रयासले स्वास्थ्य, शिक्षा तथा वातावरणीय जागरणमा ठूलो प्रभाव पार्ने विश्वास गरिएको छ ।
देउराली जनता फर्मास्युटिकल्सको आम्दानी साढे २ अर्ब, बैंकको ऋण घटाउँदै
काठमाडौं । साढे तीन दशकदेखि सञ्चालनमा रहेको देउराली जनता फर्मास्युटिकल्सले साढे २ अर्ब रुपैयाँ आम्दानी गरेको छ । देउराली जनताले सन् २०२५ मा २ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी गत वर्षको तुलनामा १६.१६ प्रतिशत अर्थात् ३२ करोड ७० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले २ अर्ब २ करोड ३० लाख रुपैयाँ बढी आम्दानी गरेको थियो । नेपाली औषधि उद्योगको अग्रणी कम्पनीको रुपमा चिनिएको देउराली जनता सन् १९९१ मा स्थापना भएको हो । देउराली जनता फार्मास्युटिकल्सले मुटु रोग, मधुमेह, स्त्रीरोग तथा बाल स्वास्थ्य, ग्यास्ट्रोलोजी र हेपाटोलोजी, छाला रोगलगायतका क्षेत्रमा प्रयोग हुने सामान्य तथा विशेष खालका औषधिहरू उत्पादन गर्दै आएको छ । हाल कम्पनीले विभिन्न वर्गमा २५० भन्दा बढी प्रकारका औषधी उत्पादन बजारमा उपलब्ध गराइरहेको छ । कम्पनीले सन् २०१८ मा १ अर्ब ४० करोड ५९ लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ४६ करोड ९० लाख रुपैयाँ,सन् २०२२ मा १ अर्ब ७० करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ८६ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०२५ को जुलाईको मध्यसम्मको तथ्याङ्क अनुसार देउराली जनता फर्मास्युटिकल्सको करिब ७१ प्रतिशत इक्विटी सेयर कम्पनीका कार्यकारी निर्देशक तथा अध्यक्ष हरिभक्त शर्माको स्वामित्वमा रहेको छ । बाँकी सेयर उनको परिवारका सदस्य तथा अन्य व्यक्तिको नाममा रहेको छ । दीर्घ अनुभव, फराकिलो उत्पादन दायरा र स्थिर स्वामित्व संरचनाका कारण देउराली जनता फर्मास्युटिकल्स नेपाली औषधि बजारमा विश्वासिलो ब्रान्डको रूपमा स्थापित हुँदै आएको छ । कम्पनीले देशभर २०० भन्दा बढी वितरकहरूसँग समन्वय गरेर व्यापार विस्तार गर्दै आएको छ । ‘मानव जीवनका लागि स्वास्थ्यभन्दा बहुमूल्य अरू केही छैन’ भन्ने मूल दृष्टिकोणका साथ देउराली-जन्ता फर्मास्युटिकल्सको स्थापना गरिएको हो । दीर्घकालीन रूपमा नेपाललाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउने दृष्टिकोणसहित कम्पनीले मानव जीवनजस्तो संवेदनशील र अमूल्य सम्पत्तिको संरक्षण तथा सम्वर्द्धनलाई आफ्नो प्रमुख मिसन बनाएको कार्यकारी सञ्चालक हरिभक्त शर्माले बताए । गुणस्तरीय औषधि उत्पादनप्रतिको गहिरो प्रतिबद्धता कम्पनीको डीएनएमै रहेको र घरेलु तथा क्षेत्रीय औषधि उद्योगको अग्रपङ्क्तिमा पुर्याएको उनको भनाइ छ । सन् १९९१ मा ज्वरो घटाउने औषधि एन्टिबायोटिक्स र भिटामिनजस्ता उत्पादनबाट यात्रा सुरु गरेको देउराली जनताले समयक्रमसँगै आफ्नो उत्पादन दायरा निरन्तर विस्तार गर्दै आएको शर्माले बताए । हाल कम्पनीले ट्याब्लेट, क्याप्सुल, मलहम, ड्राइ पाउडर तथा तरल डोज फर्मसहितका औषधि उत्पादन गरिरहेको उनले जनाए । नेपालमा औषधि कम्पनीहरूको संख्या बढेसँगै प्रतिस्पर्धा पनि वृद्धि भएपनि रणनीतिक सुधार, अत्याधुनिक उत्पादन प्रविधिको प्रयोग र गुणस्तरीय मानव संसाधन विकासमार्फत कम्पनीले आफ्नो अग्रणी स्थान जोगाउँदै आएको उनको भनाइ छ । उद्योगले बैंकको ऋण पनि घटाउँदै लगेको देखिन्छ । हाल उद्योगले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६ करोड १० लाख रुपैयाँ लिएको छ । जबकि सन् २०२४ मा १ अर्ब ११ करोड ६० लाख रुपैयाँ ऋण थियो । त्यसअघि सन् २०२३ मा उद्योगले १ अर्ब १७ करोड ५६ लाख रुपैयाँ ऋण लिएको थियो ।
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदरमा सुधार आउने राष्ट्र बैंकको आँकलन
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदर बढी हुने बताएको छ । अघिल्लो वर्षको भन्दा आर्थिक क्रियाकलाप बढेकाले वृद्धिदर पनि औसतभन्दा बढी हुने नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । गत आव. २०८१/८२ को ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ सार्वजनिक गर्दै राष्ट्र बैंकले आव २०८२/८३ मा मुद्रास्फीतिको चाप कम रहको र विगत केही वर्षदेखि संकुचनमा रहेको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्रलाई राष्ट्र बैंकले लिएको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएकाले आर्थिक वृद्धि औसतभन्दा बढी हुने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ– ‘आव २०८२/८३ मा मुद्रास्फीतिको चाप कम रहको छ । विश्वव्यापी रुपमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा गिरावट आएको, कर्जा तथा निक्षेपको ब्याजदर घट्दो अवस्थामा रहेको, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको, बाह्य पर्यटकको आगमनमा वृद्धि सँगसँगै निर्यात र विप्रेषण आप्रवाहमा पनि वृिद्ध भएको र विगत केही वर्षदेखि सङ्कुचनमा रहेको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्र यस बैंकले गरेको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएको हुँदा आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिन्छ ।’ चालु आ.व.मा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा सकारात्मक हुने अनुमान राष्ट्र बैंकको छ । प्रतिवेदनमा थप भनिएको छ, ‘अर्थतन्त्रमा तरलता पर्याप्त रहेको, सरकारले सुशासन प्रवर्द्धन गर्दै पुनःनिर्माण अघि बढाएको, साना र तयारी नपुगेका आयोजनामा बजेट स्थगन गर्दै परियोजना प्राथमिकीकरण गरिएकोलगायत कार्यले अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ्ने अनुमान रहको छ ।’ राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४ दशमलव ६ प्रतिशत र प्रचलित मूल्यमा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत आवको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५ दशमलव दुई, १२ दशमलव आठ र ६२ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको प्रतिवेदनमा उल्लेख छ । गत आवको मुलुकको कुल ग्राहस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६ दशमलव पाँच प्रतिशत रहेको छ भने कोशी प्रदेशको हिस्सा १५ दशमलव नौ प्रतिशत रहको छ । कर्णाली प्रदेशको हिस्सा भने सबैभन्दा कम चार दशमलव दुई प्रतिशत रहेको छ । गत आवमा अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४४ दशमलव ५ प्रतिशत रहेको जनाएको छ । २०८०/८१ मा यस्तो क्षमता उपयोग ४८ दशमलव तीन प्रतिशत रहेको थियो । विसं २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरको कुल कर्जामा औद्योगिक क्षेत्र कर्जाको अंश ३० दशमलव ४२ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा औसत कर्जा–निक्षेप अनुपात ७६ दशमलव छ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश उच्च रहेको छ । कूल निक्षेपमा यस प्रदेशको अंश ६५ दशमलव आठ प्रतिशत र कूल कर्जामा ५९ दशमलव पाँच प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।